सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले हामीलाई धनसम्पत्ति दिनुभएर आशिष्‌ दिनुहुन्छ?

के परमेश्‍वरले हामीलाई धनसम्पत्ति दिनुभएर आशिष्‌ दिनुहुन्छ?

बाइबलको दृष्टिकोण

के परमेश्‍वरले हामीलाई धनसम्पत्ति दिनुभएर आशिष्‌ दिनुहुन्छ?

“परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।”—हितोपदेश १०:२२.

के माथि उद्धृत बाइबल पदले परमेश्‍वरले आफ्ना सेवकहरूलाई भौतिक धनसम्पत्ति दिनुभएर आशिष्‌ दिनुहुन्छ भन्‍न खोजेको हो? कोही-कोही मानिसहरू त्यस्तै विश्‍वास गर्छन्‌। एक जना अष्ट्रेलियाली पेन्टिकोस्टल प्रचारक तथा लेखकको दाबीलाई विचार गर्नुहोस्‌: “म [मेरो] पुस्तकमा तपाईंहरूलाई किन पैसा चाहिन्छ र दोस्रोचाहिं तपाईं कसरी अझ धेरै पैसा प्राप्त गर्न सक्नुहुन्छ भन्‍ने कुरा बताउन लागिरहेको छु . . . यदि तपाईंहरूले पैसाबारे आफ्नो सोचाइ परिवर्तन गरेर स्वास्थ्यकर मनोवृत्ति विकास गर्न सक्नुभयो भने, मलाई विश्‍वास छ, परमेश्‍वरले तपाईंहरूलाई आशिष्‌ दिनुका साथै संवृद्ध बनाउनुहुनेछ र तपाईंहरूलाई कहिल्यै पैसाको समस्या पर्नेछैन।”

तथापि, यस्तो दाबीले गरिबहरूलाई चाहिं परमेश्‍वरले अनुग्रह देखाउनुभएको छैन भन्‍ने संकेत गर्छ। के भौतिक सम्पन्‍नता साँच्चै परमेश्‍वरको आशिष्‌को चिह्न हो?

एउटा उद्देश्‍यको लागि आशिषित्‌

बाइबल रेकर्डमा परमेश्‍वरले विश्‍वासी सेवकहरूलाई धनसम्पत्ति दिएर आशिष्‌ दिनुभएका घटनाहरू समावेश भएको पाउँछौं। उदाहरणका लागि, घर छोडेर हिंड्‌दा याकूबसित एउटा लाठो मात्र थियो तर २० वर्षपछि फर्कंदा तिनीसित प्रशस्त भेडा, गाईगोरू तथा गधाहरूको दुईवटा दल भइसकेका थिए। बाइबलअनुसार, याकूबको संवृद्धि परमेश्‍वरले दिनुभएको एउटा उपहार थियो। (उत्पत्ति ३२:१०) अर्को उदाहरण: अय्यूबले आफ्नो सम्पूर्ण जायजेथा गुमाए। तरैपनि, पछि यहोवाले तिनलाई “चौध हजार भेडा-बाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधा” दिनुभएर आशिष्‌ दिनुभयो। (अय्यूब ४२:१२) यहोवाले राजा सुलेमानलाई यत्ति प्रशस्त मात्रामा धनसम्पत्ति दिनुभयो कि त्यसको ख्याति वर्तमान समयसम्मै चलेको छ।—१ राजा ३:१३.

अर्कोतर्फ, बाइबलमा परमेश्‍वरका विश्‍वासी तथा आज्ञाकारी उपासकहरूका थुप्रै विवरणहरू दिइएका छन्‌, जो गरिब थिए। निश्‍चय पनि, परमेश्‍वरले कसैलाई गरिबीको मारमा पारेर सजाय त कसैलाई चाहिं संवृद्धि गराउनुभएर आशिष्‌ दिइरहनुभएको थिएन। त्यसो भए, कुनै-कुनै अवस्थामा परमेश्‍वरले धनसम्पत्ति दिनुको उद्देश्‍य के थियो त?

प्रत्येक अवस्थामा यसको जवाफ फरक-फरक छ। याकूबका भौतिक धनसम्पत्तिहरूले प्रतिज्ञाकृत सन्तानको आगमनको तयारीको लागि एउटा राष्ट्र निर्माणको आधार बसाल्यो। (उत्पत्ति २२:१७, १८) अय्यूबको संवृद्धिले तिनीमाथि विपत्ति ल्याउने को हो भन्‍ने कुरा स्पष्ट पार्नुका साथै यहोवाको नाउँलाई पवित्र पाऱ्‍यो। (याकूब ५:११) अनि सुलेमानले ईश्‍वरप्रदत्त धेरैजसो सम्पत्ति एउटा भव्य मन्दिर निर्माण गर्न प्रयोग गरे। (१ राजा ७:४७-५१) चाखलाग्दो कुरा, यहोवाले सुलेमानलाई धनसम्पत्तिको सीमित महत्त्वबारे आफ्नो व्यक्‍ति गत अनुभवबाट लेख्न पनि चलाउनुभयो।—उपदेशक २:३-११; ५:१०; ७:१२.

