सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मधुमेह—“मौन हत्यारा”

मधुमेह—“मौन हत्यारा”

मधुमेह—“मौन हत्यारा”

एक्काइस वर्षको हुँदा केनलाई जतिखेर पनि प्यास लागिरहन्थ्यो र यसो हुनुको कारण तिनले बुझ्न सकेका थिएनन्‌। अनि तिनलाई पिसाब फेर्न पनि गइरहनुपर्थ्यो र पछि त हरेक २०/२० मिनेटमा जानुपर्ने भयो। केही समय बित्न नपाउँदै केनले आफ्ना गोडाहरू भारी भएको महसुस गर्न थाले। तिनलाई असाध्यै थकाइ लाग्थ्यो र तिनको दृष्टि धमिलो भयो।

केनलाई एक किसिमको जीवाणुको संक्रमण हुँदा भने तिनको जीवनले अर्कै मोड लियो। डाक्टरकहाँ जाँदा केनलाई सामान्य रुघाखोकी मात्र नभई टाइप १ डायबेटिज मेलिटस पनि भएको पत्ता लाग्यो र यसलाई छोटकरीमा डायबेटिज भनिन्छ। यस्तो रोगमा रासायनिक असन्तुलनले गर्दा कुनै-कुनै पौष्टिक पदार्थ र विशेष गरी ग्लुकोज भनिने रक्‍त-चिनी प्रयोग गर्ने शरीरको क्षमतालाई असर गर्छ। केनले अस्पतालमा छ हप्ता बिताएपछि बल्ल तिनको रगतमा चिनीको मात्रा नियन्त्रणमा आयो।

यो थियो, आजभन्दा ५० वर्षअघिको कुरा अनि गत आधा शताब्दीमा यसको उपचारविधिमा निकै प्रगति भइसकेको छ। तैपनि, केन अझै मधुमेहबाट मुक्‍त छैनन्‌ अनि तिनीजस्ता अरू थुप्रै छन्‌। एउटा अनुमानअनुसार संसारभरि १४ करोडभन्दा बढी मानिस यस रोगले पीडित छन्‌ अनि विश्‍व-स्वास्थ्य संघअनुसार सन्‌ २०२५ सम्ममा त्यो संख्या दोब्बर हुन सक्छ। त्यसैकारण मधुमेहका रोगीहरूको संख्यामा तीव्र वृद्धिले गर्दा विशेषज्ञहरू चिन्तित हुनुको कारण बुझ्न सक्छौं। संयुक्‍त राज्य अमेरिकाको एउटा उपचार केन्द्रकी सहनिर्देशिका, डा. रविन एस. गोल्याण्ड यसो भन्छिन्‌, “अहिले मधुमेह रोगीहरूको संख्या हेर्दा यो त महामारीको सुरुआत हुन सक्छ।”

संसारका विभिन्‍न ठाउँबाट प्राप्त यी संक्षिप्त रिपोर्टहरू विचार गर्नुहोस्‌:

अस्ट्रेलिया: अस्ट्रेलियाको अन्तरराष्ट्रिय मधुमेह संस्थाअनुसार “मधुमेह, यस एक्काइसौं शताब्दीको एउटा अत्यन्तै चुनौतीपूर्ण स्वास्थ्य समस्याको रूपमा खडा भएको छ।”

भारत: कम्तीमा पनि तीन करोड मानिसहरूलाई मधुमेह भएको छ। एक जना डाक्टर यसो भन्छन्‌, “आजभन्दा १५ वर्षअघि ४० वर्षमुनिकालाई मधुमेह लागेको सुनिंदैनथ्यो। अहिले ४० वर्ष उमेर मुनिका थुप्रै मानिसहरूलाई मधुमेह भइरहेको छ।”

सिंगापुर: अहिले ३० देखि ६९ वर्षबीचका एक तिहाई जनसंख्यालाई मधुमेह भएको छ। दस वर्ष मात्र पुगेका स-साना बालबालिकाहरूमा पनि मधुमेह देखा पर्न थालेको छ।

संयुक्‍त राज्य अमेरिका: लगभग १.६ करोड मानिसहरू पीडित छन्‌ र वर्षेनी ८,००,००० नयाँ रोगीहरू देखा पर्छन्‌। लाखौंलाई यो रोग लागेको छ तर तिनीहरूलाई थाहै छैन।

मधुमेह भएको निकै समयपछि मात्र निदान हुने हुँदा पनि यसको उपचार गर्न गाह्रो हुन्छ। एसियाविक पत्रिका यस्तो टिप्पणी गर्छ, “सुरुका लक्षणहरू त्यति उग्र नहुने हुँदा लामो समयसम्म यसको त्यति यादै गरिंदैन।” यसैकारण मधुमेहलाई मौन हत्यारा भनी नामाकरण गरिएको छ।

यसको व्यापकता र गम्भीरतालाई विचार गर्दा यसपछिका लेखहरूले यी प्रश्‍नहरूको जवाफ दिनेछ:

● कुन कारणले गर्दा मधुमेह हुन्छ?

● यो रोग लागेकाहरूले कसरी यसको सामना गर्न सक्छन्‌? (g03 5/08)

[पृष्ठ ४-मा भएको पेटी/चित्र]

यो नाउँ दिइनुको कारण

डायबेटिज मेलिटस अर्थात्‌ मधुमेह भन्‍ने अभिव्यक्‍ति, “वक्रनलीबाट तरल पदार्थ निकाल्नु” भन्‍ने अर्थ बुझाउने युनानी शब्द र “महजस्तो गुलियो” भन्‍ने अर्थ बुझाउने ल्याटिन शब्दबाट लिइएको हो। माथिका अभिव्यक्‍तिहरूले यस रोगको सही वर्णन गर्छ किनभने मधुमेह भएको व्यक्‍तिले पानी पिउने बित्तिकै शरीरबाट पानी तानेर निकालेझैं मुत्रनली हुँदै बाहिर निष्कासन हुन्छ। यसबाहेक, पिसाबमा चिनीको मात्रा बढी हुन्छ। साँच्चै भन्‍ने हो भने, अहिलेको जस्तो प्रभावकारी प्रविधि विकास हुनुअघि मधुमेहको परीक्षण गर्ने एउटा तरिका, कमिलाको गोलो नजिकै बिरामीको पिसाब खन्याउनु थियो। कमिलाहरू यसप्रति आकर्षित भएको खण्डमा पिसाबमा चिनी भएको प्रमाणित हुन्थ्यो।