सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पानी, आकाश र बतासद्वारा मार्ग-निर्देशन गर्ने

पानी, आकाश र बतासद्वारा मार्ग-निर्देशन गर्ने

पानी, आकाश र बतासद्वारा मार्ग-निर्देशन गर्ने

के तपाईंलाई पृथ्वीको छेउबाट खसिएला भन्‍ने डर लाग्छ? सायद लाग्दैन। तथापि, विगतका केही नाविकहरूलाई त्यस्तो डर लाग्थ्यो जस्तो देखिन्छ। थुप्रैले जमिनको छेउ-छेउबाट मात्र यात्रा गर्थे। तर अरू साहसी नाविकहरूले आफ्नो डर एकातिर पन्छाएर समुद्रमा टाढा-टाढासम्म यात्रा गर्न थाले।

लगभग ३,००० वर्षअघि फिनिसियाली समुद्री मार्ग-निर्देशकहरू भूमध्य सागरको पूर्वी तटबाट आफ्नो गृह बन्दरगाह युरोप र उत्तर अफ्रिकासित व्यापार गर्न निस्के। सा.यु.पू. चौथो शताब्दीमा पाइथियास नाउँका युनानी अन्वेशक पूरै बेलाइतको यात्रा गरेर आइसल्याण्डसम्म पुगेको हुन सक्छ। अनि युरोपेली जहाजहरू हिन्द महासागरमा प्रवेश गर्नुभन्दा निकै पहिले पूर्वका अरबी र चिनियाँ नाविकहरूले त्यो लामो यात्रा वारपार गरिसकेका थिए। वास्तवमा, समुद्री यात्रा गरेर भारत पुग्ने पहिलो युरोपेली, भास्को डा गामा, अरबी चालक, इब्न माजिदको मदतले त्यहाँ सकुशल पुगिसकेका थिए। यी चालकले डा गामालाई हिन्द महासागर पार गर्ने २३ दिने यात्राको लागि डोऱ्‍याएका थिए। ती पुरातन नाविकहरूले समुद्रमा आफ्नो बाटो कसरी पत्ता लगाए?

डेड रेकनिङले तिनीहरूलाई जीवितै राख्यो

सुरुका नाविकहरू डेड रेकनिङ-मा भर पर्नुपर्थ्यो। यसको लागि चित्रमा देखाइएझैं नाविकहरूले तीनवटा कुरा थाह पाउनुपर्थ्यो: (१) तिनको जहाजको सुरुको बिन्दु (२) यसको गति र (३) यसको दिशा (यात्रा गरिरहेको दिशा)। सुरुको बिन्दु पत्ता लगाउन सधैं सजिलो हुन्थ्यो। तर दिशा कसरी पत्ता लगाउन सकिन्थ्यो?

क्रिस्टोफर कोलम्बसले १४९२ मा दिशा पत्ता लगाउन कम्पासको प्रयोग गरे। तर युरोपमा कम्पास उपलब्ध भएको सा.यु. १२ औं शताब्दीदेखि मात्र हो। कम्पास नहुँदा चालकहरूले सूर्य र ताराको भरमा मार्ग-निर्देशन गर्थे। बादल लागेर स्पष्टसित देख्न नसकेको बेला नाविकहरूले समुद्री बतासले गर्दा निश्‍चित अन्तरालमा हुने छालहरू हेरेर दिशा पत्ता लगाउँथे। तिनीहरूले यी छालहरूको उतार अनि सूर्य र तारा अस्ताएको राम्ररी नियालेर हेर्थे।

