सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुःखलाग्दा घटनाहरू आइपर्दा म कसरी त्यसको सामना गर्न सक्छु?

दुःखलाग्दा घटनाहरू आइपर्दा म कसरी त्यसको सामना गर्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

दुःखलाग्दा घटनाहरू आइपर्दा म कसरी त्यसको सामना गर्न सक्छु?

“आतंककारीहरूलाई किन मेरै आमा मार्नुपरेको?”—केभिन। a

“[ सेप्टेम्बर ११ अघि] मलाई सुरुङ मार्ग एकदम मन पर्थ्यो। तर अहिले आफू सुरुङभित्रै विस्फोटमा परेर मरेको कल्पना गर्छु।—पिटर।

केभिनकी आमा सेप्टेम्बर ११, २००१ मा न्यु योर्कको विश्‍व व्यापार केन्द्रमा भएको आक्रमणमा मारिएकी थिइन्‌। पिटरले त्यस्तै दुःखलाग्दो क्षति भोग्नु त परेन, तर ती घटनाहरूले भने तिनलाई असाध्यै चोट पुऱ्‍यायो।

एउटा समाचार रिपोर्ट यसो भन्छ: “न्यु योर्कमा बसोबास गर्ने हजारौं बालबच्चाहरू सेप्टेम्बर ११ [को आक्रमणसित] सम्बन्धित मानसिक समस्याहरूसित जुझिरहेका छन्‌ र धेरैजसोलाई त्यसले वयस्क हुँदासम्म पनि असर पार्नेछ।” अझ खलबल्याउने कुरा त “त्यस आक्रमणले टाढा बस्नेहरूलाई समेत प्रत्यक्ष देख्नेहरूलाई जत्तिकै” भावनात्मक चोट पुऱ्‍याएको चिह्नहरू देखिएका थिए। b

इजरायलमा गरिएजस्तो आत्मघाती बम विस्फोटन र अन्य कतिपय ठाउँमा हुने सामान्य गोली हानाहान जस्ता अन्य दुःखद घटनाहरूबारे पनि त्यसै भन्‍न सकिन्छ। गोली हानाहानजस्ता मानसिक आघात पुऱ्‍याउने घटनाका असरहरूबारे एक जना विशेषज्ञले यसो भने: “[बालबच्चाहरू] घटनास्थलबाट ३,२०० किलोमिटर टाढा रहे तापनि यी घटनाहरूले [तिनीहरूमा] व्याकुलता बढाउन सक्छ।”

कारण? विनाशकारी घटनाहरू घटे लगत्तै सञ्चार माध्यमहरूमा देखिने तीनथुप्रो चित्र वा दृश्‍यहरूलाई जवानहरूले पनि हेर्छन्‌। आतंककारीहरूले बम पड्‌काएको, स्कूलमा गोली प्रहार गरिएको अनि प्राकृतिक प्रकोपका डरलाग्दा चित्रहरू बारम्बार प्रसारण गरिन्छन्‌ जसले गर्दा थुप्रै युवाहरूलाई त्यस्ता चित्रहरू आफ्नो मनबाट मेट्‌न धेरै गाह्रो हुन्छ। त्यसैले न्यु योर्क सिटी बोर्ड अफ एजुकेशनको लागि गरिएको सर्वेक्षणले यस्तो प्रकाश पार्नु आश्‍चर्यको कुरा होइन: “विश्‍व व्यापार केन्द्र ध्वस्त भएको छ महिनापछि पनि ८,२६६ वटा सार्वजनिक स्कूलका ७६ प्रतिशत विद्यार्थीहरूले त्यो आतंककारी आक्रमणलाई पूरै बिर्सन सकेका थिएनन्‌।”

हामी बाइबलले वर्णन गरेको “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५) तपाईंलाई आतंकित पार्ने त्यस्ता दुःखलाग्दा घटनाहरूको सामना कसरी गर्न सक्नुहुन्छ? c

