म किन सिद्ध मानिस हुनै पर्छ?
युवा जनहरू सोध्छन् . . .
म किन सिद्ध मानिस हुनै पर्छ?
“मेरो बुबा शिक्षक हुनुभएको कारण मैले विशिष्ट श्रेणीको अंक ल्याएको सबैले आशा गर्थे। म त कहिलेकाहीं रुँदारुँदै निदाउँथें।”—लेआ। a
“म सिद्धताको अपेक्षा गर्ने एक जना व्यक्ति हुँ। म कुनै कुरामा उत्कृष्ट हुनुपर्छ वा मैले अरू मानिसहरूले भन्दा एकदम भिन्न तरिकामा गर्नुपर्छ अन्यथा त्यस्तो कार्य गर्नुको कुनै औचित्य नै रहँदैन।”—कालेब।
के तपाईं आफू सधैं सिद्ध हुनुपर्छ भन्ने महसुस गर्नुहुन्छ? के तपाईं सधैं आफूले जतिसुकै प्रयास गरे तापनि काम राम्ररी गर्न सकिनँ भन्ने महसुस गर्नुहुन्छ? के तपाईं जस्तोसुकै आलोचना स्वीकार्न सक्नुहुन्छ? के तपाईं कुनै काम बिग्रिएको खण्डमा आफूलाई मूर्ख, नीच वा अयोग्य भएको आरोप लगाउँदै आफैलाई दोषी ठहराउनुहुन्छ? कुनै काम ठीकसित गर्ने हो भने त्यो काम आफैले गर्नुपर्छ जस्तो तपाईंलाई लाग्छ? के तपाईं कहिलेकाहीं असफल भइएला भन्ने डरले परिणामबारे पहिल्यै अनुमान लगाउने वा कामै नगर्ने गर्नुहुन्छ?
अरूसित तपाईंको सम्बन्ध नि? आफ्नो वरपर भएकाहरू कोही पनि आफूजति सिद्ध नभएकोले आफ्ना कोही पनि साथीहरू नभएको महसुस गर्नुहुन्छ? के तपाईं अरूका गल्ती तथा कमजोरीहरू देखेर औधी चिन्तित हुनुहुन्छ? यीमध्ये कुनै पनि प्रश्नमा सकारात्मक जवाफ आउँछ भने तपाईं पनि एउटा कुरासित संघर्ष गर्दै हुनुहुन्छ जसलाई पर्फेक्सनिज्म अर्थात् सिद्धताको अपेक्षा राख्ने झुकाव भनिन्छ। अनि त्यसो हो भने यस्तो समस्या भोग्ने व्यक्ति तपाईं मात्र हुनुहुन्न। यस्तो झुकाव युवाहरूमाझ सामान्य छ—विशेष गरी एकदम उत्कृष्ट वा उच्च सफलता हासिल गर्ने युवाहरूमाझ। b
केले सिद्धताको अपेक्षा राख्ने मनोभाव सिर्जना गर्छ? अन्वेषकहरूसित अनुमानित धारणाहरूमात्र छन्। पर्फेक्सनिज्म—ह्वाट्स ब्याड अबाउट बिइङ टू गुड? पुस्तक यस्तो सुझाव दिन्छ: “सिद्धताको अपेक्षा राख्ने झुकाव कुनै रोग होइन; तपाईंलाई यो रोग लागेको होइन। सिद्धताको अपेक्षा राख्ने झुकाव वंशानुगत होइन; तपाईं जन्मँदै यो गुण आएको होइन। उसोभए तपाईं कसरी सिद्धताको अपेक्षा राख्ने व्यक्ति बन्न पुग्नुभयो त? सिद्धताको अपेक्षा राख्ने झुकाव बाल्यावस्थाको दौडान विकास हुन्छ भनी केही विशेषज्ञहरू विश्वास गर्छन्। पारिवारिक, आफ्नै, सामाजिक, सञ्चार माध्यमको र आदर्श व्यक्तित्वजस्तो हुने अव्यावहारिक दबाब आदिको सामूहिक दबाबले केही मानिसहरू जिन्दगीभर चिन्तित हुन्छन्, दोषी महसुस गर्छन् र फलतः कठोर परिश्रम गर्नतर्फ धकेलिन्छन्।”
कारण जेसुकै भए पनि सधैंभरि सिद्ध हुनुपर्ने आवश्यकताले तपाईंको जीवनलाई क्षति पुऱ्याउन सक्छ। आउनुहोस्
सिद्धताको अपेक्षा राख्ने झुकावलाई नजिकबाट नियालेर यसले तपाईंलाई किन हानि पुऱ्याउन सक्छ हेरौं।सिद्धताको अपेक्षा राख्ने झुकाव भनेको के हो?
