सेन्ट पिटर्सवर्ग रूसको—“युरोप हेर्ने झ्याल”
सेन्ट पिटर्सवर्ग रूसको—“युरोप हेर्ने झ्याल”
रूसका ब्यूँझनुहोस्! लेखकद्वारा
“मलाई तिमी, पिटरको हातका कामहरू मन पर्छ / मलाई तिम्रो सरल, एकरूपता मन पर्छ / नेभा, शान्त अनि शोभनीय ढंगमा / चट्टानहरूको बीचबाट बग्छ।”—एलेक्जान्डर सर्गेयभिच पुस्किन।
यहाँ आंशिक उद्धरण गरिएको सेन्ट पिटर्सवर्गबारे पुस्किनको प्रख्यात कविताले यस शहरको संस्थापक तथा सुदूर उत्तरमा यसको स्थान जहाँ नेभा नदीले बाल्टिक समुद्र प्रवेश गर्छ, त्यसतर्फ ध्यानाकर्षण गर्छ। तपाईं विचार गर्नुहोला, ‘तर संसारको यो प्रमुख शहर कसरी कुनै समयको उत्तरी दलदलमा उत्पत्ति हुन पुग्यो?’
सत्रौं शताब्दीको अन्तसम्म रूसको समुद्रतिर जाने बाटो नभएकोले यसको विकासमा बाधा पुगेको थियो। रूसको जवान जार, पिटर द ग्रेट अर्थात् महान् पिटरको सपना समुद्रको बाटो खोलेर रूसको “युरोप हेर्ने झ्याल” स्थापना गर्ने थियो। दक्षिणमा ब्ल्याक सी जाने बाटोलाई ओटोमान साम्राज्यले रोकेको थियो। त्यसकारण पिटरले बाल्टिक समुद्रको सिमानामा स्वीडेन अधीनस्थ उत्तरी इलाकातर्फ ध्यान दिन थाले।
आफ्नो सपना साकार पार्न अगस्त १७०० मा पिटरले स्वीडेन विरुद्ध युद्ध घोषणा गरे। तिनका सैन्य प्रयासहरूको सुरुमा प्रतिरोध गरिए तापनि तिनले हार खाएनन्। नोभेम्बर १७०२ सम्ममा पिटरले लेक लाडोगाबाट स्वीडेनीहरूलाई फर्कन बाध्य बनाइसकेका थिए। यो युरोपको सबैभन्दा ठूलो ताल, नेभा नदीबाट ६० किलोमिटर पर बाल्टिक समुद्रमा जोडिएको छ। स्वीडेनीहरू उक्त तालबाट बग्ने नेभा नदी नजिकैको सानो टापुको गढीमा कडा पहरा दिएर बसिरहेका थिए। पिटरले यसलाई स्वीडेनी
नियन्त्रणबाट आफ्नो कब्जामा लिएर श्लुशेलवर्ग नामाकरण गरे।पछि, बाल्टिकमा नेभा नदी बग्ने ठाउँ नजिकैको निनशान्ट्स भनिने गढीमा स्वीडेनीहरूले आफ्नो अडान लिए। मे १७०३ मा स्वीडेनी फौजको पूरै पराजय भयो। यो विजयले गर्दा सम्पूर्ण नदीमुख-भूमि रूसीहरूको नियन्त्रणमा भयो। तुरुन्तै पिटरले नेभाको मुखमा सुरक्षा दिन नजिकैको जायाशी टापुमा गढी बनाउन थाले। अतः मे १६, १७०३, आजभन्दा ३०० वर्षअघि महान् पिटरले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याए। सेन्ट पिटर्सवर्गको स्थापनाको सामान्यतया मान्यताप्राप्त मिति यही हो र यो यस जारको संरक्षक सेन्ट पिटर अर्थात् सन्त पत्रुसको नाउँबाट राखिएको थियो।
यसरी राजधानी बन्न पुग्यो
