सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पसिना स्नान—उहिले र अहिले

पसिना स्नान—उहिले र अहिले

पसिना स्नान—उहिले र अहिले

विभिन्‍न संस्कृतिहरूले पसिना स्नानको आनन्द उठाउँदै आएको शताब्दीयौं भइसक्यो। केही पसिना स्नानहरूमा उत्तर अमेरिकी आदिवासीहरूको इनिपि, रूसको बानिया, तुर्केलीहरूको हम्मान, जापानीहरूको मुसिबुरो इत्यादि पर्छन्‌।

पुरातन रोमका स्नानगृहहरूमा तातो गृह र वाष्प गृह पनि समावेश थियो। हालसम्म उत्खननबाट भेटिएका सबैभन्दा सुन्दर तथा विलासी रोमी स्नानगृहमध्ये काराकाला स्नानगृहहरू पनि हुन्‌। यी २८ एकड जमीनमा फैलिएका अनि यसमा १,६०० जनासम्म अटाउन सक्थे।

हामी तपाईंलाई आज पनि प्रयोगमा रहेका दुइटा पसिना स्नानगृहहरूलाई जाँच्न निम्तो दिन्छौं। एउटा मेक्सिकोको टेमेस्कल हो। अर्कोचाहिं फिनल्याण्डको सौना अर्थात्‌ बाफ स्नान हो र यो पढेपछि तपाईंलाई पनि पारख गरेर हेर्ने इच्छा लाग्न सक्छ!

टेमेस्कल

स्पेनीहरूले १६ औं शताब्दीमा मेक्सिकोमाथि विजय प्राप्त गर्नुअघिको हिस्पानिक युगमा एज्टेक, जापोटेक, मिक्सटेक र मायाहरूले मेक्सिकोको टेमेस्कललाई उपचारार्थ अनि शुद्धीकरणको लागि, जस्तै युवावस्थामा पुग्दा गरिने रीतिथितिहरू, बच्चा जन्मिदा, कुनै नातेदारको शव गाडेपछि अनि अन्य वर्गीय उत्सवमा प्रयोग गर्थे। टेमेस्कल भन्‍ने शब्द नाउआतल शब्द “टेमासकली” भन्‍ने शब्दबाट लिइएको हो जसको अर्थ हुन्छ “स्नानगृह।” टेमेस्कल आयाताकार वा इँटले बनाइएको गोलो खालको ठाउँ थियो जसमा गुम्बजदार छाना हुन्थ्यो। यसमा ज्वालामुखी ढुंगा तताइन्थ्यो र रोजमेरी तथा युक्लिप्टस जस्ता जडीबुटी चियाहरू त्यस ढुंगामा राखेर बाफ निकालिन्थ्यो। नुहाउने व्यक्‍तिलाई विधिपूर्वक वा औषधीको रूपमा प्रयोग गरिने बोटले हल्कासित हिर्काइन्थ्यो र चिसो पानी छम्केपछि यो विधि पूरा हुन्थ्यो।

उपराजताको दौडान स्पेनी भिक्षुहरू यस रीतिथितिको विरुद्ध खडा भए किनभने तिनीहरू दुवै लिङ्‌गका व्यक्‍तिहरू एकै ठाउँमा नुहाउनु अनुचित ठान्थे। तैपनि, टेमेस्कल अस्तित्वमा रहिरह्‍यो र अहिलेसम्म पनि मेक्सिकोका खास-खास भागहरूमा विशेष गरी नुहाउन, रोगबिमार कम गर्न वा बच्चा जन्माएपछि निको हुन यसको प्रयोग गरिन्छ। तथापि, टेमेस्कल-को परम्परागत धार्मिक विश्‍वासलाई राष्ट्रिय सम्पदाको रूपमा पुनर्जागृत गर्ने चासो बढेको पाइन्छ।

फिनल्याण्डको सौना

सायद सबैभन्दा चिरपरिचित पसिना स्नान फिनल्याण्डको सौना हो। वास्तवमा “सौना” शब्द नै फिनल्याण्डको हो। लगभग २,००० वर्षदेखि सौना अस्तित्वमा भएको पाइन्छ र पहिलेपहिले जमिनको बीच वा छेउमा आगो बाल्ने खाडल बनाएर राम्ररी पुरिएको हुँदैनथ्यो। पछिचाहिं, सा.यु. १२ औं शताब्दीको सुरुतिर बाहिर खुला ठाउँमा कोठाको रूपमा सौना देखापऱ्‍यो।

