सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मोटोपन—के यो विश्‍वव्यापी महामारी भएको छ?

मोटोपन—के यो विश्‍वव्यापी महामारी भएको छ?

मोटोपन—के यो विश्‍वव्यापी महामारी भएको छ?

“मोटोपन प्रायजसो विकसित, धनी मुलुकमा आधुनिक जीवनको एउटा परिणाम हो भन्‍ने सोचाइ राखिन्थ्यो तर अहिले विकासोन्मुख राष्ट्रहरूमा पनि मोटेहरूको निकै वृद्धि भइरहेको छ” भनी बेलाइती चिकित्सा पत्रिका द ल्यान्सेट रिपोर्ट गर्छ। अब मधुमेह, उच्च रक्‍तचाप, क्यान्सर र मुटुसम्बन्धी रोगहरूजस्ता मोटोपनसित सम्बन्धित रोगहरू “विश्‍वव्यापी महामारी” हुन सक्ने कुरा पोषण विशेषज्ञहरू चेतावनी दिन्छन्‌।

चीनमा गत आठ वर्षमा वजन बढी भएका पुरुषको वजन तीन गुणा तथा महिलाहरूको वजन दुइ गुणा बढेको छ भने उच्च रक्‍तचाप भएका मानिसहरूको संख्या संयुक्‍त राज्य अमेरिकामा जति नै पुगेको छ। हालै निदान भएका प्रायजसो मधुमेह रोगीहरू भारत र चीनका छन्‌। इजिप्टमा मधुमेह रोगीहरूको संख्या संयुक्‍त राज्य अमेरिकाको जति नै छ अनि त्यस मुलुकका आधा जति महिलाहरूको वजन बढी छ। मेक्सिकोमा समाजका सबै स्तरका मानिसहरूमा मोटोपन निकै बढेको छ र फलस्वरूप मधुमेह रोगीहरूको संख्यामा पनि तीव्र वृद्धि भएको छ। अफ्रिकाको एकदमै गरिब उप-सहारा मुलुकहरूमा समेत मोटोपन र मधुमेहबाट पीडित मानिसहरूको संख्या बढ्‌दो छ।

कुनै-कुनै मुलुकमा मोटोपन बढ्‌नुको कारण चिल्लो भोजन भए तापनि यसको मुख्य कारण भने, थुप्रै उत्पादकहरूले खानाको “स्वाद राम्रो बनाउन” गुलियो थप्नु हो। साथै, एसियाली तथा अफ्रिकी भोजनमा खाद्य तेलहरू धेरै प्रयोग गरिने हुँदा क्यालोरी बढी हुन्छ। कलकारखाना तथा कृषिमा उन्‍नत प्रविधि प्रयोग गरिने हुँदा मालसामान उत्पादन गर्न कम शारीरिक बल मात्र प्रयोग हुन्छ। मानिसहरू कम काम गरेर धेरै आराम गर्न चाहन्छन्‌। अहिले कम्प्युटर तथा टेलिभिजन एकदमै लोकप्रिय भएको हुँदा कामदारहरूले कम मात्र व्यायाम गर्छन्‌। अनि “इमेलले गर्दा सन्देश ओसारप्रसार गर्ने तथा सहकर्मीहरूसित कुरा गर्ने काम बन्द भएको छ।”

विशेष गरी मनोरञ्जन र शारीरिक व्यायाम कमी भएका इलाकाका स्कूले केटाकेटीमा मोटोपन तीव्र वृद्धि भइरहेको हुँदा पोषण र बौद्धिक क्षमताबीचको सम्बन्धबारे शिक्षकहरू सजग हुनुपर्ने टड्‌कारो खाँचो भएको छ। क्यालिफोर्निया विश्‍वविद्यालयका जनस्वास्थ्य विभागका गेल ह्‍यारिसनले चेतावनी दिएअनुसार मोटोपन र यससित सम्बन्धित रोगहरूको महामारीसित सामना गर्नको लागि स्थानीय रोकथाम प्रयासको अलावा “विश्‍वव्यापी तवरमा रोकथाम गर्न साझा एजेन्डाको साथै नीति विकास, विशेषज्ञको राय र आधारभूत संरचना” तय गर्नुपर्छ। (g03 4/08)