सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

ब्वाँसाहरू माछा मार्न जान्छन्‌

ब्वाँसाहरूको आहार भनेको हरिणजस्ता स्थलचर जनावर मात्र हुन्‌ भन्‍ने सोचाइ वर्षौंसम्म थियो। तथापि, क्यानाडाको भ्यानकुभर सन-अनुसार ब्रिटिस कोलम्बियाको मध्य-तटवर्ती इलाकाको रेन फरेस्टमा बस्ने ब्वाँसाहरूले मसल, क्लाम, बार्नाकल र साल्मोनजस्ता माछाहरू “प्रति घण्टा २० वटासम्म” खाइरहेका देखिएको छ। यिनीहरू लुकेर माछालाई नियाल्छन्‌ अनि “एउटा तुफानी अनि घातक रूपमा चारैपाउले टेकेर आक्रमण गर्छन्‌” र १० पटकमा ४ पटक आफ्नो सिकार हात पार्छन्‌। तथापि, अनुसन्धाताहरूले बुझ्न नसकेको कुरा के हो भने, ब्वाँसाहरूले साल्मोनको टाउको मात्र खान्छन्‌। अनुसन्धाता क्रिस डारिमन्टले बताएअनुसार टाउकोमा आवश्‍यक पोषण हुन सक्छ वा साल्मोनको जीउमा हानिकारक परजीवीहरू हुन सक्छन्‌। “यी ब्वाँसाहरूले हामीलाई सधैं छक्क पारिरहेका छन्‌। रेनफरेस्टमा अझ कति धेरै रहस्यहरू होलान्‌ भनेर म सोच्ने गर्छु” भनी डारिमन्ट बताउँछन्‌। (g03 6/22)

कुनै अपराध मानिंदैन

“मेक्सिकोमा झ्यालखानाबाट भाग्नु कुनै अपराध होइन” भनी कोरिया हेरल्ड रिपोर्ट गर्छ। “मेक्सिकोको कानुन प्रणालीले सबै मानिसहरू स्वतन्त्र हुन खोज्ने आधारभूत चाहनालाई मानिलिन्छ। अनि यसले त्यसो गरेकोमा सजाय दिंदैन।” कैदीहरूले भाग्न खोज्दा कानुन तोडेको, कसैलाई घाइते बनाएको, सरसम्पत्ति नोक्सान गरेको, कसैलाई घूस खुवाएको वा अरू कैदीहरूसित मिलेर षड्यन्त्र गरेको खण्डमा मात्र दोष लगाइन्छ। तर सम्भाव्य खतरा भने छ। झ्यालखानाका सुरक्षाकर्मीहरूसँग कोही भाग्न खोज्दा गोली हान्‍न सक्ने अख्तियार छ। यसले गर्दा एकदमै चतुर ढंगमा भाग्ने प्रयासहरू भएका छन्‌। उदाहरणका लागि, १९९८ मा एक जना दोषी हत्यारा आफ्नी श्रीमतीले फोहोर कपडाहरू लैजाने गरेको सुटकेसमा बोकेर लैजान सकोस्‌ भनेर तिनले आफ्नो वजन ५० किलोग्रामसम्म घटाए। तिनलाई नौ महिनापछि फेरि पक्रियो तर फेरि भागे अनि त्यसबेलादेखि तिनी देखा परेका छैनन्‌। (g03 8/22)

चराहरूको अनौठो सन्तुलन

चराहरूको भित्री कानमा सन्तुलन गराउने अंग हुन्छ जसले उडानको बेला चालको तालमेल मिलाउँछ। तर यो अंगले तिनीहरू ठाडो उभिने अनि हिंड्‌ने क्षमताको कारण बताउँदैन “किनभने तिनीहरूको शरीर मानिसको जस्तो नभई समतल र पुच्छरको वजन शरीरको बराबर हुँदैन” भनी जर्मनीको लेपजिगर भोक्सजाइटुङ बताउँछ। “चार वर्षको अनुसन्धानपछि पशु जीवशास्त्री राइनोल्ड नेकरले परेवाहरूमा सन्तुलन कायम गर्ने अर्को अंग भएको पत्ता लगाउन सके” भनी उक्‍त अखबार बताउँछ। नेकरले चराहरूको तल्लो पेटमा स्नायु कोष तथा प्वालहरूमा झोल पाए र त्यसले नै सन्तुलन कायम गर्छ जस्तो देखिन्छ। उक्‍त रिपोर्ट भन्छ, “यी प्वालहरूमा झोल सुक्दा परेवाहरू ठाडो बस्न वा आँखा छोपिदिंदा हिंड्‌न सकेनन्‌। तिनीहरू हाँगाबाट खसे वा छेउबाट ढले। यद्यपि, तिनीहरू उड्‌न भने सके।” (g03 8/08)

