सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

सार्कको अंगभंग गर्ने

विश्‍वव्यापी तवरमा, व्यावसायिक मछुवाहरूले सार्कको खोजमा समुद्रको खानतलास गरेर तिनीहरूको पखेटा अंगभंग गर्छन्‌ अनि तिनीहरूको सिनो पानीमा फ्याँक्छन्‌। “यसरी जथाभावी अंगभंग गर्नुको कारण महँगो [सार्कको पखेटाको] सुपको माग सिवाय अरू केही होइन” भनी साइन्स न्युज रिपोर्ट गर्छ। अगस्त २००२ मा सं.रा.अ.-को कोस्ट गार्डले हवाईको एउटा जहाजमा ३२ टन सार्कको पखेटा खाँदिएको थाह पाएपछि मेक्सिकोको समुद्रीतटबाट त्यो जहाज समाते। सार्कको शरीरका अन्य भागहरू जहाजमा थिएनन्‌। “यो अचाक्ली गह्रौं भारी, मारिएका कम्तीमा ३०,००० सार्क र माछाको लगभग ५,८०,००० किलोग्राम फोहोर हो” भनी उक्‍त पत्रिका बताउँछ। “विश्‍वभरि माछा मार्ने जहाजहरूले अहिले वर्षेनी १० करोडजति सार्कहरू मार्छन्‌।” खुला बजारमा सार्कका पखेटाहरूबाट प्रति किलोग्राम २०० अमेरिकी डलर कमाउन सकिने हुँदा यसको माग बढ्‌दो छ। (g03 7/22)

समयको चाँजो मिलाउने

हालैको एउटा अध्ययनले निष्कर्ष निकालेअनुसार “पर्याप्त समय छैन भनी गुनासो गर्नेहरू भ्रममा परेका छन्‌” भनी दी अस्ट्रेलियन रिपोर्ट गर्छ। युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अस्ट्रेलियाको राष्ट्रिय विश्‍वविद्यालयले सञ्चालन गरेको अध्ययन उद्धरण गर्दै उक्‍त अखबार यसो भन्छ: “हामीमध्ये थुप्रैले साँच्चै चाहिनेभन्दा बढी समय काममा र घरायसी कामधन्दा गर्न बिताइरहेका छौं।” अनुसन्धाताहरूले बच्चा नभएका दम्पतीहरूले जीवनका आधारभूत आवश्‍यकताहरूको प्रबन्ध गर्न कति समय काम गर्नुपर्छ भनेर हिसाब गरे। त्यसपछि त्यो संख्यालाई तिनीहरूले वास्तवमा काममा कति समय खर्च गर्छन्‌ भनेर तुलना गरेर हेरे। उक्‍त अध्ययनले देखाएअनुसार बच्चा नभएका जागिरे दम्पतीहरूले “काममा प्रतिहप्ता कुल ७९ घण्टा, घरायसी कामधन्दामा ३७ घण्टा र व्यक्‍तिगत हेरचाहमा १३८ घण्टा खर्च गरे तर तिनीहरूले प्रतिहप्ता २० घण्टा [प्रत्येकले १० घण्टा] कामको लागि, घरायसी कामधन्दाको लागि १८ घण्टा र व्यक्‍तिगत हेरचाहमा [खाने र सुत्ने लगायत] ११६ घण्टा मात्र बिताए पुग्छ” भनी उक्‍त अखबार बताउँछ। दम्पतीहरू यसरी छाँटकाँट गर्न इच्छुक भएको खण्डमा १०० घण्टासम्म फुर्सतको समय पाउन सक्थे। दी अस्ट्रेलियन-अनुसार उक्‍त अध्ययनले बच्चा नभएका जागिरे दम्पतीहरूले “समय पर्याप्त नभएको अत्यधिक दबाब महसुस गरेको पाइयो तर वास्तवमा हेर्ने हो भने छोराछोरी भएका आमाबाबुभन्दा तिनीहरू बढी समय भएको समूह थियो।” (g03 7/22)

