सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सिद्ध हुने कोसिस नगर्न म के गर्न सक्छु?

सिद्ध हुने कोसिस नगर्न म के गर्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

सिद्ध हुने कोसिस नगर्न म के गर्न सक्छु?

“पर्फेक्सनिजमले ममाथि पूरै कब्जा जमाइसक्यो भने पनि हुन्छ।”—कार्ली।

पर्फेक्सनिजमा—आफूले गर्ने हरेक काम पूर्णतया सिद्ध हुनुपर्छ भन्‍ने धारणा—यसले थुप्रै युवाहरूको सोचाइलाई असर गर्छ।

पर्फेक्सनिजम—ह्वट्‌स बाड अबाउट बिइङ टु गुड? पुस्तक यसो भन्छ: “उत्कृष्ट हुने स्वास्थ्यकर दौडधूप र असम्भव आदर्शको पछि लाग्ने अस्वास्थ्यकर दौडबीच ठूलो भिन्‍नता छ। उत्कृष्टता खोज्ने व्यक्‍तिसित सुव्यवस्थित र संगठित हुने बलियो चाहना हुनुका साथै आफ्नो लागि उच्च आकांक्षाहरू हुन्छन्‌ तर तिनीहरू आफ्नो गल्तीलाई स्वीकार्छन्‌ अनि त्यसको सामना गर्ने सकारात्मक तरिकाहरू खोज्छन्‌। . . . अर्कोतर्फ, पर्फेक्सनिस्टहरू गल्ती होला कि भनेर सधैं चिन्तित हुन्छन्‌। तिनीहरूका अति उच्च स्तरहरू हुन्छन्‌।”

के यो विवरण तपाईंसित मेल खान्छ? तपाईंका स्तरहरू अचाक्ली उच्च छन्‌ भने तपाईंका कार्यहरूमा सजिलै अवरोध उत्पन्‍न हुन सक्छ। तपाईं कुनै नयाँ कुरा गर्न देखि पछि हट्‌नुहोला। अथवा आफू असफल हुन्छु कि भन्‍ने डरले महत्त्वपूर्ण कुराहरू गर्नदेखि पन्छिनुहोला। तपाईंको स्तरमा पुग्न नसक्ने व्यक्‍तिहरूलाई तिरस्कार गर्ने झुकावसमेत होला अनि तपाईं कोही साथी नभएको एकलकाँटे हुनुहोला।

माथि दिइएको विवरण तपाईंसित मिल्छ भने उपदेशक ७:१६ मा दिइएको बाइबलका यी शब्दहरू विचार गर्नुहोस्‌: “ज्यादै धर्मी र ज्यादै बुद्धिमानी नहो। तिमी किन आफैलाई एउटा हाँसोको पात्र बनाउँछौ?” हो, पर्फेक्सनिस्ट अर्थात्‌ सिद्धता अपेक्षा गर्ने व्यक्‍तिले आफूलाई “हाँसोको पात्र” बनाउन सक्छ! वास्तवमा, सिद्धता अपेक्षा गर्ने झुकावलाई भोजनसम्बन्धी विकारहरू, एनोरक्सिया नर्भोसा र ब्युलिमियाजस्ता घातक रोगहरूसित तुलना गरिएको छ। a

त्यसकारण तपाईं सोध्नुहोला, ‘सिद्ध हुने कोसिस नगर्न म के गर्न सक्छु?’ हुन त, यस सन्दर्भमा आफ्नो सोचाइ परिवर्तन गर्नु निकै चुनौतीपूर्ण हुन सक्छ। तर परमेश्‍वरको मदतबाट यो गर्न सकिन्छ। त्यसकारण, सिद्धता अपेक्षा गर्ने झुकावबारे परमेश्‍वरको दृष्टिकोण बुझौं।

सिद्धता—प्राप्त गर्न सकिने लक्ष्य?

