सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के जनजातीय घृणा उचित छ?

के जनजातीय घृणा उचित छ?

बाइबलको दृष्टिकोण

के जनजातीय घृणा उचित छ?

के वल तपाईंको जातले गर्दा तपाईंलाई जाली, हिंस्रक, मूर्ख वा अनैतिक व्यक्‍तिको रूपमा लिइन्छ भने तपाईं कस्तो महसुस गर्नुहुनेछ? a पक्कै पनि तपाईंलाई यो मन पर्नेछैन। तर दुःखको कुरा लाखौं मानिसहरू यस्तै घटनाका सिकार भएका छन्‌। यसबाहेक, इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने पनि असंख्य निर्दोष मानिसहरू आफ्नो जात वा राष्ट्रियताको कारणले गर्दा मात्रै दुर्व्यवहार र हत्याको सिकारसमेत भएका छन्‌। साँच्चै, आज भइरहेका अधिकांश रक्‍तपातपूर्ण झगडाहरूका कारण पनि जनजातीय घृणा हो। यद्यपि, त्यस्तो हिंसाको समर्थन गर्ने थुप्रै मानिसहरूले परमेश्‍वर र बाइबलमा विश्‍वास गरेको दाबी गर्छन्‌। अनि जातिवाद सधैं भइरहनेछ—यो मानव स्वभावको एउटा भाग हुनेछ भन्‍ने मानिसहरू पनि छन्‌।

के बाइबलले त्यस्तो जनजातीय घृणालाई छुट दिन्छ? के सांस्कृतिक वा जनजातीय दृष्टिकोणबाट फरक मानिसहरूलाई घृणा गर्न सकिने परिस्थितिहरू हुन्छन्‌? के जनजातीय घृणाविनाको भविष्यको कुनै आशा छ? बाइबलको दृष्टिकोण कस्तो छ?

तिनीहरूको कार्यअनुसार न्याय गरियो

परमेश्‍वरले मानिसजातिसित सुरु-सुरुमा गर्नुभएको व्यवहारलाई सरसरती हेर्दा एउटा गलत निष्कर्षमा पुग्न पनि सकिन्छ—प्रमुखतः परमेश्‍वरले वास्तवमै जनजातीय घृणालाई समर्थन गर्नुभयो। के केही बाइबल विवरणहरूले परमेश्‍वरलाई सम्पूर्ण कुल र राष्ट्रको न्यायकर्ताको रूपमा चित्रण गर्दैनन्‌ र? हो, तर नजिकबाट नियालेर हेर्दा परमेश्‍वरले यी मानिसहरूलाई तिनीहरूको जनजातीय पृष्ठभूमिको कारणले होइन तर उहाँको व्यवस्थालाई अचाक्ली बेवास्ता गरेकोले नाश गर्नुभएको थियो।

उदाहरणका लागि, यहोवा परमेश्‍वरले कनानीहरूलाई तिनीहरूको भ्रष्ट यौन र प्रेतवादी आचरणको लागि सजाय दिनुभयो। तिनीहरूले झूटा देवहरूलाई केटाकेटीसमेत बलि चढाए! (व्यवस्था ७:५; १८:९-१२) तथापि, कुनै-कुनै अवसरमा केही कनानीहरूले परमेश्‍वरमा विश्‍वास प्रदर्शन गर्नुका साथै पश्‍चात्ताप गरे। त्यहीअनुरूप यहोवाले तिनीहरूको जीवन बचाउनुभयो र आशिष्‌ दिनुभयो। (यहोशू ९:३, २५-२७; हिब्रू ११:३१) एउटी कनानी स्त्री राहब, प्रतिज्ञा गरिएको मसीह, येशू ख्रीष्टको पुर्खा समेत भइन्‌।—मत्ती १:५.

परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाले उहाँ पक्षपाती हुनुहुन्‍न भनी देखाउँछ। त्यसको विपरीत उहाँले सबै मानिसहरूको हितप्रति गहिरो चासो देखाउनुहुन्छ। लेवी १९:३३, ३४ मा हामी परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको यस्तो अनुकम्पापूर्ण आज्ञा पाउँछौं: “तिमीहरूसित बास गर्ने परदेशीसँग दुर्व्यवहार नगर्नू। तैंले त्यसलाई आफ्नै घरमा जन्मेको जस्तै ठान्‍नू। तिमीहरूको लागि त्यो स्वदेशीजस्तै होस्‌, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु, तिमीहरूका परमेश्‍वर हुँ।” यस्तै आज्ञाहरू प्रस्थान र व्यवस्थाको पुस्तकमा पनि पाइन्छ। स्पष्टतः यहोवाले जनजातीय घृणालाई उचित ठान्‍नुभएन। उहाँले जनजातीय सामञ्जस्यतामा जोड दिनुभयो।

