सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के सम्मोहन मसीहीहरूको लागि उचित हो?

के सम्मोहन मसीहीहरूको लागि उचित हो?

बाइबलको दृष्टिकोण

के सम्मोहन मसीहीहरूको लागि उचित हो?

“टुना-मुना गर्ने, . . . तिमीहरूका बीचमा कोही नहोस्‌।”— व्यवस्था १८:१०, ११.

सम्मोहन निकै बहस तथा विवादको विषय भएको छ। a यस क्षेत्रका विशेषज्ञहरूसमेत यसको व्याख्या गर्न कठिन मान्छन्‌। साधारणतया सम्मोहनले अक्सर सुझबुझ फरक भएको वा मोहित अवस्थालाई बुझाउँछ। तथापि, अधिकांश मानिसहरू सम्मोहन के हो भन्‍ने कुरामा भन्दा यसले के गर्न सक्छ, त्यसमा धेरै चासो दिन्छन्‌।

हालैका वर्षहरूमा पेसेवर चिकित्सकहरूले उपचारको लागि सम्मोहन विधि अपनाउने सुझाव दिनु सामान्य हुन थालेको छ। उदाहरणका लागि, साइकोलोजि टुडे पत्रिका यसो भन्छ: “सम्मोहन उपचार टाउको दुखेको, प्रसुती व्यथा कम गर्ने, धूम्रपान त्याग्न मदत दिने, एनेस्थेसियाको सट्टा काम गर्ने, अध्ययन गर्ने बानीमा उन्‍नति गराउने जस्ता उपचारहरू कुनै नकारात्मक असरविना नै गर्न सकिन्छ।” अर्कोतिर थुप्रै मानिसहरू सम्मोहनलाई प्रेतवाद तथा तन्त्र विद्यासँगसँगै प्रयोग गर्छन्‌।

बाइबलको दृष्टिकोण कस्तो छ? हुन त, बाइबल चिकित्सासम्बन्धी पाठ्यपुस्तक होइन र यसले सम्मोहन विद्याबारे सीधै टिप्पणी गरेको छैन। तर परमेश्‍वरको वचनमा पाइने सिद्धान्तले हामीलाई परमेश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्‍ने कुरा निर्क्यौल गर्न मदत गर्न सक्छ।

सम्मोहन विद्या र तन्त्र विद्या —के यसको कुनै सम्बन्ध छ?

के सम्मोहन विद्या र तन्त्र विद्याबीच सम्बन्ध छ भन्‍ने दाबी कुनै व्यक्‍तिको कल्पनाको उपज मात्र हो? यस धारणालाई चलचित्रका दन्त्यकथा तथा उपन्यासले बढाएको हुन सक्छ तर सम्मोहन विद्या र प्रेतवादबीच सम्बन्ध छ भन्‍ने कुराको ठोस आधार पाइन्छ। सम्मोहन विद्याबारे इन्साइक्लोपीडिया अफ अकल्टिज्म एण्ड प्यारासाइकोलोजि यस्तो वर्णन गर्छ: “यसको इतिहास तन्त्र विद्यासित असाध्यै छ्यासमिस भएको पाइन्छ।” इन्द्रजाल र जादुको एउटा भाग धार्मिक मोहनिद्रालाई एक प्रकारको सम्मोहननै ठानिन्छ। साथै, पुरातन मिश्र तथा युनानका पूजाहारीहरूले तिनीहरूका झूटा देवहरूका नाउँमा कुनै रोग निको पार्ने कोसिस गर्दा एक प्रकारको सम्मोहित अवस्थामा पुऱ्‍याउँथे।

माथि उल्लेख गरिएको इन्साइक्लोपीडिया यस्तो टिप्पणी गर्छ: “आज पनि सम्मोहन विधिका अधिकांश अवस्थाहरूलाई ‘आध्यात्मवादी’ वर्गमा राखिन्छ। बोक्सीविद्यासित सम्मोहनको सम्बन्ध कुन हदसम्म छ भन्‍ने कुरा निर्क्यौल गर्न कठिन भए तापनि तथ्य कुरा के हो भने परमेश्‍वरले सबै प्रकारका प्रेतवादको घोर भर्त्सना गर्नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। (व्यवस्था १८:९-१२; प्रकाश २१:८) तसर्थ, मसीहीहरूले सम्मोहनका गैरशास्त्रीय पक्षहरूलाई बेवास्ता गर्न सक्दैनन्‌।