“अज्ञात बालक” रहेनन्‌

अप्रिल १९१२ मा टाइटानिक डुबेको नब्बे वर्षपछि त्यस दुर्घटनामा मरेको एउटा सानो बच्चाको लास भेटियो भनी लण्डनको द टाइम्स बताउँछ। तिनको र अन्य ४३ जना अपरिचित व्यक्‍तिहरूको शरीर पानीमा तैरिरहेको भेटियो र क्यानाडाको नोभा स्कसियामा गाडियो। तिनको चिहानको ढुंगामा यस्तो लेखिएको थियो: “अज्ञात बालक।” पचास जना वैज्ञानिक, इतिहासकार, वंशविद्‌ र दन्तचिकित्सकले डि एन ए-बाट उक्‍त बालक, आइनो पानुला, फिनल्याण्डको १३ महिने केटो भएको पत्ता लगाए जसको आफ्नी आमा र चार जना दाजुहरूसँगै मृत्यु भएको थियो। यस परिवारले अमेरिकामा नयाँ जीवन सुरु गर्ने विचार गरेको थियो र आइनोको बुबा पहिल्यै अमेरिका गएर तिनीहरूको प्रतीक्षा गरेको बेकार साबित भयो। यी मृत व्यक्‍तिलाई कसैले दाबी नगर्दा वा सनाखत नहुँदा क्यानेडियाली उद्धार जहाजको नाविक टोलीले आफ्नो “धर्मपुत्र” बनायो र तिनको चिहानको लागि सबै खर्च बेहोऱ्‍यो। टाइटानिक-का अरू बेनामी मृतकहरूलाई पनि यसरी डि एन ए-द्वारा चिन्‍न सकिन्छ। छानबिन कार्यलाई सहयोग गर्न “[एक जना मृतकको] आमापट्टिको नातेदारले तिनको १०० औं जन्मदिनपछि रगतको नमुना दिए” भनी द टाइम्स-ले बतायो। (g03 8/08)

अर्थ्‌ सिमुलेटर

मार्च ११, २००२ मा जापानी इन्जिनियरहरूले अहिलेसम्म निर्माण गरिएकामध्ये सबैभन्दा शक्‍तिशाली सुपरकम्प्युटर चालू गरे। तिनीहरूको लक्ष्य “हाम्रो घररूपी ग्रहको हुबहु नक्कल बनाउनु थियो” भनी टाइम पत्रिका बताउँछ। अर्थ्‌ सिमुलेटर भनिने यो कम्प्युटर टेनिस कोर्ट जत्रो छ अनि यसको मूल्य ३ अरब अमेरिकी डलरजति पर्छ। यसले प्रति सेकेण्ड ३५० खरबवटा हिसाब गर्छ अनि प्रति सेकेण्ड ७२ खरब हिसाब गर्न सक्ने, अमेरिकी सैनिक उपकरण अर्थात्‌ अर्को द्रुत कम्प्युटरभन्दा पाँच गुणा छिटो छ। भूउपग्रह तथा समुद्रमा तैरने वस्तुहरूबाट प्राप्त हावापानीसम्बन्धी वास्तविक तथ्यांक अर्थ्‌ सिमुलेटरमा भरेर अनुसन्धाताहरूले सम्पूर्ण ग्रहको कम्प्युटर नमुना बनाउन सक्छन्‌ अनि त्यसलाई पछि हाम्रो वातावरणलाई के हुनेछ भनी हेर्न चलाउन सकिन्छ” भनी टाइम बताउँछ। वैज्ञानिकहरूले आगामी ५० वर्षको लागि विश्‍वको समुद्री तापक्रमको पूर्वानुमान तयार पारिसकेका छन्‌।” (g03 8/08)

