सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन पुनः देखा पऱ्‍यो?

किन पुनः देखा पऱ्‍यो?

किन पुनः देखा पऱ्‍यो?

लगभग ४० वर्षअघि कीराले सार्ने औलो, पहेंलो ज्वरो र डेंगजस्ता सामान्य रोगहरू पृथ्वीको अधिकांश भागबाट निर्मूल भइसकेका छन्‌ भन्‍ने सोचाइ थियो। तर अकस्मात्‌ आशै नगरेको कुरा भयो—कीराले सार्ने रोगहरू पुनः देखा पर्न थाले।

किन? एउटा कुरा, कुनै-कुनै कीरा र यिनीहरूले बोक्ने जीवाणुहरूलाई नियन्त्रण गर्न प्रयोग गरिएको कीटनाशक र औषधीप्रति प्रतिरोध विकास गरेका छन्‌। जीवाणुहरूले यस्तो प्रतिरोध विकास गर्नुको कारण कीटनाशकहरूको अत्यधिक प्रयोग मात्र नभई औषधीहरूको दुरुपयोग पनि हो। मस्कीटो नामक पुस्तक यसो भन्छ: “धेरैजसो गरिब परिवारहरूमा मानिसहरूले रोगको लक्षण कम गर्न चाहिने जति मात्र औषधी सेवन गर्छन्‌ अनि बाँकी अर्को पटक बिरामी हुँदाको लागि बचाएर राख्छन्‌।” यसरी पूरा निवारण नहुँदा बलिया जीवाणुहरू मानिसको शरीरमा रहिरहन सक्छ र यिनीहरूमा नयाँ पुस्ताको रोग प्रतिरोधात्मक क्षमता बढ्‌दै जान्छ।

मौसममा परिवर्तन

कीराले सार्ने रोगहरू पुनः देखा पर्नुको एउटा महत्त्वपूर्ण कारण, प्रकृति र समाजमा परिवर्तन हो। एउटा सान्दर्भिक उदाहरण, विश्‍वव्यापी मौसममा भएको परिवर्तन हो। विश्‍वव्यापी तवरमा मौसम तातो हुँदै जाँदा रोग सार्ने कीराहरू अहिले अलि चिसो मौसम भएका ठाउँहरूमा सर्नेछन्‌ भनी केही वैज्ञानिकहरूले अनुमान लगाउँछन्‌। यस्तो प्रक्रिया सुरु भइसकेको केही प्रमाणहरू भेट्टिएका छन्‌। हार्डबर्ड मेडिकल स्कूल अन्तर्गत स्वास्थ्य र विश्‍वव्यापी वातावरण केन्द्रका डा. पल आर एप्स्टीन यस्तो टिप्पणी गर्छन्‌: “कीरा र कीराले सार्ने रोगहरू (औलो र डेंग ज्वरोलगायत) हाल अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा अत्यधिक देखा पर्न थालेको छ।” कोस्टा रिकामा डेंग ज्वरो, पहाडहरूपारि समेत देखा पर्न थालेको छ जबकि केही समय अघिसम्म मात्र, यो प्रशान्त महासागरीय तटमा मात्र सीमित थियो भने अहिले पूरै देशमा फैलिसकेको छ।

तर गर्मी मौसमका अन्य असरहरू पनि हुन्छन्‌। कुनै-कुनै इलाकामा नदीहरू फोहोर पोखरीमा परिणत भएका छन्‌ भने अरू कतिपय ठाउँमा भने घनघोर वर्षा र बाढीले गर्दा ठूलठूला पोखरीहरू भएका छन्‌। दुवै अवस्थामा यसरी जमेको पानी लामखुट्टेहरूको निम्ति सन्तान उत्पादन गर्ने अत्यन्तै उपयुक्‍त ठाउँ हुन्छ। गर्मी मौसममा लामखुट्टेको प्रजनन चक्र छोटो हुन्छ, सन्तान उत्पादन दर बढ्‌नुका साथै लामखुट्टेहरू देखा पर्ने समयावधि लामो हुन्छ। तातो मौसममा लामखुट्टेहरू अझ सक्रिय हुन्छन्‌। तातो हावा लामखुट्टेको भुँडीसम्म पुग्छ अनि रोग सार्ने जीवाणुहरूको सन्तानोत्पादन दर बढाउँछ अनि फलस्वरूप एउटै टोकाइमा संक्रमण हुन सक्ने सम्भावना बढी हुन्छ। यद्यपि, चिन्ताका अरू विषयहरू पनि छन्‌।