माहुरीहरूले हात्तीलाई भगाउँछन्‌

केन्यामा हात्तीको संख्या बढ्‌दैछ तर यसले समस्या ल्याएको छ। लुटाहा हात्तीहरूले रूखहरू र बालीनाली बिगार्छन्‌ अनि हात्तीले प्रति दुई हप्ता औसतमा एक जना मानिसलाई कुल्चेर मार्छ। तथापि, अक्सफोर्ड विश्‍वविद्यालयका जीवशास्त्री फ्रिट्‌स भोलराटले एउटा सम्भाव्य अवरोध पत्ता लगाएका छन्‌। तिनी भन्छन्‌, हात्तीहरूले माहुरीको घारलाई चलाउँदा “त्यसको वास्तै गर्दैनन्‌। तिनीहरू दौडन्छन्‌ अनि माहुरीले सयौं किलोमिटर परसम्म लखेट्‌छन्‌।” माहुरीले हात्तीलाई आँखा वरपर, कानको पछाडि, सुँडको मुनि र पेटजस्ता नाजुक ठाउँहरूमा टोक्छन्‌। भोलराटले माहुरी भएको र नभएको अफ्रिकी माहुरीको घार, हात्तीहरू प्रायजसो आउने इलाकाका रूखहरूमा राखिदिए। न्यु साइन्टिस्ट-ले रिपोर्ट गरेअनुसार यी जनावरहरू माहुरी भएको सबै घार र माहुरी नभएको एक तिहाई रित्तो घारबाट परै बसे। तर तिनीहरूले कुनै घार नभएको १० वटामध्ये ९ वटा रूखमा आक्रमण गरे। भोलराटले अर्को कुन कुरा पनि पत्ता लगाए भने, लाउडस्पिकरबाट बजाइँदा समेत हात्तीहरू रिसाहा माहुरीहरूको आवाजबाट टाढै बस्छन्‌। (g03 7/08)

कार्यस्थलमा तनाव

“हरेक पाँच जनामध्ये एक जना क्यानेडियालीले आफू अत्यन्तै तनावग्रस्त भएकोले दबाबमुक्‍त हुन आत्महत्या गर्ने विचार गरेको कुरा बताए” भनी द ग्लोब एण्ड मेल रिपोर्ट गर्छ। यो तनावको स्रोत के हो? जम्मा १,००२ जनासित गरिएको सर्वेक्षणमा ४३ प्रतिशतले यसको कारण आफ्नो काम भएको बताए। “वर्तमान कार्यक्षेत्रमा हामीले मानिसहरूलाई तिनीहरूको शारीरिक तथा मनोवैज्ञानिक सीमाको हदसम्म घचेटिरहेका छौं” भनी शिमोन डोलान, संगठनात्मक मनोवैज्ञानिक तथा मन्ट्रियल विश्‍वविद्यालयका प्राध्यापक बताउँछन्‌। “सफलता हासिल गर्ने दबाब अत्यधिक छ तर ठूलो अनिश्‍चितता छ—भोलि तपाईंको जागिर रहला नरहला भन्‍न सकिंदैन।” क्यानेडियालीहरू तनाव कम गर्न के गर्छन्‌? सबैभन्दा लोकप्रिय तरिका व्यायाम हो भनी ग्लोब बताउँछ र “त्यसपछि किताब पढ्‌ने, आफ्नो सौखको काम गर्ने र खेलकूदमा भाग लिने अनि परिवारसित भेटघाट गरेर समय बिताउने गर्छन्‌।” (g03 7/08)

आमाबाबुसित पढ्‌दा छोराछोरीहरू शान्त हुन्छन्‌

“आमाबाबुसँगै नियमित तवरमा पढ्‌ने गर्दा झगडा गर्ने, चोर्ने र झूट बोल्नेजस्ता बानी भएका बच्चाहरूमा ध्वंसात्मक गैरसामाजिक आनीबानी निकै कम हुन सक्छ” भनी लन्डनको अखबार द टाइम्स रिपोर्ट गर्छ। मनोचिकित्सा संस्थानद्वारा आयोजित दस हप्ते अध्ययनमा लन्डनको घना बस्तीमा बसोबास गर्ने १०० भन्दा बढी पाँच वर्षे र छ वर्षेहरू समावेश गरेर गरिएको अध्ययनमा आमाबाबुलाई “छोराछोरीसित पढ्‌न बस्दा आफ्नो मोबाइल फोन बन्द गर्न, कथा पढ्‌न थाल्नुअघि त्यसको रूपरेखा बताउन अनि हतार नगरी बिस्तारै पाना पल्टाउन र चित्रहरू हेर्न समय निकाल्न” निर्देशन दिइयो। यसको परिणामले देखाएअनुसार “सरल, खास विषयलाई ध्यान दिइएका कार्यक्रमहरूको आयोजना गर्नु सानै उमेरदेखि केटाकेटीको व्यवहार राम्रो बनाउन अत्यन्तै प्रभावकारी हुन सक्ने पाइयो” भनी उक्‍त अखबार बताउँछ। “बालबच्चाले वास्तवमा आफूलाई ध्यान दिएको चाहन्छन्‌” भनी अनुसन्धान नेता डा. स्टिफन स्कटले भने। “यो तिनीहरूले आमाबाबुसित सँगै पढेर पाउन सक्छन्‌।” (g03 7/08)

