सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुर्घटनाले कसरी मेरो जीवन परिवर्तन गऱ्‍यो

दुर्घटनाले कसरी मेरो जीवन परिवर्तन गऱ्‍यो

दुर्घटनाले कसरी मेरो जीवन परिवर्तन गऱ्‍यो

स्टान्ली ओम्बेभाको वृत्तान्तमा आधारित

सन्‌ १९८२ को कुरा हो, तेज गतिमा हुँइकिएको गाडीले मलाई हिर्कायो। उपचारपछि म दैनिक कामहरू गर्न सक्ने भएँ तर मेरो घाँटी र छातीबीचको करङ फुस्किएकोले समय समयमा दुखिरहन्थ्यो। तथापि, यो दुर्घटना भएको १५ वर्षपछि मैले जीवनमा आफ्नो विश्‍वासको जाँच हुने सबैभन्दा ठूलो चुनौती सामना गरें।

पहिले र दुर्घटना भएको केही समयपछि सम्म पनि म फूर्तिलै थिएँ। व्यायाम गर्ने मेरो राम्रो तालिका थियो र म सप्ताहन्तमा १० देखि १३ किलोमिटर दौडनुको अलावा स्क्वाश खेल्ने र शारीरिक बल खर्च हुने कामहरू गर्थें। मैले केन्याको नैरोबीस्थित यहोवाका साक्षीहरूको राज्यभवन र ठूलो सम्मेलन भवनको निर्माणकार्यमा पनि सहयोग गरेको थिएँ।

तर, १९९७ मा मैले छातीमा पटक पटक असाध्यै पीडा महसुस गर्न थालें। चिकित्सा जाँच गरेर हेर्दा मेरो एउटा करङ अलि सरेर मेरुदण्डलाई थिचिरहेको रहेछ। यो मैले सुरुमा बताएको दुर्घटनाले गर्दा भएको हुन सक्थ्यो।

मेरो स्वास्थ्यस्थिति नराम्रो हुनुअघि मैले बिक्रेताको जागिर पाएको थिएँ। यसमा पारिवारिक स्वास्थ्य बिमाको सुविधा पनि थियो। व्यापार जगत्‌मा मेरो भविष्य उज्यालो देखिन्थ्यो। तर १९९८ को बीचतिर मेरो छातीदेखि खुट्टासम्म लाटो भएको महसुस गर्न थालें। दिनानुदिन मेरो स्वास्थ्य खस्कँदै गयो।

त्यसको केही समयपछि मैले सबै सुविधाहरूलगायत जागिर गुमाएँ। त्यतिबेला हाम्री दुइटी छोरीहरू सिल्भिया र विल्हेमीना, १३ र १० वर्षका थिए। मेरो जागिर नभएपछि मेरी श्रीमती जोइसले महिनाको अन्तमा घरमा जेजति ल्याउँथिन्‌ त्यसैमा भर पर्नु पऱ्‍यो। यो नयाँ परिस्थितिको सामना गर्न हामीले अनावश्‍यक कुराहरूमा कटौती गऱ्‍यौं। हामीले जसोतसो हात मुख जोर्न सक्यौं।

नकारात्मक भावनाहरू

मैले आफ्नो अवस्थाको गम्भीरतालाई बुझ्दै गएपछि ममा नकारात्मक भावनाहरू पलाए, आत्मकेन्द्रित हुनुका साथै झोंकी स्वभावको हुन थालें भनेर मैले स्वीकार्नुपर्छ। कहिलेकाहीं एकदमै सानातिना कुरालाई लिएर म रिसाउने अनि वैरभाव राख्न थालें। म निराशामा डुब्ने हदसम्म पुगिसकेको थिएँ। परिवारका सबै जना तनावग्रस्त भए। मेरी श्रीमती र छोरीहरूले तिनीहरूलाई कुनै अनुभव नभएको अनौठो अवस्था सामना गर्नुपऱ्‍यो।

त्यतिबेला मलाई आफ्ना भावनाहरू उचितै लाग्थ्यो। मेरो वजन निकै बढ्यो। मेरो पेट सफा हुँदैनथ्यो अनि पिसाब नियन्त्रण गर्न नसक्ने समस्या हुन थाल्यो। प्रायजसो, म एकदमै अप्ठ्यारो अवस्थामा पर्थें। आँखाभरि आँसु लिएर एउटा कुनामा बसिरहनु मेरो लागि कुनै असामान्य कुरा थिएन। कहिलेकाहीं म यत्ति रिसाउँथें कि साह्रै हाँसउठ्‌दो देखिन्थ्यो। मलाई आफ्नो व्यवहार ठीक छैन भनेर थाह थियो।