सिद्धताको अपेक्षा राख्ने झुकावमा उत्कृष्ट कार्य गर्न खोज्नु वा राम्ररी गरेको काममा गर्व गर्नु मात्र समावेश छैन। आखिर, हितोपदेश २२:२९ मा बाइबलले “निपुण कारीगर[को]” प्रशंसा गर्छ। बाइबलले विभिन्न सीपमा उच्च दक्षता हासिल गरेका थुप्रै व्यक्तिहरूबारे पनि सकारात्मक टिप्पणी गरेको छ। (१ शमूएल १६:१८; १ राजा ७:१३, १४) त्यसैले उत्कृष्टता खोज्नु, ठूला तर व्यावहारिक लक्ष्य राख्नु प्रशंसनीय कुरा हो। यसरी कुनै पनि व्यक्ति “आफ्नो काममा सन्तुष्ट” रहन सक्छ।—उपदेशक २:२४.
तथापि, सिद्धताको अपेक्षा राख्ने व्यक्तिले भने त्यस्तो सन्तुष्टी पाउँदैन। सफलताप्रति उसको दृष्टिकोण तार्किक हुँदैन। केही विशेषज्ञहरूका अनुसार सिद्धताको अपेक्षा राख्ने झुकाव भन्नाले “अप्राप्य लक्षहरू (यो सिद्धता हो) राख्नु र अपेक्षा नै नगरिएको सफलता पाउँदा पनि कहिल्यै सन्तुष्ट नहुनु” भन्ने बुझिन्छ। परिणामस्वरूप, सिद्धताको अपेक्षा राख्ने झुकाव “तनावको दीर्घकालीन स्रोत हुन्छ र यसले अक्सर त्यस व्यक्तिलाई असफल महसुस गराइरहन्छ।” एउटा त्यस्तै स्रोतले सिद्धताको अपेक्षा राख्ने झुकावलाई “आफू र आफ्नो वरपरको वातावरण सिद्ध हुनुपर्छ भन्ने अतार्किक धारणा” हो भनेर व्याख्या गर्छ। “आफूले जीवनमा गर्ने जुनसुकै कामहरू एक-एक सिद्ध किसिमले गर्नुपर्छ, कुनै पनि विकार, त्रुटि, गल्ती वा असामञ्जस्यपूर्ण हुनै हुँदैन भन्ने सोचाइ सर्वव्याप्त मनोवृत्ति हो।”
तर के येशूले यसो भन्नुभएन र: “यसकारण जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ, त्यस्तै तिमीहरू सिद्ध होऊ”? (मत्ती ५:४८) हो, तर येशूले मानिसहरू पूर्णतया सिद्ध हुन सक्छन् भनिरहनुभएको थिएन। वास्तवमा, बाइबलले “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्” भनेर सिकाउँछ। (रोमी ३:२३) उसोभए, येशूको भनाइको तात्पर्य के थियो त? बाइबलमा “सिद्ध” हुनु भन्ने शब्दमा पूर्णताको भाव झल्किन्छ। (मत्ती १९:२१) येशूले हामी सिद्ध हुनै पर्छ भनेर बताउनुहुँदा उहाँ प्रेमबारे छलफल गर्दै हुनुहुन्थ्यो र आफ्ना चेलाहरूलाई आफ्नो प्रेममा अझै पूर्ण हुन प्रोत्साहन दिंदै हुनुहुन्थ्यो। कसरी? आफ्नो प्रेमलाई विस्तार गर्दै शत्रुहरूलाई समेत समावेश गरेर। बाइबल लेखक लूका येशूको भनाइलाई लिपिबद्ध गर्छन्: “जस्तो तिमीहरूका पिता कृपालु हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि कृपालु होओ।”—लूका ६:३६.
