सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के अवस्था कहिल्यै सुध्रनेछ?

के अवस्था कहिल्यै सुध्रनेछ?

के अवस्था कहिल्यै सुध्रनेछ?

आजकाल, विश्‍व-स्वास्थ्यसंघ तथा अन्य सम्बन्धित निकायहरूले रोग निरीक्षण तथा नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेका छन्‌। थुप्रै संगठनहरूले नयाँ औषधी र रोग नियन्त्रण गर्ने नयाँ तरिकाबारे जानकारी बाँड्‌नुका साथै अनुसन्धानलाई बढवा दिइरहेका छन्‌ र यसको प्रमुख उद्देश्‍य, कीराले सार्ने रोगको बढ्‌दो समस्यासित सामना गर्नु हो। व्यक्‍तिविशेष तथा समुदायहरूले पनि जानकारी दिन तथा आफ्नो सुरक्षाको लागि गर्न सक्ने थुप्रै कुराहरू छन्‌। तैपनि, व्यक्‍तिविशेषको सुरक्षा गर्नु र विश्‍वव्यापी तवरमा रोग नियन्त्रण गर्नु भनेको फरक-फरक कुरा हो।

थुप्रै विशेषज्ञहरूको विचारमा रोग नियन्त्रण गर्ने क्षेत्रमा सफलता हासिल गर्नको लागि विश्‍वव्यापी सहयोग र भरोसा अत्यावश्‍यक छ। “मानिसहरूको अन्तरक्रियामा भइरहेको द्रुत व्यापारीकरणले गर्दा यस ग्रहको सबै ठाउँका मानिसहरूले आफ्नो छरछिमेक, प्रान्त, देश वा गोलार्धलाई मात्र आफ्नो व्यक्‍तिगत वातावरण ठान्‍नु हुँदैन” भनी पुलिट्‌जर पुरस्कार विजयी संवाददाता लरी ग्यारेट आफ्नो पुस्तक द कमिङ प्लेग—न्युली इमर्जिङ डिजिजेज इन अ वर्ल्ड आउट अफ ब्यालेन्स-मा लेख्छिन्‌। “जीवाणु तथा त्यसका रोगवाहकहरूले मानिसहरूले खडा गरेका कुनै पनि कृत्रिम सीमाहरू चिन्दैनन्‌।” एउटा देशमा कुनै रोगको महामारी फैलँदा छिमेकी राष्ट्रलाई मात्र नभई संसारभरि नै चिन्ताको विषय बन्‍न पुग्छ।

कुनै-कुनै सरकार तथा मानिसहरू रोग नियन्त्रण कार्यक्रमलगायत आफ्नो सीमा इलाकाबाहिरबाट आएको कुनै पनि प्रकारको हस्तक्षेपप्रति शंकालु दृष्टिकोण राख्छन्‌। साथै, राजनैतिक अदूरदर्शिता तथा आर्थिक लोभले पनि एकताबद्ध अन्तरराष्ट्रिय प्रयासहरूमा अवरोध खडा गर्छ। मानिसको विरुद्धमा रोगको संघर्षमा के जीवाणुहरूको बाहुल्य हुनेछ? हुनेछ भन्ठान्‍ने लेखक युजिन लिन्डेन यसो भन्छन्‌: “धेरै ढिलो भइसक्यो।”

आशाको कारण

रोगबिमार विरुद्धको दौडमा वैज्ञानिक तथा प्राविधिक प्रगतिहरू निकै पछि परेका छन्‌। अनि निस्सन्देह, कीराहरूले सार्ने रोग, मानिसहरूले भोग्ने थुप्रै खतरामध्ये एउटा मात्र हो। तर आशा गर्न सकिने कारण छ। वैज्ञानिकहरूले जीवित प्राणीहरूबीचको सम्बन्ध बुझ्न थालेको भए तापनि तिनीहरू पृथ्वीले आफ्नो सन्तुलन आफै कायम गर्न सक्ने क्षमताबारे पनि मानिलिन्छन्‌। हाम्रो ग्रहमा केही यस्ता प्रक्रियाहरू छन्‌ जसले प्राकृतिक प्रणालीमा सन्तुलन कायम गर्न सक्छन्‌। उदाहरणका लागि, एक चोटि फँडानी गरिसकेको जंगलमा फेरि रूखहरू उम्रन थाल्छन्‌ अनि समयको दौडान जीवाणु, कीरा तथा जनावरहरूबीचको सम्बन्ध पनि सन्तुलनमा आउँछ।

सबैभन्दा मुख्य कुरा, प्रकृतिको जटिल संरचनाले एक जना सृष्टिकर्ताको अस्तित्वलाई औंल्याउँछ जसले पृथ्वीका सबै प्रक्रियाहरू सुरु गर्नुभयो। पृथ्वीको सृष्टि गर्नुहुने कुनै उच्च बुद्धि हुनै पर्छ भनेर थुप्रै वैज्ञानिकहरू मानिलिन्छन्‌। हो, गम्भीरतापूर्वक सोच्नेहरूले परमेश्‍वरको अस्तित्वलाई नकारेर बस्न सक्दैनन्‌। बाइबलले सृष्टिकर्ता, यहोवा परमेश्‍वर सर्वशक्‍तिमान्‌ र मायालु परमेश्‍वर हुनुहुन्छ भनेर वर्णन गर्छ। उहाँले हाम्रो आनन्दमा गहिरो चासो राख्नुहुन्छ।

मानिसहरूले जानाजानी पाप गरेको हुँदा असिद्धता, बिरामी र मृत्यु भोग्नुपरेको हो भनेर बाइबलले बताउँछ। के यसको मतलब हामीले सदाको लागि दुःख भोग्नु पर्नेछ? होइन! परमेश्‍वरको उद्देश्‍य, यो पृथ्वीलाई प्रमोदवन बनाउनु हो जहाँ मानिसहरू, ठूला साना सबै प्राणीहरूसित खुसीसाथ मिलेर बस्न सक्नेछन्‌। बाइबलले बडेमाका जनावर होस्‌ वा सानो कीरा, मानिसको लागि कुनै खतरा नहुने संसारबारे भविष्यवाणी गर्छ।—यशैया ११:६-९.

निस्सन्देह, सामाजिक वा पर्यावरणीय तवरमा त्यस्तो अवस्था कायम गर्न मानिसको भूमिका हुनेछ। परमेश्‍वरले मानिसलाई पृथ्वीको “हेरचाह” गर्ने आज्ञा दिनुभयो। (उत्पत्ति २:१५) भावी प्रमोदवनमा मानिसले सृष्टिकर्ता स्वयंको निर्देशनलाई आज्ञाकारी भई पालन गर्नेछन्‌। तब, हामी त्यो दिनको प्रतिक्षा गर्न सक्छौं जब “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’—यशैया ३३:२४. (g03 5/22)