यहोवाका साक्षीहरूको मसीही मण्डलीको प्राचीनको हैसियतमा मैले कुनै पनि प्रकारको दुःखकष्टको लागि यहोवालाई दोष दिनु हुँदैन भनेर धेरै चोटि सल्लाह दिएको थिएँ। यद्यपि, मैले एक चोटि होइन, धेरै चोटि यो प्रश्‍न गरें—‘यहोवाले मलाई यी कुराहरू किन हुन दिनुभएको होला?’ मैले अरूलाई बल अनि सान्त्वना दिन १ कोरिन्थी १०:१३ जस्ता शास्त्रपदहरू प्रयोग गरेको भए तापनि आफूले सहनै नसक्ने कुरा भोग्नुपरेको जस्तो लाग्थ्यो।

चिकित्सा दृष्टिकोणबाट चुनौतीपूर्ण

राम्रो औषधी उपचार पाउनु चुनौतीपूर्ण साबित भयो। म एकैदिनमा फिजियोथेरापिस्ट, काइरोप्राक्टर र अकुपंक्चरिस्टकहाँ जान्थें। तर खासै सन्चो भने हुँदैनथ्यो। मैले हाडजोर्नीका शल्यचिकित्सक र नशासम्बन्धी शल्यचिकित्सकलगायत थुप्रै डाक्टरहरूको राय लिएँ। सबै जना एउटा बुँदामा सहमत भए: पीडा कम गर्न तथा फुस्केको करङ मिलाउन शल्यक्रिया गर्नैपर्छ। बाइबल आधारित मेरो अन्तस्करणको खातिर कुनै हालतमा मलाई रगत नदिइयोस्‌ भनेर चिकित्सकहरूलाई राम्ररी बुझाएँ।—प्रेरित १५:२८, २९.

पहिलो शल्यचिकित्सकले ढाडमा प्वाल पारेर शल्यक्रिया गर्ने कुरा बताए। यो प्रक्रिया निकै खतरनाक हुन सक्छ भनी मलाई बताइयो। यद्यपि, यी शल्यचिकित्सकले रगत प्रयोग नगर्ने सन्दर्भमा ग्यारेन्टी दिन सकेनन्‌। म तिनीकहाँ फेरि गइनँ।

दोस्रो शल्यचिकित्सकले घाँटीबाट मेरुदण्डसम्म पुग्ने कुरा बताए। त्यस्तो प्रक्रिया डरलाग्दो सुनिन्थ्यो। मैले रगत लिन नचाहेकोमा तिनले कुनै आपत्ति नजनाए तापनि तिनी तुरुन्तै शल्यक्रिया गरिहाल्न चाहन्थे र विस्तृत तवरमा केही बताएनन्‌। म तिनीकहाँ पनि फर्केर गइनँ।

तथापि, स्थानीय अस्पताल सम्पर्क समितिमा सेवारत यहोवाका साक्षीहरूको मदतद्वारा मैले एक जना सहयोगी चिकित्सक फेला पारें। यो तेस्रो शल्यचिकित्सकको कुरा दोस्रोको जस्तै थियो; यो उपचार गर्न घाँटीबाटै प्वाल पार्नुपर्ने थियो। तिनले बताएअनुसार खतराको सम्भावना एकदमै न्यून थियो।

यो शल्यक्रिया कसरी गरिन्छ भनेर विस्तृत तवरमा देखाइँदा म साह्रै डराएँ। यो शल्यक्रिया मुटु र फोक्सोजस्ता नाजुक अंगहरूको वरपर नै गर्नुपर्ने हुँदा म एकदमै डराएँ। के म बच्छु होला? निस्सन्देह, त्यस्ता नकारात्मक सोचाइहरूले मेरो डर कम गरेन।

