सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अश्‍लील कुराले गर्ने हानि

अश्‍लील कुराले गर्ने हानि

अश्‍लील कुराले गर्ने हानि

हर किसिमको यौन जानकारी टेलिभिजन, चलचित्र, म्युजिक भिडिओ र इन्टरनेटद्वारा सजिलै प्राप्त गर्न सकिन्छ। के यो अश्‍लील कुराको यौनसम्बन्धी मानसिक चित्रको अनवरत प्रवेश थुप्रैले हामीलाई सोच्न लगाएझैं अहानिकारक हो? a

वयस्कहरूमाथि अश्‍लील कुराको असर

यसका समर्थकहरूले जे भने तापनि अश्‍लील कुराले यौन र यौन व्यवहारबारे मानिसहरूको दृष्टिकोणमा अत्यन्तै नकारात्मक असर पार्छ। परिवार अनुसन्धान तथा शिक्षाको लागि राष्ट्रिय फाउन्डेसनका अनुसन्धाताहरूले निष्कर्षमा भने: “अश्‍लील कुरा प्रस्तुत गरिंदा दर्शकहरूले विकृत यौन झुकाव विकास गर्ने खतरा बढी हुन्छ।” उक्‍त रिपोर्टअनुसार “बलात्कारको मिथ्या (महिलाहरू आफ्नै कारणले बलात्कृत हुन्छन्‌ र तिनीहरू बलात्कृत हुन मन पराउँछन्‌ अनि बलात्कारीहरू सामान्य व्यक्‍तिहरू हुन्‌ भन्‍ने धारणा) अश्‍लील कुरा हेर्ने बानी भइसकेका पुरुष प्रयोगकर्ताहरूमाझ एकदमै व्यापक छ।”

कोही-कोही अनुसन्धाताहरू भन्छन्‌, अश्‍लील कुरा पटक-पटक हेरिरहँदा सामान्य वैवाहिक यौन आत्मीयताको आनन्द उठाएर त्यसमा भाग लिने क्षमतालाई असर गर्न सक्छ। यौन लतको उपचारसम्बन्धी विशेषज्ञ, डा. भिक्टर क्लाइनले अश्‍लील कुराको प्रयोगमा क्रमबद्ध वृद्धि भइरहेको याद गरेका छन्‌। यसलाई नियन्त्रण गरिएन भने संयोगवश हेरिएको अश्‍लील कुराले असामान्य विषयवस्तु हेर्ने बानीतर्फ धकेलेर गहिरो जरा गाड्‌न सक्छ। तिनी भन्छन्‌, यसले विकृत यौन कार्यहरूतिर डोऱ्‍याउन सक्छ। मानव आनीबानीसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरू यो कुरामा सहमत छन्‌। डा. क्लाइनको रिपोर्टअनुसार “कुनै पनि प्रकारको विकृत यौन झुकाव यसरी प्राप्त गर्न सकिन्छ . . . अनि अत्यन्तै दोषी भावनाको बावजुद यसलाई हटाउन सकिंदैन।” अन्ततः यो हेर्ने दर्शकले अश्‍लील कुरामा आधारित अनैतिक कल्पना व्यवहारमा उतार्न खोज्छ र परिणाम भयानक हुन सक्छ।

यो समस्याको क्रम बिस्तारै र चालै नपाई बढ्‌न सक्छ भनी क्लाइन निष्कर्षमा बताउँछन्‌। तिनी अझ यसो भन्छन्‌: “क्यान्सरजस्तै यो झन्‌झन्‌ बढ्‌दै र फैलिंदै जान्छ। यसले विरलै मात्र दिशा परिवर्तन गरेर फर्कन्छ अनि यो उपचार गर्नुका साथै निको पार्न पनि एकदमै गाह्रो छ। लग्गू भएका पुरुषहरूले आफ्नो लत स्वीकार्न इन्कार गर्नु अनि समस्या नस्वीकार्नु सामान्य र प्रत्याशित प्रतिक्रिया हो अनि यसले प्रायजसो सधैं वैवाहिक सम्बन्ध वा जोडीबीच बेमेल ल्याउँछ र कहिलेकाहीं सम्बन्ध विच्छेदसम्म हुन्छ अनि कहिलेकाहीं अत्यन्तै आत्मीय सम्बन्धहरू टुक्रिन्छन्‌।”