सेन्ट पिटर्सवर्ग अरू थुप्रै राजधानी शहरहरूजस्तो नभई सुरुदेखि नै एउटा प्रभावकारी राजधानी बनाउन योजना मिलाइएको थियो। यो सुदूर उत्तर अर्थात् हालको आंकोरेज, अलास्काको जस्तै अक्षांसमा अवस्थित भए तापनि पिटर निर्माणकार्यमा अघि बढे। लेक लाडोगा र नोभगोरोड इलाकाबाट काठ ल्याइयो। पिटरले निर्माणको लागि ढुंगा ल्याउन सकेको एउट कारण त, कोटा तोकिदिएर थियो। सेन्ट पिटर्सवर्गमा सामान ल्याउने प्रत्येक रूसीले ढुंगाहरूको एउटा परिमाण पनि ल्याउनुपर्थ्यो। साथै, पिटरले सर्वप्रथम मस्कोमा र पछि तिनको सम्पूर्ण साम्राज्यमा ढुंगे घर बनाउन निषेध गरे। फलस्वरूप, बेरोजगार डकर्मीहरू सेन्ट पिटर्सवर्गमा काम गर्न आए।
यस शहरको निर्माणकार्य द ग्रेट सोभियत इन्साइक्लोपीडिया-ले बताएअनुसार “त्यतिबेलाको समयको लागि असामान्य गतिमा” अघि बढ्यो। ढल निकास, जगको खम्बा, सडक, भवन, चर्च, अस्पताल र सरकारी कार्यालयहरू चाँडै देखा पर्न थाले। यो शहर स्थापना
भएको वर्ष, जहाज बनाउने ठाउँमा निर्माणकार्य सुरु भयो र यो पछि गएर रूसी सेनाको मुख्यालय भयो र नौसैनिक विभाग भनेर चिनियो।सन् १७१० मा जारहरू गर्मी महिनामा बस्नको लागि समर प्यालेस अर्थात् ग्रीष्मकालीन दरबारको निर्माणकार्य सुरु भयो। सन् १७१२ मा रूसको राजधानी र यसका थुप्रै सरकारी कार्यालयहरू मस्कोबाट सेन्ट पिटर्सवर्ग सारियो। यो शहरको पहिलो ढुंगे दरबारको निर्माणकार्य १७१४ मा पूरा भयो र यो हालसम्म संरक्षित छ। यो दरबार यस शहरको पहिलो राज्यपाल, एलेक्जान्डर मेन्शिकोभको लागि निर्माण गरिएको थियो। त्यही वर्ष उही गढीभित्र पिटर-पल कथिड्रल अर्थात् विशाल गिर्जाघरको निर्माणकार्य सुरु भयो। यसको अग्लो गजुर, शहरकै चिनारी हो। नेभा नदीमा विन्टर प्यालेस अर्थात् हिउँदकालीन दरबार पनि निर्माण गरियो तर १७२१ मा यसलाई भत्काएर ढुंगाको संरचना बनाइयो। पछि लगभग १,१०० वटा कोठा भएको हालको विन्टर प्यालेस बनाइयो। यो भव्य दरबार शहरको केन्द्र अनि सरकारी संग्रहालय अवस्थित शहरको प्रख्यात हर्मिटाज भएको छ।
सेन्ट पिटर्सवर्गको पहिलो दशकमा उल्लेखनीय वृद्धि भयो र १७१४ सम्म शहरभित्र मात्रै ३४,५०० जति घरहरू निर्माण भइसकेको रिपोर्ट गरियो! कुनै रोकटोकविना दरबार तथा विशाल भवनहरू निर्माण हुन थाले। रूसको इतिहासमा धर्मको शक्तिशाली प्रभावलाई यस शहरका थुप्रै भवनहरूले प्रमाणित गर्छ।
उदाहरणका लागि, अर्धगोलाकार आकार र अघिल्तिर खम्बाको लहर भएको काजान कथिड्रललाई लिनुहोस्। शहरको प्रमुख सडक, नेभ्स्की प्रोस्पेक्टमा यसको प्रभावकारी अस्तित्वले गर्दा संसारकै सबैभन्दा ठूलो मूलबाटो भन्ने नाउँ कमायो। पछि, सेन्ट आइजक कथिड्रलको निर्माणकार्य सुरु भयो। यस संरचनालाई टेवा दिन जमिनको दलदलमा २४,००० जति खाँबाहरू राखियो अनि यसको विशाल गुम्बजमा १०० किलोग्राम शुद्ध सुनको लेप लगाइयो।