भारतमा मधुमेहको वृद्धि

विश्‍व-स्वास्थ्यसंगठनको अनुमानअनुसार संसारभरि मधुमेह रोगीहरू १७ करोडभन्दा बढी छन्‌। मधुमेह रोगीहरूको सबैभन्दा बढी संख्या भएको देश भारत हो, यहाँ ३.२ करोड रोगीहरू छन्‌ र यो संख्या २००५ सम्म ५.७ करोडभन्दा बढी हुने अनुमान गरिएको छ भनी डेकन हेरल्ड नामक अखबार रिपोर्ट गर्छ। श्रीलंकामा आयोजित एसियामा मधुमेह रोगीसम्बन्धी अन्तरराष्ट्रिय भेलामा विशेषज्ञहरूले यस्तो तीव्र वृद्धि हुनुको मुख्य कारण भोजन र जीवन शैलीमा परिवर्तन हो र यसबाहेक तनाव, आनुवंशिक कारण, जन्मँदा कम वजन र नवजात शिशुहरूलाई बढी खुवाउनु पनि यसका कारणहरू हुन्‌ भनी बताए। मधुमेह रोगीहरूको उपचार खर्च संसारमै सस्तो देशमध्ये भारत पनि हो। तैपनि, मधुमेहसित सम्बन्धित स्वास्थ्य जटिलताहरू र मृत्युदर अत्यधिक छ र यसको लागि रोगबारे चेतनाको कमी र ढिलो निदान गरिनु केही हदसम्म जिम्मेवार छ। भारतका प्रमुख शहरहरूमा गरिएको अध्ययनअनुसार वयस्क जनसंख्याको १२ प्रतिशतलाई मधुमेह भएको छ अनि १४ प्रतिशतमा ग्लुकोजको सही सन्तुलन कायम गर्न नसक्ने क्षमता देखियो र यो मधुमेह हुनुअघि देखिने समस्या हो। (g03 7/22)

अहिले जति यौन शिक्षा पहिले कहिल्यै चाहिएको थिएन

जर्मनीको औपचारिक तथ्यांकअनुसार १९९६ देखि २००१ बीच १५ देखि १७ वर्षका किशोरीहरूमा गर्भपात ६० प्रतिशतले वृद्धि भयो र योभन्दा कम उमेरका केटीहरूमा ९० प्रतिशतले बढ्यो भनी डर स्पिजल रिपोर्ट गर्छ। कोब्लेन्स-लान्डाउ विश्‍वविद्यालयका नर्बट क्लुगले बताएअनुसार केटाकेटीहरूमा चाँडै यौन परिपक्वता आइरहेको छ तर तिनीहरूले ‘यौन विषयहरूमा उचित शिक्षा र विशेष गरी अलि चाँडै पाइरहेका छैनन्‌।’ केटाकेटीहरूले दस वर्ष पुग्नुअघि जीवनका यथार्थहरूबारे राम्ररी थाह पाएको हुनुपर्छ तर आमाबाबुहरू यो जिम्मेवारी वहन गर्नदेखि पन्छिन्छन्‌ भनी क्लुग बताउँछन्‌। बर्लिनर मर्गनपोस्ट-अनुसार बनको फेडरल पेरेन्ट्‌स काउन्सिलका निर्देशक आमाबाबुले छोराछोरीलाई यौन शिक्षा दिंदा जैविक प्रक्रियाभन्दा “प्रेम र सम्बन्धजस्ता” भावनात्मक विषयहरूलाई बढी जोड दिनुपर्ने सल्लाह दिन्छन्‌। (g03 7/22)

दुई प्रकारका स्नायु प्रणाली?

मानिसहरूसित प्रेम र कोमलताको अनुभूति गर्न सक्ने विशेष स्नायु प्रणाली छ भनी जर्मन वैज्ञानिक पत्रिका बिल्ड डर विशेनशाफ्ट रिपोर्ट गर्छ। स्वीडिश वैज्ञानिकहरूले आफ्ना प्रमुख स्पर्श चेतनाहरू गुमाइसकेकी आइमाईले पनि हल्का रङ लगाउने बुरुसले छुँदा त्यसको स्पर्श राम्ररी चाल पाएको कुरा पत्ता लगाए। तिनीहरूले पत्ता लगाएअनुसार यो राम्रो अनुभूति, छालामा हुने अर्कै स्नायु जालोले गर्दा हो र यसमा स्पर्शसित सम्बन्धित सी फाइबर भनिने ढिलो प्रसारण हुने फाइबरहरू हुन्छन्‌। यो जालोले हल्का स्पर्शप्रति मात्र चेतना देखाउँछ अनि भावनासित सम्बन्धित मस्तिष्कको भागलाई सक्रिय बनाउँछ। मानिसहरूसित दुइटा स्नायु प्रणाली हुनुको कारणबारे टिप्पणी गर्दै इन्टरनेशनल हेरल्ड ट्रिब्युन यसो भन्छ: “ढिलो प्रसारण हुने फाइबरहरू जीवनका प्रारम्भिक घडीदेखि सायद गर्भमै सक्रिय हुन थाल्छन्‌ जबकि छिटो प्रसारण हुने फाइबरहरू जन्मेपछि बिस्तारै विकास हुन थाल्छन्‌। नवजात शिशुहरूले वास्तवमा स्पर्शको चेतना पाउनुअघि नै आमाबाबुको स्पर्शमा हुने प्रेम महसुस गर्न सक्छन्‌।” (g03 7/22)