खराब कुराहरू किन हुन्छन्‌

तपाईंलाई दुःखित बनाउन सक्ने भावनाहरूसित जुझ्ने एउटा तरिका आफ्नो “स्पष्ट सोच्ने क्षमतालाई” जागृत गराउनु हो। (२ पत्रुस ३:१, NW) त्यस्तो परिस्थितिलाई तर्कयुक्‍त ईश्‍वरीय दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस्‌। उदाहरणका लागि, धेरैजसो दुःखलाग्दा घटनाहरू “समय र अवसरले” गर्दा हुन्छन्‌ भन्‍ने कुरा तपाईंले पुनःस्मरण गर्नुपर्ने हुन सक्छ। (उपदेशक ९:११) सिलोआमको धरहरा ढल्दा येशू ख्रीष्टले यसको उदाहरण दिनुभयो। त्यस स्थानीय विपत्तिमा १८ जना मानिस मरेका थिए। तथापि, येशूले ती मर्ने व्यक्‍तिहरूलाई परमेश्‍वरले सजाए दिनुभएको थिएन भनी स्पष्ट पार्नुभयो। तिनीहरू गलत समयमा गलत ठाउँमा बसिरहेका हुनाले मात्र मरेका थिए। (लूका १३:१-५) यस तथ्यलाई विचार गर्नाले विपत्तिहरूप्रति उचित दृष्टिकोण राख्न मदत गर्न सक्छ।

स्पष्ट सोचाइले तपाईंलाई “परमप्रभुको विरुद्धमा असन्तोष प्रकट” गर्न र दुःखद घटनाहरूको लागि उहाँलाई दोष दिनदेखि रोक्छ। (हितोपदेश १९:३) यहोवाले हामीलाई वेदना दिनुहुन्‍न बरु उहाँ “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ। (२ कोरिन्थी १:३) दुःखलाग्दा घटनाहरू आइलाग्दा हामी उहाँसित रिसाएर टाढा जाने होइन बरु उहाँको झन्‌ नजिक जानुपर्छ। याकूब १:१३ मा पाइने बाइबलका शब्दहरूमाथि मनन गर्नुहोस्‌: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।” d

यस कुरालाई शताब्दीयौंअघि मध्यपूर्वमा घटेको एउटा दुःखलाग्दो घटनाले स्पष्ट पार्न सक्छ। बाइबलले त्यस विपत्तिबाट बचेको एकै जना मात्र मानिसले यसो भन्यो भनेर रिपोर्ट गर्छ: “परमेश्‍वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरूलाई भस्म पाऱ्‍यो।” (अय्यूब १:१६) कस्तो भयावह विपत्ति! अनि त्यो त्रसित मानिसले पक्कै पनि परमेश्‍वर नै दोषी हुनुहुन्छ भन्‍ने विचार गरेको हुनुपर्छ। यद्यपि, परमेश्‍वर दोषी हुनुहुन्‍नथ्यो। अय्यूब १:७-१२ ले त्यो आगो परमेश्‍वरले नभई परमेश्‍वरको शत्रु शैतान अर्थात्‌ दियाबलले पठाएको थियो भन्‍ने कुरा प्रकट गर्छ!

त्यो एउटा विशेष परिस्थिति थियो: यहोवाले शैतानलाई अय्यूबको निष्ठा जाँच्ने विशेष अनुमति दिनुभएको थियो। त्यसकारण आँधीबेह्री तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपहरूको लागि शैतान नै दोषी छ भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। e यद्यपि “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर बाइबलले बताउँछ। (१ यूहन्‍ना ५:१९) तसर्थ, त्यसले उत्पात मच्चाउन र विनाश ल्याउन मानव माध्यमहरू चलाउन सक्छ।

यसो भए तापनि, हामीले असहाय महसुस गर्नु आवश्‍यक छैन। बाइबलको १ शमूएल २२:१२-२३ मा रेकर्ड गरिएको अर्को घटनालाई विचार गर्नुहोस्‌। त्यहाँ हामी विश्‍वासी पूजाहारीहरू तथा तिनका परिवारहरूलाई निर्ममतापूर्वक हत्या गरिएको कुरा पाउँछौं। यस अमानवीय कार्य गर्न दुष्ट राजा शाऊललाई उक्साउनुमा शैतानको पनि हात थियो भन्‍ने कुरामा कुनै शंका छैन। तथापि, पछि राजपद सम्हालेका विश्‍वासी दाऊदले भजन ५२ अध्याय लेखे। त्यहाँ तिनले त्यस्तो विपत्तिको निम्ति दोषी मानिसहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ भन्‍ने भरोसा जाहेर गरे।—भजन ५२:५.