सेन्ट पिटर्सवर्गका बाहिरी इलाकाहरूमा पनि निर्माणकार्य उल्लेखनीय थियो। पिटरको निवास, ग्रेट प्यालेसको निर्माणकार्य १७१४ मा पिटरहफमा सुरु भयो र यसलाई अहिले पेट्रोडभोरेट्स भनिन्छ। त्यतिन्जेल, सार्सकोइ सेला, हाल पुस्किन भनिने नजिकैको शहरमा पिटरकी श्रीमतीको लागि भव्य क्याथरिन प्यालेस अर्थात् दरबार निर्माण गरियो। त्यही दशकको पछिल्लो भागमा दुइटा दक्षिणी इलाकाहरू, पाभ्लोस्क र गाचिनामा दुइटा भव्य दरबार निर्माण गरियो।
यो नयाँ विकसित शहरको सौन्दर्यलाई यसका थुप्रै नदी र नहरहरूमाथि निर्माण गरिएका सयौं पुलहरूले अझ बढायो। तसर्थ, सेन्ट पिटर्सवर्गलाई अक्सर “उत्तरको भेनिस” भनेर बयान गरिएको छ। फ्रान्सेली, जर्मन र इटालेली वास्तुकारहरूले दक्ष रूसी समकालीनहरूसित मिलेर “युरोपको अत्यन्तै भव्य तथा सामञ्जस्य शहर” बनाए भनी दी इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ।
विरोधको बावजुद धैर्य
युरोप हेर्ने झ्याललाई नगुमाउन रूसीहरूले कत्तिको लगन देखाउनेछन् भनेर पिटरका विरोधीहरूले बुझेकै थिएनन्। पिटर द ग्रेट—हिज लाइफ एण्ड वर्ल्ड भन्ने पुस्तक यसरी वर्णन गर्छ: “महान् पिटरले नेभा नदीको मुखमा पाइला टेकेको दिनदेखि त्यस भूमि र त्यहाँ स्थापना भएको शहर सधैं रूसी नै रहेको छ।”
निस्सन्देह, माथि उल्लिखित पुस्तकले बताएझैं “शताब्दीयौंको दौडान ठूलो सेना लिएर रूसमा प्रवेश गर्ने थुप्रै विजेताहरू, जस्तै चार्ल्स बाह्रौं, नेपोलियन, हिटलर कसैले पनि पिटरको बाल्टिक बन्दरगाह कब्जा गर्न सकेनन् तर नाजी सेनाले दोस्रो विश्वयुद्धमा यो शहरलाई ९०० दिनको लागि घेरा हालेको थियो।” त्यो लामो कब्जाको दौडान त्यो शहरका लगभग दस लाख मानिसहरू मरे। सन् १९४१/४२ को हिउँदमा तापक्रम शून्यभन्दा ४० डिग्री सेल्सियस तल झरेको बेला थुप्रै नाश भए। सेल्सियस र फरेनहाइट दुवैले एउटै तापमान देखाउने तापक्रम यही हो।
सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु हुँदा यो शहरको नाउँ परिवर्तन गरेर पेट्रोग्राड राखियो। सोभियत संघका पहिलो नेता, भ्लादिमिर लेनिनको १९२४ मा मृत्यु हुँदा यसको नाउँ लेनिनग्राड राखियो। अन्ततः १९९१ मा सोभियत संघको पतनपछि यसको सुरुको नाउँ, सेन्ट पिटर्सवर्ग नै राखियो।
संसारको लागि योगदान
सन् १७२४ मा ५२ वर्षको उमेरमा पिटरको मृत्यु हुनुभन्दा अघिल्लो साल, विज्ञानसम्बन्धी रूसी प्रतिष्ठान तिनकै उर्दीमा स्थापना गरियो अनि यस शहरमा १७५७ मा कला प्रतिष्ठान स्थापना गरियो। उन्नाइसौं शताब्दीका
