सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अश्‍लील कुरा किन यत्तिको व्यापक भएको?

अश्‍लील कुरा किन यत्तिको व्यापक भएको?

अश्‍लील कुरा किन यत्तिको व्यापक भएको?

यौन भावनाहरू जगाउने कामुक विषयवस्तुहरू हजारौं वर्षअघिदेखि अस्तित्वमा छन्‌। तर यसको इतिहासलाई केलाएर हेर्ने हो भने, अश्‍लील कुरा उत्पादन गर्न गाह्रो थियो र खास गरी धनी तथा शासक वर्गको लागि मात्र उपलब्ध थियो। मेसिनको सहायताले बहुउत्पादन र फोटो तथा चलचित्रको विकासपछि भने कुरा अर्कै भयो। अश्‍लील कुरा अब मध्यम र निम्न वर्गका मानिसहरूको औकातले भ्याउने र सर्वसुलभ भयो।

भिडिओक्यासेट रेकर्ड गर्ने प्रविधिको आगमनले यो प्रवाहलाई अझ तीव्र बनायो। चलचित्रको रिल र पुराना फोटोजस्तो नभई भिडिओक्यासेटहरू सञ्चय गर्न, प्रतिलिपि बनाउन तथा वितरण गर्न सजिलो भयो। यिनीहरू घरमै बसेर पनि हेर्न सकिन्थ्यो। हालै, केबुल प्रणाली अनि इन्टरनेटको वृद्धिले अश्‍लील कुरा प्राप्त गर्न अझ सजिलो भएको छ। भिडिओ पसलहरूमा वयस्कहरूको लागि मात्र भनी छुट्याइएको ठाउँमा छिमेकीले देख्ला भनेर डराउने उपभोक्‍ता अब “घरैमा बसेर आफ्नो केबुल प्रणालीमार्फत किन्‍न सक्छन्‌ वा प्रत्यक्ष टिभीबाट पाउन सक्छन्‌” भनी सञ्चार विश्‍लेषक डेनिस म्याकआल्पाइन बताउँछन्‌। म्याकआल्पाइनअनुसार यसरी सजिलै प्राप्त गर्न सकिने हुँदा अश्‍लील कुरा “थुप्रैको लागि स्वीकार्य” हुँदै गइरहेको छ।

अश्‍लील कुरा मूल धारमा प्रवेश गर्छ

थुप्रैको अश्‍लील कुराप्रति मिश्रित भावना छ किनभने यो अब मूल धारमा प्रवेश गरिसकेको छ। “हाम्रो गीति-नाट्यशाला, ब्याले, रंगमञ्च, संगीत र ललितकला सबैले भन्दा यसले संस्कृतिमा अझ व्यापक प्रभाव पारिरहेको छ” भनी लेखिका जर्मेन ग्रीर भन्छिन्‌। थुप्रै चर्चित व्यक्‍तित्वहरू ‘वेश्‍याहरूको जस्तो’ पहिरन लगाउँछन्‌, म्युजिक भिडिओले स्वच्छन्द यौन चित्रण गर्छ अनि विज्ञापनजगत्‌ले अंगालेको “अश्‍लील विषयवस्तु” आदिमा अश्‍लील कुराप्रति आधुनिक दृष्टिकोण झल्कन्छ। म्याकआल्पाइन अन्तमा यसो भन्छन्‌: “आफ्नो समक्ष जे-जे प्रस्तुत गरिन्छ, समाजले त्यो सबै स्वीकारिरहेको छ। . . . त्यसले यो राम्रो हो भन्‍ने सोचाइ सृजना गर्न मदत गरिरहेको छ।” फलस्वरूप, “मानिसहरूलाई मानसिक आघात पुगेको जस्तो देखिंदैन” भनी लेखिका आन्ड्रिया ड्‌वर्किन बिलौना गर्छिन्‌। “तिनीहरूलाई कुनै मतलब छैन जस्तो देखिन्छ।”

अश्‍लील कुराको मूलभूत कारण

लेखिका ड्‌वर्किनको जस्तै विचार व्यक्‍त गर्दै अवकाशप्राप्त एफ बि आइ एजेन्ट रजर यंग कुन कुरा औंल्याउँछन्‌ भने, धेरै मानिसहरू “छाडापन र त्यसले गर्दा हुने समस्याहरूको विस्तृत रूप देख्दैनन्‌।” कोही भने अश्‍लील सामग्रीको पक्ष लिनेहरूबाट बहकिन्छन्‌ अनि अश्‍लील चित्रहरूले मानिसहरूलाई नकारात्मक असर पार्छ भन्‍ने कुनै प्रमाण नभएको दाबी गर्छन्‌। “अश्‍लील कुरा भनेको आखिर कल्पना न हो भन्छन्‌ भने यसका विरोधीहरूहरूलाई भने तथ्य स्वीकार्न गाह्रो भएजस्तो देखिन्छ” भनी लेखक एफ. एम. क्रिसेनसन्‌ लेख्छन्‌। तर कल्पनाले कुनै असर पार्दैन भने विज्ञापनजगत्‌ केमा आधारित छ? यसले मानिसहरूमा कुनै दीर्घकालीन असर पार्दैन भने संस्थानहरूले विज्ञापन, भिडिओ र मुद्रित विज्ञापनमा किन करोडौं डलर खर्च गर्ने थिए?

