विश्वदर्शन
विश्वदर्शन
अविश्वासीले विश्वासीलाई डोऱ्याउँदैछन्
चर्च अफ इंग्ल्याण्डका महिला पादरीहरू “महत्त्वपूर्ण मसीही धर्मसिद्धान्तहरूको सन्दर्भमा . . . तिनीहरूका पुरुष सहकर्मीहरूभन्दा सामान्यतया बढी शंका गर्छन्” भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। चर्च अफ इंग्ल्याण्डका झन्डै २,००० पादरीहरूसित गरिएको सर्वेक्षणले प्रकट गरेअनुसार “दस जना पुरुष पादरीमध्ये आठ जनाले संसारको पाप मेटाउन येशू मर्नुभयो भन्ने कुरामा विश्वास गर्छन्” भने महिला पादरीहरूमा चाहिं १० जनामध्ये ६ जनाले मात्र त्यस्तो विश्वास गरेको पाइयो। अनि १० जनामध्ये ७ जना पुरुषले येशू ख्रीष्टको पुनरुत्थानमा विश्वास गर्छन् भने १० जनामध्ये ५ जना महिलाले मात्र त्यस्तो विश्वास राखेको पाइयो। उक्त सर्वेक्षण गराउने कस्ट अफ कन्सियन्सका प्रवक्ता रबी लोले यसो भने: “स्पष्टतः चर्च अफ इंग्ल्याण्डमा दुइटा चर्च क्रियाशील छ; विश्वासी चर्च र अविश्वासी चर्च अनि यो ठूलो अपमानको कुरा हो। विश्वासको कमी भएका मानिसहरूको हातमा चर्चको अख्तियार पर्न गएको छ। अविश्वासीले विश्वासीलाई डोऱ्याउने यो असह्य परिस्थिति हो।” (g03 4/08)
बडेमाका वनमान्छेहरू संकटमा
“मानिसहरूले कुनै निर्णायक कदम नचालेको खण्डमा बडेमाका वनमान्छेहरूको आवासक्षेत्र आगामी ३० वर्षमा विनाश हुनेछ” भनी रोइटर्स समाचार सेवा रिपोर्ट गर्छ। हालै दक्षिण अफ्रिकाको जोहानेसवर्गमा सम्पन्न विश्व शिखर बैठकमा संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूले यसो भने: “सडक निर्माण, खानी शिविर र अन्य आधारभूत विकास संरचनाहरू हालको गतिमा चलिरह्यो भने २०३० सम्ममा अफ्रिकाका बडेमाका वनमान्छेहरूको बासस्थानमध्ये १० प्रतिशत भन्दा कम मात्र बाँकी रहनेछ। यो खस्कँदो आवासक्षेत्रले बडेमाका वनमान्छेहरूको संख्यामा ठूलो ह्रास ल्याएको छ। हाल चिम्पान्जीहरूको संख्या सालाखाला २,००,००० जति छ, जबकि एक शताब्दीअघि २०,००,००० थियो। अनि अब केही हजार गोरिल्ला र केही सय पहाडी गोरिल्लाहरू मात्र बाँकी छन्। रोइटर्सअनुसार “सं.रा.सं.-ले बडेमाका वनमान्छेहरू भएका दुई दर्जन देशहरूमा संरक्षण प्रदान गर्ने हेतुले अनुसन्धाता, संरक्षक, सरकार तथा स्थानीय मानिसहरूसित मिलेर काम गर्दैछ।” (g03 4/22)
विश्वव्यापी रूपमा हतियारको थुप्रो बढ्दैछ
सन् २००१ मा प्रहरी, सेना, विद्रोही समूह र व्यक्तिविशेषसित गरी अनुमानित ६३.९ करोड साना हातहतियार थिए भनी सं.रा.सं.-द्वारा गरिएको अध्ययन, स्मल आर्म्स सर्भे २००२ रिपोर्ट गर्छ। सर्भे-ले टिप्पणी गरेअनुसार “यो पहिलेको अनुमानभन्दा कम्तीमा १६ प्रतिशतले बढी हो।” यसबाहेक, नयाँ उत्पादनको परिणामस्वरूप साना हातहतियारको थुप्रो विश्वव्यापी रूपमा वर्षेनी एक प्रतिशतले बढ्दैछ। हाल, संसारभरि कम्तीमा १,००० वटा कम्पनीहरूले ९८ भन्दा बढी मुलुकहरूमा पेस्तोल, राइफल, बारुद र साना खालका रकेटहरू उत्पादन गरिरहेका छन्। उक्त रिपोर्टअनुसार “सैन्य हातहतियारलगायत विश्वव्यापी तवरमा साना हातहतियारको [कुल] मूल्य सन् २००० मा . . . कम्तीमा सात अरब अमेरिकी डलर पुगेको अनुमान गरिएको थियो।” साना हातहतियारको विश्वव्यापी व्यापारमध्ये ८० देखि ९० प्रतिशत कानुनी हो र यसमध्ये आम नागरिकहरूसित सबैभन्दा बढी साना हतियार (५९ प्रतिशत) छन्। (g03 2/22)
