सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूको चित्त दुखाउने बोली त्याग्नुहोस्‌

अरूको चित्त दुखाउने बोली त्याग्नुहोस्‌

बाइबलको दृष्टिकोण

अरूको चित्त दुखाउने बोली त्याग्नुहोस्‌

“एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्‌। हे मेरा भाइ हो, यस्तो कुरा हुन नपाओस्‌।”—याकूब ३:१०.

हाम्रो बोल्ने क्षमता एउटा यस्तो विशेष गुण हो जसले हामीलाई जनावरहरूभन्दा भिन्‍न देखाउँछ। दुःखको कुरा केही मानिसहरू यस वरदानको दुरुपयोग गर्छन्‌। अपमान, सराप, गाली, ईश्‍वरनिन्दा, छाडा अनि अश्‍लील बोलीले कहिलेकाहीं शारीरिक चोटभन्दा बढी हानि पुऱ्‍याउन सक्छ। “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ” भनेर बाइबल बताउँछ।—हितोपदेश १२:१८.

धेरैभन्दा धेरै मानिसहरूलाई मुख छोड्‌नु र सराप्नु सामान्य भइसकेको छ। स्कूलहरूले, केटाकेटीले धेरै फोहोर बोली बोल्न थालेको रिपोर्ट गरेका छन्‌। तथापि, केही मानिसहरू आफ्नो मनको कुरा व्यक्‍त गर्नको लागि त्यस्तो हानिकारक बोली बोल्नु राम्रै हुन सक्छ भन्‍ने दाबी गर्छन्‌। राजनैतिक विज्ञानका एक जना विद्यार्थीले यस्तो लेखे: “सामान्य बोलीले हाम्रा गुम्सिएका भावनाहरूलाई प्रकट गर्न नसक्दा फोहोर बोली नै मात्र त्यसको विकल्प हुन सक्छ।” के मसीहीहरूले पनि हानिकारक बोलीहरूको सन्दर्भमा त्यस्तै हल्का दृष्टिकोण राख्नुहुन्छ? परमेश्‍वर यसबारे कस्तो महसुस गर्नुहुन्छ?

अश्‍लील ठट्टालाई घृणा गर्नुहोस्‌

अश्‍लील बोली आधुनिक समयमा मात्र देखा परेको होइन। झन्डै २००० वर्ष अघि प्रेरितहरूको दिनमा पनि आश्‍लील बोली बोल्थे भन्‍ने कुरा थाह पाउँदा के तपाईंलाई अचम्म लाग्छ? उदाहरणका लागि, कलस्सी मण्डलीका कसै-कसैले रिस उठ्‌दा अश्‍लील शब्दहरू प्रयोग गर्थे जस्तो देखिन्छ। तिनीहरूले जानाजानी वा सायद बदला लिने मनसायले अरूलाई चोट वा हानि पुऱ्‍याउन त्यसो गरेका हुन सक्छन्‌। त्यस्तै गरी, आज थुप्रै मानिसहरू रिसले पड्‌केर अश्‍लील बोली प्रयोग गर्छन्‌। तसर्थ, पावलले कलस्सीका मसीहीहरूलाई लेखेको पत्र आज हाम्रो समयमा पनि सान्दर्भिक छ। पावलले यस्तो लेखे: “तिमीहरूले पनि रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग।” (कलस्सी ३:८) स्पष्टतया, मसीहीहरूलाई रिससँगसँगै प्रयोग हुने फोहोर अर्थात्‌ अश्‍लील बोली र रिसले नपड्‌किन सल्लाह दिइएको छ।

हो, थुप्रै मानिसहरू अरूलाई घात वा चोट पुऱ्‍याउने कुनै मनसाय नराखी अश्‍लील शब्दहरू बोल्छन्‌। अश्‍लील बोली प्रायजसो अनौपचारिक कुराकानीमा प्रयोग गरिन्छ। यसरी तुच्छ बोलीले दैनिक कुराकानीमा गहिरोसित जरा गाडिसकेको छ। कसै-कसैलाई यस्ता आपत्तिजनक शब्दहरूको प्रयोग नगरी कुरा गर्न समेत गाह्रो लाग्छ। अक्सर, अश्‍लील बोली अरूलाई हँसाउनको लागि मात्र प्रयोग गरिन्थ्यो। तर के त्यस्तो अश्‍लील ठट्टालाई हल्कासित लिनुहुन्छ? निम्न कुरा विचार गर्नुहोस्‌।