पढाइको महत्त्व

“आफ्नो फुर्सतको समयमा पढ्‌न बालबालिकाहरूले देखाउने उत्साहले आफ्नो परिवारको धन र ओहदाभन्दा तिनीहरूको शैक्षिक सफलतामा बढी असर पार्छ” भनी लण्डनको दी इन्डिपेन्डेन्ट बताउँछ। पन्ध्र वर्ष उमेर पुगेकाहरूको पढ्‌ने बानीसम्बन्धी एउटा अन्तरराष्ट्रिय अध्ययनले के पायो भने, “पढ्‌न बढी उत्साहित हुनु” र “धेरै चोटि पढ्‌ने पाठक” हुनु भनेको राम्रो जागिर खाइरहेका शिक्षित आमाबाबुहरू हुनुभन्दा बढी लाभकारी थियो। उक्‍त अध्ययनले देखाएअनुसार “सुखसुविधाबाट वञ्चित पृष्ठभूमिबाट आएका तर पढ्‌न अत्यन्तै उत्साहित व्यक्‍तिहरूले पढ्‌न चासो नभएका उच्च ओहदाका पेसेवरका बच्चाहरूले भन्दा बढी अंक (औसतमा ५४०) ल्याए। एक हजारभन्दा बढी किशोरकिशोरीहरूसित लिइएको अध्ययनले देखाएअनुसार “रमाइलोको लागि केटाहरूभन्दा केटीहरूले बढी पढ्‌ने गर्छन्‌।” पचपन्‍न प्रतिशत केटाहरूको तुलनामा ७० प्रतिशत केटीहरूले गत महिना कुनै एउटा पुस्तक पढेको कुरा बताए। (g03 8/08)

लामखुट्टेबाट सुरक्षा

“जाति प्रजाति गरी २,५०० भन्दा बढी भएका लामखुट्टेहरू यो ग्रहभरि छन्‌” भनी मेक्सिको डेस्कोनोसिडो भन्‍ने अखबार बताउँछ। भाले र पोथी दुवैले पुष्परस चुस्छ तर पोथीले मात्र टोक्छ। फलस्वरूप तिनीहरूले औलो, डेंग र वेस्ट नाइल जीवाणु मानिसहरूलाई सार्छन्‌। तपाईं लामखुट्टेबाट आफूलाई कसरी जोगाउन सक्नुहुन्छ? उक्‍त रिपोर्टले निम्न सुझावहरू दिन्छ: (१) साँझ वा राती लामखुट्टेहरू अत्यन्तै सक्रिय हुने हुँदा त्यतिबेला बाहिर नजानुहोस्‌। (२) सम्भव भए लामखुट्टे भगाउने औषधी भएको झूल लगाउनुहोस्‌। (३) लामो बाहुला भएको खुकुलो लुगा र पाइन्ट लगाउनुहोस्‌ अनि आवश्‍यक परे टाउको पूरै छोप्ने जाली भएको टोपी लगाउनुहोस्‌। (४) नछोपिएको खुला छालामा लामखुट्टे भगाउने औषधी लगाउनुहोस्‌। (५)  दिनहुँ ३०० मिलिग्राम भिटामिन बी वान सेवन गर्नुहोस्‌। यसले गर्दा कुनै कुनै मानिसको पसिनाको गन्धले लामखुट्टे भगाउँछ। (६) दलदले इलाकामा आकस्मिक सुरक्षाको लागि छालामा माटोको लेप लगाउनुहोस्‌। लामखुट्टेले टोक्यो भने नकन्याउनुहोस्‌ किनभने रगत निस्क्यो भने संक्रमण हुन सक्छ। बरु क्यालामाइन लोसन लगाउनुहोस्‌। (g03 8/08)

बेग्लाबेग्लै वर्षमा जन्मिएका जुम्ल्याहाहरू

“कालेह र एमिली जन्सन नाउँका जुम्ल्याहरूको थुप्रै कुरा समान छन्‌ तर जन्मदिन भने बेग्लै छ—तिनीहरूको जन्म फरक-फरक वर्षमा भयो” भनी न्युयोर्कको डेली न्युज रिपोर्ट गर्छ। कालेह, डिसे. ३१ का दिन राति ११:२४ मा जन्मिइन्‌। एमिली भने जन. १ का दिन १२:१९ बजे पृथ्वीमा आइन्‌। न्यु जर्जी निवासी तिनीहरूकी आमा, डन जन्सन खुसीले गद्‌गद भइन्‌। “तिनीहरू जुम्ल्याहा भए तापनि म तिनीहरूको बेग्लाबेग्लै चिनारी होस्‌ भन्‍ने चाहन्थें” भनी उनले बताइन्‌। “सुरुदेखि नै त्यो भिन्‍नता प्रस्टै देखियो।” फेब्रुअरी २ तारिखका दिन जन्मिने आशा गरिएका यी जुम्ल्याहाहरू एक महिना चाँडो जन्मिए। (g03 8/22)