सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मसीही एकतामा एकरूपता हुनै पर्छ?

के मसीही एकतामा एकरूपता हुनै पर्छ?

बाइबलको दृष्टिकोण

के मसीही एकतामा एकरूपता हुनै पर्छ?

आजकल धर्मको चिनारी नै बेमेल हो जस्तो देखिन्छ। एउटै चर्चका मानिसहरूबीच समेत सिद्धान्त तथा आचरणसम्बन्धी विभिन्‍न प्रकारका विरोधाभासपूर्ण विश्‍वासहरू हुन सक्छन्‌। एक जना लेखकले यसो भने: “एउटै परमेश्‍वरमा विश्‍वास गर्ने दुई जना मानिस भेट्टाउनु त झनै गाह्रो छ। हिजोआज धर्मसम्बन्धी हरेक मानिसको आफ्नै धर्मसिद्धान्त छ जस्तो देखिन्छ।”

यसको ठीक विपरीत, प्रेरित पावलले प्रथम शताब्दीका कोरिन्थका मसीहीहरूलाई “एउटै कुरा [बोल्न]” र “एकै मन र एकै विचारमा सिद्ध” हुन आग्रह गरे। (१ कोरिन्थी १:१०) आज कसै-कसैले पावलको सल्लाहको आलोचना गर्छन्‌। ‘मानिसहरू सबै एकैनासे हुँदैनन्‌ र सबै मसीहीहरूले एकै किसिमले सोच्नु र काम गर्नुपर्छ भनेर जोड दिनु ठीक होइन’ भनी तिनीहरू तर्क गर्छन्‌। तर के पावलले साँच्चै रोबटजस्तो एकरूप हुन सल्लाह दिइरहेका थिए? के बाइबलले व्यक्‍तिगत स्वतन्त्रताको छुट दिन्छ?

एकरूपता होइन, एकता

आफ्नो दोस्रो पत्रमा पावलले मसीहीहरूलाई “तर्कशक्‍ति” चलाएर परमेश्‍वरको सेवा गर्न आग्रह गरे। (रोमी १२:१, NW) तिनले अवश्‍यै पनि कोरिन्थी मण्डलीका सदस्यहरूलाई सोच विचारै गर्न नसक्ने मेसिनजस्तो हुन भनिरहेका थिएनन्‌। तर किन तिनले उनीहरूलाई “एकै मन र एकै विचारमा सिद्ध” हुन आग्रह गरे? कोरिन्थका मण्डलीमा गम्भीर समस्या भएको कारण पावलले यस्तो सल्लाह दिएका थिए। मण्डलीमा गुटबन्दी उत्पन्‍न भएको थियो किनभने कतिले अपोल्लसलाई आफ्ना नेता ठान्थे भने अरूले चाहिं पावल वा पत्रुसको पक्ष लिन्थे वा ख्रीष्टलाई मात्र नेता मान्थे। यस्तो बेमेल कुनै मामुली कुरा थिएन किनकि यसले मण्डलीको शान्तिलाई खतरामा पाऱ्‍यो।

एफिससका मसीहीहरूलाई पछि सल्लाह दिएझैं कोरिन्थीहरू पनि ‘आत्माको एकता राख्नालाई शान्तिको बन्धनमा’ रहेको पावल चाहन्थे। (एफिसी ४:३) तिनले भाइहरूलाई छुट्टै समूह वा गुटको रूपमा विभाजित नभई एकताबद्ध भएर येशू ख्रीष्टलाई पछ्याउन प्रोत्साहित गरिरहेका थिए। यसरी उनीहरूले एउटै उद्देश्‍यको शान्तिमय सामञ्जस्यताको आनन्द उठाउने थिए। (यूहन्‍ना १७:२२) त्यसैकारण पावलले कोरिन्थीहरूलाई दिएको सल्लाहले आफ्नो सोचाइ काँटछाँट गर्न र एकरूपता नभई एकता प्रवर्धन गर्न मदत गऱ्‍यो।—२ कोरिन्थी १३:९, ११.

सिद्धान्तसम्बन्धी कुराहरूमा पनि एकता महत्त्वपूर्ण छ। येशूका पाइलामा टेकेर हिंड्‌ने उहाँका अनुयायीहरूले जसरी “एउटै परमेश्‍वर र एउटै पिता” हुनुहुन्छ, त्यसै गरी “एउटै विश्‍वास” मात्र छ भन्‍ने कुरा बुझेका छन्‌। (एफिसी ४:१-६) यसर्थ, आफूले विश्‍वास गरेका कुरा परमेश्‍वरले आफ्नो र आफ्ना उद्देश्‍यहरूबारे उहाँको वचनमा प्रकट गर्नुभएका सत्यअनुरूप छन्‌ कि छैनन्‌ भनेर मसीहीहरूले पक्का गर्छन्‌। परमेश्‍वर को हुनुहुन्छ र उहाँ के चाहनुहुन्छ भन्‍ने विषयमा उनीहरूको एउटै विश्‍वास छ। उनीहरू परमेश्‍वरको वचनमा दिइएको सुस्पष्ट नैतिक स्तरहरूअनुसार पनि जिउँछन्‌। (१ कोरिन्थी ६:९-११) यसप्रकार मसीहीहरू सैद्धान्तिक तथा नैतिक कुरामा एकतामा रहन्छन्‌।

