सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको स्वास्थ्यलाई असर गर्ने छनौटहरू

तपाईंको स्वास्थ्यलाई असर गर्ने छनौटहरू

तपाईंको स्वास्थ्यलाई असर गर्ने छनौटहरू

पोषिलो खाना खानु र स्वस्थ रहनु अक्सर चुनौतीको कुरा हो। आजको व्यस्त संसारमा ताजा खाना बनाउनुको सट्टा प्रशोधित “सुविधाजनक खानाहरू” खानु र आफ्नो फुर्सतको समयमा शारीरिक व्यायाम गर्नुको सट्टा टिभी वा कम्प्युटरको अघि बस्नु सजिलो जस्तो देखिन्छ। तथापि, यी छनौटहरू थुप्रै वयस्क तथा केटाकेटीहरूमा देखिएको गम्भीर स्वास्थ्य समस्याको कारक हुन सक्छ।

एसियावीक पत्रिका भन्छ, एसियामा “असाध्यै चिल्लो खाना र धेरै चलहल नगरी बसिरहने बानीको वृद्धिले मधुमेहको महामारी फैलिरहेको छ।” यो रोगबाट समाजका युवा जनहरू बढी प्रभावित हुनु एउटा चिन्ताको विषय भएको छ। अनि क्यानाडामा “अनुसन्धाताहरूले किशोरावस्था नपुगेका सात जनामध्ये एक जनाले मात्र पर्याप्त फलफूल र तरकारी खाएको [अनि] आधा जतिले मात्र पसिना आउने गरी खेलेको पाइयो” भनी द ग्लोब एण्ड मेल रिपोर्ट गर्छ। यस्तो जीवन शैलीले गर्दा यी केटाकेटीहरू “तीस वर्ष नपुग्दै मुटु रोगका दाबेदार हुन सक्छन्‌।”

त्यस्तै गरी, निद्रा विशेषज्ञहरूअनुसार वयस्कहरू प्रति रात झन्डै आठ घण्टा र केटाकेटी त्योभन्दा अझ बढी सुत्नु पर्ने हुन सक्छ। साँच्चै भन्‍ने हो भने, शिकागो विश्‍वविद्यालयमा गरिएको अध्ययनअनुसार लगातार छ रात, चार घण्टा मात्र सुत्ने स्वस्थ जवान पुरुषहरूमा साधारणतया वृद्ध व्यक्‍तिहरूमा मात्र देखिने चिकित्सा समस्याका लक्षणहरू देखिए। थुप्रै मानिसहरूले सुत्ने अमूल्य समय आफ्नो जागिर, स्कूल वा रमाइलोको लागि त्याग्ने गर्छन्‌ तर यसको नतिजा उल्टो हुन सक्छ। न्यु योर्कको कर्नेल विश्‍वविद्यालयका निद्रा अनुसन्धाता जेम्स मास भन्छन्‌, “केवल काम गर्नु एउटा कुरा हो, सचेत, सृजनशील हुनु र गाडी हाँक्दाहाँक्दै झपक्क ननिदाउनु अर्कै कुरा हो।”

निस्सन्देह, हाम्रो सुस्वास्थ्यमा असर गर्ने अरू तत्त्वहरू पनि छन्‌। उदाहरणका लागि, सकारात्मक मनोवृत्ति राख्दा पनि हाम्रो स्वास्थ्यलाई फाइदा पुऱ्‍याउन सक्छ। अनि जीवनमा साँचो उद्देश्‍य हुँदा पनि हामीलाई स्वस्थ रहन मदत पुऱ्‍याउने छनौटहरू गर्न उत्प्रेरित गर्न सक्छ। (g03 8/22)