परमेश्‍वरले कसरी हामीलाई आशिष्‌ दिनुहुन्छ

येशूले आफ्ना अनुयायीहरूलाई धनसम्पत्तिको “फिक्री नगर” भन्‍नुहुँदा तिनीहरूलाई पैसाप्रति उचित मनोवृत्ति राख्न सिकाउनुभयो। सुलेमानसमेत आफ्ना गौरवमा मैदानका लिली फूलहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्‌ भनी उहाँले तिनीहरूसित तर्क गर्नुभयो। तैपनि, येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरले . . . मैदानका घाँसलाई यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्‍वासी हो के तिमीहरूलाई झन्‌ बढ़ता गरी उहाँले पहिराउनुहुनेछैन र ?” आफ्ना अनुयायीहरूले पहिले राज्य र परमश्‍वरको धार्मिकता खोजेको खण्डमा तिनीहरूलाई गाँस, बास र कपास थपिनेछन्‌ भनेर येशूले मसीहीहरूलाई आश्‍वासन दिनुभयो। (मत्ती ६:२५, २८-३३) उक्‍त प्रतिज्ञा कसरी पूरा हुन्छ?

बाइबलमा दिइएका सल्लाह पालन गर्दा विशेष गरी आध्यात्मिक आशिष्‌हरू प्राप्त हुन्छन्‌। (हितोपदेश १०:२२) तथापि, यसका अन्य लाभहरू पनि छन्‌। उदाहरणका लागि, परमेश्‍वरको वचनले मसीहीहरूलाई यस्तो निर्देशन दिन्छ: “चोर्नेले फेरि नचोरोस, बरू त्यसले परिश्रम गरोस।” (एफिसी ४:२७, २८) यसले अझै यसो भन्छ: “अल्छे हातले मानिसलाई गरीब तुल्याउँछ, परिश्रमी हातले धनी तुल्याउँछ।” (हितोपदेश १०:४) यो सल्लाह पालन गर्ने इमानदार तथा मेहनती मसीहीहरूलाई मानिसहरूले अक्सर जागिर दिन खोज्छन्‌। यो एउटा आशिष्‌ हुन सक्छ।

बाइबलले मसीहीहरूलाई जूवा खेलेर समय काट्‌नुजस्तो लोभी सोख, धूम्रपान गर्ने अशुद्ध बानी र मतवालापनजस्तो शरीरलाई शिथिल पार्ने बानीदेखि अलग रहन पनि सिकाउँछ। (१ कोरिन्थी ६:९, १०; २ कोरिन्थी ७:१; एफिसी ५:५) यो सल्लाह पालन गर्नेहरूले आफ्नो खर्च कम भएको र आफ्नो स्वास्थ्यमा सुधार आएको पाउनेछन्‌।

चाँदी वा सुनभन्दा अझ बहुमूल्य

यद्यपि, परमेश्‍वरको अनुमोदन र आशिष्‌को एक मात्र संकेत नै भौतिक संवृद्धि हो भन्‍नु मिल्दैन। उदाहरणका लागि, लाओडिसियाका कोही-कोही मसीहीहरूको आध्यात्मिक तवरमा दयनीय अवस्थालाई पर्दाफास गर्दै येशूले यसो भन्‍नुभयो: “ ‘म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमी भन्दछौं, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्‌गा छौं।” (प्रकाश ३:१७, नयाँ संशोधित संस्करण) अर्कोतर्फ, भौतिक तवरमा गरिब तर आध्यात्मिक तवरमा स्वस्थ स्मर्नाका मसीहीहरूबारे येशूले यसो भन्‍नुभयो: “म तिम्रा कष्टहरू र तिम्रो दरिद्रतालाई जान्दछु। तर तिमी त धनी नै छौ।” (प्रकाश २:९, नयाँ संशोधित संस्करण) आफ्नो वफादारीको कारण सतावट दिने व्यक्‍तिहरूको हातमा पर्दा यी मसीहीहरूले आर्थिक तवरमा नोक्सानी बेहोर्नुपरेको हुनुपर्छ, यद्यपि तिनीहरूसित चाँदी वा सुनभन्दा अझ बहुमूल्य धनसम्पत्ति थियो।—हितोपदेश २२:१; हिब्रू १०:३४.

यहोवा परमेश्‍वरले उहाँको इच्छा गर्न प्रयास गर्नेहरूको मेहनतमा आशिष्‌ दिनुहुन्छ। (भजन १:२, ३) उहाँले तिनीहरूलाई परीक्षाहरूको सामना गर्न, आफ्नो परिवारको पालन-पोषण गर्न र पहिला उहाँको राज्य खोजी गर्न बल तथा स्रोतसाधन दिनुहुन्छ। (भजन ३७:२५; मत्ती ६:३१-३३; फिलिप्पी ४:१२, १३) तसर्थ, भौतिक कुराहरूलाई मुख्यतः परमेश्‍वरको आशिष्‌को रूपमा हेर्नुको साटो, साँचो मसीहीहरू “असल काममा . . . धनवान” हुने प्रयास गर्छन्‌। सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध विकास गरेर मसीहीहरूले “पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग” बसाल्छन्‌।—१ तिमोथी ६:१७-१९; मर्कूस १२:४२-४४. (g03 9/08)