आधुनिक फिनल्याण्डमा सामान्य घरहरूमा विद्युतीय माध्यमद्वारा तातो बनाउने काठद्वारा निर्मित वा दाउरा बाल्ने सौना छन्‌। जहाजको कक्ष वा ग्रामीण क्षेत्रहरूमा दाउरा बालिने सौनाहरू अझ पनि लोकप्रिय छन्‌। चाहे विद्युतीय होस्‌ वा दाउरा बालिने ती चूलाहरूमाथि ढुंगाको पत्र हालिन्छ। त्यसपछि नुहाउनेहरूले आर्द्रता बढाउन तातो ढुंगामाथि डाडुले पानी फ्याँक्छन्‌। फिनल्याण्डको सौना र रोमी वा तुर्की स्नानगृहहरूमा खास भिन्‍नता भनेको प्रायजसो सौनामा भित्ता र भुईं सबैतिर फल्याक बिछ्याइनु हो। काठले ताप प्रसारण नगर्ने भएकोले बेन्च, बारहरू वा भित्ताले नुहाउनेहरूलाई पोल्ने डर नमानी तापक्रम धेरै बढाउन सकिन्छ।

सौना, फिनल्याण्डको संस्कृतिको अभिन्‍न भाग भइसकेको हुँदा अनुमानअनुसार त्यहाँ प्रत्येक ३ जना फिनल्याण्डका बासिन्दाहरूको लागि एउटा सौना उपलब्ध छ। अधिकांश फिनल्याण्डका बासिन्दाहरू हप्ताको एकपल्ट सौना स्नान गर्छन्‌। तालनिर गर्मी विदा मनाउन जाँदा थुप्रैले हरेक दिनजसो सौना स्नान गर्छन्‌! प्रायजसो नुहाउन चाहनेहरू पालैपालो तातो सौना र तालको चिसो पानीमा पौडी खेल्ने गर्छन्‌। यसरी चारै याममा पौडी खेल्ने र सौनाबाट आनन्द उठाउन चाहनेहरूका लागि चिसोले जमेका पानीनिर थुप्रै सौनाहरू बनाइएका हुन्छन्‌ अनि ती पानीमा अलिकति डुबुल्की मार्न सकियोस्‌ भनी पानीभित्र पस्ने प्वालहरू पारिएका हुन्छन्‌।

पसिना स्नानका स्वास्थ्य लाभहरू

फिनल्याण्डका बासिन्दाहरूले सौनाले स्वास्थ्यलाई लाभ पुऱ्‍याउँछ भनी धेरै अघिदेखि वकालत गर्दै आएका छन्‌। फिनल्याण्डको एउटा उखान यसो भन्छ: “सौना गरिब मानिसहरूको औषधी हो।” साँच्चै भन्‍ने हो भने सौना एउटा स्नानगृह मात्र नभई १९ औं शताब्दीमा अस्पताल तथा प्रसूति कक्षको रूपमा पनि प्रयोग गरिएको थियो।

सामान्यतया सौना स्नान १० देखि १५ मिनेटको हुन्छ र हरेक अवधिमा ८०-१०० डिग्री सेल्सियस तापक्रम बनाइन्छ। स्नान लिने धेरैजसो बीचबीचमा आराम गर्ने वा नुहाउने गर्छन्‌। तापक्रमले गर्दा रक्‍तसञ्चार बढ्‌छ र रौंका प्वाल खुल्छ अनि ल्याक्टिक एसिडजस्ता दूषित कुराहरू बाहिर फ्याँकेर सफा गर्छ वा विषालु असरहरूलाई हटाउँछ। अक्सर कसरत गरिसकेपछि दुखाइ वा पीडा कम गर्न अनि एलर्जी, रुघा र जोर्नीशोथबाट हुने दुखाइबाट सञ्चो महसुस गर्न सौना स्नान गरिन्छ। यी स्वास्थ्य लाभहरूबारे मिश्रित धारणा भए तापनि सौनाबाट उत्साहित भएका व्यक्‍तिहरू यस्तो स्नानले सन्चो महसुस गराउँछ, हल्का अनुभूति गराउँछ र सफा गर्छ भनी बताउने गर्छन्‌। कोही-कोही भने थकाइ मेटाउने र आराम दिने भएको हुनाले दिनको अन्तमा सौना स्नान गर्ने गर्छन्‌। अरूलाई चाहिं तातो चिसो पालैपालो गर्दा निकै स्फूर्तिदायी लाग्ने भएकोले दिनको कुनै पनि समयमा स्नान गर्न रुचाउँछन्‌। a