चर्चको अर्कै प्रयोग
“सन् १८८१ मा मार्क ट्वेन मन्ट्रियल जाँदा तिनले यस्तो टिप्पणी गरे, ‘हावामा ढुंगा फ्याँक्यो भने कुनै न कुनै चर्चको झ्यालको सिसा अवश्य फुट्छ।’ आजकल ढुंगा फ्याँक्दा चर्चको ठाउँमा निर्माण गरिएका अपार्टमेन्टको झ्यालको सिसा फुट्ने डर हुन्छ” भनी मन्ट्रियलको द ग्याजेट नाउँको अखबार बताउँछ। यो शहरमा उपासना गर्ने ठाउँ अझै लगभग ६०० वटा बाँकी छन् तर तीमध्ये १०० वटा, जसमध्ये धेरैजसो क्याथोलिक चर्च हुन्, आगामी दशकमा बिक्री हुने सम्भावना छ। “मन्ट्रियलको आर्कडायोसिजअनुसार २५ वटा जति क्याथोलिक चर्चहरू १९६० देखि बन्द छन्।” सन् १८७१ मा क्यानाडामा क्याथोलिकहरूको संख्या १५ लाखबाट बढेर १९७१ मा झन्डै एक करोड पुग्यो; यद्यपि, “विशेष गरी क्युबेकमा चर्चको उपस्थिति अत्यन्तै घट्यो” भनी द ग्याजेट बताउँछ। मन्ट्रियलको आर्कडायोसिजको पादरीहरूको योजना मिलाउने जिम्मा पाएका बर्नाड फोर्टिनले उक्त अखबारलाई बताएअनुसार त्यस इलाकाका चर्चमा १९७० मा ७५ प्रतिशत उपस्थिति थियो भने अहिले घटेर आठ प्रतिशत मात्र भएको छ। (g03 2/22)
धनसम्पत्ति र स्वास्थ्यको बावजुद निराशा
एउटा रिपोर्टले देखाएअनुसार २००१ मा “लगातार तीन वर्षसम्म आर्थिक र सामाजिक अवस्थामा प्रगतिको” बावजुद क्यानेडियालीहरू आफ्नो भविष्यबारे अझै निराश छन् भनी द टोरन्टो स्टार बताउँछ। सामाजिक विकासको लागि क्यानेडियाली निकायका अनुसन्धाताहरूले पत्ता लगाएअनुसार “क्यानेडियालीहरू आर्थिक तवरमा कम सुरक्षित, जागिरमा बढी तनावग्रस्त, सामाजिक कठिनाइको बेला मदत पाउने सन्दर्भमा कम विश्वस्त र अपराधको सिकार हुने सम्भावना बढेको महसुस गर्छन्।” चिन्ताका अन्य कारणहरूमध्ये “मुद्रा-स्फितिको अनुपातमा तलब नबढ्नु, व्यक्तिगत ऋणको भार बढ्नु . . . कुनै-कुनै चिकित्सा उपचारको लागि लामो समय पर्खनु पर्ने, औषधीको मूल्य वृद्धि, ट्राफिक दुर्घटनाहरू बढ्नु अनि हिंस्रक अपराधहरू बढिरहेका छन् भन्ने निराधार डर” इत्यादि हुन्। यस रिपोर्टका लेखकहरू यसो भन्छन्: “सुरक्षा भनेको मनको अवस्था भन्ठान्छौं भने हामी गलत दिशातर्फ अघि बढ्दैछौं।” (g03 4/08)
विवाहको लागि अपर्याप्त प्रशिक्षण