रोग र यसको प्रसारणसम्बन्धी अध्ययन

मानव समाजका परिवर्तनहरूले पनि कीराले सार्ने रोगहरू बढाउन सक्छ। यसो हुनुको कारण बुझ्न हामीले कीराहरूको भूमिकालाई नियालेर हेर्नुपर्छ। प्रायजसो रोगमा, कीराहरू रोग प्रसारणका थुप्रै माध्यमहरूमध्ये एउटा मात्र हुन सक्छन्‌। कुनै पशु वा चरा आफ्नो रक्‍तप्रणालीमा कीरा वा सुक्ष्म जीवाणुहरू बोकेर रोग पाल्ने माध्यम भइरहेका हुन सक्छन्‌। यी परजीवी बोक्ने पशुहरू जीवित रहन सकेको खण्डमा, रोगका भण्डार पनि हुन सक्छन्‌।

लाइम रोगलाई विचार गर्नुहोस्‌। यो रोग १९७५ मा पहिलो चोटि सं.रा.अ.-को कनेक्टिकटको लाइममा पत्ता लागेपछि त्यसैबाट यो नाउँ राखियो। युरोपबाट आएका जहाजमा भएका मुसा वा गाइवस्तुबाट लाइम रोगको ब्याक्टेरिया उत्तर अमेरिकामा भित्रिएको हुन सक्छ। अति सानो इक्सोडेस किर्नाले संक्रमित पशुको रगत चुसेपछि किर्ना नमरुन्जेल ब्याक्टेरिया त्यसको पेटमा रहिरहन्छ। यो किर्नाले पछि अर्को पशु वा मानवलाई टोकेपछि त्यसको रक्‍तप्रणालीमा ब्याक्टेरिया सर्न सक्छ।

उत्तरपूर्वी अमेरिकामा लाइम रोग स्थानीय तवरमा एकदमै व्यापक छ र त्यहाँ यो रोग देखा परेको धेरै भइसक्यो। लाइम रोगको ब्याक्टेरियाको मूल स्रोत, सेतो खुट्टा भएको मुसा हो। यी मुसाहरूमा किर्नाहरू र अझ विशेष गरी हुर्कंदै गरेका किर्नाहरू पाइन्छन्‌। हुर्किसकेका किर्नाहरू मृगलाई आफ्नो घर बनाउन रुचाउँछन्‌ अनि तिनीहरूले त्यहीं नै खाने र सन्तान जन्माउने गर्छन्‌। एक चोटि रगतले टन्‍न भइसकेपछि हुर्किसकेको पोथी किर्नाले भुइँमा फुल पार्न थाल्छे र त्यसबाट निस्कने लार्भाहरूले नयाँ जीवनचक्र सुरु गर्छन्‌।

परिस्थितिमा हेरफेर

वर्षौंदेखि जनावर र कीराहरूमा प्याथोजेनहरू सँगसँगै बसे तापनि मानिसहरूलाई कुनै रोग सारेका थिएनन्‌। तर परिस्थितिको हेरफेरले गर्दा स्थानीय तवरमा व्यापक फैलिएको रोगले महामारीको रूप लिएर एउटा समुदायका थुप्रै मानिसहरूलाई असर गर्न सक्छ। लाइम रोगको सन्दर्भमा कस्तो परिवर्तन भयो?