अश्‍लील ठट्टा अरूको मनोरञ्जनको लागि प्रयोग गरिने आघातपूर्ण भाषा हो। आजभोलि अश्‍लील ठट्टा अक्सर यौनसित सम्बन्धित छ। अनि आफूलाई भद्र ठान्‍ने व्यक्‍तिहरूलाई समेत त्यस्तो भाषा मनोरञ्जक लाग्छ। (रोमी १:२८-३२) त्यसैले, थुप्रै पेसेवर हास्यकलाकारहरूले स्वाभाविक तथा अस्वाभाविक यौन क्रियाकलापहरूलाई आफ्नो अभिनयको मुख्य विषयवस्तु बनाउनु कुनै अनौठो कुरा होइन। अश्‍लील ठट्टा थुप्रै चलचित्रका साथसाथै टेलिभिजन तथा रेडियो कार्यक्रमहरूमा देखाइन्छ।

तर अश्‍लील ठट्टाको सन्दर्भमा बाइबल मौन छैन। प्रेरित पावलले एफिससका मण्डलीहरूलाई यस्तो लेखे: “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ। औ न अशिष्टता, न बेमतलबका कुरा अथवा ठट्टाअश्‍लील ठट्टा, NW], यी उचित होइनन्‌, तर बरु धन्यवाद दिने काम होस्‌।” (एफिसी ५:३, ४) स्पष्टतया, अश्‍लील भाषा, चाहे जस्तोसुकै मनसाय राखी बोलिएको किन नहोस्‌, परमेश्‍वरलाई स्वीकार्य छैन। यो खराब छ। यो अरूको चित्त दुखाउने बोली हो।

परमेश्‍वरलाई दुःखी तुल्याउने कठोर शब्दहरू

चित्त दुखाउने बोलीले अश्‍लील भाषालाई मात्र बुझाउँदैन। अपमान, व्यंग्योक्‍ति, उपहास र कटु आलोचनाले गहिरो चोट पुऱ्‍याउन सक्छ। हो, विशेष गरी हाम्रो वरपर व्याप्त व्यंग्य अनि कुरा काट्‌ने वातावरणमा हामी सबैले पनि आफ्नो जिब्रोबाट पाप गर्न सक्छौं। (याकूब ३:२) तैपनि, साँचो मसीहीहरूले कहिल्यै पनि निन्दाप्रति हल्का दृष्टिकोण राख्नु हुँदैन। चोट पुऱ्‍याउने जुनसुकै प्रकारको बोली यहोवा परमेश्‍वरले मन पराउनुहुन्‍न भनेर बाइबलले स्पष्टसित बताउँछ।

उदाहरणका लागि, बाइबलको दोस्रो राजाको पुस्तकमा हामी अगमवक्‍ता एलीशालाई मौखिक रूपमा हैरान पार्ने ठिटाहरूको एउटा झुण्डबारे सिक्छौं। तिनीहरूले “तिनलाई यसो भन्दै जिस्काउनथाले, ‘ए मुडुले, जाऊ, जाऊ,’ ” भनी विवरणले बताउँछ। यी जवान ठिटाहरूको मन पढ्‌न सक्नुहुने यहोवाले तिनीहरूको दुर्भावपूर्ण मनोभावलाई देखेर त्यस्तो मौखिक दुर्व्यवहारलाई गम्भीरतासाथ लिनुभयो। त्यस अभिलेखले बताएअनुसार परमेश्‍वरले तिनीहरूको मौखिक दुर्व्यवहारका कारण ती ४२ जना ठिटाहरूलाई मृत्युदण्ड दिनुभयो।—२ राजा २:२३, २४.

इस्राएलका मानिसहरूले “परमप्रभुको क्रोध तिनीहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँको दूतहरूलाई हंसी-ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा गर्न [तुच्छ ठान्‍न] र उहाँका अगमवक्‍ताहरूका गिल्ला गर्न छोड़ेनन्‌। औ त्यो शान्त हुनैसकेन।” (२ इतिहास ३६:१६) विशेष गरी आफ्ना जनहरूको मूर्तिपूजक तथा अनाज्ञाकारी मार्गका कारण परमेश्‍वरको क्रोध उठेको भए तापनि बाइबलले परमेश्‍वरका जनहरूलाई गरिएको मौखिक दुर्व्यवहारबारे वर्णन गर्नु उल्लेखनीय छ। यसले, त्यस्तो चालचलनलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न भन्‍ने कुरा सुस्पष्ट हुन्छ।

त्यस्तै गरी, बाइबलले मसीहीहरूलाई यस्तो सल्लाह दिन्छ: “बूढा मानिसलाई नहप्काऊ [आलोचना नगर्नू, NW]।” (१ तिमोथी ५:१) यो सिद्धान्त जोकसैसित व्यवहार गर्दा पनि लागू गर्न सकिन्छ। बाइबलले हामीलाई “कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू” भन्‍ने प्रोत्साहन दिन्छ।—तीतस ३:२.