सर्वप्रथम, के तपाईं सबै कुरामा पूर्णतया सिद्ध हुन सम्भव छ? बाइबलअनुसार छैन किनभने बाइबल यसो भन्छ: “धर्मी कोही छैन, एउटै पनि छैन . . . सबका सब एकातिर लागेका छन्‌, ती बिलकुल रद्दी भइहाले।” (रोमी ३:१०-१२) यी शब्दहरू विचारोद्दीपक छन्‌, छैनन्‌ र? यी शब्दहरूले देखाएअनुसार पूर्णतया सिद्ध हुन खोज्ने जो कोही पनि असफल हुनेछ।

प्रेरित पावललाई विचार गर्नुहोस्‌ जो आध्यात्मिकताको सन्दर्भमा उल्लेखनीय उदाहरण थिए। यद्यपि, पावलले समेत कुनै भूल नै नगरी परमेश्‍वरको सेवा गर्न सकेनन्‌। तिनले यसरी मानिलिए: “असल गर्न इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ . . .। किनकि म मेरो अन्तस्करणले परमेश्‍वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लडाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु।” (रोमी ७:२१-२३) परमेश्‍वरको मदतले गर्दा मात्रै पावल मसीहीको रूपमा विश्‍वासी हुन सके।

खुसीको कुरा, परमेश्‍वरले हामीमध्ये कसैबाट न ता पूर्ण सिद्धता माग गर्नुहुन्छ न त्यस्तो चाहनुहुन्छ। “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।” (भजन १०३:१४) परमेश्‍वरको नयाँ संसारमा मात्र मानिसहरूले सिद्धता प्राप्त गर्नेछन्‌।

छाँटकाँट गरिएका प्रत्याशाहरू

त्यसोभए, त्यतिन्जेलको लागि, तपाईंले पूर्णतया सिद्ध हुन सकिन्छ भन्‍ने सोचाइ राख्नु अव्यावहारिक छ। वास्तवमा, तपाईंले समय समयमा गल्ती हुन्छ भन्‍ने अपेक्षा गर्नुपर्छ। (रोमी ३:२३) हुन पनि, कहिलेकाहीं हामीलाई आफ्ना गल्तीहरूको समेत होस हुँदैन! भजन १९:१२ यसो भन्छ: “आफ्ना भुलहरू कसले सम्झनसक्छ?” म्याथ्यु नाउँ गरेका युवा यसो भन्छन्‌: “तपाईं सिद्ध हुनुहुन्‍न—पृथ्वीमा कोही पनि सिद्ध छैन। तपाईं आफूबाट सिद्धता खोज्नुहुन्छ भने तपाईं कहिल्यै खुसी हुन सक्नुहुन्‍न। . . . यो अव्यावहारिक छ, यो सम्भव छैन।”

यो कुरालाई मनमा राख्दै तपाईंका केही प्रत्याशाहरूलाई छाँटकाँट गर्ने कोसिस गर्नुभए कसो होला? उदाहरणका लागि, के तपाईं कुनै कुरामा सर्वोत्कृष्ट हुने प्रयास गरेर आफूलाई लखतरान बनाउँदै हुनुहुन्छ? बाइबलले बताएअनुसार त्यसरी लखतरान बनाउन खोज्नु भनेको वास्तवमा “व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो।” (उपदेशक ४:४) तथ्य कुरा हो, सर्वोत्कृष्ट हुन थोरै मात्र सफल हुन्छन्‌। वास्तवमा त्यसो गर्न सफल भएकै खण्डमा पनि यो समयको कुरा मात्र हो किनभने केही समयपछि ऊभन्दा उत्कृष्ट व्यक्‍ति देखा पर्छ।

प्रेरित पावलले यस्तो सल्लाह दिए: “तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ, तर . . . सुबुद्धिले सम्झ।” (रोमी १२:३) व्यावहारिक हुनुहोस्‌! तपाईंको क्षमता र सीमा दुवै झल्कने तपाईंका प्रत्याशाहरू छाँटकाँट गर्नुहोस्‌। उत्कृष्टता खोज्नुहोस्‌ तर सिद्धता नखोज्नुहोस्‌। निर्दिष्ट तर प्राप्त गर्न सकिने लक्ष्य राख्नुहोस्‌।