विगतमा, सिकारी जनावरहरूले मृगको संख्यालाई नियन्त्रणमा राखेर मृगमा हुने किर्ना र मानिसबीचको सम्पर्क कम गर्न मदत गरेको थियो। युरोपबाट आएका मानिसहरूले जंगल फँडानी गर्न थाल्दा मृगको संख्या अझ घट्यो र मृगका सिकारीहरू पनि अन्तै गए। तर १९ औं शताब्दीको बीचतिर कृषिको लागि पश्‍चिमतिर सर्दै जाँदा थुप्रै खेतहरू त्यत्तिकै छोडियो अनि ती ठाउँहरूले फेरि जंगलको रूप लियो। मृगहरू त्यहाँ फेरि फर्के तर तिनीहरूका सिकारीहरू भने फर्केनन्‌। तसर्थ, मृगको संख्यामा अत्यधिक वृद्धि हुनुको साथसाथै किर्नाको संख्या पनि बढ्यो।

केही समयपछि लाइम रोगको ब्याक्टेरिया देखा पऱ्‍यो अनि दशकौं निष्क्रिय रहेर पछि मानिसहरूको लागि खतराको रूपमा देखा पऱ्‍यो। तथापि, जंगलको छेउछाउमा शहरहरू बसालिंदा थुप्रै केटाकेटी तथा वयस्कहरू किर्नाको आवास क्षेत्रमा प्रवेश गर्न थाले। किर्नाहरू मानिसहरूको शरीरमा टाँसिन थाले अनि मानिसहरूलाई लाइम रोग सऱ्‍यो।

अस्थिर संसारमा रोग

माथिको दृश्‍यले, रोगले लिएको एउटा बाटो मात्र देखाउँछ अनि ती पुनः देखा पर्न मानिसका कार्यहरूले कस्तो योगदान पुऱ्‍याएका छन्‌ भनी देखाउने एउटा उदाहरण मात्रै हो। वातावरणविद्‌ युजिन लिन्डेनले द फ्युचर इन प्लेन साइट नामक पुस्तकमा यस्तो लेख्छन्‌: “नयाँ रूपमा पुनः देखा परेका प्रायजसो सबै रोगहरूको प्रमुख कारण मानिसहरूको हस्तक्षेप हो।” अन्य केही उदाहरण यस्ता छन्‌: आधुनिक यात्राको लोकप्रियता तथा गतिले प्याथोजेन र तिनीहरूका वाहकहरूलाई संसारभरि फैलाउन सक्छ। साना ठूला दुवै प्राणीहरूको बासस्थानलाई नोक्सान पुऱ्‍याउँदा जैविक विविधतालाई खतरामा पार्छ। लिन्डेन यस्तो टिप्पणी गर्छन्‌: “प्रदूषणले हावा र पानीलाई असर गर्छ अनि फलस्वरूप जनावर तथा मानिसहरू दुवैको रोग प्रतिरोध क्षमतालाई कमजोर पार्छ।” डा. एप्स्टीनको भनाइमा थप्दै तिनी यसो भन्छन्‌: “वास्तवमा भन्‍ने हो भने, पर्यावरणमा मानव हस्तक्षेपले विश्‍वको रोग प्रतिरोध क्षमतालाई कमजोर बनाएर जीवाणुहरूको निम्ति उपयुक्‍त वातावरण सृजना गरेको छ।”

राजनैतिक अस्थिरताले गर्दा युद्ध हुन्छ र यसले जीव परिचक्रलाई हानि पुऱ्‍याउँछ अनि स्वास्थ्य सेवा तथा खाद्य वितरण सम्भव तुल्याउने संरचनालाई भत्काउँछ। यसको साथै, अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीले यसप्रकार औंल्याउँछ: “कुपोषित र कमजोर भएका शरणार्थीहरूलाई खचाखच भरिएको तथा फोहोर शिविरहरूमा राखिन्छ र त्यहाँ तिनीहरू विभिन्‍न किसिमका संक्रमणहरूको सिकार हुन्छन्‌।”