सौना विश्‍वभरि नै विशेष गरी होटेल तथा खेल सुविधाहरूमा झन्‌झनै लोकप्रिय हुँदैछ। ध्यान दिनुपर्ने कुरा: दुःखको कुरा, कुनै कुनै देशमा “सौना” भन्‍ने अभिव्यक्‍ति वेश्‍यावृत्ति गरिने खास ठाउँहरूलाई बुझाउन प्रयोग गरिन्छ। यसर्थ, तपाईं जानुहुने सौना भद्र उद्देश्‍यको लागि प्रयोग गरिने वास्तविक सौना हो कि होइन, पक्का गर्नुहोस्‌।

कुनै कुनै ठाउँमा सौना ठीकसित सञ्चालन गरिएको हुँदैन। उदाहरणका लागि, पर्याप्त मात्रामा ढुंगा नभएको चूलोमा पानी फ्याँक्दा तुरुन्तातुरुन्तै धेरै बाफ निस्केर उकुसमुकुस हुन सक्छ। साथै, आगोमा वा विद्युतीय क्वाइलहरू अर्थात्‌ गुडुल्किएका तारहरूमा पानी चुहिने सम्भावना हुन्छ र अन्ततः चूलोलाई नै हानि पुग्न सक्छ।

त्यसैले, सधैं उत्पादकको निर्देशन पालन गर्न अनि सौना सफा अनि हावा आवतजावतको राम्रो व्यवस्था गरिएको छ कि छैन पक्का गर्नुहोस्‌। तपाईं यी आवश्‍यकताअनुरूपका ठाउँ भेट्टाउन सक्नुहुन्छ भने यो पुरानो यद्यपि आधुनिक स्नान गर्न चाहनुहुन्छ होला। (g03 7/22)

[फुटनोट]

a तपाईं वृद्ध वा गर्भवती वा मुटु सम्बन्धी समस्या भएको व्यक्‍ति हुनुहुन्छ भने सौना स्नान गर्नुअघि चिकित्सकको सल्लाह लिनुहोस्‌।

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

सौना स्नान गर्दा ध्यान दिनुपर्ने कुराहरू

● सौना स्नान गर्नुअघि मद्यपान र टन्‍न खाने नगर्नुहोस्‌।

● पहिला जीउ पखाल्नुहोस्‌।

● रुमालमा बस्नुहोस्‌।

● याद गर्नुहोस्‌ बेन्च जति कम उचाइमा हुन्छ त्यति नै तापक्रम पनि चिसो हुन्छ।

● चूलोको ढुंगामा अलिअलि गर्दै पानी छ्यापेर आर्द्रता मिलाउनुहोस्‌।

● तपाईंसँगै स्नान गर्ने अरू व्यक्‍तिहरूसित प्रतिस्पर्धा नगर्नुहोस्‌। जस्तै—तपाईंसित स्नान गर्नेहरूले तापक्रम अचाक्ली बढाएर सहने वा लामो अवधिसम्म स्नान गर्ने चुनौती दिन सक्छन्‌।

● अन्तमा चिसो पानीले जीउ पखाल्नुहोस्‌।

[पृष्ठ २१-मा भएको चित्र]

रोमको काराकाला स्नान

[स्रोत]

Courtesy of James Grout/ Soprintendenza Archeologica di Roma

[पृष्ठ २१-मा भएको चित्र]

“टेमेस्कल” पसिना स्नान