सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मौसमलाई के भइरहेको छ?

मौसमलाई के भइरहेको छ?

मौसमलाई के भइरहेको छ?

“हामीले अहिले अनुभव गरिरहेको विध्वंशकारी बाढी र उग्र हुरीहरू अझ बढी देखा पर्नेछन्‌।”— थमस लस्टर, मौसमको खतरासम्बन्धी विशेषज्ञ।

के मौसममा साँच्चै कुनै गडबडी छ? थुप्रैलाई छ भन्‍ने डर छ। हावापानीको असरसम्बन्धी अनुसन्धान गर्ने पट्‌सडाम संस्थानका मौसम वैज्ञानिक डा. पिटर वर्नर यसो भन्छन्‌: “हामीले विश्‍वव्यापी मौसम—वर्षण, बाढी, खडेरी, हुरी बतास अवलोकन गर्दा र यसको वृद्धिलाई हेर्दा यो गत ५० वर्षको दौडान चारगुणा बढेको छ भन्‍न सक्छौं।”

थुप्रैलाई यस्तो अनौठो मौसम प्रणाली, विश्‍वव्यापी उष्णता अर्थात्‌ कथित हरितगृह असरको प्रमाण हो जस्तो लाग्छ। सं.रा.अ.-को वातावरणीय सुरक्षा निकाय यसरी वर्णन गर्छ: “हरितगृह असर भनेको पृथ्वीको तापक्रम बढ्‌नु हो किनभने वायुमण्डलका (उदाहरणका लागि, पानी वाष्प, कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड र मिथेन) कुनै-कुनै ग्यासहरूले सौर्यशक्‍तिलाई बाहिर निस्कन दिंदैन। यी ग्यासहरू नभएको भए, ताप बाहिर वायुमण्डलमा जाने थियो अनि पृथ्वीको औसत तापक्रम ३३ डिग्री सेल्सियस चिसो हुने थियो।”

तथापि, मानिसले यो प्राकृतिक प्रक्रियामा खेलबाड गरेको छ भनी थुप्रैले आरोप लाउँछन्‌। सं.रा.अ. राष्ट्रिय हवाई तथा वायुमण्डल प्रशासनको अन-लाइन प्रकाशन अर्थ अब्जर्भेटरी-मा प्रकाशित लेख यसो भन्छ: “मानव कारखाना तथा गाडीहरूले हरितगृहका ग्यासहरू वायुमण्डलमा निष्कासन गरेको दशकौं भइसक्यो। . . . थुप्रै वैज्ञानिकहरू हरितगृह ग्यासको बढ्‌दो घनत्वले पृथ्वीबाट थप तापीय विकिरण निस्केर वायुमण्डलमा जान रोकेकोले डराएका छन्‌। त्यसले गर्दा गाडीभित्र छिर्ने सौर्यशक्‍तिलाई सिसाले बाहिर फुत्कन नदिएझैं यी ग्यासहरूले पृथ्वीको वायुमण्डलमा अत्यधिक ताप रोकिरहेको छ।”

यस कुरामा सहमत नहुनेहरू भने हरितगृह ग्यासको थोरै प्रतिशत मात्र मान्छेले गर्दा भएको हो भन्‍ने गर्छन्‌। तथापि, विश्‍व मौसमविज्ञान संगठन तथा संयुक्‍त राष्ट्रसंघीय वातावरण कार्यक्रमद्वारा संयुक्‍त रूपमा प्रायोजित अनुसन्धान समूह, हावापानी परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह-को (आइ पि सि सि) रिपोर्ट यस्तो छ: “गत ५० वर्षको दौडान भएको तापक्रम वृद्धिको दोष मानव गतिविधिलाई जान्छ भन्‍ने नयाँ तथा जोडदार प्रमाण प्राप्त भएको छ।”

राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासनका जलवायुविद्‌ पिटर टान्स यसो भन्छन्‌: “एउटा अनुमान लगाउने हो भने, म भन्छु ६० प्रतिशत दोष हाम्रो हो। . . . बाँकी ४० प्रतिशत प्राकृतिक कारणहरूले गर्दा हुन्छन्‌।”

विश्‍वव्यापी उष्णताका सम्भाव्य परिणामहरू

मानव-निर्मित हरितगृह ग्यास थुप्रिंदै जाँदाको स्पष्ट परिणाम के भएको छ? अधिकांश वैज्ञानिकहरू पृथ्वी साँच्चै तातो भएको छ भन्‍ने कुरामा अहिले सहमत छन्‌। यो तापक्रम वृद्धि कत्तिको तीव्र भएको छ? सन्‌ २००१ आइ पि सि सि रिपोर्ट यसो भन्छ: “विश्‍वको सतही तापक्रम गत १९ औं शताब्दीको अन्ततिरदेखि ०.४ बाट ०.८ डिग्री सेल्सियसले वृद्धि भएको छ।” थुप्रै अनुसन्धाताहरूको सोचाइमा यो सानो वृद्धिले गर्दा हाम्रो मौसममा आमूल परिवर्तन भइरहेको हुन सक्छ।

यो कुरा स्पष्ट छ, पृथ्वीको मौसम प्रणाली अत्यन्तै जटिल छ अनि वैज्ञानिकहरूले विश्‍वव्यापी उष्णताको कुनै कारण छ भने पनि, त्यो के हो यकिन गरेर भन्‍न सक्दैनन्‌। तथापि, थुप्रैको विचारमा विश्‍वव्यापी उष्णताले गर्दा उत्तरी गोलार्द्धमा अत्यधिक वृष्टि, एसिया र अफ्रिकामा खडेरी अनि प्रशान्त इलाकामा एल निन्योका अत्यधिक घटनाहरू भइरहेका छन्‌।

चाहियो—विश्‍वव्यापी समाधान

थुप्रैलाई यो समस्या मानव-निर्मित जस्तो लाग्ने हुँदा के मानिसले नै समस्या समाधान गर्न सक्दैन र? थुप्रै समुदायहरूले गाडी तथा कारखानाबाट निस्कने प्रदूषण कम गर्ने नियमहरू लागू गरिसकेका छन्‌। तथापि, ती प्रयासहरू सराहनीय भए तापनि एकदमै न्युन असर मात्र भएको छ वा खासै असर गर्न सकेको छैन। प्रदूषण एउटा विश्‍वव्यापी समस्या हो, त्यसकारण समाधान पनि विश्‍वव्यापी हुनुपर्छ! सन्‌ १९९२ मा रियो दे जेनेरोमा अर्थ समिट अर्थात्‌ पृथ्वी शिखर सम्मेलन सम्पन्‍न भयो। दस वर्षपछि दक्षिण अफ्रिकाको जोहानेसवर्गमा दिगो विकाससम्बन्धी विश्‍व सम्मेलन सम्पन्‍न भयो। सन्‌ २००२ मा आयोजित सभामा १०० राष्ट्र प्रमुखहरूलगायत लगभग ४०,००० प्रतिनिधिहरूले भाग लिएका थिए।

त्यस्ता सम्मेलनहरूले वैज्ञानिकहरूमाझ आम सहमति ल्याउन ठूलो योगदान पुऱ्‍याएको छ। जर्मन अखबार डर टागस्पिगल यसो भन्छ: “त्यतिबेला [१९९२ मा] धेरैजसो वैज्ञानिकहरूलाई हरितगृह असरबारे शंका थियो तर अहिले त्यससम्बन्धी प्रश्‍न नै गरिंदैन।” तैपनि, जर्मनीका वातावरण मन्त्री, यर्गन ट्रिटीन यस समस्याको साँचो समाधान अहिलेसम्म पत्ता लागेको छैन भनेर सम्झाउँछन्‌। “त्यसकारण जोहानेसवर्ग, शब्दहरूको शिखर मात्र नभई कार्यको शिखर हुनुपर्छ” भनी तिनले जोड दिए।

के वातावरणीय क्षति रोक्न सकिन्छ?