आर्थिक अस्थिरताले गर्दा मानिसहरू देश भित्र र बाहिर बसाइँ सर्छन्‌ अनि प्रायजसो शहरी इलाकाहरूमा ओइरिन्छन्‌। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीको बायोबुलेटिन यसो भन्छ: “प्याथोजेनलाई भीडभाड ठाउँ मन पर्छ।” शहरी जनसंख्या बढ्‌दै जाँदा “आधारभूत शिक्षा, पोषण र खोप कार्यक्रमजस्ता अत्यावश्‍यक स्वास्थ्य सेवाहरू सुचारुरूपमा चलाउन सक्दैनन्‌।” शहरी जनसंख्याको अत्यधिक चापले पानी, ढल निकास र फोहोर व्यवस्थापन प्रणालीमा भार थोपर्छ अनि यसो गर्दा सफाइ सुविधा र व्यक्‍तिगत स्वास्थ्यसम्बन्धी कुराहरू कठिन हुन्छ अनि कीरा र अन्य रोगवाहकहरूलाई उपयुक्‍त वातावरण सृजना गर्छ। तैपनि, अवस्था पूर्णतया निराशाजनक छैन भनी यसपछिको लेखले देखाउनेछ। (g03 5/22)

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

“नयाँ रूपमा पुनः देखा परेका प्रायजसो सबै रोगहरूको प्रमुख कारण मानिसहरूको हस्तक्षेप हो”

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

वेस्ट नाइल जीवाणुले संयुक्‍त राज्य अमेरिकामा अतिक्रमण गर्छ

वेस्ट नाइल जीवाणु खास गरी लामखुट्टेद्वारा मानिसलाई सर्छ अनि यो सर्वप्रथम १९३७ मा युगान्डामा र पछि मध्यपूर्व, एसिया, ओसियानिया तथा युरोपमा देखा पऱ्‍यो। यो जीवाणु सन्‌ १९९९ मा मात्र पश्‍चिमी गोलार्धमा देखा पऱ्‍यो। तथापि, त्यो समययता संयुक्‍त राज्य अमेरिकामा ३,००० भन्दा बढी यसबाट संक्रमित भइसके र २०० भन्दा बढी मानिसहरूको मृत्यु भइसक्यो।

संक्रमित भएका प्रायजसो मानिसहरूमा रुघाखोकीजस्तो लक्षण देखा परे तापनि धेरैलाई यसबारे थाहै हुँदैन। तर थोरै प्रतिशत मानिसहरूमा इन्सेफलाइटिस र मेरुदण्डको मेनिन्जाइटिसजस्ता घातक रोग देखा पर्न सक्छ। अहिलेसम्म वेस्ट नाइल जीवाणुको लागि रोकथाम खोप वा विशेष उपचार पत्ता लागेको छैन। अंग प्रत्यारोपण वा संक्रमित दाताबाट रक्‍तक्षेपण गर्दा यो वेस्ट नाइल जीवाणु सर्न सक्छ भनी रोग नियन्त्रण तथा रोकथामको लागि सं.रा.अ. केन्द्रले चेतावनी दिन्छ। “हालको लागि वेस्ट नाइल जीवाणु रक्‍त परीक्षणबाट पत्ता लगाउन सकिने उपाय छैन” भनी रोइटर्स न्युज सर्भिसले २००२ मा रिपोर्ट गऱ्‍यो।

[स्रोत]

CDC/James D. Gathany

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

तपाईं आफूलाई कसरी सुरक्षित राख्न सक्नुहुन्छ? गर्न हुने र गर्न नहुने केही कुराहरू

ब्यूँझनुहोस्‌!-ले स्वस्थ रहनको लागि कीरा र रोगबाट प्रभावित इलाकामा बस्ने संसारको विभिन्‍न इलाकाका मानिसहरूसित सर्वेक्षण लिएको थियो। तपाईंको आफ्नो इलाकामा पनि ती सुझाव मदतकारी साबित हुन सक्छ।