तथापि, सिद्धताको अपेक्षा राख्नेहरू पूर्णतयाः सिद्ध हुन सकिन्छ भन्ने भ्रममा परेर कठोर परिश्रम गर्छन्। त्यसैकारण तिनीहरू अरू मानिसहरूबाट पनि अचाक्ली माग गर्छन्। नेभर गुड इनफ—फ्रिइङ योरसेल्फ फ्रम द चेन्स अफ पर्फेक्सनिज्म पुस्तकअनुसार सिद्धताको अपेक्षा गर्नेहरू भनेको ती “मानिसहरू हुन् जो अरूले गरेको कामको गुणस्तर देखेर निराश हुन्छन्। . . . तिनीहरूको विचारमा आफ्ना वरपरका मानिसहरू कहिले पनि आफ्नो काम सन्तोषजनक रूपमा गर्न सजग हुँदैनन् अनि आफ्नै काममा पनि तिनीहरू गर्व गर्दैनन्।”
उदाहरणका लागि, कार्लि दक्ष विद्यार्थीहरूको कार्यक्रममा भर्ना भएपछि शैक्षिक क्षेत्रमा राम्रो गर्छिन्। तथापि, व्यक्तिगत सम्बन्धहरूमा भने तिनी असफल भएकी छिन्। तिनी जुनसुकै कुरा पनि सिद्ध भएको चाहने हुँदा तिनले आफ्ना थुप्रै साथीहरू गुमाइसकेकी छिन्। तिनी भन्छिन्: “मलाई तिनीहरू ज्यादै असिद्ध जस्तो लाग्थ्यो।”
अरूले चाहिं अरूबाट नभई आफैबाट सिद्धताको खोजी गर्छन्। नेभर गुड इनफ पुस्तक त्यस्ता मानिसहरू “आफू र आफ्ना क्रियाकलापहरू अझ राम्रो हुन पुगेको छैन” भन्ने महसुस गर्छन् “अनि विशेष गरी आफूबारे अरूले कस्तो सोच्छन् भन्ने कुरामा चिन्तित हुन्छन्।”
सिद्ध हुन खोज्दाको समस्या
सिद्धता हासिल गर्ने प्रयास स्वास्थ्यकर र लाभदायी हुनुको सट्टा हितोपदेश १९:२०) तर त्यस्तो उत्थानदायी आलोचना स्वीकार्नुको सट्टा डान्यलले असफल महसुस गरे। “मलाई त कतै गएर दूलोभित्र लुक्न मन लाग्यो” तिनी सम्झन्छन्। हप्तौंसम्म तिनी राम्ररी सुत्नै सकेनन्।
अस्वास्थ्यकर र हानिकारक हुन पुग्छ। अनि उत्कृष्टता बढाउनुको सट्टा त्यस्तो दृष्टिकोणले असफलता बढाउँछ। डान्यल नाउँ गरेका मसीही पुरुषले यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनको कक्षामा मौखिक प्रस्तुतिको कार्यभार पाउँदा त्यसलाई पूरा गर्न धेरै समय मेहनत गरेको कुरा सम्झन्छन्। तिनको राम्रो प्रस्तुतिलाई थुप्रै श्रोताहरूले प्रशंसा गरे। त्यसपछि डान्यलले प्रशिक्षकबाट केही कौशलतापूर्ण अनि मदतकारी सुझावहरू पाए। बाइबलले हामीलाई “सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर” भनी प्रोत्साहन दिन्छ। (त्यसकारण सिद्धताको अपेक्षा राख्नाले सिक्ने प्रक्रियामा अवरोध खडा गर्न सक्छ। युवाहरूको लागि बनाइएको वेब साइटको एउटा लेखमा रेचेल नाउँकी केटी यस्तो लेख्छिन्: “मैले हाई-स्कूल सुरु गरेको बेला राम्रो गर्ने अठोट गरेकी थिएँ। म सधैंजसो राम्रो अंक ल्याउँथें अनि त्योभन्दा कम ल्याउनुपर्ने कुनै कारण छ जस्तो मलाई लागेन।” तर रेचेललाई केही समयपछि बीजगणित गाह्रो लागेको महसुस गर्न थालिन् र अंक पनि अति उत्कृष्टभन्दा केही कम “मात्र” प्राप्त गरिन्। “अरू सबैको लागि त यो निकै राम्रो अंक थियो,” रेचेल सम्झन्छिन्, “तर मेरो लागि . . . एकदम हरेस लाग्दो थियो। म अत्तालिएँ र चिन्तित हुन थालें। शिक्षकसित मदत माग्न पनि म डराएँ किनभने मैले आफ्नो गृहकार्यमा मदत चाहिन्छ भन्ने स्वीकारेको खण्डमा नबुझेको भान पर्ने थियो। . . . कहिलेकाहीं त मलाई असफल हुनुभन्दा मर्नु नै बेस जस्तो समेत लाग्न थाल्यो।”