मानवजातिले भोगिरहेका थुप्रै वातावरणीय चुनौतीहरूमध्ये विश्‍वव्यापी उष्णता त एउटा मात्र हो। प्रभावकारी कदम चाल्नु भनेको भन्‍नु जति सजिलो छैन। “हामीले आफ्नो वातावरणमा पुऱ्‍याएको भयानक क्षतिबारे अहिले आँखा खुलिसकेको हुँदा अब यसका प्राविधिक समाधानहरू खोज्न थप समय दिनुमै हाम्रो चातुर्य छ,” भनी बेलाइती आचारशास्त्री जेन गुडल लेख्छिन्‌। तर तिनी यस्तो चेतावनी दिन्छिन्‌: “प्रविधि मात्र पर्याप्त छैन। हामीले आफ्नो मन लगाएर काम गर्नुपर्छ।”

विश्‍वव्यापी उष्णताको समस्यालाई फेरि विचार गर्नुहोस्‌। प्रदूषण रोक्ने कदमहरू महँगा छन्‌; अक्सर गरिब राष्ट्रहरूसित त्यसो गर्ने औकात छैन। कोही कोही विशेषज्ञहरू भने ऊर्जा प्रतिबन्धको कारण कारखानाहरू गरिब राष्ट्रहरूमा सारिएलान्‌ भन्‍ने डर छ जहाँ तिनीहरूले निकै नाफा कमाएर चलाउन सक्छन्‌। तसर्थ, एकदमै राम्रो मनसाय भएका नेताहरूसमेत दोधारमा परेका छन्‌। तिनीहरूले आफ्नो राष्ट्रको आर्थिक हितलाई जोगाए भने, वातावरणले दुःख भोग्नेछ। वातावरण सुरक्षाको लागि आवाज उठाए भने, अर्थतन्त्र खतरामा पर्नेछ।

त्यसकारण विश्‍व शिखर सम्मेलनको सल्लाहकार निकायका सिभर्न कलीस-सुजुकी व्यक्‍तिगत प्रयासबाट परिवर्तन आउनुपर्छ भन्‍ने तर्क गर्दै यसो भन्छन्‌: “साँचो वातावरणीय परिवर्तन हामीमा निर्भर छ। हामी नेताहरूको मुख ताकेर बस्न सक्दैनौं। हामीले आफ्ना जिम्मेवारीहरू के हुन्‌ अनि कसरी परिवर्तन गर्न सक्छौं भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ।”

मानिसहरूले वातावरणप्रति आदर देखाउँदै व्यवहार गरेको आशा गर्नु व्यावहारिक छ। तर मानिसहरूलाई तिनीहरूको जीवनमा आवश्‍यक परिवर्तन गर्न लगाउनु सजिलो कुरा होइन। जस्तै: धेरै मानिसहरू सवारीसाधनले गर्दा विश्‍वव्यापी उष्णता भइरहेको छ भन्‍ने कुरामा सहमत छन्‌। यसर्थ, कुनै व्यक्‍ति गाडी कम मात्र हाँक्न वा गाडी नै नचलाउन चाहलान्‌। तर त्यसो गर्नु त्यति सजिलो नहुन सक्छ। हावापानी, वातावरण र शक्‍तिको लागि वपर्टाल संस्थानका वुल्फग्यांग शाक्सले हालै औंल्याएअनुसार “दैनिक जीवनमा (कार्यस्थल, शिशुशाला, स्कूल वा सपिङ सेन्टर) अत्यावश्‍यक स्थानहरू सबै एकदमै टाढा भएको हुँदा गाडी नभई सम्भवै हुँदैन। . . . म व्यक्‍तिगत तवरमा गाडी चाहन्छु वा चाहँदिन, यसको कुनै सरोकार छैन। धेरैजसो व्यक्‍तिहरूसित अर्को विकल्प नै छैन।”

