के म टाटु बनाऊँ?
युवा जनहरू सोध्छन् . .
के म टाटु बनाऊँ?
“कुनै-कुनै टाटु त साह्रै हिसी परेको हुन्छ। तिनीहरू धेरै कलात्मक हुन्छन्।”—जेलीन। a
“पहिलो टाटु बनाउने दुई वर्ष अघिको मेरो धोको थियो”—मिशेल।
लाग्छ, टाटु जहाँतहीं छ—त्यस्तै देखिन्छ पनि। रक स्टार, खेलाडी, फेसन मोडेल, फिल्म स्टार सानसित टाटु दैखाउँदै डुल्छन्। अनि धेरै किशोर-किशोरीहरूले तिनीहरूको देखासिकी गर्दै काँध, हात, कम्मर र गोलीगाँठोमा खोपिएको टाटु गर्वसित देखाउँछन्। एन्ड्रु भन्छन्: “टाटु फेसनेबल हुन्छ। बनाउनु वा नबनाउनु त आफ्नो इच्छाको कुरो हो।”
वर्ल्ड बुक इन्साइक्लोपीडिया यसो भन्छ: “टाटु बनाउनु भनेको शरीरमा स्थायी बुट्टा कोर्ने प्रचलन हो। प्राकृतिक रंगमा चोपिएको तिखो सिन्को, हड्डी अथवा सियोले छालामा स-साना प्वालहरू पारेर टाटु बनाइन्छ।”
वास्तविक तथ्याङ्क बटुल्न गाह्रो भए तापनि एउटा स्रोतले अनुमान गरेअनुसार संयुक्त राज्य अमेरिकामा १५ देखि २५ वर्षका २५ प्रतिशत युवायुवतीहरूले टाटु बनाएका छन्। स्यान्डी यसो भन्छिन्: “टाटु बनाउनु त अहिलेको लोकप्रिय स्टाइल हो।” केही युवायुवतीहरूलाई यति विघ्न टाटु मन पर्नुको कारण के हो?
किन यति विघ्न लोकप्रिय?
कसै-कसैका लागि टाटु प्रभावकारी रोमान्टिक अभिव्यक्ति हो। मिशेल भन्छिन्, “मेरो दाइको गोलीगाँठोमा एउटी केटीको नाउँ खोपिएको छ, जोसँग उहाँ पहिले डेटिङ गर्नुहुन्थ्यो।” समस्या के पऱ्यो त? “अहिले उहाँले त्यो केटीसित डेटिङ गर्नुहुन्न।” टिन म्यागेजिन-अनुसार, “डाक्टरहरूरले अनुमान गरेका छन्, टाटु हटाउनेहरूमध्ये ३० प्रतिशतभन्दा बढी त किशोरीहरू नै हुन्छन्, जो आफ्नो पुरानो प्रेमीको नाउँ मेटाउन चाहन्छन्।”
केही युवायुवातीहरू टाटु एउटा कला हो भन्ठान्छन्। अन्य कतिपयले चाहिं यसलाई स्वाधीनताको चिन्ह मान्छन्। जोसीले भनिन्, “मेरो जीवनको मालिक मै हुँ।” उनले अझै यसो भनिन्, “टाटु बनाउनु नै मैले मेरो जीवनमा आफैले गरेको निर्णय थियो।” टाटुले युवायुवतीहरूलाई जीवनमा केही नौलो कुरा अनुभव गर्ने मौका दिन्छ, तिनीहरूलाई लाग्छ,
आफ्नो रूपरंग कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा निर्णय गर्ने अधिकार आफूसित मात्र हुन्छ। टाटु, विद्रोह अथवा समाजले नपचाउने जीवन शैलीको चिन्ह पनि हुन सक्छ। त्यसैले त कुनै-कुनै टाटुहरू अश्लील शब्द र चित्रहरू अथवा आक्रोशित नाराहरूले भरिएका हुन सक्छन्।तथापि, अधिकांश युवायुवातीहरू केवल लहडको पछाडि दौडिरहेका हुन सक्छन्। तर सबैले टाटु बनाउँदै छन् जस्तो लाग्दैमा तपाईंले पनि टाटु बनाइहाल्नुपर्छ र?