जवान मानिसहरूलाई गर्ने नोक्सानी

तथ्यांकहरूले देखाएअनुसार अश्‍लील कुरा हेर्ने व्यक्‍तिहरू मुख्यतया १२ देखि १७ वर्षबीचका केटाहरू हुन्‌। वास्तवमा, थुप्रैको लागि अश्‍लील कुरा नै तिनीहरूको यौन शिक्षाको प्रमुख स्रोत हो। यसका एकदमै हानिकारक परिणामहरू हुन्छन्‌। “किशोरावस्थामै गर्भाधारण र एड्‌सजस्ता यौनजन्य रोगहरू अश्‍लील विषयवस्तुमा कहिल्यै देखाइँदैन, अश्‍लील कुरामा देखाइने व्यवहारको कुनै प्रतिकूल परिणाम हुँदैन भन्‍ने गलत सन्देश दिइन्छ” भनी एउटा रिपोर्ट बताउँछ।

कोही-कोही अनुसन्धाताहरूअनुसार अश्‍लील कुरा हेर्दा बच्चाको दिमागको स्वाभाविक विकासमा पनि असर गर्न सक्छ। सञ्चार शिक्षाको संस्थानकी अध्यक्ष डा. जुडिथ राइजमान निष्कर्षमा यसो भन्छिन्‌: “दिमागले सहजज्ञानको आधारमा गर्ने प्रतिक्रियाले स्नायु प्रणालीको स्वास्थ्यमा असरबारे अवलोकन गर्दा के देखिन्छ भने, अश्‍लील कुरा हेर्दा मानिसले सबै कुरा जाँचीबुझी स्वीकार्ने क्षमतालाई असर गर्न थाल्छ अनि यी केटाकेटीको [जता पनि ढाल्न सकिने] ‘प्लास्टिक’ दिमागको लागि हानिकारक छ किनभने यसो हुँदा तिनीहरूले वास्तविकता के हो छुट्याउन सक्दैनन्‌। फलस्वरूप तिनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य, तिनीहरूको हकहित र आनन्दको खोज सबै धमिलिन्छ।”

सम्बन्धहरूमा असर

अश्‍लील कुराले मनोवृत्तिहरू सृजना गर्छ र आचरणलाई असर गर्छ। यसको सन्देश खास गरी आकर्षक हुन्छ किनभने ती कल्पना हुन्‌ र यथार्थभन्दा बढी रोमाञ्चकारी जस्तो गरी प्रस्तुत गरिन्छ। (“तपाईंले कुन सन्देश स्वीकार्नुहुनेछ?” भन्‍ने पेटी हेर्नुहोस्‌।) “अश्‍लील कुरा हेर्ने व्यक्‍तिहरूले अव्यावहारिक आशा गर्न थाल्छन्‌ र त्यसको परिणामस्वरूप सम्बन्धहरू बिग्रन्छन्‌,” भनी एउटा रिपोर्ट टिप्पणी गर्छ।

अश्‍लील कुराले वैवाहिक बन्धनको लागि अत्यावश्‍यक भरोसा र इमानदारीलाई भताभुंग पार्न सक्छ। यो विशेष गरी लुकीछिपी हेरिने हुँदा अश्‍लील कुराको प्रयोगले छलकपट गर्न र झूटो बोल्न लगाउँछ। जोडीहरूले धोका दिएको महसुस गर्छन्‌। तिनीहरूको विवाहित जोडीले आफूलाई आकर्षक ठान्‍न छोड्‌नुको कारण बुझ्न सक्दैनन्‌।