जर्जिया इन्स्टिच्युटको पृथ्वी र वायुमण्डलीय विज्ञानसम्बन्धी प्राविधिक स्कूलका प्राध्यापक रबर्ट डिकिन्सनजस्ता केही वैज्ञानिकहरूलाई विश्‍वव्यापी उष्णताबाट पृथ्वीलाई जोगाउन एकदमै ढिलो भइसकेको छ जस्तो लाग्छ। डिकिन्सनको विचारमा आजैदेखि प्रदूषण बन्द भए तापनि विगतमा वायुमण्डललाई गरेको दुर्व्यवहारका असरहरू कम्तीमा अर्को १०० वर्षसम्म देखा पर्नेछ!

वातावरणको समस्यालाई सरकार तथा व्यक्‍तिविशेषले समाधान गर्न नसक्ने हुँदा कसले गर्न सक्छ? पुरातन समयदेखि मानिसहरूले मौसममाथि नियन्त्रण जमाउन आफ्नो आँखा उठाएर माथि स्वर्गतिर हेरेका छन्‌। त्यस्ता प्रयासहरू अति साधारण लागे तापनि त्यसले एउटा आधारभूत सत्य प्रकट गर्छ: यी समस्याहरू समाधान गर्न मानिसजातिलाई ईश्‍वरीय मदत चाहिन्छ। (g03/8/08)

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“गत ५० वर्षको दौडान भएको तापक्रम वृद्धिको दोष मानव गतिविधिलाई जान्छ भन्‍ने नयाँ तथा जोडदार प्रमाण प्राप्त भएको छ”

[पृष्ठ ६-मा भएको पेटी]

“के विश्‍वव्यापी उष्णता स्वास्थ्यको लागि हानिकारक छ?”

साइन्टिफिक अमेरिकन-मा प्रकाशित एउटा लेखले यो रोचक प्रश्‍न उठायो। यसले पूर्वानुमान गरेअनुसार विश्‍वव्यापी उष्णताले “थुप्रै गम्भीर स्वास्थ्य समस्याहरू वृद्धि हुनुका साथै व्यापक बनाउनेछ।” उदाहरणका लागि, कुनै-कुनै ठाउँमा “सन्‌ २०२० सम्म तातो हावाले गर्दा हुने मृत्यु दुई गुणा बढ्‌ने अनुमान गरिएको छ।”

त्यति प्रत्यक्ष नहोला तर विश्‍वव्यापी उष्णताले गर्दा संक्रामक रोग बढ्‌न सक्छ। “लामखुट्टेले सार्ने रोगहरू झन्‌झन्‌ बढ्‌ने र व्याप्त हुने अनुमान गरिएको छ” किनभने लामखुट्टेहरू “तातो हावामा छिटो-छिटो बढ्‌नुका साथै बढी टोक्ने गर्छन्‌। . . . सम्पूर्ण इलाका नै तातो भएपछि लामखुट्टेहरू पहिला नपुगेका इलाकाहरूमा पुगेर रोग पनि सँगसँगै फैलाउन सक्छन्‌।”

अन्तमा, बाढी र खडेरीका असरहरू छन्‌—यी दुवैले गर्दा पानीको आपूर्ति प्रदूषित हुन सक्छ। स्पष्ट छ, विश्‍वव्यापी उष्णताको खतरालाई गम्भीरतापूर्वक लिनै पर्छ।

[पृष्ठ ७-मा भएको चित्र]

हरितगृह असरले गर्दा वायुमण्डलमा जम्मा भएको ताप बाहिर अन्तरिक्षमा निस्कन सक्दैन

[स्रोत]

NASA photo

[पृष्ठ ७-मा भएको चित्र]

मानिसले हावामा अरबौं टन प्रदूषक निष्कासन गरेर हरितगृह असरलाई अझ तीव्र बनाएको छ