नोभेम्बर २५, १९९८ का दिन नैरोबी अस्पतालमा चार घण्टा लामो मेरो शल्यक्रिया सफल भयो। यो शल्यक्रियाद्वारा मेरो पेल्भिक हड्डीको सानो टुक्रा पनि निकालियो। यो टुक्रा छाँटेर क्षतिग्रस्त भएको ठाउँमा धातु पाता र पेच कसेर मिलाइयो। यो राम्रो भयो। तर यसले मेरा सबै समस्याहरू समाधान गरेन। हिंड्‌दा मलाई साह्रै असुविधा हुन्थ्यो। मेरो शरीर अहिले पनि बेलाबेला लाटो भइरहन्छ।

सकारात्मक मनोवृत्ति

माथि उल्लेख गरेझैं मैले आफ्नो हालतबारे सोचेर चिन्ता गर्दै धेरै समय बिताइसकेको थिएँ। अनौठो कुरा त के छ भने, थुप्रै चिकित्साकर्मीहरूले मेरो शान्त स्वभाव र आशावादी मनोवृत्तिको तारिफ गर्थे। तिनीहरूलाई किन त्यस्तो लाग्यो? असाध्यै दुख्दासमेत म परमेश्‍वरमाथि आफ्नो विश्‍वासबारे तिनीहरूसित कुरा गर्थें।

मलाई कहिलेकाहीं रिस उठ्‌दा र नमीठो महसुस हुँदा पनि यहोवामा भरोसा राख्थें। उहाँले मलाई सधैं सम्हाल्नुभयो, यति धेरै कि कहिलेकाहीं त मलाई लाजै लाग्थ्यो। मलाई सान्त्वना दिन सक्ने शास्त्रपदहरू पढ्‌ने तथा मनन गर्ने कडा संकल्प गरें। तीमध्ये केही यी हुन्‌:

प्रकाश २१:४: परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।” रुवाइ र पीडा सदाको लागि नामेट हुने नयाँ संसारबारे बाइबलको प्रतिज्ञा सम्झँदा साँच्चै सान्त्वना पाएँ।

हिब्रू ६:१०: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” मैले शारीरिक तवरमा धेरै गर्न नसक्ने भए तापनि मैले उहाँको सेवामा गरेको कुराहरू उहाँले बिर्सनुहुन्‍न भनेर मलाई थाह थियो।

याकूब १:१३: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ।’ ” कत्ति साँचो! यहोवाले मलाई दुःखकष्ट सहन दिनुभए तापनि उहाँ नै यसको कारण भने हुनुहुन्‍नथियो।

फिलिप्पी ४:६, ७: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” मलाई अत्यन्तै चाहिएको मनोशान्ति प्राप्त गर्न प्रार्थनाले मदत गऱ्‍यो र आफ्नो अवस्थासित म बुद्धिमानीपूर्वक जुझ्न सकें।

संकटमा परेका अरू व्यक्‍तिहरूलाई मदत गर्न मैले यी शास्त्रपदहरू प्रयोग गरेको थिएँ र त्यसले मलाई पनि निकै मदत गऱ्‍यो! तर त्यतिबेला मैले यसको महत्त्वलाई पूर्णतया मूल्यांकन गरेको रहेनछु भनेर बुझें। यस्तो बिरामी अवस्थामा परेपछि मात्र मैले विनम्रता के हो अनि यहोवामाथि पूर्ण भरोसा राख्न के गर्नुपर्छ भनेर सिकें।

बल प्रदान गर्ने अन्य सहायकहरू

कठिनाइको बेला मसीही भ्रातृत्व एउटा खामा र जग हो भनेर धेरैले भन्‍ने गर्छन्‌। यद्यपि, हाम्रा मसीही भाइबहिनीहरूलाई हल्कासित लिनु कति सजिलो छ! हो, तिनीहरूले दिन सक्ने सेवा सीमित होलान्‌ तर हामीलाई चाहिएको बेला सधैं हाम्रो साथमा हुन्छन्‌। मेरो अवस्थामा पनि यस्तै भयो। कहिलेकाहीं बिहान सबेरै पनि तिनीहरू अस्पतालको मेरो शय्यामा सँगै देख्नु असामान्य थिएन। तिनीहरू मेरो चिकित्सा खर्च बेहोर्न केही सहयोग दिनसमेत अघि सरे। मेरो दुःखद अवस्था देखेर मदत गर्न अग्रसर भएका सबैप्रति म कृतज्ञ छु।

