सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको स्वास्थ्यको रक्षा गर्ने ६ वटा तरिका

तपाईंको स्वास्थ्यको रक्षा गर्ने ६ वटा तरिका

तपाईंको स्वास्थ्यको रक्षा गर्ने ६ वटा तरिका

विकासोन्मुख मुलुकहरूको एउटा चुनौती

आज थुप्रै मानिसहरूले, विशेष गरी सफा पानी र पर्याप्त सरसफाइ नभएका मुलुकहरूमा सफा रहन संघर्ष गर्नुपर्छ। यद्यपि, सफा रहन गरिने प्रयास बेकार जाँदैन। एउटा अनुमानअनुसार साना केटाकेटीको आधीभन्दा बढी रोग र मृत्युको कारण फोहोर हात वा प्रदूषित खाना वा पानीले गर्दा मुखभित्र छिर्ने कीटाणुहरू हुन्‌। संयुक्‍त राष्ट्रसंघ बालकोषको प्रकाशन फ्याक्ट्‌स अफ लाइफ-मा दिइएका निम्न सुझावहरू लागू गरेर थुप्रै रोगहरू, खास गरी पखाला रोक्न सकिन्छ।

१ दिसापिसाबको ठेगान लगाउनुहोस्‌

दिसापिसाबमा थुप्रै कीटाणुहरू हुन्छन्‌। रोग सार्ने कीटाणुहरू पानी र खाना वा हातमा, भाँडाकुँडामा वा खाना पकाउने र पस्कने भाँडाहरूको सतहमा पर्दा ती मुखभित्र जान सक्छन्‌ र निल्न सकिन्छ जसले गर्दा रोग लाग्छ। त्यस्ता कीटाणुहरू फैलिन नदिने सर्वोत्तम तरिका दिसापिसाबलाई राम्ररी सुव्यवस्थित गर्नु हो। मानव दिसापिसाबको ठाउँ शौचालय वा पाइखाना हो। घर, बाटो वा केटाकेटी खेल्ने छेउछाउमा पशुहरूको दिसापिसाब हुन नदिनुहोस्‌।

शौचालय वा पाइखानाहरू नभएको ठाउँमा दिसापिसाबलाई तुरुन्तै पुर्नुहोस्‌। याद गर्नुहोस्‌, बच्चाहरूको दिसापिसाबलगायत सबै दिसापिसाबमा रोग सार्ने कीटाणुहरू हुन्छन्‌। बच्चाहरूको दिसापिसाब पनि पाइखानामा फ्याँक्नुपर्छ वा पुर्नुपर्छ।

पाइखाना र शौचालयहरू सफा गरिरहनुहोस्‌। पाइखानालाई छोपेर राख्नुहोस्‌ अनि पानीले शौचालयको फोहोर पखालिहाल्नुहोस्‌।

२ तपाईंको हात धुनुहोस्‌

तपाईंले पटक-पटक आफ्नो हात धुनुपर्छ। साबुन पानी वा खरानी पानीले हात धुँदा कीटाणुहरू भाग्छन्‌। पानीले हात पखालेर मात्र पुग्दैन—साबुन वा खरानीले दुवै हात माडेर धुनुपर्छ।

दिसा बसिसकेपछि र बच्चाको चाक पखालेपछि वा भर्खरै दिसा गरेको बच्चालाई सफा गरेपछि हात धुनै पर्छ। साथै, जनावरहरूलाई छोएपछि, खाना छुनुअघि र बच्चालाई खुवाउनुअघि पनि हात धुनुहोस्‌।

हात धुँदा रोग सार्ने जुकाहरूबाट पनि मानिस बच्न सक्छ। यी कुनै-कुनै जुकाहरू अत्यन्तै साना हुने हुँदा सुक्ष्मदर्शक यन्त्रबाट मात्र हेर्न सकिन्छ। ती दिसापिसाबमा, पानी र माटोको सतहमा अनि काँचो वा राम्ररी नपाकेको मासुमा बस्छन्‌। तपाईंको शरीरमा जुका पस्न नदिने एउटा प्रमुख तरिका हात धुनु हो। साथै, पाइखाना नजिकै जाँदा जुत्ता लगायो भने पनि पैतालाको छालाबाट शरीरभित्र छिर्न सक्ने जुकाहरू रोक्न सकिन्छ।

बच्चाहरूले अक्सर हात मुखमा लैजान्छन्‌, त्यसैले तिनीहरूको हात धेरै चोटि धोइदिनुहोस्‌, विशेष गरी तिनीहरूले दिसा गरिसकेपछि र खाना खानुअघि। तिनीहरूलाई आफ्नो हात धुन अनि पाइखाना, शौचालय वा दिसा गर्ने ठाउँ वरपर नखेल्न सिकाउनुहोस्‌।

३ दिनहुँ तपाईंको अनुहार धुनुहोस्‌

आँखाको संक्रमण हुन नदिन दिनहुँ तपाईंको अनुहार साबुन पानीले धुनुहोस्‌। बच्चाहरूको अनुहार पनि धोइदिनुपर्छ। फोहोर अनुहारले झिंगालाई आकर्षित गर्छ जसले कीटाणुहरू बोकेको हुन्छ। यी कीटाणुहरूद्वारा आँखाको संक्रमण अनि अन्धोसमेत हुन सक्छ।

तपाईंको बच्चाको आँखा नियमित तवरमा जाँच्ने गर्नुहोस्‌। स्वस्थ आँखा सुख्खा हुँदैनन्‌ र चम्किला हुन्छन्‌। आँखा सुख्खा, रातो वा पिरो वा आँखाबाट पानी बगेको खण्डमा बच्चालाई स्वास्थ्य कार्यकर्ता वा डाक्टरकहाँ जँचाउनुपर्छ।