तिनीहरूले गति कसरी अनुमान लगाउँथे? एउटा तरिका थियो, जहाजको अगाडिपट्टि फ्याँकिएको वस्तु पार गर्न कति बेर लाग्छ भनेर हेर्नु। पछि, अझ सही तरिका अपनाउँदा भने एउटा डोरीमा काठको टुक्रा बाँधेर निर्दिष्ट समय अन्तरालमा डुबाउँथे। जहाज अघि बढ्‌दै जाँदा तैरिरहेको काठले डोरीलाई माथि उचाल्थ्यो। तोकिएको समयपछि, डोरी तानेर गाँठाहरू गनिन्थ्यो। यसले जहाजको गतिलाई गाँठो अर्थ बुझाउने अंग्रेजी शब्द नट अर्थात्‌ प्रति घण्टा नटिकल माइलमा हिसाब गरिन्थ्यो र यो नाप अझै प्रयोग गरिन्छ। आफ्नो गति थाह पाएपछि मार्ग-निर्देशकले एक दिनमा आफ्नो जहाजले पार गरेको दूरी पत्ता लगाउन सक्थे। चार्ट अर्थात्‌ समुद्रको नक्सामा तिनले आफ्नो यात्राको दिशातर्फ सानो धर्सो कोर्थे।

निस्सन्देह, समुद्रको धार र छेउबाट बहने बतासले जहाजलाई अर्कै दिशातर्फ लैजान सक्थ्यो। त्यसकारण, मार्ग-निर्देशकले जहाजलाई सही दिशातर्फ लैजान समय-समयमा हिसाब-किताब गरेर आफूले मोडेको दिशाको नाप रेकर्ड गर्थे। हरेक दिन तिनी आफूले अघिल्लो दिन छोडेको ठाउँबाट नाप्ने, हिसाब-किताब गर्ने अनि चित्र कोर्ने गर्थे। जहाजले अन्तमा लंगर छोडेपछि तिनको चार्टमा यी दिनानुदिनका नापहरूले जहाज कसरी आफ्नो गन्तव्यस्थानसम्म पुग्यो भनेर स्थायी रेकर्ड बनाउँथ्यो। यसरी डेड रेकनिङद्वारा लगभग ५०० वर्षअघि कोलम्बस स्पेनबाट उत्तर अमेरिकासम्म पुगे र त्यहाँबाट फर्के। तिनले होसियारीपूर्वक बनाएको चार्टले गर्दा आधुनिक नाविकहरूले तिनको उल्लेखनीय यात्रा नक्कल गर्न सके।

आकाश हेरेर यात्रा गर्ने

प्राचीन कालका मार्ग-निर्देशकहरूले आफ्नो जहाजलाई डोऱ्‍याउन कसरी आकाशीय पिण्डहरूको प्रयोग गर्थे? सूर्योदय र सूर्यास्तले पूर्व र पश्‍चिम संकेत गर्थ्यो। उषाकालमा नाविकहरूले झिसमिसेमा देखिने ताराहरूको स्थान हेरेर सूर्य कत्तिको सरिसक्यो भनी हेर्न सक्थे। राती तिनीहरूले पोलारिस अर्थात्‌ ध्रुवतारा हेरेर आफ्नो स्थान पत्ता लगाउन सक्थे किनभने यो तारा, गोधूलीमा सँधै उत्तरी ध्रुवको ठ्याक्क माथि देखा पर्छ। अझ दक्षिणतिर देखिने सदर्न क्रस भनिने चम्किलो तारामण्डल हेरेर दक्षिणी ध्रुव पत्ता लगाउन मदत पाउँथे। त्यसकारण सफा रातमा आफू समुद्रको जुनसुकै ठाउँमा भए तापनि नाविकहरूले कम्तीमा एउटा आकाशीय पिण्ड हेरेर दिशा पत्ता लगाउन सक्थे।

तर तारकीय निर्देशकहरू यी मात्र थिएनन्‌। उदाहरणका लागि, पोलिनेसियन तथा प्रशान्त महासागरका अरू समुद्री यात्रुहरूले रात्रि आकाशलाई बाटोको नक्साजस्तै गरी पढ्‌न सक्थे। तिनीहरूले अपनाएको एउटा तरिका, आफ्नो लक्ष्य भएको दिशातिर सधैं क्षितिजमा उदाउने र अस्ताउने तारा हेरेर आफ्नो बाटो बनाउनु थियो। रातभरि यी मार्ग-निर्देशकहरूले आफू सही बाटोमा भए नभएको पक्का गर्न अरू ताराहरूको स्थान पनि हेर्थे। तिनीहरूको दिशा गलत भएको खण्डमा आकाशीय पिण्डहरूले सच्याउने तरिका देखाउँथ्यो।