सफाइ—तपाईंको प्रतिरक्षाको पहिलो हतियार

तपाईंको घर सफा राख्नुहोस्‌

“पकाइसकेका खानेकुरा भाँडोमा छोपेर राख्नुहोस्‌। पाकेको खाना पस्किने बेला नभएसम्म छोपेर राख्नुहोस्‌। खाना पोखिएपछि तुरुन्तै पुछिहाल्नुहोस्‌। जुठो भाँडा रातभरि त्यत्तिकै नछोड्‌नुहोस्‌ वा खानेकुराको फोहोर बिहान फ्याँक्नको लागि रातभरि बाहिर नछोड्‌नुहोस्‌। यसलाई छोप्नुहोस्‌ वा पुर्नुहोस्‌ किनभने कीरा तथा मुसाहरू राति खाना खोज्दै आउँछन्‌। साथै, माटोको भुइँमा सिमेन्टको पातलो पत्र लगाउँदा घर सफा र कीरामुक्‍त गर्न सजिलो हुनेछ।”— अफ्रिका।

“कीराहरू झुम्मिने फलफूल वा अन्य कुराहरू घरबाट पर राख्नुहोस्‌। बोका, सुंगुर, कुखुराजस्ता वस्तुभाउलाई घरबाहिर राख्नुहोस्‌। बाहिरका चर्पीहरू पुर्नुहोस्‌। जनावरहरूको फोहोर तुरुन्तै पुर्नुहोस्‌ वा झिंगा भगाउन चून छर्कनुहोस्‌। तपाईंका छिमेकीहरूले यस्तो गर्दैनन्‌ भने पनि कीराहरूलाई केही हदसम्म नियन्त्रणमा राख्नुभएर तपाईंले राम्रो उदाहरण बसाल्न सक्नुहुन्छ।”— दक्षिण अमेरिका।

[चित्र]

खानेकुरा वा फोहोर त्यत्तिकै खुला छोड्‌नु भनेको कीरालाई तपाईंसित भोजन गर्न निम्त्याउनु सरह हो

व्यक्‍तिगत सरसफाइ

“साबुन धेरै महँगो पर्दैन, त्यसैले खास गरी मानिस वा जनावरहरूसितको सम्पर्कपछि आफ्नो हात तथा लुगाफाटाहरू पटक पटक धुनुहोस्‌। सिनुहरू नछुनुहोस्‌। आफ्नो हातले मुख, नाक र आँखा नछुनुहोस्‌। लुगाहरू सफा देखिए तापनि नियमित तवरमा धुनुहोस्‌। तथापि, कुनै-कुनै गन्धले कीराहरू आकर्षित गर्ने हुँदा बास्ना भएको साबुन तथा व्यक्‍तिगत सरसफाइसम्बन्धी सरसामानहरू प्रयोग नगर्नुहोस्‌।”— अफ्रिका।

रोकथामका उपायहरू

लामखुट्टे हुर्कनेबढ्‌ने ठाउँहरू हटाउनुहोस्‌

पानीको ट्यांकी र बाटाहरू छोप्नुहोस्‌। पानी जम्मा हुने सबै खुला भाँडाहरू हटाउनुहोस्‌। गमलामा पानी त्यत्तिकै जम्न नदिनुहोस्‌। चार दिनभन्दा लामो समयसम्म पानी जमेको ठाउँमा लामखुट्टेहरूले सन्तान उत्पादन गर्न सक्छन्‌।”— दक्षिणपूर्व एसिया।

कीराहरूसितको सम्पर्क सकेसम्म कम गर्नुहोस्‌

कीराहरू बस्न रुचाउने समय र ठाउँमा नजानुहोस्‌। उष्ण प्रदेशीय इलाकाहरूमा घाम चाँडै डुब्छ। त्यसैले अँध्यारोमै धेरैजसो क्रियाकलापहरू गर्नुपर्ने हुन्छ र यतिखेर नै कीराहरू पनि बढी सक्रिय हुन्छन्‌। कीराले सार्ने रोगहरू व्याप्त भएका ठाउँहरूमा बाहिर बस्दा वा सुत्दा खतरा बढी हुन्छ। — अफ्रिका।

[चित्र]

लामखुट्टे धेरै भएको देशमा बाहिर सुत्नु भनेको कीरालाई तपाईंको भोजन गर्न निम्त्याउनु सरह हो