चूप लागि बस्ने

कहिलेकाहीं कसैलाई मौखिक तवरमा घात पुऱ्‍याउने तीव्र इच्छालाई दबाउन निकै कठिन हुन्छ। कहिलेकाहीं कसैले गल्ती गर्दा त्यस्तो व्यक्‍तिलाई उसकै अघि वा उसको पछाडि सजाए स्वरूप निर्दयी अनि कठोर शब्दहरू चलाएर गाली गर्नु उचित लाग्न सक्छ। तैपनि, मसीहीहरू त्यस्तो तीव्र इच्छाको प्रतिरोध गर्छन्‌। हितोपदेश १०:१९ यस्तो उल्लेख गर्छ: “मानिसहरू जति धेरै बोल्छन्‌ उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ। बुद्धिमान मानिस चूप लागिबस्छ।”

परमेश्‍वरका स्वर्गदूतहरूले राम्रो उदाहरण बसालेका छन्‌। तिनीहरूलाई मानवजातिले गरेका सम्पूर्ण गल्तीहरूबारे थाह छ। स्वर्गदूतहरू मानिसहरूभन्दा बलियो अनि शक्‍तिशाली भए तापनि मानिसहरूलाई निन्दा गरेर “प्रभुका सामने [प्रभुलाई आदर देखाउँदै, NW] तिनीहरूलाई . . . दोष दिंदैनन्‌।” (२ पत्रुस २:११) हरेकको गल्ती परमेश्‍वरलाई थाह छ भन्‍ने थाह पाएर कामकुराहरूलाई मिलाउन उहाँ सक्षम हुनुहुन्छ भन्‍ने विचार गरी ती स्वर्गदूतहरू चूप लागि बस्छन्‌। सबै स्वर्गदूतहरूका प्रधान माइकलले दियाबललाई समेत निन्दा गर्नुभएन।—यहूदा ९.

मसीहीहरू स्वर्गदूतहरूको अनुकरण गर्ने कोसिस गर्छन्‌। तिनीहरू बाइबलको यो सल्लाह पछ्याउँछन्‌: “कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ”—रोमी १२:१७-१९.

चाखलाग्दो कुरा, हाम्रो आवाजमा हुने उतारचढावले पनि हामीले भनेको कुराले अरूलाई हानि गर्ने खालको छ छैन निर्क्यौल गर्न सक्छ। पतिपत्नीबीच बाझाबाझ पर्दा एक अर्कालाई चोट पुऱ्‍याउनु असामान्य कुरा होइन। थुप्रै आमाबाबु आफ्ना छोराछोरीसित अक्सर ठूलो स्वरले कराउँछन्‌। तथापि, हामीले आफ्नो भावना व्यक्‍त गर्दा ठूलो स्वरले कराउनु वा हो-हल्ला गर्नु आवश्‍यक छैन। बाइबल यस्तो आग्रह गर्छ: “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफिसी ४:३१) “प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला, सिकाउनसक्ने, सहनशील” हुनुपर्छ भनेर पनि बाइबल भन्छ।—२ तिमोथी २:२४.

निको पार्ने वचन

आज अपमानजनक अनि अश्‍लील बोलीहरू व्याप्त भएको हुनाले मसीहीहरूसित यस्तो हानिकारक प्रभावको प्रतिरोध गर्ने राम्रो तरिका हुनुपर्छ। बाइबलले एउटा राम्रो तरिका प्रस्तुत गर्छ र त्यो हो, छिमेकीलाई प्रेम गर्ने। (मत्ती ७:१२; लूका १०:२७) छिमेकीहरूप्रतिको निष्कपट चासो र प्रेमले हामीलाई सधैंभरि निको पार्ने शब्दहरू प्रयोग गर्न उत्प्रेरित गर्नेछ। बाइबल भन्छ: “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्‌, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।”—एफिसी ४:२९.

साथै, हाम्रो मनमा परमेश्‍वरको वचन रोप्नाले पनि अरूलाई चित्त दुखाउने बोली त्याग्न हामीलाई मदत गर्छ। पवित्र धर्मशास्त्रहरू पढ्‌ने र मनन गर्ने गर्नाले हामीलाई ‘सबै फोहोर हटाउन’ मदत गर्न सक्छ। (याकूब १:२१) हो, परमेश्‍वरको वचनले हाम्रो सोचाइलाई शुद्ध पार्न सक्छ। (g03 6/8)