आध्यात्मिक हानि

अश्‍लील कुराले गम्भीर आध्यात्मिक हानि पुऱ्‍याउँछ। परमेश्‍वरसित सम्बन्ध विकास गर्न खोजिरहेको व्यक्‍तिलाई यसले साँच्चै अवरोध खडा गर्न सक्छ। b बाइबलले यौन तृष्णा र लोभ अनि मूर्तिपूजाबीचको सम्बन्ध देखाउँछ। (कलस्सी ३:५) कुनै कुराको लोभ गर्ने व्यक्‍तिले यति धेरै इच्छा गर्छ कि त्यो नै उसको जीवनको प्रमुख कुरा बन्छ, बाँकी सबै कुरा ओझेलमा पर्छन्‌। साँच्चै भन्‍ने हो भने, अश्‍लील कुराप्रति लग्गू भएका व्यक्‍तिहरूले परमेश्‍वरभन्दा यौन इच्छालाई प्राथमिकता दिन्छन्‌। यसरी तिनीहरूले त्यसको मूर्तिपूजा गर्छन्‌। यहोवा परमेश्‍वरको आज्ञाले यसो भन्छ, “मेरो सामने तैंले अरू कुनै देवता-देवीहरू नमान्‍नू।”—प्रस्थान २०:३.

अश्‍लील कुराले मायालु सम्बन्धहरू भताभुंग पार्छ। प्रेरित पत्रुस जो आफै पनि विवाहित पुरुष थिए, तिनले मसीही पतिहरूलाई आफ्नी पत्नीको आदर गर्ने आग्रह गरे। यसो नगर्ने पतिले परमेश्‍वरलाई चढाउने प्रार्थनाहरू रोकिएको पाउनेछ। (१ पत्रुस ३:७) के लुकीछिपी आइमाईहरूको अभद्र चित्रहरू हेर्नु आफ्नी श्रीमतीलाई आदर गरिरहेको हुनेछ? उनले थाह पाइन्‌ भने कस्तो महसुस गर्नेछिन्‌? अनि ‘हरेक कामको न्याय गर्नुहुने’ र “मानिसको इच्छा जाँच गर्ने” परमेश्‍वरले कस्तो सोच्नुहुनेछ? (उपदेशक १२:१४; हितोपदेश १६:२) के अश्‍लील कुरा प्रयोग गर्ने व्यक्‍तिले परमेश्‍वरले तिनको प्रार्थना सुन्‍नुहुनेछ भनी आशा गर्न सक्ने कुनै कारण छ?

हर हालतमा आफ्ना स्वार्थी लालसाहरू पूरा गर्ने जोड, अश्‍लील कुराको प्रयोगको अभिन्‍न भाग हो। यसर्थ, अश्‍लील कुरा हेर्नु मायालु कुरा होइन। यसले पवित्रता अनि परमेश्‍वरसामु स्वच्छ नैतिक अडान कायम गर्ने मसीहीको संघर्षलाई कमजोर बनाउँछ। प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वरको इच्छा, . . . यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान। परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिहरूको जस्तो कुइच्छाको कामनामा होइन। यस कुरामा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्‌।”—१ थिस्सलोनिकी ४:३-७.

अश्‍लील कुराले विशेष गरी आइमाई तथा बालबालिकाको नाजायज फाइदा उठाउँछ। यसले तिनीहरूको अपमान गर्छ र तिनीहरूको मर्यादा तथा अधिकार खोस्छ। अश्‍लील कुरा प्रयोग गर्ने व्यक्‍तिले त्यसरी नाजायज फाइदा उठाउने कार्यमा भाग लिइरहेको हुन्छ र त्यसलाई समर्थन गर्छ। अनुसन्धाताहरू स्टिभन हिल र निना सिल्भर भन्छन्‌, “मानिसले आफू . . . जतिसुकै राम्रो छु भन्ठाने तापनि अश्‍लील कुराको स्वीकारोक्‍तिले आफूले माया गर्छु भनी टोपल्ने व्यक्‍तिप्रति सबैभन्दा राम्रो अवस्थामा [असंवेदनशील], नराम्रो अवस्थामा नारीद्वेषी भइरहेको हुन्छ।”

अश्‍लील कुराको कुलतबाट मुक्‍त हुने

तपाईं अहिले अश्‍लील कुराको कुलत विरुद्ध संघर्ष गर्दै हुनुहुन्छ भने नि? के यसबाट मुक्‍त हुन केही गर्न सकिन्छ? बाइबलले आशा प्रदान गर्छ! ख्रीष्टलाई चिन्‍नुअघि कोही-कोही प्रारम्भिक मसीहीहरू व्यभिचारी, जारी गर्नेहरू र लोभी मानिसहरू थिए। “तर तिमीहरू पखालिएका . . . छौ” भनी पावलले लेखे। त्यो कसरी सम्भव भयो? तिनले यस्तो जवाफ दिए: “परमेश्‍वरको आत्माले तिमीहरू . . . पवित्र भएका . . . छौ।”—१ कोरिन्थी ६:९-११.

