सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अस्तित्वबाट हराउन नचाहने मिथ्या

अस्तित्वबाट हराउन नचाहने मिथ्या

अस्तित्वबाट हराउन नचाहने मिथ्या

फ्रान्सका ब्यूँझनुहोस्‌! लेखकद्वारा

संसारभरिका केटाकेटीहरू ऊ भनेपछि हुरुक्कै हुन्छन्‌। हालै एउटा वर्षमा फ्रान्सेली हुलाक सेवाले उसको लागि ८,००,००० पत्र प्राप्त गऱ्‍यो अनि विशेष गरी तीनदेखि आठ वर्षबीचका बालबालिकाहरूले यस्तो पत्र पठाएका थिए। उसको झ्याप्ले सेतो दाह्री र सेतो भुवाको झल्लर भएको रातो पहिरन लगाएका मित्रैलो फादर क्रिसमस (सान्ता क्लज), बिदाका उत्सवहरूको एकदमै लोकप्रिय पक्ष मानिन्छ। त्यसकारण के तपाईं उसको पुतला जलाएको कल्पना गर्न सक्नुहुन्छ? आजभन्दा ५० वर्षअघि फ्रान्सको डिजोनमा ठीक त्यस्तै भयो। डिसेम्बर २३, १९५१ मा लगभग २५० बालबालिकाको अगाडि फादर क्रिसमसको “हत्या” गरियो।

उसको अपराध के थियो? फ्राँ-स्वार नामक अखबारले रिपोर्ट गरेअनुसार “पादरीवर्गको सहमतिमा” यो हत्या गरिएको थियो किनभने तिनीहरूले “फादर क्रिसमसलाई अरूको ध्यान आफूतिर खिंच्ने धर्मविरोधी” ठहराएर “क्रिसमसलाई मूर्तिपूजासित सम्बन्धित” बनाएको आरोप लगाए। एउटा घोषणापत्रमा दिइएझैं यो एउटा “प्रतीकात्मक संकेत” थियो। “झूटले बालबालिकाहरूमा धार्मिक भावना जगाउन सक्दैन र शिक्षा दिने यो सही तरिका होइन।”

कोही-कोही पादरीको विचारमा फादर क्रिसमससित सम्बन्धित प्रचलनहरूले मानिसहरूलाई येशूको जन्मबारे “सही मसीही अर्थबाट” बहकाइरहेको थियो। निस्सन्देह, मार्च १९५२ को लेस टेम्प मर्डन (वर्तमान समय) अंकमा मानवशास्त्री क्लड लेभी-स्ट्राउसले फादर क्रिसमसमाथिको विश्‍वासलाई “आधुनिक मानिसमा मूर्तिपूजा फस्टाउने वातावरण सृजना गर्ने” विश्‍वास भन्‍नुका साथै चर्चले उक्‍त विश्‍वासको भत्सर्ना गर्नु उचित भएको उल्लेख गरे। फादर क्रिसमसको सुरुआत साटर्नलियाको राजासित सम्बन्धित छ भनी लेभी-स्टाउसले भने। पुरातन रोममा डिसेम्बर १७ देखि २४ सम्म साटर्नालिया उत्सव मनाइन्थ्यो। त्यो हप्ताको दौडान भवनहरू हरिया बोटबिरुवाले सजाउनुका साथै उपहारहरू आदानप्रदान गरिन्थ्यो। क्रिसमसजस्तै साटर्नलिया उत्सवमा पनि मोजमस्ती गरिन्थ्यो।

अहिले, फादर क्रिसमसको पुतला जलाइएको ५० वर्षभन्दा पनि बढी समय बितिसकेपछि फ्रान्सका क्याथोलिकहरूले फादर क्रिसमसप्रति कस्तो दृष्टिकोण राख्छन्‌? रोमको साटर्नलियाजस्तो पुरानो उत्सवको हाँगाबिंगाको रूपमा मनाइने यो चाड, डुँडमा येशूको चित्रण जत्तिकै क्रिसमसको भाग भइसक्यो। समय समयमा पादरीले सान्ता क्लजले क्रिसमसबाट ख्रीष्टको महत्त्वलाई बेकाम तुल्याएर व्यापारीकरण गरेकोमा निन्दा गर्लान्‌। तथापि, प्रायजसो भने फादर क्रिसमसको मूर्तिपूजक सुरुआतबारे भएका मतभेद आम जनताको स्वीकृतिको कारण त्यसै सेलाएर जान्छ। (g03 5/08)

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

DR/© Cliché Bibliothèque nationale de France, Paris