त्यस्तै गरी आज पनि दियाबलद्वारा उक्साइएका हत्या तथा हिंसाहरूलाई परमेश्‍वरले सधैंभरि सहनुहुनेछैन भनी निर्धक्क हुन सक्छौं। किनभने परमेश्‍वरले “शैतानका कामहरू नष्ट पार्नालाई” आफ्नो पुत्र येशूलाई चलाउनुहुनेछ भनी बाइबलले प्रतिज्ञा गर्छ! (१ यूहन्‍ना ३:८) अन्ततः शैतानले पुऱ्‍याएको कुनैपनि क्षतिको नामोनिशान छोडिनेछैन। पुनरुत्थानको माध्यमबाट परमेश्‍वरले हिंसा अथवा आतंकवादका दुःखलाग्दा घटनाहरूमा परेर मरेकाहरूलाई समेत फर्काएर ल्याउन सक्नुहुन्छ।—प्रेरित २४:१५.

सामना गर्ने व्यावहारिक तरिका

यस बाइबल आधारित आशाले तपाईंलाई बढ्‌तै त्रसित नहुन मदत गर्न सक्छ। तर तपाईंले चाल्न सक्ने केही व्यावहारिक कदमहरू पनि छन्‌। उदाहरणको लागि, हितोपदेश १२:२५ मा दिइएको बाइबल सिद्धान्तलाई याद गर्नुहोस्‌। आफ्ना भावनाहरू अरूसित बाँडेर मात्र पनि तपाईंले प्रोत्साहनदायी “दयालु वचन” पाउन सक्नुहुन्छ। त्यसो गर्दा तपाईं आफ्नो कठिन परिस्थितिमा एक्लै हुनुहुन्‍न भन्‍ने कुरा बुझ्न मदत पाउनुहुनेछ। त्यसैले तपाईं चिन्तित हुनुहुन्छ भने आफ्ना आमाबाबु वा मसीही मण्डलीका प्राचीनहरूसामु आफ्नो मन खोल्ने प्रयास गर्नुहोस्‌। f

अर्को सुझाव: सञ्चार माध्यमहरूमा देखिने दुःखलाग्दा घटनाहरूका चित्र वा दृश्‍यहरू बढ्‌तै हेर्ने नगर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईंको मनलाई पीडित पार्ने चित्रहरू दिमागबाट मेटाउन झनै गाह्रो हुनेछ।—भजन ११९:३७.

के तपाईं एक जना मसीही हुनुहुन्छ? हुनुहुन्छ भने मसीही गतिविधिहरूको आफ्नो तालिकाअनुसार चलिरहनुहोस्‌। (फिलिप्पी ३:१६) त्यस्ता गतिविधिहरूमा सँगी मसीहीहरूसित सभामा उपस्थित हुनु र अरूसित विश्‍वास बाँड्‌नु समावेश छ। (हिब्रू १०:२३-२५) यसले तपाईंलाई आफ्नो मनमा नकारात्मक विचारहरू खेलाइरहनदेखि जोगाउनेछ। त्यस्ता गतिविधिहरूबाट टाढा रहँदा तपाईंले झन्‌ आध्यात्मिक तथा भावनात्मक तवरमा क्षति भोग्नुपर्नेछ।—हितोपदेश १८:१.

नियमति तवरमा बाइबल पढ्‌नु जस्तोसुकै पीडादायी समयमा पनि विशेष गरी मदतकारी हुन्छ। लरेन नाउँ गरेकी युवतीकी आमा क्यान्सरले मर्न लागेकी थिइन्‌। लरेनले त्यस दुःखलाग्दो परिस्थितिको सामना कसरी गरिन्‌ त्यसलाई ध्यान दिनुहोस्‌: “मैले यस्तो कठिन परिस्थितिमा धेरै पटक अय्यूबको पुस्तक पढेको कुरा मलाई अझ पनि सम्झना आउँछ। भजनसंग्रहको पुस्तकले पनि मलाई धेरै सान्त्वना दिएको थियो। मैले धर्मशास्त्रमा सान्त्वनादायी शब्दहरू पढ्‌दा यहोवाले मलाई आफ्नो अँगालोमा बाँध्नुभएजस्तो महसुस हुन्थ्यो।” तिनकी बहिनी मिशाएल पनि त्यस्तै सम्झन्छिन्‌: “मैले कुनै दिन बाइबल पढिनँ भने त्यसले मलाई असर गरिहाल्थ्यो। मेरो मनमा आफसे आफ नकारात्मक विचारहरू आउन थालिहाल्थ्यो। बाइबल पढाइबाट मैले दिनहरू काट्‌न आवश्‍यक आध्यात्मिक पोषण पाएँ।”

