सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हेर्नुहोस्‌ बडेमाको जलगैंडा!

हेर्नुहोस्‌ बडेमाको जलगैंडा!

हेर्नुहोस्‌ बडेमाको जलगैंडा!

केन्याका ब्यूँझनुहोस्‌! लेखकद्वारा

केन्याको मसाइ मारा वन्यजन्तु निकुञ्जको ठूलो पोखरी साँझको सूर्यको किरणमा टिलपिल गरिरहेको छ। क्षितिजमा घाम अस्ताउँदै गर्दा पानीमा सुनौलो खैरो रङ टल्कन्छ। केही मिटर पर पाते घोडा र साँढे जस्तो जनावरको (नू) बथान आफ्नै सुरमा पोखरीतिर लमकलमक लम्कँदैछन्‌। अकस्मात्‌ यी जनावरहरू एकदमै तर्सिएझैं गरी टक्क अडिन्छन्‌ र पोखरीको छेउमा विशाल ढुंगाजस्तै आकृतिलाई हेरेर टोलिन्छन्‌। पानीमा बेसरी छ्‌वाम्लाङ्‌ग-छुम्लुङ्‌ग गरिसकेपछि त्यो “ढुंगा” पानीभित्र विलीन हुन्छ। पाते घोडा र यी साँढे जस्तो जनावरहरूले पानीमा बस्ने त्यो विशाल जन्तु अर्थात्‌ जलगैंडा देखे।

पूर्वी अफ्रिकाको पोखरी, नदी तथा तालहरूमा पाइने यी जलगैंडाहरू हात्तीको तुलनामा मात्र साना हुन्छन्‌। पूरै हुर्किसकेको जलगैंडाको लम्बाइ ४ मिटर र कुमसम्मको उचाइ १.५ मिटरसम्म हुन्छ। यसको वजन चार टनसम्म हुन सक्छ। न्यु वर्ल्ड ट्रान्सलेसन बाइबलको अय्यूबको पुस्तकमा उल्लेख गरिएको “बेहिमोथले” जलगैंडालाई नै संकेत गरेको हुनुपर्छ। यो विशाल जन्तुका हड्डीहरू “काँसाका नल” र “फलामका आग्लाजस्तै” भनी तुलना गर्नु कुनै अचम्मको कुरा होइन।—अय्यूब ४०:१५-१८.

बाक्लो छाला, रौं नभएको अनि बेढंगको देखिने यी ड्रम आकारका जलगैंडाहरूले सौन्दर्य प्रतियोगितामा अवश्‍य ठाउँ पाउनेछैनन्‌। जलगैंडाको खुट्टा छोटो हुने हुँदा त्यस्तो बडेमाको शरीरलाई यसले कसरी थाम्छ होला भनेर कोही कोही छक्क पर्छन्‌। तर यी ढ्याब्रे खुट्टाको बललाई हल्कासित नलिनुहोस्‌। जमिनमा यो जलगैंडा मान्छेभन्दा छिटो दगुर्न सक्छ। भनिन्छ, पानीमा भने यसले मान्छेले चलाउने सानो डुंगा वा मोटरबोटलाई समेत उछिन्‍न सक्छ।

पानीमा जीवन

जलगैंडाहरू मित्रैला प्राणीहरू हुन्‌ र यी सामान्यतया १०-१५ वटाको समूहमा बस्छन्‌ र यिनीहरूको एउटा भाले नेता हुन्छ तर कहिलेकाहीं १५० वटा जलगैंडाको ठूलो समूह समेत देखिएको छ। यिनीहरू जल र थल दुवैमा बस्छन्‌ अनि प्रायजसो राति पानीबाट बाहिर निस्केर किनारामा पाइने हरिया वनस्पतिबाट आफ्नो आहारा लिन्छन्‌। यिनीहरू साधारणतया पानीबाट निस्केर लामो समयसम्म बाहिर बस्दैनन्‌। तथापि, सुखा मौसममा भने केही जलगैंडाहरू खानाको खोजमा दस किलोमिटरसम्म हिंडेको पनि पाइएको छ।