व्यवहारमा पार्ने असर

कुनै पनि मानिसको मन अनि आनीबानीमा सम्मोहनले पार्ने असर नि? के यसमा कुनै जोखिमहरू मुछिएका छन्‌? सम्मोहित भएपछि सम्मोहित व्यक्‍तिको आफ्नो व्यवहारमा आफ्नै नियन्त्रण नहुनु चिन्ताको एउटा जायज विषय हो। रंगकर्मी सम्मोहकहरूले यस पक्षको प्रयोग गरेर स्वयंसेवकहरूलाई मोहनी लगाउँछन्‌ र तिनीहरूले सामान्यतया नगर्ने कामहरू गराउँछन्‌; रक्सीले मात्तिएको जस्तो समेत देखाउँछन्‌।

सम्मोहनका यस्ता सार्वजनिक प्रदर्शनहरूबारे द इन्साइक्लोपीडिया अमेरिकाना यसो भन्छ: “सम्मोहित व्यक्‍तिले अप्रत्यक्ष रूपमा पाएको सल्लाहलाई समेत सजिलै स्वीकार्छ, भ्रममा परेका आफ्ना इन्द्रियहरूको कुरा तुरुन्तै स्वीकार्ने र सम्मोहित अवस्थामा हुँदा आफूमाथि कुनै सामाजिक र व्यक्‍तिगत बन्धन छ भन्‍ने कुरा महसुसै गर्दैन।” कोलियर्स इन्साइक्लोपीडिया यसो भन्छ: “सम्मोहित व्यक्‍तिको मानसिक शक्‍ति एउटै कुरामा मात्र केन्द्रित हुन्छ जसले गर्दा सम्मोहकले भनेका कुराहरू ध्यानसित सुन्छ र तिनका सुझावहरू पालन गर्न अघि बढ्‌छ।”

के यो अहानिकारक सुनिन्छ? के साँचो मसीहीले आफ्नो मन सम्मोहकको सुझावहरूद्वारा प्रभावित हुन दिनु उचित हुनेछ? यो कुरा प्रेरित पावलले दिएको यस अर्तीको ठीक विपरीत हुनेछ: “तिमीहरूको यथोचित [तर्कशक्‍ति चलाएको] सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल। औ यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।”—रोमी १२:१, २.

कुनै मसीहीले आफ्नो विचार वा चाहना वा कार्यलाई समेत आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्थामा पर्न दिएका छन्‌ भने के तिनले ‘विवेक [अन्तस्करण] राख्न’ सक्छन्‌ र? (१ पत्रुस ३:१६) बाइबल यस्तो सुझाव दिन्छ: “तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान।” (१ थिस्सलोनिकी ४:४) स्पष्टतः सम्मोहनले त्यस्तो सल्लाह पालन गर्ने मानिसको क्षमतालाई रोक्न सक्छ।

सिद्ध स्वास्थ्यको आशा

माथि वर्णन गरिएका बाइबल सिद्धान्तहरूलाई विचार गर्दै यहोवाका साक्षीहरू सम्मोहन वा आत्म-सम्मोहनसित सम्बन्धित प्रविधिहरूबाट अलग्गै बस्छन्‌। तिनीहरूले व्यवस्था १८:१०, ११ को आज्ञा पालन गर्छन्‌: “टुना-मुना गर्ने, . . . तिमीहरूका बीचमा कोही नहोस्‌।” स्वास्थ्य समस्या सामना गर्नुपरेकाहरूका लागि भने बोक्सीविद्यामा फस्ने वा आफ्नै मनलाई अरूबाट नियन्त्रण गर्न लगाउने जस्ता खतराहरू समावेश नभएका अन्य थुप्रै उपचारहरू छन्‌।

बाइबल सिद्धान्तहरूसित बाझिने प्रचलनहरूबाट अलग्गै बसेर मसीहीहरूले परमेश्‍वरको धार्मिक नयाँ संसारमा सधैंभरि बाँच्ने आशा राख्न सक्छन्‌। तब मानिसजातिले सम्मोहनको प्रयोगविनै शारीरिक तथा मानसिक रूपमा सिद्ध स्वास्थ्यको आनन्द उठाउनेछन्‌।—प्रकाश २१:३, ४. (g03 7/08)

[फुटनोट]

a सम्मोहन भनेको “अर्को व्यक्‍तिद्वारा झुम्म पारिएको अवस्था जसमा परेर मोहित व्यक्‍तिले सबै कुरा बिर्सन्छन्‌ वा निश्‍चेत हुन्छन्‌, दृष्टिभ्रम भएर मोहनी लगाउने मान्छेले भनेको कुरा तुरुन्तै मान्‍ने अवस्थामा पुग्छन्‌” भनी व्याख्या गरिएको छ।—दी अमेरिकन हेरिटेज डिक्सनरी।