विशेष गरी जंगलतिर जानुहुँदा आफ्नो शरीरको छाला सकेसम्म खुला नछोड्‌नुहोस्‌। तपाईंको लुगाफाटा र छालामा कीरा भगाउने औषधी लगाउनुहोस्‌ अनि लेबलमा दिइएको निर्देशन सधैं पछ्याउनुहोस्‌। बाहिर समय बिताउनुभएपछि कतै किर्ना टाँसिएर आएको छ कि भनेर आफू र आफ्ना छोराछोरीको शरीरमा हेर्नुहोस्‌। तपाईंका पाल्तु पशुहरू स्वस्थ तथा कीरामुक्‍त राख्नुहोस्‌। — उत्तर अमेरिका।

वस्तुभाउसित सकेसम्म कम मात्र सम्पर्क राख्नुहोस्‌ किनभने तिनीहरूबाट मानिसलाई रोग सर्न सक्छ। — मध्य एसिया।

परिवारका सबैको लागि झुल प्रयोग गर्नुहोस्‌ र त्यो कीटनाशक भएको खण्डमा अझ बेस हुनेछ। झ्यालमा जाली राख्नुहोस्‌ र कतै च्यातिएमा मर्मत गरिहाल्नुहोस्‌। छानामुनिबाट कीरा छिर्न सक्ने प्वालहरू टाल्नुहोस्‌। यस्तो रोकथाम गर्न केही पैसा खर्च हुन्छ तर तपाईंको बच्चा बिरामी भएर अस्पताल लानुपऱ्‍यो वा कमाइ गर्ने व्यक्‍ति बिरामी भयो भने अझ बढी खर्च गर्नुपर्नेछ। — अफ्रिका।

[चित्र]

औषधी वा अस्पतालको खर्चभन्दा कीटनाशक भएको झुल सस्तो हुन्छ

तपाईंको घरमा कीराहरू लुकेर बस्न सक्ने ठाउँहरू हटाउनुहोस्‌। भित्ता र छानामा प्लास्टर गर्नुहोस्‌ अनि चर्केका ठाउँ तथा प्वालहरू टाल्नुहोस्‌। पराल, खरले छाएको छानामुनि कीरा नछिर्ने कपडा मोड्‌नुहोस्‌। कागत वा कपडाको थाक वा भित्तामा तस्बिरहरूको चांग हटाउनुहोस्‌ जहाँ कीराहरू लुकेर बस्छन्‌।— दक्षिण अमेरिका।

कोही-कोही मानिसहरू कीरा तथा मुसालाई घरको पाहुना ठान्छन्‌। तिनीहरू पाहुना होइनन्‌! तिनीहरूलाई घरभित्र छिर्न नदिनुहोस्‌। कीरा भगाउने औषधी वा कीटनाशक प्रयोग गर्नुहोस्‌ तर निर्देशनअनुसार मात्रै गर्नुहोस्‌। झिंगा समात्ने वा मार्ने उपकरणहरू प्रयोग गर्नुहोस्‌। सृजनात्मक हुनुहोस्‌: एउटी आईमाईले कपडालाई बटारेर पाइपजस्तो बनाइन्‌, त्यसमा बालुवा भरिन्‌ अनि कीराहरू भित्र छिर्न नदिनको लागि त्यसलाई ढोका मुनिको छेडमा हालिन्‌। — अफ्रिका।

[चित्र]

कीराहरू हाम्रो घरको पाहुना हुनु हुँदैन। तिनीहरूलाई धपाउनुहोस्‌!

रोकथाममूलक औषधी

उचित पोषण, आराम र व्यायामद्वारा आफ्नो रोग प्रतिरोधात्मक शक्‍तिलाई बलियो बनाइराख्नुहोस्‌। तनाव कम गर्नुहोस्‌। — अफ्रिका।

यात्रुहरू: खतराहरूसम्बन्धी नविनतम जानकारी पहिल्यै हासिल गर्नुहोस्‌। जन स्वास्थ्य सेवा विभाग तथा सरकारी इन्टरनेट साइटबाट त्यस्तो जानकारी प्राप्त गर्न सकिन्छ। यात्रा थाल्नुअघि तपाईं जानुहुने इलाकाको लागि रोकथाममूलक सावधानी अपनाउनुहोस्‌।