जलगैंडाहरूले कसरी आफ्नो सीमा तोक्छन्‌, त्यो स्पष्ट छैन। यिनीहरूले आफ्नो दिसालाई पुच्छरले फैलाएर पोथी जलगैंडालाई आकर्षित गर्ने वा शत्रुलाई तर्साउन खोजे जस्तो देखिन्छ। यो यिनीहरूको एउटा अनौठो बानी हो। अरूले आक्रमण गर्दा यिनीहरू घोडाजस्तै हिनहिनाउँछन्‌ भने झगडा गर्दा साँढेको जस्तो आवाज निकाल्छन्‌ वा गर्जन्छन्‌। यी जनावरहरू पानीमा पूरै डुबेको बेलामा समेत ठूलो आवाजले फूँफूँ गरेको सुनिन्छ। भाले जलगैंडाले मु मु आवाज निकालेर आफ्नो चिनारी दिन्छ।

दिउँसोको समय जलगैंडा प्रायजसो पानीमुनि पूरै डुबेर वा केही भाग पानीमाथि निकालेर बस्छ र यसको विशाल शरीर पानीमा बस्न एकदमै उपयुक्‍त छ। अरू उभयचर प्राणीहरूजस्तो यो पौडन निपुण नहोला तर यो १५ मिनेटसम्म पानीमुनि बस्न सक्छ! यसको नाकको प्वाल, आँखा र कान जम्मै एउटै तहमा हुने हुँदा शरीरको बाँकी भाग जम्मै पानीमुनि डुबाइरहन सक्छ। यसरी जलगैंडाले पानीमुनि नै आफ्नो जोडी खोज्ने अनि भालेपोथीको भेटघाट जस्ता अन्य थुप्रै क्रियाकलाप गर्छ।

आठ महिने गर्भाधारण अवधिपछि त्यति गहिराइ नभएको पानीमा यसले एउटा बच्चा जन्माउँछ। जमिनमा वा गोलीगाँठोजति पानी भएको ठाउँमा बच्चाले आमाको दूध चुस्न थाल्छ। जलगैंडा एकदमै बलियो प्राणी भए तापनि यसले आमाबाबुको भूमिकालाई गम्भीरतापूर्वक लिन्छ र आफ्नो बच्चाको अत्यन्तै कोमल स्याहारसुसार गर्छ। निस्सन्देह, ढाडमा बच्चा बोकेर पानीमा तैरिरहेको जलगैंडाको दृश्‍य अत्यन्तै मनमोहक देखिन्छ। निस्सन्देह, सुधो देखिने यो जनावरको बच्चालाई अरू कसैले निकाल्ने प्रयास गरेको खण्डमा आफ्नो भएभरको बल प्रयोग गरेर यसले प्रतिरोध गर्छ!

जलगैंडाको छाला पानीमा बस्नको लागि एकदमै उपयुक्‍त छ। यो जनावर जमिनमा उत्रने बित्तिकै शरीरमा अचम्मका परिवर्तनहरू देखिन्छ। छालामुनिका ग्रन्थिहरूले रातो खरानी रङ अनि नुनको मात्रा एकदमै बढी भएको पातलो ऱ्‍याल निकाल्छ। टाढाबाट हेर्दा यो रङको कारण रगतको पसिना बगेको जस्तो देखिन्छ। तथापि, यो ऱ्‍याले पदार्थले पानी र जमिन दुवै ठाउँमा जलगैंडाको छालालाई बचाउँछ। पुरातन अफ्रिकी समुदायहरूमा जलगैंडाको छालाको पत्र पत्र काटेर तेलमा डुबाइन्थ्यो। अनि यसरी पत्रहरू बटारेर सुकाएपछि कोर्रा बनाइन्थ्यो अनि साँधसीमासम्बन्धी झगडा हुँदा यसको प्रयोग गरिन्थ्यो। a गिज्मेक एनिमल लाइफ इन्साइक्लोपीडिया-अनुसार कम्तीमा छ वर्ष लाग्ने छालाको प्रशोधन कार्यपछि जलगैंडाको छाला “चट्टान जत्तिकै कडा र साढे चार सेन्टिमिटर बाक्लो हुन्छ।”