विवाह गर्नुअघि सँगै बस्ने ४० प्रतिशतभन्दा बढी दम्पतीहरूले तिनीहरूको दशौं वार्षिकी पुग्नुअघि सम्बन्धविच्छेद गरिसकेका हुन्छन् भनी न्यु योर्कको डेली न्युज रिपोर्ट गर्छ। स्वास्थ्य तथ्यांकको लागि राष्ट्रिय केन्द्रले संकलन गरेको आँकडाअनुसार विवाहअघि सँगै बस्ने अनि दस वर्षभन्दा लामो समयसम्म वैवाहिक बन्धनमा बाँधिसकेका दम्पतीहरूले समेत पछि गएर सम्बन्धविच्छेद गर्ने सम्भावना दुई गुणा बढी हुन्छ। यस रिपोर्टका प्रमुख, म्याथ्यु ब्रामलेट यसो भन्छन्, “सँगै बस्ने विचार गरिरहेका [अनि] तिनीहरूलाई विवाहअघि सँगै बस्नु उचित जस्तो लाग्दैन भने यस्ता दम्पतीहरूले पछि गएर सम्बन्धविच्छेद गर्ने सम्भावना कम हुन्छ।” यसबाहेक, विवाहअघि सँगै बस्ने दम्पतीहरू “वैवाहिक बन्धनलाई दिगो बनाउन कष्ट सहन कम इच्छुक हुन्छन् जस्तो देखिन्छ” भनी विवाहसम्बन्धी सल्लाहकार एलिस स्टिफन्स बताउँछिन्। (g03 4/08)
जब औषधीले टाउको दुखाइ अझ बढाउँछ
“स्नायुचिकित्सक माइकल एन्थनीको अनुमानअनुसार टाउको दुखाइको पीडा भोग्ने दस प्रतिशत व्यक्तिहरूलाई ‘एनाल्जेसिकको दुरुपयोगले’ गर्दा झन् टाउको दुख्छ” भनी सिड्नी, अस्ट्रेलियाको द डेली टेलिग्राफ बताउँछ। “चिकित्सा निर्देश पूर्जीविना औषधी किनेर खाँदा हप्तामा एक चोटि दुख्ने टाउको दिनहुँजसो दुख्न थाल्छ।” न्यु साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक, एन्थनीले पत्ता लगाएअनुसार “टाउको दुखाइ कम गर्ने औषधीको दुरुपयोगले” रक्तनलीहरूको विस्तार रोक्ने “सेरोटोनिनको मात्रा कम गर्छ।” “सेरोटोनिनको मात्रा कम हुँदा धमनीहरू फुल्छन् अनि टाउको दुख्छ” भनेर तिनी बताउँछन्। एन्थनीले माइग्रेन रोगीहरूलाई आफै औषधी किनेर खानुको साटो डाक्टरले दिएको औषधी किनेर खाने सुझाव दिन्छन् र अझ यसो भन्छन्: “[बिरामीहरूले] हप्ताको तीन चोटिभन्दा बढी [पेनकिलर], एउटै मात्रा पनि हप्तामा तीन चोटि लिन्छन् भने केही महिनापछि तिनीहरूको टाउको दुखाइ अझ नाजुक हुन्छ।” (g03 4/22)
गर्भावस्थाको प्रारम्भिक चरणमा हुने वाक्वाकी कम गर्ने
“गर्भवती महिलाहरूमध्ये ७० देखि ८० प्रतिशतलाई वाक्वाकी लाग्ने समस्या हुने अनुमान गरिएको छ” भनी अस्ट्रेलियाको सन-हेरल्ड अखबार बताउँछ। यी भर्खरै गर्भवती भएका महिलाहरूलाई बिहान उठ्दा रिंगटा लाग्नुका साथै वाक्वाकी लाग्ने हुन्छ। यसो हुनुको एउटा कारण, गर्भवती हुँदा पेटमा अत्यधिक मात्रामा प्रोजेस्टोरोन हर्मोन बढ्नु हुन सक्छ। साथै, “सुँघ्ने क्षमता एकदमै संवेदनशील हुने हुँदा गर्भवती महिलाहरूलाई सजिलै वाक्वाकी लाग्नुका साथै तनावग्रस्त र थकित हुन सक्छन्।” यस्तो वाक्वाकी लाग्ने समस्याको सर्वव्यापी समा धान नभए तापनि तातो ठाउँमा वाक्वाकी लाग्ने हुँदा त्यस्तो ठाउँमा नबस्ने, झप्की लिने र पर्याप्त मात्रामा सुत्ने अनि काटेको कागती सुँघ्ने सुझाव उक्त अखबारले दिन्छ। “ओछ्यानबाट निस्कनुअघि सादा बिस्कुट वा अन्नबाट बनाइएको सुख्खा खानेकुरा खाएर हेर्नुहोस्। सधैं ओछ्यानबाट बिस्तारै उठ्नुहोस्” भनी उक्त अखबार थप बताउँछ। “छिनछिनमा प्रोटिन युक्त खाजा खाइरहनुहोस्।” उक्त अखबारले बताएअनुसार “यस्तो वाक्वाकी लाग्ने समस्या हुनुको एउटा राम्रो पक्ष छ। हालैका अध्ययनहरूले देखाएअनुसार यी आमाहरूको गर्भ तुहुने सम्भावना कम हुन्छ।” (g03 4/22)