यो प्रणाली कत्तिको भरपर्दो थियो? चेप्टो पृथ्वीको छेउबाट खसिएला भन्‍ने डरले समुद्र किनाराबाट मात्रै यात्रा गर्ने युरोपेली नाविकहरूको समयमा प्रशान्त महासागरीय नाविकहरूले ससाना टापुहरूको बीचबाट हुँदै समुद्रको बीचबीचमा लामो-लामो यात्रा गरिरहेका थिए। उदाहरणका लागि, १,५०० वर्षभन्दा अघि पोलिनेसियनहरू मार्किस टापु छोडेर उत्तरतिर विशाल प्रशान्त महासागरको यात्रा गरिरहेका थिए। तिनीहरू हवाई टापुको किनारामा पुगुन्जेल तिनीहरूले ३,७०० किलोमिटर यात्रा गरिसकेका थिए! टापुसम्बन्धी लोककथाले हवाई र ताहितीबीच आवतजावत गरिएका पोलिनेसियन यात्राहरूबारे बताउँछ। केही इतिहासकारहरू यी विवरणहरू केवल मिथ्या हुन्‌ भन्छन्‌। तैपनि, आधुनिक-समयका समुद्री यात्रुहरूले त्यो यात्रा पुनः गरेका छन्‌ र कुनै उपकरणविना तारा, समुद्री उतार र अन्य प्राकृतिक घटनाहरूद्वारा मार्ग-निर्देशन गरेका छन्‌।

बतासद्वारा यात्रा गर्ने

यात्रा गरिरहेका जहाजहरू पूर्णतया बतासको शरणमा हुन्थे। पछाडिबाट आएको बतासले जहाजलाई अगाडि राम्ररी धकेल्थ्यो तर विपरीत दिशाबाट बहेको बतासले डुंगालाई निकै सुस्त बनाउँथ्यो। अंग्रेजीमा डोलड्रम्स भनिने अर्थात्‌ भूमध्यरेखा वरपरको इलाकामा अक्सर पटक्कै बतास नचल्ने ठाउँमा जहाज अघि बढ्‌न सक्दैनथ्यो। समयमा, नाविकहरूले बीच समुद्रमा जहाजहरूको लागि समुद्री मार्ग बनाउन समुद्री बतास पत्ता लगाउन सके। मार्ग-निर्देशकहरूले यस्तो बतासको सदुपयोग गरे।

निस्सन्देह, विपरीत दिशाबाट बतास चल्दा तिनीहरूले संकट तथा मृत्यु पनि भोग्नु पर्थ्यो। उदाहरणका लागि, १४९७ मा डा गामा पोर्चुगलबाट भारतको प्रख्यात मालाबार कोस्टसम्म यात्रा गर्दा त्यहाँ चलेको बतासले तिनलाई दक्षिण आन्ध्र महासागरसम्म हुत्यायो र फेरि दक्षिणपूर्वतिर अनि अफ्रिकाको केप अफ गुड होपसम्म पुऱ्‍यायो। तर आन्ध्र महासागरमा ऋतुअनुसार दिशा परिवर्तन गर्ने मनसुनमा तिनी परे। हरेक वर्ष आन्ध्र महासागरको दक्षिणपश्‍चिम भागमा ग्रीष्मकालीन मनसुन चल्छ अनि यसले हावाले उडाउने कुराहरूलाई महिनौंसम्म एसियातर्फ बगाउँछ। हेमन्तऋतुको अन्ततिर हिउँदे मनसुनी हावा बहन थाल्छ। उत्तरपूर्वबाट तेज गतिले बहने हावाको कारण यो हिउँदे मनसुन अफ्रिकातिरै फर्कन्छ। तर डा गामा अगस्त महिनामा भारतबाट निस्के र तुरुन्तै प्रतिकूल हावाको सामना गर्नुपऱ्‍यो। यो पूर्वतिर जाने २३ दिने यात्राबाट फर्कन तिनलाई झन्डै तीन महिना लाग्यो। यो ढिलाइको कारण, ताजा खानाको अभाव भयो अनि तिनका थुप्रै टोली सदस्यहरू स्कर्भी रोगको सिकार भए।