उदाहरणका लागि, पावलले तिमोथीलाई “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुन प्रोत्साहन दिए। (२ तिमोथी २:१५) हो, पावलले उत्कृष्टतालाई प्रोत्साहन दिए, सिद्धतालाई होइन। त्यसरी नै आफ्नो लागि व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌। अनि तपाईंलाई “व्यावहारिक” के हो भनेर पक्का छैन भने तपाईंको आमाबाबु वा तपाईंले भरोसा राख्नुहुने कोही वयस्कसित कुरा गर्नुहोस्‌।

कसै-कसैले जानाजानी तपाईं निपुण नभएका विषयहरू जस्तै नयाँ खेलकुदमा भाग लिने वा कुनै वाद्ययन्त्र बजाउनेजस्ता सुझावहरू दिन सक्छन्‌। हो, तपाईंले नयाँ कुरा सिक्नुहुँदा अवश्‍य थुप्रै गल्तीहरू गर्नुहुनेछ। तर त्यो नराम्रै भने होइन। सायद यसले गल्तीहरू गर्नु भनेको सिक्ने प्रक्रियाको एउटा भाग हो भनेर बुझ्न तपाईंलाई मदत गर्नेछ।

तपाईंले पूरा गर्न खोज्नुभएको जुनसुकै कुरा होस्‌—स्कूल रिपोर्ट लेख्ने वा पियानोको सोनाटा बजाउने—प्रेरित पावलले दिनुभएको अर्को एउटा सल्लाहलाई विचार गर्नुहोस्‌: “प्रयत्न गर्नामा अल्छी नहोओ।” (रोमी १२:११) हो, असफल भइएला कि भन्‍ने डरले कामकुरा नपन्छाउनुहोस्‌ वा पहिल्यै आफ्नो अनुमान ननिकाल्नुहोस्‌।

एउटी युवतीले स्कूलका प्रोजेक्टहरू पन्छाउँदै “आफू व्यवस्थित” हुन खोजिरहेको बहाना बनाइन्‌। आफू व्यवस्थित हुनु राम्रो कुरा हुन सक्छ तर यसलाई कामकुरा पन्छाउने बहाना बनाउन होसियार हुनुहोस्‌। यी केटीले कुन कुरा बुझिन्‌ भने, “आफूलाई पूरा चित्त नबुझेको स्कूल रिपोर्ट बुझाउनु र बुझाउँदै नबुझाउनुबीच छनौट गर्नुपर्दा, बुझाउनु नै सबैभन्दा उत्तम छनौट हो।”

आफूलाई हानि पुऱ्‍याउने सोचाइहरू त्याग्नुहोस्‌!

हुन त, पूरै सिद्ध काम गर्न नसक्दा, काम गरेको चित्तै नबुझ्ला। तपाईंको मनमा अझै पनि आलोचनात्मक, नकारात्मक सोचाइहरू आउन सक्छन्‌। तपाईं के गर्न सक्नुहुन्छ? तथ्य कुरा के हो भने, नकारात्मक सोचाइ मात्र मनमा खेलाइरहनु हानिकारक तथा विनाशकारी हुन्छ। त्यसकारण आफ्नो मनबाट अव्यावहारिक सोचाइ हटाउने प्रयास गर्न आफै सजग हुनुहोस्‌। आफ्ना गल्तीहरूबारे हँस्सीमिजास राख्नुहोस्‌। आखिर, “हाँस्ने एउटा समय” छ। (उपदेशक ३:४) यो पनि सम्झनुहोस्‌, आफूप्रति नै किन नहोस्‌, यहोवाले दुर्व्यवहारपूर्ण बोलीलाई स्वीकार्नुहुन्‍न।—एफिसी ४:३१.

