सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कीराले सार्ने रोग—एउटा बढ्‌दो समस्या

कीराले सार्ने रोग—एउटा बढ्‌दो समस्या

कीराले सार्ने रोग—एउटा बढ्‌दो समस्या

ल्याटिन अमेरिकी घरमा राति सुत्ने समय भएको छ। एउटी आमाले आफ्नो सानो छोरालाई ओछ्यानमा गुटमुट्याएर गुड नाइट भन्छिन्‌। तर अँध्यारोमा, टिलपिल गर्दै तीन सेन्टिमिटरभन्दा पनि सानो, ब्ल्याक किसिङ बग अर्थात्‌ एक प्रकारको उडुस, पलङमाथि चर्किएको सिलिङबाट बाहिर निस्कन्छ। यो सुतिरहेको बच्चाको अनुहारमा चालै नपाउने गरी खस्छ अनि यसको थुतुनोले बच्चाको कमलो छाला छेड्‌छ। यो उडुसले रगत चुस्दै जाँदा परजीवीले भरिएको फोहोर पनि निष्कासन गर्दै जान्छ। निद्रामै बच्चाले आफ्नो अनुहार कन्याउँछ अनि संक्रमित फोहोर घाउभित्र छिर्छ।

यसरी कीराको एउटा टोकाइले बच्चालाई चागस रोग लाग्छ। एक दुई हप्ताभित्र नै उसलाई धेरै ज्वरो आउँछ अनि जीउ सुन्‍निन्छ। पछि ज्वरो घटेको खण्डमा परजीवीहरू उसको स्वास्थ्य प्रणालीमा घुसेर उसको मुटु, स्नायु र आन्तरिक तन्तुहरूमा संक्रमण हुन सक्छ। अनि कुनै लक्षणविना १० देखि २० वर्षसम्म बित्न सक्छ। तर पछि उसको पाचन नलीमा बिगार हुने, मस्तिष्कमा संक्रमण हुने अनि अन्ततः मुटुले काम गर्न छोड्‌ने हुन सक्छ।

यो एउटा काल्पनिक विवरणले चागस रोगको संक्रमण कसरी हुन सक्छ भनी स्पष्टसित चित्रण गर्छ। ल्याटिन अमेरिकामा करोडौं मानिसहरूलाई यो कीराको संक्रमण हुन सक्ने खतरा छ।

मानिसका बहुखुट्टे साथीहरू

“मानिसलाई चर्को ज्वरो आउने धेरैजसो संक्रमणहरू कीराले सार्ने सुक्ष्म जीवाणुहरूद्वारा हुन्छ,” भनी इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ। मानिसहरूले “कीरा” भन्‍ने शब्दावली वास्तवमै कीरा अर्थात्‌ झिंगा, उपियाँ, लामखुट्टे, जुम्रा र गोब्रे कीराजस्ता छ खुट्टे प्राणीलाई मात्र नभई सुलसुले र किर्नाजस्ता आठ खुट्टे प्राणीलाई बुझाउन पनि प्रयोग गर्छन्‌। वैज्ञानिकहरूले यी सबैलाई अर्थ्रोपोड वर्गमा राखेका छन्‌ र यो पशुजगत्‌को सबैभन्दा ठूलो वर्ग हो र यसमा कम्तीमा १०,००,००० जातिहरू छन्‌।

अधिकांश कीराहरूले मानिसलाई कुनै हानि गर्दैनन्‌ र कोही-कोही त एकदमै लाभदायी छन्‌। ती नभएका भए मानिस तथा जनावरहरू भोजनको लागि निर्भर हुनुपर्ने बोटबिरुवा तथा रूखहरूको परागसेचन हुने थिएन न त फल नै फलाउने थिए। कुनै-कुनै कीराहरूले फोहोर पदार्थलाई पुनः प्रयोग योग्य बनाउन मदत गर्छन्‌। थुप्रै कीराहरूले वनस्पति मात्रै खान्छन्‌ भने कोही-कोहीले अरू कीराहरू खान्छन्‌।