टाटु बनाउने पुरातन कला
निस्सन्देह, टाटु बनाउनुलाई आधुनिक प्रचलन भन्न मिल्दैन। ख्रीष्टको समयभन्दा सयौं वर्ष पुराना टाटु बनाइएका मिश्री तथा लिवियाली चिहानका लासहरू पत्ता लागेका छन्। दक्षिण अमेरिकाको चिहानमा पनि टाटु बनाइएका लासहरू पत्ता लागेका छन्। टाटु बनाइएका अधिकांश मूर्तिहरूको गैरमसीही देवदेवीहरूको उपासनासित प्रत्यक्ष सम्बन्ध थियो। अनुसन्धाता स्टिभ गिल्बर्टअनुसार, “सबैभन्दा पुरानो भनेर चिनिने टाटुहरूले अमूर्त चित्रलाई होइन तर बेस देवतालाई प्रतिनिधित्व गर्थ्यो। मिश्री पौराणिक कथाहरूअनुसार बेस मोजमज्जाको कामुक देव हो।
उल्लेखनीय कुरा त के छ भने, मोशाको व्यवस्थाले परमेश्वरका जनहरूलाई टाटु बनाउन निषेध गर्थ्यो। लेवी १९:२८ ले यसो भन्यो: “मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। औ आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।” मिश्रीहरू जस्ता गैरमसीही उपासकहरूले छाती वा पाखुरामा आफ्ना देवदेवीहरूको नाउँ अथवा चिह्नहरूको टाटु बनाउँथे। इस्राएलीहरू टाटु अथवा छाप बनाउने सन्दर्भमा यहोवाको निषेधाज्ञा पालन गर्दा अन्य राष्ट्रहरूभन्दा भिन्नै देखिने थिए।—व्यवस्था १४:१, २.
आज मसीहीहरू मोशाको व्यवस्थाको अधीनमा नभए तापनि टाटु बनाउने सन्दर्भमा दिइएको निषेधाज्ञा विचारणीय छ। (एफिसी २:१५; कलस्सी २:१४, १५) यदि तपाईं एक जना मसीही हुनुहुन्छ भने पक्कै पनि गैरमसीही अथवा झूटा उपासनाको प्रतिनिधित्व गर्ने छाप अथवा टाटु आफ्नो शरीरमा बनाउन चाहनुहुनेछैन चाहे त्यो छोटो अवधिसम्म रहने नै किन नहोस्।—२ कोरिन्थी ६:१५-१८.
स्वास्थ्य खतराहरू
तपाईंले स्वास्थ्यसम्बन्धी समस्यालाई पनि विचार गर्नुपर्छ। चर्म विज्ञानका उप प्राध्यापक डा. रोबर्ट टमसिक यस्तो टिप्पणी गर्छन्: “तपाईं आफ्नो छाला च्यात्दै हुनुहुन्छ र च्यातिएको ठाउँमा रंग प्रवेश गराउँदै हुनुहुन्छ। सियो भित्रसम्म नगडिने भए तापनि छाला प्वाल पार्ने बित्तिकै ब्याक्टेरिया अथवा भाइरसको संक्रमण हुने खतरा हुन्छ। मेरो विचारमा [टाटु बनाउनु] खतरालाई निम्त्याउनु हो।” डा. टमसिक अझै यसो भन्छन्: “छालामा रंग प्रवेश गराउँदा कुनै संक्रमण नभए तापनि एलर्जी, छालामा सुजन तथा प्रतिकूल असर भई एलर्जी हुने खतराबाट हामी कहिल्यै जोगिदैनौं र यसले गर्दा छाला रातो हुने, सुन्निने, पाप्रा निस्किएर आउने अनि चिलाउने हुन सक्छ।”
जीवनभर नमेटियोस् भनेर टाटु बनाउने भए तापनि टाटु हटाउने प्रयासमा विभिन्न तरिकाहरू अपनाइन्छन्: लेजरद्वारा हटाउने (टाटुलाई जलाएर सखाप पार्ने), चिरफार गरेर हटाउने (टाटुलाई काटेर फाल्ने), डर्माब्रेसन (बाहिरी छाला र भित्री छालालाई उप्काउन छालालाई तारको ब्रुसले रगड्ने), सालाब्रेसन (टाटु खोपिएको छालालाई सुकाउन नुन मिसिएको झोल प्रयोग गर्ने) अनि स्कारीफिकेसन (एसीडद्वारा टाटु हटाउने अनि त्यसको ठाउँमा खत बसाल्ने)। यी तरिकाहरू खर्चिलो त छँदैछ अनि पीडादायी पनि हुन सक्छ। टिन म्यागेजिन यसो भन्छ, “टाटु बनाउनुभन्दा लेजरद्वारा टाटु हटाउनु अझ पीडादायी हुन्छ।”
अरूले के सोच्लान्?