रूसी चित्रकारहरू कार्ल ब्रुलोभ र इल्या रेपिनले त्यहीं पढे अनि अन्तरराष्ट्रिय ख्याति कमाए।सन् १८१९ मा सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटी स्थापना गरियो अनि समयको दौडान उच्च शिक्षाको लागि अरू थुप्रै संस्थानहरू खुले। उन्नाइसौं शताब्दीको अन्ततिर, सेन्ट पिटर्सवर्ग निवासी, नोबेल पुरस्कार विजेता रूसी जीवशास्त्री इभान पाभ्लोभले अभ्यस्त प्रतिक्रियाको धारणा विकास गरे। अनि यहीं रूसी भौतिकशास्त्री डिमिट्री मेन्डेलेभले तत्त्वहरूको आवधिक तालिका अथवा रूसमा भनिएझैं मेन्डेलेभको तालिका बनाए।
यो शहरको सांस्कृतिक जीवनले पनि अन्तरराष्ट्रिय ध्यानाकर्षण गऱ्यो। सन् १७३८ मा एउटा नृत्य प्रतिष्ठान स्थापना गरियो र यो पछि विश्व विख्यात मारिनिस्की बाले अर्थात् नृत्य-नाटक बन्न पुग्यो। चाँडै थुप्रै बाले तथा कन्सर्ट भवन र रंगमञ्चले शहरको शोभा बढायो। प्रख्यात संगीतकारहरूले सेन्ट पिटर्सवर्गलाई आफ्नो घर बनाए, जस्तै प्योटर इलिच चाइकोभस्की। तिनी स्लिपिङ ब्युटी, स्वान लेक र नटक्राकर-जस्ता चिरकालीन उत्कृष्ट बाले संगीतलगायत १८१२ ओभरचर-जस्ता प्रख्यात संगीत रचनाको लागि चिनिन्छन्।
सेन्ट पिटर्सवर्ग नाउँ कमाएका रूसी कवि तथा लेखकहरूको संगम थलो थियो जसले यहीं आफ्नो घरबार जमाए। जवान एलेक्जान्डर सर्गेभिच पुस्किन पछि गएर रूसको “सबैभन्दा महान् कवि तथा आधुनिक रूसी साहित्यको संस्थापक” गनिन पुगे। शेक्सपियरकै स्तरमा गनिने रूसका पुस्किनका कृतिहरू सबै प्रमुख भाषाहरूमा अनुवाद भएका छन् र यसमा माथि उद्धरण गरिएको हरफ, जुन तिनले पछि स्वीकारेका शहरको लागि समर्पित छन्द पनि समावेश छ। साथै, दी इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएझैं डोस्टोभेस्की “अहिलेसम्म जीवितमध्ये सबैभन्दा उत्कृष्ट कथाकार” मानिन्छ।
त्यसकारण सेन्ट पिटर्सवर्गले सुरु सुरुमा युरोपबाट जे जति प्राप्त गऱ्यो, त्यसको बदलामा युरोपलाई कुनै कन्जुस्याइँ नगरी धेरै गुणा तिरिसक्यो। यसका बासिन्दाहरूले वर्षौंको दौडान विश्वको संस्कृतिलाई साँच्चै धनी बनाएका छन्।
फर्केर हेर्ने समय
मे २४ देखि जून १ को हप्ताको दौडान लाखौं आगन्तुकहरू सेन्ट पिटर्सवर्गको ३०० औं वर्षको वार्षिकी मनाउन भेला भए। त्यहाँको विशाल तयारी कार्यको आनन्द उठाउँदै बाटोमा टहल्ने थुप्रैले यो शहरको सौन्दर्य र उल्लेखनीय इतिहासलाई सम्झे।
संयोगको कुरा, त्यसको एक हप्ताअघि मात्र, यस शहरको बाह्य इलाकामा अवस्थित यहोवाका साक्षीहरूको विस्तारित शाखा कार्यालयको समर्पण समारोहको लागि थुप्रै सेन्ट पिटर्सवर्ग आएका थिए। त्यसको भोलिपल्ट सेन्ट पिटर्सवर्गस्थित किरोभ स्टेडियममा ९,८१७ जना समर्पण कार्यक्रमको पुनरावलोकन र थुप्रै मुलुकका यहोवाका साक्षीहरूको प्रोत्साहनदायी रिपोर्ट सुन्न भेला भए।
देखिने भन्दा बढी