येशूले जनजातीय सहिष्णुतालाई बढवा दिनुभयो

येशू यस पृथ्वीमा हुनुहुँदा यहूदी तथा सामरीहरूमा एकअर्कालाई हेला गर्ने झुकाव थियो। एक चोटि, एउटा सामरी गाउँका मानिसहरूले येशूलाई, उहाँ यरूशलेमतिर लाग्नुभएको यहूदीको नाताले गर्दा मात्र उहाँलाई स्वागत गरेनन्‌। तपाईं भए त्यस्तो तिरस्कारप्रति कस्तो प्रतिक्रिया देखाउनुहुने थियो? येशूका चेलाहरूले उहाँलाई यस्तो प्रश्‍न गर्दा तिनीहरूले त्यतिबेलाको पूर्वाग्राही मनोभाव झल्काइरहेका हुन सक्छन्‌: “हे प्रभु, स्वर्गबाट आगो बर्षाएर यिनीहरूलाई भस्म पार्नालाई हामी आज्ञा गरौं भनी तपाईं इच्छा गर्नुहुन्छ?” (लूका ९:५१-५६) के येशूले आफ्ना चेलाहरूको पूर्वाग्राही मनोभावबाट प्रभावित हुन दिनुभयो? त्यसको विपरीत, उहाँले तिनीहरूलाई हप्काउनुभयो र चुपचाप अर्कै गाउँतिर बास खोज्न जानुभयो। त्यसको केही समयपछि येशूले असल सामरीको दृष्टान्त बताउनुभयो। यसले कुनै व्यक्‍तिको जनजातीय पृष्ठभूमिको आधारमा मात्र तिनी शत्रु हुँदैनन्‌ भनी जोडदार ढंगमा प्रदर्शित गऱ्‍यो। साँच्चै भन्‍ने हो भने, तिनी असाध्यै राम्रो छिमेकी साबित हुन सक्छन्‌!

मसीही मण्डलीमा जनजातीय समूहहरू

येशूले आफ्नो पार्थिव सेवकाईको दौडान मुख्यतया आफ्नो राष्ट्रका मानिसहरूलाई चेला बनाउने काममा ध्यान केन्द्रित गर्नुभयो। तर अन्ततः अरू जातका मानिसहरू पनि उहाँको चेला हुनेछन्‌ भनी उहाँले संकेत गर्नुभयो। (मत्ती २८:१९) के सबै जनजातीय समूहका मानिसहरूलाई स्वीकार गरिनेछ? हो, गरिनेछ! प्रेरित पत्रुसले यस्तो उल्लेख गरे: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) पछि प्रेरित पावलले मसीही मण्डलीमा कुनै व्यक्‍तिको जनजातीय पृष्ठभूमिले केही फरक पार्दैन भनी स्पष्टसित उल्लेख गरेर यस कुरालाई अझ जोड दिए।—कलस्सी ३:११.

परमेश्‍वरले सबै जनजातीय समूहका मानिसहरूलाई स्वीकार्नुहुन्छ भन्‍ने थप संकेत बाइबलको प्रकाश पुस्तकमा पाउँछौं। ईश्‍वरीय प्रेरणा प्राप्त दर्शनमा प्रेरित यूहन्‍नाले “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड” देखे जसले परमेश्‍वरबाट उद्धार पाएका थिए। (प्रकाश ७:९, १०) यो “ठूलो भीड” नयाँ मानव समाजको लागि जग हुनेछ जहाँ सबै पृष्ठभूमिका मानिसहरू परमेश्‍वरप्रतिको प्रेमले शान्तिपूर्वक एकताबद्ध रहनेछन्‌।

त्यतिन्जेल, मसीहीहरूले अरूलाई तिनीहरूको जनजातीय पृष्ठभूमिको आधारमा न्याय गर्ने झुकावको प्रतिरोध गर्नुपर्छ। परमेश्‍वरले जस्तै मानिसहरूलाई एउटा जनजातीय समूहको सदस्यको रूपमा होइन तर व्यक्‍तिविशेषको रूपमा हेर्नु न्यायी र मायालु तरिका हुनेछ। के तपाईं आफूलाई पनि त्यसरी नै हेरेको चाहनुहुन्‍न र? येशूले यस्तो सुहाउँदो सल्लाह दिनुहुन्छ: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) जनजातीय घृणाविना बाँच्नु स्फूर्तिदायी हुन्छ। यसले आफ्नो मनमा अनि अरूसित शान्ति कायम राख्न धेरै मदत पुऱ्‍याउँछ। अझ महत्त्वपूर्ण त, यसले हामीलाई हाम्रो निष्पक्ष सृष्टिकर्ता यहोवा परमेश्‍वरसँग मिलापमा ल्याउँछ। जनजातीय घृणालाई तिरस्कार गर्ने कस्तो जोडदार कारण! (g03 8/08)

[फुटनोट]

a यस लेखमा प्रयोग गरिएको “जनजातीय समूह”-ले उस्तै जात, राष्ट्र, कुल वा सांस्कृतिक मूलका व्यक्‍तिहरूलाई बुझाउँछ।