असफलताको डरले गर्दा केही युवायुवतीहरूले आत्महत्या गर्ने विचारसमेत गरेका छन्। खुसीको कुरा, अधिकांश युवाहरूले त्यस्तो गम्भीर कदम तुरुन्तै चालिहाल्ने विचार गर्दैनन्। तर मानसिक चिकित्सा विशेषज्ञ सिल्भिया रीम त्यस्तो कार्य गर्ने प्रयाससमेत नगरी असफलता भोग्नु नपर्ने उपाय खोज्छन् भनेर बताउँछिन्। रीमका अनुसार केही सिद्धताको अपेक्षा राख्नेहरू “आफ्नो कार्य अरूलाई जाँच्न दिंदैनन्, आफ्नो काममा गर्व गर्दैनन्, गृहकार्य गर्न बिर्सन्छन्, बहाना बनाउँछन्।”
अर्कोतिर अरू युवाहरूचाहिं सफल हुन अचाक्ली गर्ने गर्छन्। “स्कूलका प्रोजेक्टहरू भनेजस्तै ठ्याक्क गर्न म रातरातभर जाग्राम बस्थें” भनेर डान्यल स्वीकार्छन्। समस्या के हो भने त्यसरी अचाक्ली गर्दा अझ उल्टा हुन जान्छ। निदाउरो विद्यार्थीहरू कामकुरा राम्ररी गर्न असमर्थ हुन्छन्।
त्यसैकारण सिद्धताको अपेक्षा राख्ने झुकावलाई दीर्घकालीन क्रोध, आफूलाई कम महत्त्वको ठान्ने, दोषी भाव, निराशावादी, भोजन सन्तुलित ढंगमा खान नसक्नु र तनावजस्ता कुराहरूसित सम्बन्धित भएको पाइएको छ। यद्यपि, सबैभन्दा गम्भीर कुरा त के हो भने सिद्धताको अपेक्षा राख्ने झुकावले आध्यात्मिक तवरमा हानी पुऱ्याउन सक्छ। उदाहरणको लागि, बाइबलले मसीहीहरूलाई आफ्नो विश्वासबारे अरूलाई बताउने आदेश दिन्छ। (रोमी १०:१०; हिब्रू १०:२४, २५) तथापि, भिभियन नाउँकी युवतीले आफूले दिएको जवाफ गलत होला भन्ने डरले पछि हटिन्। लेआ नाउँकी युवतीले पनि त्यस्तै डर प्रकट गरिन्। तिनी भन्छिन्: “मैले गलत जवाफ दिएको खण्डमा अरूले मेरो बारेमा गलत दृष्टिकोण राख्नेछन्। त्यसैले म टिप्पणी गर्दिनँ।”
त्यसैले सिद्ध हुनुपर्ने आवश्यकता हानिकारक अनि अस्वास्थ्यकर हुन्छ भन्ने कुरा स्पष्ट छ। अनि यस लेखमा वर्णन गरिएका कुनै झुकाव तपाईंसित पनि छन् भने तपाईंले आफ्नो सोचाइमा केही परिवर्तन ल्याउनुपर्ने हुन्छ। तपाईंले कसरी त्यसो गर्न सक्नुहुन्छ पछि आउने लेखमा छलफल गरिनेछ। (g03 7/22)
[फुटनोटहरू]
a केही नाउँ परिवर्तन गरिएका छन्।
b एउटा अध्ययनले देखाएअनुसार एउटा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूमध्ये ८७.५ प्रतिशतसित कुनै समय सिद्धताको अपेक्षा राख्ने झुकाव थियो।
[पृष्ठ १२-मा भएको चित्र]
असफलताको डरले केही युवाहरूलाई आफ्नो कार्यभार पूरा गर्नदेखि रोक्छ
[पृष्ठ १३-मा भएको चित्र]
सिद्धताको अपेक्षा राख्ने झुकावले तनाव बढाउन र आत्म सम्मानमा कमी ल्याउन सक्छ