निस्सन्देह, त्यस्ता कीराहरू पनि छन्‌, जसले मानिस र पशुलाई एकदमै दुख्ने गरी टोक्छन्‌ वा ताँतीका ताँती आएर मात्र पनि हैरान पार्छन्‌। कुनै-कुनैले बालीनाली बिगार्छन्‌। तथापि, सबैभन्दा भयानक त रोगबिमार र मृत्यु फैलाउने कीराहरू हुन्‌। “सत्रौं शताब्दीदेखि २० औं शताब्दीको दौडान अन्य कारणले भन्दा मानव रोगबिमार र मृत्युको लागि मुख्यतया दोषी” कीराहरूले सार्ने रोगहरू थिए भनी रोग नियन्त्रण तथा रोकथामको लागि अमेरिकी केन्द्रका डुआन गुब्लर बताउँछन्‌।

हाल, कुनै रोगबाट संक्रमित प्रत्येक ६ जनामध्ये १ जनालाई कीराबाट संक्रमण भएको हुन्छ। कीराले सार्ने रोगहरूले गर्दा मानव दुःखकष्टको अलावा विशेष गरी विकासोन्मुख राष्ट्रहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परिरहेको हुन्छ जससित यसको सामना गर्ने त्यति औकातै हुँदैन। एक चोटि मात्र महामारी फैलिंदा निकै आर्थिक क्षति हुन सक्छ। सन्‌ १९९४ मा पश्‍चिमी भारतमा भएको त्यस्तै एउटा घटनाले गर्दा भनिन्छ, स्थानीय तथा विश्‍व-अर्थतन्त्रले अरबौं डलरको क्षति भोग्नु पऱ्‍यो। विश्‍व-स्वास्थ्यसंघअनुसार संसारका सबैभन्दा गरिब मुलुकहरूले ती स्वास्थ्य समस्याहरूलाई नियन्त्रण गर्न नसकुन्जेल आर्थिक प्रगति गर्न सक्ने छैनन्‌।

कीराहरूले हामीलाई कसरी बिरामी बनाउँछन्‌

कीराहरूले दुई किसिमले रोगवाहकको रूपमा काम गरेर रोग सार्छन्‌। पहिलो हो, कीरा आफैले रोग बोकेर लैजाने। मानिसहरूले जुत्तामा बोकेर घरभित्र फोहोर लगेझैं “झिंगाले आफ्नो खुट्टामा लाखौं सुक्ष्म जीवाणुहरू बोक्न सक्छन्‌ र यी प्रशस्तै भएको खण्डमा रोग सार्न सक्छन्‌” भनी इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ। उदाहरणका लागि, गुहुमा बस्ने प्रदूषक झिंगाले आफ्नो खुट्टामा जीवाणु बोकेर हाम्रो भोजन वा पेय पदार्थमा बस्दा रोग सार्न सक्छ। यसरी मानिसहरूलाई टाइफाइड, आउँ र हैजाजस्ता कमजोर बनाउने घातक रोगहरू लाग्छ। झिंगाले ट्राकोमा पनि सार्छ जुन संसारमा हुने अन्धोपनको प्रमुख कारण हो। ट्राकोमाले आइरिसअगाडिको संग्लो भाग अर्थात्‌ कोर्नियालाई क्षति पुऱ्‍याएर अन्धो बनाउँछ। विश्‍वभरि यो विपत्तिबाट लगभग ५०,००,००,००० मानिसहरू पीडित छन्‌।