तपाईंलाई बिसञ्चो भयो भने

तुरुन्तै डाक्टरकहाँ जँचाउन जानुहोस्‌

प्रायजसो रोगहरू सुरुमै निदान भएको खण्डमा उपचार गर्न सजिलो हुन्छ।

गलत निदान हुनदेखि होसियार हुनुहोस्‌

उपयुक्‍त भए, रोगवाहक रोग वा उष्ण प्रदेशीय रोगबारे थाह भएका डाक्टरको राय खोज्नुहोस्‌। डाक्टरलाई तपाईंको शरीरमा देखा परेको सबै लक्षण तथा केही समय पहिले यात्रा गर्नुभएको भए तापनि ती ठाउँहरूबारे बताउनुहोस्‌। आवश्‍यक भएको खण्डमा मात्र एन्टिबायोटिक सेवन गर्नुहोस्‌ अनि उपचार पूरा गर्नुहोस्‌।

[चित्र]

कीराले सार्ने रोगहरूले अरू रोगका लक्षणहरू देखाउन सक्छन्‌। डाक्टरलाई पूरा विवरण दिनुहोस्‌

[स्रोत]

Globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

के कीराहरूले एच आइ भी सार्छन्‌?

एक दशकभन्दा लामो समयसम्मको छानबिन र अनुसन्धानपछि कीटवैज्ञानिक तथा चिकित्सा वैज्ञानिकहरूले लामखुट्टे वा अन्य कीराहरूले एच आइ भी अर्थात्‌ एड्‌स जीवाणु सार्छन्‌ भन्‍ने कुनै प्रमाण फेला पारेका छैनन्‌।

उदाहरणका लागि, लामखुट्टेहरूको सन्दर्भमा भन्‍ने हो भने, यसको मुख एक चोटि रगत चुसेर फेरि अरूलाई सार्न सक्ने सिरिन्जजस्तो हुँदैन। बरु, लामखुट्टेहरूले एउटा नलीबाट रगत चुसेर अर्कैबाट थुक निकाल्छन्‌। मंगु, जाम्बियाको जिल्ला स्वास्थ्य व्यवस्थापन टोलीका एच आइ भी विशेषज्ञ, थमस डामासोले वर्णन गरेझैं लामखुट्टेको पाचन प्रणालीले रगतलाई सानो सानो भागमा छुट्याउँछ र जीवाणुलाई नाश गर्छ। कीराहरूको गुहुमा जीवाणु पाइँदैन। अनि औलोका परजीवीहरूजस्तो नभएर एच आइ भी लामखुट्टेको थुक ग्रन्थिमा प्रवेश गर्दैन।

एच आइ भी-बाट संक्रमित हुन संक्रामक कणहरूको अत्यधिक परिमाणमा भएको ठाउँमा हुनुपर्छ। लामखुट्टेले खाइरहेको बेला त्यो बीचैमा रोकेर अर्कै मानिसकहाँ गयो भने पनि यसको मुखमा एकदमै कम मात्र रगत बाँकी हुने हुँदा हानि पुऱ्‍याउन सक्ने सम्भावना निकै कम हुन्छ। विशेषज्ञहरूअनुसार खुल्ला घाउमा बसिरहेको लामखुट्टेलाई मार्दा पनि त्यसबाट एच आइ भी संक्रमण हुँदैन।

[स्रोत]

CDC/James D. Gathany

[पृष्ठ ७-मा भएको चित्र]

मृगको शरीरमा पर्ने किर्नाले (दायाँ ठूलो गरी देखाइएको) मानिसहरूमा लाइम रोग सार्छ

बायाँदेखि दायाँ: वयस्क पोथी, वयस्क भाले र कीराको बच्चा, सबैको वास्तविक साइजमा

[स्रोत]

All ticks: CDC

[पृष्ठ १०, ११-मा भएको चित्र]

कीराले सार्ने रोगहरू फैलिनुमा बाढी, फोहोर अवस्था र मानव बसाइँ सराइले पनि भूमिका खेल्छ

[स्रोत]

FOTO UNACIONES (from U.S. Army)