मतभेद खडा हुँदा

तथापि, यसको मतलब हरेक मसीहीले कसरी सोच्नुपर्छ र जीवनमा आइपर्ने विभिन्‍न परिस्थितिहरूमा कसो गर्नुपर्छ भनेर तोकेरै बताइएको हुन्छ भनेको चाहिं होइन। प्रायजसो कुरा व्यक्‍तिगत छनौटमा निर्भर हुन्छ। एउटा उदाहरण विचार गर्नुहोस्‌। प्रथम शताब्दीमा कोरिन्थका थुप्रै मसीहीहरूलाई मूर्तिपूजा गरिने मन्दिरबाट ल्याएको मासु खानु हुन्छ कि हुँदैन होला भन्‍ने विषयमा शंका लागेको थियो। कतिले यस्तो मासु खानु भनेको झूटो उपासनामा भाग लिनु बराबर हो भन्ठाने भने, अन्य कतिपयले चाहिं मासु कहाँबाट ल्याइएको हो, त्यस कुरालाई त्यति महत्त्वपूर्ण ठानेनन्‌। पावलले यस संवेदनशील विषयलाई सुल्झाउन मसीहीहरूले के गर्नुपर्छ भनेर बताउने नियम बनाएनन्‌। बरु, यस सन्दर्भमा मानिसहरूले फरक-फरक निर्णयहरू गर्न सक्छन्‌ भन्‍ने कुरा तिनले मानिलिए। a१ कोरिन्थी ८:४-१३.

आज व्यक्‍तिगत छनौटका कुराहरू; जस्तै—जागिर, स्वास्थ्य, मनोरञ्जनलगायत अन्य क्षेत्रहरूको सन्दर्भमा मसीहीहरूले गर्ने निर्णयहरू फरक-फरक हुन सक्छन्‌। यस्ता फरक निर्णयहरूले कतिलाई बाधा पुऱ्‍याउन सक्छ। कतै यस्ता मतभेदहरूले मण्डलीमा झगडा वा फूट त उत्पन्‍न हुने होइन भनी तिनीहरू चिन्तित पनि हुन सक्छन्‌। तथापि, परिणाम यस्तो नहुन पनि सक्छ। उदाहरणका लागि: संगीतकारले सीमित नोटेसन मात्र प्रयोग गर्न सक्छन्‌। यद्यपि, मीठो संगीत सृजना गर्ने सम्भावनाहरू असीमित हुन्छन्‌। त्यस्तै गरी, ईश्‍वरीय सिद्धान्तहरूको दायराभित्र रहेर मसीहीहरूले छनौटहरू गर्छन्‌। तथापि, कुनै व्यक्‍तिगत निर्णयहरू गर्नुपर्दा भने तिनीहरूले केही हदसम्म छनौट गर्ने स्वतन्त्रता पाउँछन्‌।

व्यक्‍तिगत छनौटको कदर गर्दै मसीही एकतालाई जोगाउनु कसरी सम्भव छ? महत्त्वपूर्ण कुरा भनेको प्रेम हो। परमेश्‍वरप्रतिको प्रेमले हामीलाई राजीखुसीसाथ उहाँका आज्ञाहरू पालन गर्न उत्प्रेरित गर्छ। (१ यूहन्‍ना ५:३) सहमानवहरूप्रतिको प्रेमले हामीलाई व्यक्‍तिगत मामिलाहरूमा आफ्नो अन्तस्करणअनुरूप निर्णय गर्ने अरूको अधिकारको कदर गर्न उत्प्रेरित गर्छ। (रोमी १४:३, ४; गलाती ५:१३) एउटा सिद्धान्तसम्बन्धी मामिलामा प्रथम शताब्दीका परिचालक निकायको अख्तियारलाई सहर्ष स्वीकारेर यस सम्बन्धमा पावलले उत्कृष्ट उदाहरण बसाले। (मत्ती २४:४५-४७; प्रेरित १५:१, २) साथै, आफ्नो व्यक्‍तिगत निर्णयमा भर पर्ने थुप्रै कुराहरूमा सँगी मसीहीहरूको अन्तस्करणको कदर गर्न पनि तिनले सबैलाई प्रोत्साहित गरे।—१ कोरिन्थी १०:२५-३३.

स्पष्टतया, अन्तस्करणअनुरूप गरेको निर्णय यदि बाइबल सिद्धान्तहरूसित बाझिंदैन भने कसैलाई पनि दोषी ठहऱ्‍याउनु मिल्दैन। (याकूब ४:१२) अर्कोतर्फ, वफादार मसीहीहरूले अरूको अन्तस्करणसँग खेलवाड गरेर वा मण्डलीको एकतालाई खतरामा पारेर आफ्नै कुरामा मात्र जिद्दी गर्दैनन्‌। न त तिनीहरूले परमेश्‍वरको वचनले स्पष्टसित निषेध गरेको कुनै कुरा गर्ने स्वतन्त्रता छ भन्‍नु नै मिल्छ। (रोमी १५:१; २ पत्रुस २:१, १९) परमेश्‍वरप्रतिको प्रेमले हामीलाई आफ्नो अन्तस्करण परमेश्‍वरको विचारअनुरूप ढाल्न उत्प्रेरित गर्नुपर्छ। यसको परिणामस्वरूप, हामी सँगी विश्‍वासीहरूसित एकतामा रहन सक्नेछौं।—हिब्रू ५:१४. (g03 5/08)

[फुटनोट]

a उदाहरणका लागि, मसीही हुनुअघि मूर्तिपूजा गर्ने कोही-कोहीले मासु खानु र उपासनामा भाग लिनुबीचको भिन्‍नता छुट्याउन नसकेको हुन सक्छ। अर्को जायज कारणचाहिं यसबाट कमजोर मसीहीहरूले गलत अर्थ लगाउनुका साथै यसले गर्दा उनीहरूले ठोकर खान सक्थे।