हाम्रो स्थानीय मण्डलीका साक्षीहरूलाई मैले गर्न सक्ने कुरा सीमित छ भनेर थाह छ। म हाल मण्डलीको अध्यक्षको हैसियतमा सेवा गर्दैछु अनि मसीही प्राचीनहरूको निकायबाट ठूलो सहयोग पाएको छु। म प्रचारकार्यमा कहिल्यै अनियमित भएको छैन। एकदमै कष्टदायी अवस्थामा परेको बेलामा समेत यहोवालाई आफ्नो समर्पण गर्ने हदसम्म पुग्न मैले दुई जनालाई मदत गर्न सकें। एक जना चाहिं यहोवाका साक्षीहरूको नैरोबी मण्डलीमा सेवकाई सेवकको हैसियतमा सेवा गर्दैछन्‌।

मेरो सम्पूर्ण कठिनाइको बेलामा मेरो साथ नछोड्‌ने श्रीमतीलाई धन्यवाद व्यक्‍त गर्ने मसित यथेष्ट शब्दहरू छैनन्‌। मेरो रिस, मूड परिवर्तन, मेरो अव्यावहारिकता अनि मेरो निराशा उनले सबै सहिन्‌। मैले आँसु बगाउँदै पीडा सहँदा सधैं आश्‍वासन दिंदै उनले मलाई सम्हालिन्‌। दुःखको बावजुद उनले देखाएकी बल र दृढता देख्दा मलाई छक्क लाग्छ। उनी साँच्चै “सब समय प्रेमी साथी” भएकी छिन्‌।—हितोपदेश १७:१७.

हाम्री छोरीहरूले मेरो अवस्था सामना गर्न सिकेका छन्‌। तिनीहरू मलाई सहयोग गर्न यथासक्दो गर्छन्‌। तिनीहरू मेरो आवश्‍यकता बुझ्छन्‌ अनि आमा नहुँदा मलाई राम्रो स्याहारसुसार गर्न अनि तुरुन्तै मदत गरिहाल्न अघि सर्छन्‌। सिल्भिया मेरो लागि “हिंड्‌ने लौरो” भएकी छिन्‌, मैले कमजोर महसुस गर्दा सधैं मलाई यताउता जान सहयोग गर्छिन्‌।

कान्छी छोरी मीना नि? एउटा घटना मलाई याद छ, म एक चोटि घरभित्रै लडेर उठ्‌न नसक्ने भएको थिएँ। उनी घरमा एक्लै थिइन्‌। आफ्नो भएभरको बलले उनले मलाई उचालेर बिस्तारै कोठामा लगिन्‌। उनले त्यो कसरी गरिन्‌ भनेर अहिलेसम्म बुझ्न सकेकी छैनन्‌। त्यो एउटा साहसी कार्यले मेरो मनमा अमेट छाप पारेको छ।

यो दुर्घटना विरुद्ध लड्‌नु नै मेरो जीवनको सबैभन्दा ठूलो संघर्ष साबित भएको छ। मैले अझै पनि संघर्ष गरिरहेको छु। मेरो जीवन र विश्‍वासलाई यति विघ्न चुनौती, अरू कुनै पनि कुराले दिएको छैन। मैले विनम्रता, व्यावहारिकता र समानुभूतिबारे धेरै कुरा सिकें। यहोवामाथि पूर्ण भरोसा र विश्‍वासले गर्दा मैले यो समस्या सहन सकें।

मैले प्रेरित पावलका यी शब्दहरूको सत्यता बुझेको छु: “शक्‍तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्‍वरको होस्‌ भनेर हामीसँग यो धन माटाको भाडामा छ।” (२ कोरिन्थी ४:७) “नयाँ स्वर्ग र नयाँ पृथ्वी” ल्याउने परमेश्‍वरको प्रतिज्ञाबाट मैले निकै सान्त्वना पाएको छु। (२ पत्रुस ३:१३) त्यो नयाँ संसारको बाटो हेरुन्जेल यहोवाले मलाई सम्हालिरहून्‌ भनी प्रार्थना गर्दछु किनभने म अझै कमजोर छु र आफ्नै बलको भरमा केही गर्न सक्दिनँ। (g03 4/22)

[पृष्ठ २०-मा भएको चित्र]

मेरो परिवारसितको मसीही गतिविधिले मलाई सहन मदत गरेको छ