फोहोरमा हुर्कनेबढ्‌ने साङलाहरूले पनि रोग ओसार्ने गर्छन्‌ भन्‍ने शंका गरिएको छ। साथै, हालै विशेष गरी साना केटाकेटीमा दमका रोगीहरूको संख्यामा तीव्र वृद्धि हुनुको कारण साङलाको संक्रमण हो भनी विशेषज्ञहरू बताउँछन्‌। उदाहरणका लागि, १५ वर्षीया आश्‍लीलाई विचार गर्नुहोस्‌। उनी दमको सिकार भएको हुँदा कैयन्‌ रात स्वाँस्वाँ गरेर बिताइन्‌। डाक्टरले उनको छातीको अवस्था जाँच्नै लाग्दा आश्‍लीको कमिजभित्रबाट एउटा साङलो फुत्त बाहिर निस्केर दौडन थाल्छ।

भित्र हुने रोगहरू

कीराहरूको शरीरमा जीवाणु, ब्याक्टेरिया वा परजीवीहरू छन्‌ भने यिनीहरूले दोस्रो तरिकाले रोग सार्न सक्छन्‌—टोकेर वा अन्य माध्यमद्वारा। थोरै प्रतिशत कीराहरूले मात्र यसरी मानिसहरूलाई रोग सार्छन्‌। उदाहरणका लागि, हजारौं जातिका लामखुट्टेहरू भए तापनि एनोफिलिस जातको लामखुट्टेले मात्र औलो सार्छ। यो औलो संसारमा मानिसहरूलाई सर्ने (क्षयरोगपछि) दोस्रो भयानक रोग हो।

तथापि, अरू लामखुट्टेहरूले अन्य विभिन्‍न प्रकारका रोगहरू सार्छन्‌। विश्‍व-स्वास्थ्यसंघ यस्तो रिपोर्ट गर्छ: “रोग सार्ने कीराहरूमध्ये सबैभन्दा उपद्रव मच्चाउने लामखुट्टे हो र यसले औलो, डेंग र पहेंलो ज्वरोजस्ता रोगहरू सार्छ र यी रोगहरूले वर्षेनी लाखौंको मृत्यु हुनुका साथै करोडौं संक्रमित हुन्छन्‌।” पृथ्वीको कुल जनसंख्यामध्ये कम्तीमा ४० प्रतिशतलाई औलो अनि लगभग ४० प्रतिशतलाई डेंगको संक्रमण हुन सक्ने सम्भावना छ। धेरै ठाउँहरूमा मानिसहरूलाई यी दुवै रोगको संक्रमण हुन सक्छ।

निस्सन्देह, आफ्नो शरीरभित्र रोग बोक्ने कीराहरू लामखुट्टे मात्रै होइनन्‌। सेट्‌सी झिंगाले स्लिपिङ सिक्नेस गराउने प्रोटोजोआ ओसार्छ र यसले लाखौंलाई असर गरेर सम्पूर्ण समुदायलाई नै उर्वर भूमिहरू त्यतिकै छोड्‌न बाध्य तुल्याइरहेको छ। रिभर ब्लाइन्डनेसका जीवाणुहरू बोक्ने ब्ल्याकफ्लाईको कारण लगभग ४,००,००० अफ्रिकीहरूले आफ्नो दृष्टि गुमाएका छन्‌। स्याण्डफ्लाईले लेशमानियासिस गराउने प्रोटोजोआ बोक्न सक्छ। यस अन्तर्गत पर्ने विभिन्‍न रोगहरूले गर्दा मानिसहरू अशक्‍त, कुरुप हुनुका साथै प्रायजसो घातक साबित हुने रोगका सिकार हुन्छन्‌ र त्यसले हाल संसारमा सबै उमेरका लाखौं मानिसहरूलाई असर गरिरहेको छ। सर्वत्र पाइने उपियाँमा नाम्ले जुका, इन्सेफलाइटिस, टुलारेमिया र प्लेगका जीवाणुहरू हुन सक्छन्‌—ब्ल्याक डेथ पनि भनेर चिनिएको यस प्लेगले मध्य युगमा छ वर्षको दौडान युरोपेली जनसंख्याको एक तिहाइभन्दा बढीलाई मृत्युको सिकार बनाएको थियो।