तपाईंले पनि कसैलाई गुमाउनुभएको छ वा विशेष गरी आफ्नो प्रियजनको मृत्यु भएको छ भने तपाईंको प्रियजनको मृत्यु हुँदा g पुस्तिका पढ्‌नु सान्त्वनादायी हुन सक्छ। उल्लेख गरिएका सम्पूर्ण शास्त्रपदहरू पढ्‌न र मनन गर्न समय लगाउनुहोस्‌। पुनरुत्थानको आशामाथि पनि मनन गर्नुहोस्‌। “म, आमा साँच्चै प्रमोदवनमा फर्केर आउनुभएको दृश्‍य सम्झने गर्थें” भनेर लरेन बताउँछिन्‌। “म उहाँले यसो भनिरहनुभएको कल्पना गर्थें: ‘म फर्केर आएँ। बेलुकाको खाना के-के पकायौ?’ यस्तो कल्पनाले मेरो मुहारमा मीठो मुस्कान छाउँथ्यो।”

प्रार्थनापूर्वक यहोवामाथि भर पर्नाले पनि धेरै दुःखलाग्दा घटनाहरू सहन आवश्‍यक पर्ने बल पाइनेछ। लरेन यस्तो सम्झन्छिन्‌: “आमाले आफ्नो अन्तिम श्‍वास फेर्नुहुँदा म कोठामा उहाँसँगै थिएँ। मैले तुरुन्तै यहोवासित सहन र यस्तो परिस्थितिको डटेर सामना गर्न बल मागें। मैले तुरुन्तै परमेश्‍वरको शान्ति महसुस गरें।” यहोवालाई तोकेरै प्रार्थना गर्नुहोस्‌। तपाईं साँच्चै कस्तो महसुस गर्नहुन्छ भनी उहाँलाई थाह दिनुहोस्‌। “उहाँको सामने आफ्नो हृदयको दुःख पोखाओ” भनी भजन रचयिता आग्रह गर्छन्‌।—भजन ६२:८.

समयको अन्तरालमा पृथ्वीको पीडा झन्‌ झनै बढ्‌नेछ जस्तो देखिन्छ। (२ तिमोथी ३:१३) तैपनि बाइबल यस्तो प्रतिज्ञा गर्छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:९-११, २९) यस आशामा लीन भइरहनुभयो भने सफलतासाथ दुःखलाग्दा घटनाहरूको सामना गर्न मदत पाउनुहुनेछ। (g03 6/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b मानसिक-स्वास्थ्य विशेषज्ञहरूका अनुसार त्यस्ता लक्षणहरूमा भावनात्मक अचेतना, दुःस्वप्न, एक्लोपन, दैनिक कामकुरा ठप्पै बन्द गर्नु अनि ग्लानी र क्रोधित मनोभाव जस्ता भावनाहरू समावेश हुन सक्छन्‌।

c यस लेखले विशेष गरी विस्तृत तवरमा आइपर्ने दुःखलाग्दा घटनाहरूबारे मात्र छलफल गरे तापनि व्यक्‍तिगत क्षेत्रमा जस्तै आफ्नो प्रियजनको मृत्युभएको छ भने पनि यसका सल्लाहहरू लागू गर्न सकिन्छ।

d परमेश्‍वरले किन दुःखकष्ट हुन दिनुहुन्छ भन्‍ने विषयमा विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय ८ हेर्नुहोस्‌।

e द वाचटावर डिसेम्बर १, १९७४ को “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

f कहिलेकाहीं अचाक्ली भावनात्मक पीडा वा तनाव हुँदा चिकित्सकलाई जँचाउनु आवश्‍यक हुन सक्छ।

g यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ १६-मा भएको चित्र]

सञ्चार माध्यमहरूमा देखाइने पीडादायी चित्र वा दृश्‍यहरूलाई अत्यधिक मात्रामा नहेर्नु बुद्धिमानी हुनेछ