परमेश्‍वरको पवित्र आत्माको शक्‍तिलाई कहिल्यै हल्कासित नलिनुहोस्‌। बाइबल यसो भन्छ: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन।” निस्सन्देह, उहाँले उम्कने बाटो देखाउनुहुनेछ। (१ कोरिन्थी १०:१३) आफ्नो समस्या परमेश्‍वरसामु राखेर व्यग्र प्रार्थना गर्दा परिणाम राम्रो हुनेछ। उहाँको वचनले यस्तो प्रोत्साहन दिन्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”—भजन ५५:२२.

निस्सन्देह, तपाईंले आफ्नो प्रार्थनाअनुरूपको व्यवहार गर्नुपर्छ। अश्‍लील कुरालाई तिरस्कार गर्न तपाईंले जानी बुझी तथा भित्री हृदयबाट उत्प्रेरित भई निर्णय गर्नुपर्छ। भरोसायोग्य साथी वा परिवारको सदस्य अमूल्य मदत साबित हुन सक्छ, तिनीहरूले आवश्‍यक सहयोग र आफ्नो संकल्पमा कटिबद्ध हुने प्रोत्साहन दिन सक्छ। (“मदत लिने” भन्‍ने पेटी हेर्नुहोस्‌।) त्यस्तो कार्यले परमेश्‍वरलाई अवश्‍य प्रसन्‍न तुल्याउँछ भनी सम्झँदा आफ्नो संकल्पमा लागिरहन मदत गर्न सक्छन्‌। (हितोपदेश २७:११) यसको अलावा, तपाईंले अश्‍लील कुरा हेर्दा परमेश्‍वर अप्रसन्‍न हुनुहुन्छ भनी थाह पाउँदा त्यसलाई त्याग्ने अझ थप उत्प्रेरणा दिन्छ। (उत्पत्ति ६:५, ६) यो कुनै सजिलो संघर्ष हुनेछैन तर यसमा अवश्‍य विजयी हुन सकिन्छ। अश्‍लील कुराको कुलत तोड्‌न सकिन्छ!

अश्‍लील कुरा प्रयोग गर्दाका खतराहरू वास्तविक हुन्‌। यो हानिकारक र विनाशकारी छ। यो उत्पादन गर्ने अनि प्रयोग गर्नेहरूलाई यसले भ्रष्ट बनाउँछ। यो पुरुष तथा स्त्रीको लागि अपमान, बालबालिकाको लागि खतरा अनि तिरस्कार गर्नुपर्ने बानी हो। (g03 7/22)

[फुटनोटहरू]

a इन्टरनेटबाट उपलब्ध अश्‍लील कुराको खतरासम्बन्धी विस्तृत छलफलको लागि कृपया जून ८, २००० अवेक! पृष्ठ ३-१० मा “इन्टरनेटको अश्‍लील कुरा—यसले के हानि गर्न सक्छ?” भन्‍ने लेखहरूको श्रृंखला हेर्नुहोस्‌।

b अश्‍लील कुराप्रति बाइबलको दृष्टिकोणसम्बन्धी छलफलको लागि कृपया अगस्त ८, २००२, ब्यूँझनुहोस्‌!-को पृष्ठ १९-२१ हेर्नुहोस्‌।

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

मदत लिने

अश्‍लील कुराको लतबाट मुक्‍त हुने संघर्षलाई हल्कासित लिनु हुँदैन; यो एउटा कठिन संघर्ष हुन सक्छ। यौनको लत लागेका सयौं व्यक्‍तिहरूलाई उपचार गरिसकेका डा. भिक्टर क्लाइन यसो भन्छन्‌: “प्रतिज्ञाहरूले काम गर्दैनन्‌। असल मनसायले खासै केही गर्दैन। [यौनको लत लागिसकेको व्यक्‍तिले] वास्तवमा यो आफै गर्न सक्दैन।” डा. क्लाइनअनुसार सफल उपचारको प्रभावकारिता यदि उक्‍त व्यक्‍ति विवाहित हो भने, विवाहित जोडीलाई पनि समावेश गर्नुमा निर्भर छ। तिनी भन्छन्‌: “दुवै जना सामेल भएमा उपचार छिटो हुन्छ। दुवैलाई चोट पुगेको छ। दुवैलाई मदत चाहिन्छ।”