सेन्ट पिटर्सवर्गमा आउने पर्यटकहरू हेर्ने कुरा थुप्रै भएकोले कहाँबाट सुरु गर्ने होला भनेर वाल्ल पर्छन्। हर्मिटाजमा पुग्दा त्यस्तो अलमल्ल हुन्छ। एउटा अनुमानअनुसार सयौं प्रदर्शन कक्षहरूमा राखिएका प्रत्येक वस्तुको लागि एक मिनेट मात्र बिताउने हो भने पनि यात्रा पूरा गर्न वर्षौं लाग्नेछ।
अरू भने सेन्ट पिटर्सवर्गको सबैभन्दा ठूलो धन भनेको यसको बाले भन्छन्। उदाहरणका लागि प्रख्यात मारिनिस्की रंगमञ्चमा क्रिस्टलका फोहराहरू मुनि बसेर चारैतिर हेर्न सकिन्छ अनि भित्तामा झण्डै ४०० किलोग्राम सुनको लेप लगाइएको छ। यस्तो भूमिकामा संसारकै सबैभन्दा उत्कृष्ट बाले हेर्न सकिन्छ।
लगभग ५० लाख बासिन्दाहरू भएको यो शहरमा टहल्दा पनि नेभा नजिकै सुन्दर भवनहरूको दृश्य हेरेर आनन्द उठाउन सकिन्छ। संसारकै सबैभन्दा गहिराइमध्ये एक, यो शहरको भूमिगत अद्भुत मेट्रोबाट यात्रा गर्दा पनि यसको सांस्कृतिक आभास पाउन सकिन्छ। यहाँ प्रति दिन २० लाखभन्दा बढी मानिसले मेट्रो प्रयोग गर्छन् अनि यसको ९८ किलोमिटर लामो मार्गमा ५० वटा भन्दा बढी स्टेसनको यात्रा गर्छन्। कुनै-कुनै स्टेसनहरू संसारकै सबैभन्दा मनोरम ठाउँहरू गनिन्छन्। यो मेट्रो चालू भएको साल, १९५५ मा द न्यु योर्क टाइम्स-ले ती स्टेसनहरूलाई “बीसौं शताब्दीका भूमिगत दरबारहरूको श्रृंखला” भने।
निस्सन्देह, सेन्ट पिटर्सवर्गबाट प्रभावित नभई बस्न सकिंदैन—जस्तै, यसको रोमाञ्चकारी सृष्टि र विकास अनि अहिलेसम्म रहिरहेको सौन्दर्य, कला, संस्कृति, शिक्षा र संगीतको सम्पदा। आफ्नो चासो जुनसुकै विषयमा भए तापनि एउटा सन्दर्भ सामग्रीले भनेझैं सेन्ट पिटर्सवर्गलाई “युरोपको सबैभन्दा सुन्दर शहरहरूमध्ये एउटा” भन्नुमा जो कोही पर्यटकले समर्थन जनाउनेछन्। (g03 8/22)
[पृष्ठ १५-मा भएको चित्र]
पिटर द ग्रेट, शहरका संस्थापक
[पृष्ठ १६-मा भएको चित्र]
पिटर-पल फोट्रेस र यसको कथिड्रल जहाँ सेन्ट पिटर्सवर्गको जग बसालियो
[पृष्ठ १६-मा भएको चित्र]
नेभा नदीको विन्टर प्यालेस जहाँ अहिले हर्मिटाज म्युजियम छ (भित्रको दायाँ कुनामा)
[स्रोत]
The State Hermitage Museum, St. Petersburg
[पृष्ठ १७-मा भएको चित्र]
द ग्रेट प्यालेस
[पृष्ठ १७-मा भएको चित्र]
सेन्ट पिटर्सवर्गलाई उत्तरको भेनिस भनिन्छ
[पृष्ठ १८-मा भएको चित्र]
विश्व विख्यात मारिनिस्की रंगमञ्च
[स्रोत]
Steve Raymer/National Geographic Image Collection
Photo by Natasha Razina
[पृष्ठ १८-मा भएको चित्र]
सेन्ट पिटर्सवर्गको सबवे स्टेसनलाई “भूमिगत दरबारहरू” भनेर वर्णन गरिएको छ
[पृष्ठ १५-मा भएको चित्रको स्रोत]
Top picture: Edward Slater/Index Stock Photography; painting and emblems: The State Hermitage Museum, St. Petersburg