हिन्द महासागरमा यात्रा गरिरहेका चलाख नाविकहरूले क्यालेन्डर र कम्पास दुवै हेर्न सिके। केप अफ गुड होप हुँदै पूर्वतिर गइरहेका जहाजहरू गर्मी यामको सुरुतिरै भारततिर लाग्नुपर्थ्यो वा अनुकूल हावाको लागि महिनौं पर्खनुपर्ने खतरा बेहोर्नुपर्थ्यो। अर्कोतर्फ, जहाजका कप्तानहरू ग्रीष्मकालीन मनसुनबाट जोगिन हेमन्तऋतुको अन्ततिर भारतबाट युरोपतिर यात्रा सुरु गर्थे। तसर्थ, हिन्द महासागरको मार्ग पालै पालो जान सकिने एकतर्फी सडक जस्तो थियो—युरोप र भारतको मालाबार कोस्टबीच एउटा दिशामा एक चोटिमा एउटा यात्रा गर्न सकिने समुद्री ट्राफिक थियो।

मार्ग-निर्देशनमा प्रगति

समय बित्दै गयो अनि मार्ग-निर्देशनको कलाले पनि अन्ततः नयाँ मार्ग अपनायो। मेसिनद्वारा चल्ने उपकरणहरूले गर्दा नांगो आँखा वा अड्‌कलमा त्यति भर पर्नु परेन। आस्ट्रोलाब र पछि अझ सही सेक्स्टान्ट-जस्ता उपकरणहरू जसले क्षितिजमाथि सूर्य वा ताराको उचाइ नाप्छ, यसले गर्दा नाविकहरूले भूमध्यरेखाको उत्तर वा दक्षिणमा आफ्नो अक्षांस पत्ता लगाउन सक्छ। मरिन क्रोनोमिटर एउटा भरपर्दो, समुद्री घडी हो र यसले गर्दा तिनीहरूले देशान्तर, पूर्व वा पश्‍चिमको स्थान पत्ता लगाउन सक्ने भयो। यी उपकरणहरू डेड रेकनिङभन्दा अत्यन्तै सही थियो।

आज, गाइरोकम्पास-ले चुम्बकीय सुईविना उत्तरतिर देखाउँछ। ग्लोबल पोजिसनिङ सिस्टम-ले दुई चारवटा बटन दबाउने बित्तिकै सही स्थान देखाउन सक्छ। कागजका चार्टहरूको बदलामा विद्युतीय प्रस्तुतिहरू प्रयोग गरिएका छन्‌। हो, मार्ग-निर्देशन एउटा वास्तविक विज्ञान भएको छ। तर यी सबै प्रगतिले ती पुरातन समुद्री यात्रुहरूको साहस र निपुणताप्रति हाम्रो आदर अझ बढाउँछ जसले पानी, आकाश र बतासको ज्ञानको भरमा त्यत्रो विशाल तथा खुला समुद्रमा जहाजको यात्रा गरे। (g03 8/22)

[पृष्ठ १०-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

डेड रेकनिङ

भावी मार्ग-निर्देशनको लागि डेड रेकनिङको तथ्यांक होसियारीपूर्वक रेकर्ड राखियो

सुरुको बिन्दु

गति एक टुक्रा काठ, निर्दिष्ट अन्तरालमा बाँधिएको गाँठो

र एउटा समय-मापक प्रयोग गरेर निर्धारण गर्ने

दिशा छाल, ताराहरू, सूर्य तथा

बतास हेरेर निर्धारण गर्ने

[चित्र]

कम्पास

सेक्स्टान्ट

[पृष्ठ १२-मा भएको चित्र]

अति उच्च प्रविधियुक्‍त उपकरणहरूले आजको मार्ग-निर्देशनलाई एउटा वास्तविक विज्ञान बनाएको छ

[स्रोत]

Kværner Masa-Yards