तपाईंको टाटु देखेर अरूले के सोच्लान् भन्ने कुरालाई पनि तपाईंले गम्भीरतासाथ लिनुपर्छ किनभने धेरैले टाटुलाई नकारात्मक दृष्टिले हेर्छन्। (१ कोरिन्थी १०:२९-३३) लहडबाजीमा लीन नाउँ गरेकी एउटी ताइवानी केटीले १६ वर्षको उमेरमा टाटु खोपिन्। अहिले तिनी २१ वर्षकी भईन् र अफिसकी कमर्चारी हुन्। तिनी यसरी पछुताउँछिन्: “मेरा सहकर्मीहरूले मेरो टाटुमा घुरेर हेर्दा मलाई साह्रै अप्ठेरो लाग्छ।” बेलाइती मानसिक स्वास्थ्य कार्यकर्ता थियोडोर डालरिम्पल यसो भन्छन्, धेरैले टाटुलाई अक्सर “हिंस्रक, निर्दयी, गैरसामाजिक अनि आपराधिक संस्कृतिबाट आएको . . मानिसको पहिचानको रूपमा लिन्छन्।
अमेरिकन डेमोग्राफिक पत्रिकामा प्रकाशित एउटा लेखले पनि यस्तै टिप्पणी गऱ्यो: “अधिकांश अमेरिकीहरू शरीरमा चित्र कोर्नु खतरा हो भनी मानिलिन्छन् भन्ने कुरा स्पष्ट छ। पचासी प्रतिशत [युवाहरू] यस भनाइलाई मानिलिन्छन्, ‘अरूले देख्ने भागमा टाटु खोप्ने व्यक्तिले, आत्म-अभिव्यक्तिको त्यो शैली पछि गएर उसको करियर अनि मानिसहरूसितको उसको सम्बन्धमा वाधक बनेर खडा हुन सक्छ भन्ने कुरालाई राम्ररी बुझ्नुपर्छ।’ ”
टाटु बनाउने छनौट गर्दा आफूलाई एक जना मसीही हुँ भनेर चिनाउन तपाईंलाई सजिलो पर्छ कि गाह्रो, यो कुरालाई पनि विचार गर्नुहोस्। के यसले अरू कसैलाई “बाधा” पो दिन्छ कि? (२ कोरिन्थी ६:३) हो, केही युवायुवतीहरूले कसैलाई सुइँको नदिई आफ्नो शरीरका गुप्त भागहरूमा टाटु बनाएका हुन सक्छन्। तिनीहरूका आमाबाबुलाई समेत त्यो गुप्त टाटुबारे केही थाह नहुन सक्छ। तर होसियार! आकस्मिक रूपमा डाक्टरकहाँ जाँदा वा स्कूलमा नुहाउँदा तपाईंको त्यो गोप्यता भंग हुन सक्छ! मूर्खतापूर्ण छलकपटलाई त्यागी “सबै कुरामा इमान्दारीसाथ” चल्नुमै तपाईंको भलाइ छ।—हिब्रू १३:१८.
अन्य लहडबाजी जस्तै समय बित्दै जाँदा टाटुप्रतिको आकर्षण पनि सेलाउन सक्छ। साँच्चै, तपाईंलाई अत्यन्तै मन पर्ने कुनै लुगा, जीन्स, सर्ट, कुनै विशेष पहिरन अथवा जुत्ता, जीवनभरि नै लगाइरहनेछु भनेर के तपाईं वाचा गर्न सक्नुहुन्छ? अवश्य पनि सक्नुहुन्न! स्टाइल, ढाँचा अनि रंग परिवर्तन भइरहन्छन्। यद्यपि, लुगा जस्तो सजिलै टाटु फेर्न मिल्दैन। यसको अतिरिक्त, तपाईं १६ वर्षको हुँदा तपाईंलाई “फेसनेबल” लाग्ने कुनै चीज ३० वर्ष को हुँदा मन नपर्न पनि सक्छ।
आफ्नो रूपरंगमा स्थायी परिवर्तनहरू गरेर धेरै जना पछि पछुताएका छन्। एमी यसो भन्छिन्, “मैले यहोवाबारे सिक्नुअघि टाटु बनाएँ। आज म यसलाई सकभर छोप्ने कोसिस गर्छु। मण्डलीमा अरूको आँखा यसमा पर्दा मलाई साह्रै अप्ठ्यारो लाग्छ।” हामीले सिक्नुपर्ने पाठ के हो त? खोप्नुअघि सोच्नु। पछि पछुताएर पुर्पुरोमा हात राख्नुपर्ने निर्णय नगर्नुहोस्। (g03 9/22)
[फुटनोट]
a कुनै-कुनै नाउँ परिवर्तन गरिएका छन्।
[पृष्ठ २४-मा भएको चित्र]
टाटुले अक्सर विद्रोही जीवन शैलीलाई चित्रण गर्छ
[पृष्ठ २४-मा भएको चित्र]
टाटु बनाएकोमा पछि धेरै पछुताउँछन्
[पृष्ठ २५-मा भएको चित्र]
खोप्नुअघि सोच्नु