जुम्रा, सुलसुले र किर्नाले अरू रोगको अलावा विभिन्‍न किसिमका टाइफस सार्न सक्छन्‌। संसारभरिका उष्ण प्रदेशीय मुलुकहरूमा हुने किर्नाले एकदमै घातक साबित हुन सक्ने लाइम रोग सार्न सक्छ र यो संयुक्‍त राज्य अमेरिका र युरोपमा एकदमै सामान्य रोगवाहक कीराहरूले सार्ने रोग हो। स्वीडेनको एउटा अध्ययनले देखाएअनुसार स्थानान्तरण गर्ने चराहरूले हजारौं किलोमिटर परबाट किर्ना बोकेर नयाँ इलाकामा ती रोगहरू सार्न सक्छन्‌। इन्साइक्लोपीडिया-ले बताएअनुसार “मानिसहरूलाई सबैभन्दा रोग सार्ने अर्थोपोड (लामखुट्टेबाहेक) किर्ना हो।” वास्तवमा भन्‍ने हो भने, एउटा किर्नाले तीनवटा बेग्लाबेग्लै प्रकारको रोग सार्ने जीवाणुहरू बोकेर एउटै टोकाइमा सबै रोग सार्न सक्छ!

रोगबाट “छुट्टी”

कीराहरूले रोग सार्न सक्छन्‌ भनेर वैज्ञानिक प्रमाण जुटाउन सकेको १८७७ मा मात्रै हो। त्यहाँदेखि, रोग सार्ने कीराहरू नियन्त्रण वा विनाश गर्न व्यापक अभियानहरू चालियो। सन्‌ १९३९ मा रोग नियन्त्रण अभियानमा डि डि टि प्रयोग गर्न थालियो अनि १९६० दशकसम्ममा कीराहरूले सार्ने रोगलाई अफ्रिकाबाहेक अन्य ठाउँहरूमा जनस्वास्थ्यको लागि प्रमुख खतरा ठानिएन। अतः रोगवाहक कीराहरूलाई नियन्त्रण गर्नुको साटो आकस्मिक अवस्थाको औषधोपचारतिर ध्यान गयो अनि कीरा तथा तिनीहरूको वासस्थानसम्बन्धी अध्ययन गर्ने चासो हराउँदै गयो। नयाँ औषधीहरू पनि आविष्कार गरिए अनि विज्ञानले जुनसुकै रोगको लागि “जादुको गोली” पत्ता लगाउन सक्छ जस्तो देखियो। संसारले संक्रामक रोगहरूबाट “छुट्टी” मनाइरहेको थियो। तर त्यो छुट्टी सदाको लागि थिएन। यसको कारण यसपछिको लेखले बताउनेछ। (g03 5/22)

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

आज, ६ जनामध्ये १ जना कीराले सार्ने रोगबाट संक्रमित छन्‌

[पृष्ठ ३-मा भएको चित्र]

किसिङ बग

[पृष्ठ ४-मा भएको चित्र]

झिंगाले आफ्नो खुट्टामा रोग सार्ने कारकहरू बोक्छ

[पृष्ठ ५-मा भएको चित्र]

थुप्रै कीराहरूले आफ्नो शरीरमा रोग बोक्छन्‌

ब्ल्याकफ्लाईले रीभर ब्लाइन्डनेस सार्छ

लामखुट्टेले औलो, डेंग र पहेंलो ज्वरो सार्छ

जुम्राले टाइफस सार्न सक्छ

उपियाँहरूले इन्सेफलाइटिस र अन्य रोगहरू बोक्छ

सेट्‌सी झिंगाले स्लिपिङ सिक्नेस सार्छ

[स्रोत]

WHO/TDR/LSTM

CDC/James D. Gathany

CDC/Dr. Dennis D. Juranek

CDC/Janice Carr

WHO/TDR/Fisher

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Clemson University - USDA Cooperative Extension Slide Series, www.insectimages.org