४ सफा पानी मात्र चलाउनुहोस्‌

सफा पानी चलाउँदा र त्यसलाई कीटाणुमुक्‍त गर्दा परिवारमा कम मात्र बिरामी पर्छन्‌। राम्ररी निर्माण गरिएको अनि स्याहारसम्भार गरिएको पाइप वा प्रदूषणरहित इनार वा मुहानबाट पानी आउँछ भने सायद त्यो सफा होला। पोखरी, नदी र खुला ट्यांकी वा इनारको पानी सफा हुने सम्भावना कम हुन्छ तर यसलाई उमालेर सफा बनाउन सकिन्छ।

इनारहरू छोप्नुपर्छ। इनारबाट पानी झिक्न प्रयोग गरिने बाल्टिन, डोरी र भाँडाहरू नियमित तवरमा धोएर भुइँमा होइन तर सफा ठाउँमा राख्नुपर्छ। जनावरहरूलाई पिउने पानीको मूल र परिवार बस्ने ठाउँबाट टाढा राख्नुपर्छ। पानीको मूल नजिकै कीटनाशक वा रासायनिक पदार्थहरू प्रयोग नगर्नुहोस्‌।

घरमा पानीलाई ढकनी भएको सफा भाँडोमा राख्नुपर्छ। धारो भएको भाँडोमा पानी राख्नु बेस हुन्छ। धारो छैन भने सफा डाडु वा कपले पानी उघाउनुपर्छ। पिउने पानीलाई फोहोर हातले कहिल्यै छुनु हुँदैन।

५ खानालाई कीटाणुहरूबाट जोगाउनुहोस्‌

खानालाई राम्ररी पकाएर कीटाणुहरू मार्न सकिन्छ। खानेकुरा, विशेष गरी माछामासुलाई राम्ररी पकाउनुपर्छ। तातो खानामा कीटाणुहरू चाँडचाँडो बढ्‌छन्‌। तसर्थ, सकेसम्म खाना पाक्ने बित्तिकै खानुपर्छ। दुई घण्टाभन्दा बढी समयको लागि खाना नखाई राख्नुपऱ्‍यो भने तातो वा चिसो ठाउँमा राख्नुहोस्‌। साथै, अर्को पटकको लागि खाना साँचेर राख्नुपर्छ भने छोपेर राख्नुहोस्‌। यसो गर्दा झिंगा र कीराहरूबाट जोगाउन सकिन्छ। खाना खानुअघि फेरि तताउनुहोस्‌।

शिशु तथा साना बच्चाहरूको लागि आमाको दूध नै सबैभन्दा राम्रो र सुरक्षित हो। नउमालेको दूधभन्दा जनावरको उमालेको दूध वा कीटाणुमुक्‍त गर्न पाश्‍चर गरिएको दूध सुरक्षित हुन्छ। दूधदानी प्रत्येक चोटि प्रयोग गर्नुअघि उम्लेको पानीले सफा नगरिकन प्रयोग नगर्नुहोस्‌। दूधदानीमा अक्सर पखाला लगाउने कीटाणुहरू हुन्छन्‌। बच्चाहरूलाई स्तनपान गराउनु वा सफा, साधारण कपबाट खुवाउनु बेस हो।

फलफूल तथा तरकारीहरू सफा पानीले धुनुहोस्‌। बच्चाहरू वा साना केटाकेटीलाई काँचै खान दिने हो भने यसो गर्नु झनै महत्त्वपूर्ण छ।

६ घरको फोहोर राम्ररी थान्कोमान्को लगाउनुहोस्‌

झिंगा, साङ्‌ला, छुचुन्द्रो र मुसाले कीटाणुहरू बोकेका हुन्छन्‌। यी प्राणीहरू फोहोरमा फस्टाउँछन्‌। तपाईं बस्नुहुने इलाकामा फोहोर संकलन गर्ने प्रबन्ध छैन भने तपाईंको घरको फोहोर खाडलमा हाल्नुहोस्‌ जहाँ पुर्न वा दिनहुँ जलाउन सकिन्छ। तपाईंको घरलाई सफा राख्नुहोस्‌ अनि फोहोर तथा नालीको पानीबाट सुरक्षित बनाउनुहोस्‌।

तपाईंले नियमित तवरमा यी सुझावहरू लागू गर्नुभयो भने यो तपाईंको दैनिक जीवनको भाग नै भएको पाउनुहुनेछ। ती गर्न गाह्रो छैन अनि धेरै पैसा पनि खर्च गर्नु पर्दैन तर त्यसले तपाईं र तपाईंको परिवारको स्वास्थ्यको रक्षा गर्नेछ। (g03 9/22)

[पृष्ठ ११-मा भएको चित्र]

शौचालय वा चर्पी नभएका ठाउँहरूमा दिसा तुरुन्तै पुरिहाल्नुहोस्‌

[पृष्ठ १२-मा भएको चित्र]

नियमित तवरमा तपाईंको हात धुनुहोस्‌

[पृष्ठ १२-मा भएको चित्र]

सफा पानी चलाउँदा र त्यसलाई कीटाणुमुक्‍त गर्दा परिवारमा कम मात्र बिरामी पर्छन्‌

[पृष्ठ १२-मा भएको चित्र]

तपाईंको अनुहार दिनहुँ साबुन पानीले धुनुहोस्‌

[पृष्ठ १३-मा भएको चित्र]

अर्को पटकको लागि पाकेको खाना साँच्नुपर्छ भने छोपेर राख्नुहोस्‌

[पृष्ठ १३-मा भएको चित्र]

घरको फोहोर पुर्नुपर्छ वा दिनहुँ जलाउनुपर्छ