प्रभावकारी तर भयानक हाई

जलगैंडाको झट्टै याद हुने पक्ष अवश्‍य पनि यसको मुख हो। जमिनमा यो जनावरले पानी नजिकै चर्नको लागि आधा मिटर चौडा ओठ प्रयोग गर्छ। यद्यपि, यसको मुख भोजन लिने साधन मात्र होइन। जलगैंडाले १५० डिग्री गरेर आफ्नो बंगारा खोल्दा यसले केवल हाई काढ्‌ने मात्र नभई जोधाहापन पनि देखाउँछ। यसको वासस्थान एकदमै साँघुरिंदै गएको हुँदा प्रतिद्वन्दीहरूबीच भीषण झगडा हुने गर्छ। खुला मुखभित्र हेर्ने हो भने भीमकाय तल्लो बंगारा देखिन्छ। यी प्रतिरोधात्मक हतियारहरूको लम्बाई ३० सेन्टिमिटरसम्म हुन सक्छ।

जलगैंडाको मुख अरू जलगैंडालाई मात्र नभई मानिसहरूको निम्ति पनि खतरनाक हुन सक्छ। जलगैंडासित मिलेर बस्ने सबै मानव प्रयासहरू विफल भएका छन्‌। जलगैंडाको नजिक आउन खोज्ने सबैमाथि यसले अप्रत्याशित आक्रमण गर्छ। यसबाहेक, जलगैंडा घाइते भयो भने असाध्यै चिढिन्छ र आक्रमणकारीलाई अझ घातक हानि पुऱ्‍याउन सक्छ। रिसाहा जलगैंडाको विशाल बंगाराले गर्दा डुंगाहरूसमेत डुबेका छन्‌।

जमिनमा छँदा पनि जलगैंडा पानीमा जत्तिकै हिंस्रक हुन्छ। उदाहरणका लागि, चरिरहेको जलगैंडा र पानीको बीचमा जानु एकदमै खतरनाक हुन्छ। निस्सन्देह, अफ्रिकाका कुनै कुनै भागहरूमा होसियार नभएका गाउँलेहरूले जलगैंडा पानीमा जाने बाटोमा अवरोध खडा गर्दा आक्रमणको सिकार हुन पुगेका छन्‌। यो जनावरले मानिस र पशु दुवैमा डर उत्पन्‍न गर्छ अनि त्यसप्रति असाध्यै सावधानी र आदरपूर्व व्यवहार गर्नुपर्छ।

के जलगैंडाको अस्तित्व रहिरहनेछ?

जमिनमा एक्लै चरिरहेको जलगैंडालाई सिंहहरूले सजिलै आक्रमण गर्न सक्छन्‌। तैपनि, जलगैंडाको लागि सबैभन्दा खतरनाक शत्रु मानिसजस्तो देखिन्छ। “मानिसहरूले गर्दा जलगैंडाको संख्या र यिनीहरू बसोबास गर्ने इलाका पनि निकै साँघुरिएको छ” भनी वर्ल्ड बूक इन्साइक्लोपीडिया बताउँछ। “सिकारीहरूले थुप्रै जलगैंडाहरू मारेका छन्‌ र कुनै समय यी जलगैंडाहरू बसोबास गर्ने इलाकामा मानिसहरूले बाली लगाउन थालेका छन्‌।”

हो, जलगैंडाको वासस्थानमा मानव अतिक्रमणले यी जनावरहरूलाई सानो इलाकामा बस्न बाध्य तुल्याएको छ जसले गर्दा यिनीहरू स्वतन्त्र भई हिंड्डुल गर्न र सन्तान जन्माउन केही हदसम्म निषेधित भएका छन्‌। खुसीको कुरा, परमेश्‍वरको राज्य शासनको अधीनमा सृष्टिकर्ताले मानिस र पशुबीच उचित सन्तुलन पुनः कायम गर्नुहुनेछ अनि पुनर्स्थापित प्रमोदवनमा कसैले “नता केही हानि न नोक्सानी गर्नेछन्‌।”—यशैया ११:९. (g03 5/08)

[फुटनोट]

a जलगैंडाको स्वाहिली नाउँ किबोको हो र यसको अर्थ हो, “कोर्रा।”

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

Elizabeth DeLaney/Index Stock Photography