यदि अविवाहित हो भने अक्सर भरोसायोग्य साथी वा परिवारको सदस्यको बल खाँबो साबित हुन सक्छ। उपचार चाहिएको व्यक्‍ति जोसुकै होस्‌, क्लाइनको एउटा अपरिवर्तनीय नियम छ: समस्या र पुनः समस्यामा फर्किने जस्ता कुराबारे खुलेआम कुरा गर्नुहोस्‌। तिनी भन्छन्‌: “गोप्य कुराले ‘तपाईंलाई मार्छ।’ त्यसले लाज र दोषको भावना जगाउँछ।”

[पृष्ठ ९-मा भएको तालिका]

तपाईंले कुन सन्देश स्वीकार्नुहुनेछ?

अश्‍लील कुराको सन्देश बाइबलको दृष्टिकोण

◼ जोसुकैसित, जुनसुकै समय, जस्तोसुकै ◼ “सबै विवाह चाहिं आदरणीय होस्‌,

अवस्थामा र जुनसुकै तरिकामा यौन ओछ्यान नबिटुलिओस्‌, किनकि

सम्बन्ध राख्नु गलत होइन र व्यभिचारीहरू र जारी गर्नेहरूलाई

यसका कुनै नकारात्मक परमेश्‍वरले इन्साफ

परिणामहरू छैनन्‌। गर्नुहुनेछ।”हिब्रू १३:४.

 

“व्यभिचार गर्नेले आफ्नै

शरीरको विरुद्धमा पाप

गर्दछ।”१ कोरिन्थी ६:१८;

रोमी १:२६, २७ पनि हेर्नुहोस्‌।

◼ यौन सन्तुष्टिको लागि ◼ “तेरो युवावस्थाकी पत्नीसित तँ

विवाह एउटा अवरोध हो। आनन्दित हो। . . . तँ सधैं त्यसकै

 

प्रेममा मोहित भइरहेस्‌।”हितोपदेश ५:१८, १९,

नयाँ संशोधित संस्करण;

अनि उत्पत्ति १:२८; २:२४;

१ कोरिन्थी ७:३ पनि हेर्नुहोस्‌।

◼ स्त्रीहरूको एउटै उद्देश्‍य ◼ “म [यहोवा परमेश्‍वर]

छ—पुरुषहरूको यौन त्यसको निम्ति त्यसलाई

आवश्‍यकता पूरा गर्नु। सुहाउने एउटा सहयोगी

बनाउनेछु।”उत्पत्ति २:१८;

एफिसी ५:२८ पनि हेर्नुहोस्‌।

◼ पुरुष र स्त्रीहरू आफ्नो ◼ “यसकारण पृथ्वीमा भएका

यौन इच्छाका दास हुन्‌। तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा

वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग,

खराब इच्छा र लोभ, जो मूर्तिपूजा

हो।”कलस्सी ३:५.

“तिमीहरूमा हरेकले आफ्ना आफ्ना

पात्रलाई पवित्रता र इज्जतमा

कसरी आफैले ग्रहण गर्नुपर्छ,

सो जान।”१ थिस्सलोनिकी ४:४.

 

“आफूभन्दा ठूली स्त्रीहरूलाई

आमाझैं, र कान्छीहरूलाई चाहिं

सम्पूर्ण पवित्रतासाथ बहिनी

सम्झेर” व्यवहार गर।—१ तिमोथी

५:१, २; १ कोरिन्थी ९:२७ पनि हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको चित्र]

कोही-कोही अनुसन्धाताहरू अश्‍लील कुराले बच्चाको मस्तिष्कको स्वाभाविक विकासमा अवरोध पुऱ्‍याउँछ भन्छन्‌

[पृष्ठ ८-मा भएको चित्र]

अश्‍लील कुराले वैवाहिक सम्बन्धको भरोसा र खुलापन तोड्‌न सक्छ

[पृष्ठ १०-मा भएको चित्र]

व्यग्र प्रार्थनाले परिणाम ल्याउनेछ