आफूलाई सधैं गाली गर्नुको साटो हितोपदेश ११:१७ का (नयाँ संशोधित संस्करण) यी शब्दहरू लागू गर्नुहोस्‌: “दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि संकष्ट ल्याउँछ।” त्यसकारण यो प्रश्‍नलाई विचार गर्नुहोस्‌, के आफ्नो लागि अति उच्च स्तर बनाउँदा तपाईंलाई साथीहरू बनाउन सजिलो भएको छ? सायद भएको छैन। सायद तपाईंले मानिसहरू सिद्ध नभएकोले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ। त्यसकारण, तपाईं के गर्न सक्नुहुन्छ?

बाइबलको यो सल्लाह लागू गर्नुहोस्‌: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।” (कलस्सी ३:१३) हो, अरूबाट आशा गरिने कुराहरूमा अझ व्यावहारिक हुँदा तपाईंले मित्रताबाट अझ बढी आनन्द उठाउन सक्नुहुनेछ!

तपाईं विचार गर्नुहोला, ‘सिद्धता अपेक्षा गर्ने मेरो झुकावले गर्दा मानिसहरू किन मबाट पन्छिन खोज्छन्‌?’ अब आफ्नो लागि उच्च प्रत्याशाहरू राख्दा हुने असरलाई विचार गर्नुहोस्‌। ह्वेन पर्फेक्ट इजन्ट गुड इनफ भन्‍ने पुस्तक यसरी वर्णन गर्छ: “परीक्षामा अति उत्कृष्टभन्दा अलिकता कम नम्बर आउने बित्तिकै असाध्यै गनगन गर्दा औसत वा उत्तीर्ण हुने मात्र अंक ल्याउने साथीहरूको लागि अपमानजनकसमेत हुन सक्छ।” त्यसकारण कम नकारात्मक र आत्म-केन्द्रित नहुन प्रयास गर्नुहोस्‌। यसो गर्दा मानिसहरूलाई तपाईंसित संगत गर्न अझ रमाइलो लाग्नेछ।

जवान कार्ली निचोडमा यसो भन्छिन्‌: “मैले सिद्धता अपेक्षा गर्ने मेरो झुकावलाई हटाउनुपर्छ।” तपाईं त्यो कसरी गर्न सक्नुहुन्छ? कामकुराप्रति परमेश्‍वरको दृष्टिकोणमा मनन गर्नुहोस्‌। यस सन्दर्भमा तपाईंको सोचाइ छाँटकाँट गर्न अझै गाह्रो भइरहेको छ भने तपाईंको आमाबाबु वा मण्डलीको कुनै वयस्क मसीहीसित कुरा गर्नुहोस्‌। परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌ अनि आफ्नो सोचाइ परिवर्तन गर्न उहाँको मदत माग्नुहोस्‌। सिद्धता अपेक्षा गर्ने झुकाव विरुद्ध लड्‌न प्रार्थना एउटा शक्‍तिशाली साधन साबित हुन सक्छ।—भजन ५५:२२; फिलिप्पी ४:६, ७.

यहोवाले सिद्धता खोज्नुहुन्‍न भनेर सधैं सम्झनुहोस्‌; उहाँ केवल हामी उहाँप्रति विश्‍वासी भएको चाहनुहुन्छ। (१ कोरिन्थी ४:२) तपाईं विश्‍वासी हुने प्रयास गर्दै हुनुहुन्छ भने तपाईं सिद्ध नहुनु भए तापनि आफू जस्तो हुनुहुन्छ, त्यसमा आनन्दित हुन सक्नुहुन्छ। (g03 8/22)

[फुटनोट]

[पृष्ठ २१-मा भएको चित्र]

असफलताको डरले तपाईंलाई कुनै काम गर्न नसक्ने बनाउन सक्छ

[पृष्ठ २२-मा भएको चित्र]

नयाँ कुराहरू सिक्ने प्रयास गर्दा गल्तीहरू भएमा त्यसको सामना गर्न मदत पाउन सक्नुहुन्छ