तथ्य हो, सबै सफल विज्ञापनजस्तै अश्‍लील कुराको प्रमुख उद्देश्‍य, पहिले अस्तित्वमै नभएका इच्छाहरू जगाउनु हो। “अश्‍लील कुराको मूल ध्येय नाफा कमाउनु हो भन्‍ने कुरा स्पष्ट छ” भनी अनुसन्धाताहरू स्टिभन हिल र नीना सिल्भर लेख्छन्‌। “अनि यो बेलगाम बजारमा, जुन कुराबाट पनि र अझ विशेष गरी महिलाको शरीर र मानव यौन सम्बन्धहरूबाट फाइदा उठाउन र नाफा कमाउन सकिन्छ।” ग्रीरले अश्‍लील कुरालाई एकदमै लग्गू बनाउने बजारी खानासित तुलना गर्छिन्‌ जुन पोषणरहित हुनुका साथै यसमा स्वादवर्धक पदार्थ र रसायनहरू मिसाइएको हुन्छ। तिनी भन्छिन्‌: “सञ्चारजगत्‌मा सजिलै उपलब्ध यौन भनेको नक्कली यौन हो . . . खाद्य विज्ञापनले नक्कली खानेकुरा बेच्छ अनि यौन विज्ञापनले नक्कली यौन बेच्छ।”

अश्‍लील कुरामा लग्गू भएपछि लागूपदार्थको दुर्व्यसनभन्दा हटाउन गाह्रो हुन्छ भनी कोही-कोही डाक्टरहरू बताउँछन्‌। लागूपदार्थका दुर्व्यसनीहरूको उपचारमा सर्वप्रथम शरीरबाट विषाक्‍त पदार्थ हटाउने प्रक्रिया सुरु हुन्छ। तर पेन्सलभेनिया विश्‍वविद्यालयकी डा. मेरी आन लाडेनले वर्णन गरेअनुसार अश्‍लील कुराको लतले “दिमागमा एउटा मानसिक चित्र बनाउँछ जुन उपभोक्‍ताको मनमा सदाको लागि ठप्प बस्छ अनि त्यसलाई मस्तिष्कको रासायनिक प्रक्रियाले आफ्नो अभिन्‍न भाग बनाउँछ।” त्यसैकारण मानिसहरूले वर्षौंअघि हेरेको अश्‍लील दृश्‍य स्पष्टसित सम्झन सक्छन्‌। उनी निष्कर्षमा भन्छिन्‌: “शरीरबाट विषाक्‍त पदार्थ हटाउने सन्दर्भमा कुनै आशा नभएको यो पहिलो अम्मल हो।” तर के यसको मतलब अश्‍लील कुराको प्रभावबाट मुक्‍त हुन असम्भव छ भन्‍न खोजिएको हो? अनि अश्‍लील कुराले गर्ने खास हानि के हो? (g03 7/22)

[पृष्ठ ५-मा भएको पेटी]

इन्टरनेटमार्फत पाइने अश्‍लील कुराको तथ्य

◼ इन्टरनेटमार्फत पाइने लगभग ७५ प्रतिशत जति अश्‍लील कुराको सुरुआत संयुक्‍त राज्य अमेरिकाबाट हुन्छ। झन्डै १५ प्रतिशत युरोपबाट सुरु हुन्छ।

◼ प्रत्येक हप्ता लगभग सात करोड मानिसहरूले अश्‍लील वेब साइटहरू हेर्छन्‌ भन्‍ने अनुमान गरिएको छ। यसमध्ये दुई करोडजति प्रयोगकर्ताहरू क्यानाडा र संयुक्‍त राज्य अमेरिकाका हुन्‌।

◼ एउटा अध्ययनले देखाएअनुसार हालै एक महिनाभित्र युरोपमा अन-लाइन अश्‍लील कुरा हेर्ने दर्शकहरूको सबैभन्दा ठूलो संख्या जर्मनीमा थियो र त्यसपछि ग्रेट ब्रिटेन, फ्रान्स, इटाली र स्पेन पर्छन्‌।

◼ जर्मनीमा अश्‍लील कुरा हेर्नेहरूले इन्टरनेटमा प्रतिमहिना औसत ७० मिनेट बिताउँछन्‌।

◼ इन्टरनेटमा अश्‍लील कुरा हेर्ने युरोपेली दर्शकहरूमध्ये ५० वर्ष नाघेकाहरूले वयस्कको लागि मात्र छुट्याइएको वेब साइट हेर्न अत्यधिक समय खर्च गर्छन्‌।

◼ एउटा स्रोतअनुसार इन्टरनेटमा अश्‍लील कुराको ७० प्रतिशत वेब साइट दिउँसो अत्यन्तै व्यस्त हुन्छ।

◼ कसै-कसैको अनुमानअनुसार १,००,००० जति इन्टरनेट साइटहरूमा बाल अश्‍लील कुरासम्बन्धी विषयवस्तु छन्‌।

◼ इन्टरनेटमार्फत पाइने व्यावसायिक बाल अश्‍लील कुराको ८० प्रतिशतजति जापानमा उत्पादन हुन्छ।

[पृष्ठ ४-मा भएको चित्र]

अश्‍लील कुरा अझ सर्वसुलभ भएको छ