सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेसनको बदलिंदो रूप

फेसनको बदलिंदो रूप

फेसनको बदलिंदो रूप

हामीले चाल पाएका छौं कि छैनौं, तर के लगाउने भनेर हामीले दिनहुँ गर्ने निर्णयलाई केही हदसम्म फेसनले असर गरिरहेको हुन्छ। आखिर, बजारमा उपलब्ध हुने सामानहरूमा पनि फेसनले निकै प्रभाव पारेको हुन्छ।

अहिले हामीले सामान्य ठान्‍ने लुगाहरू पनि कुनै समयको नयाँ स्टाइल थियो। उदाहरणका लागि, पुरुषको कमिज र टाई एक शताब्दीअघिको सबैभन्दा लोकप्रिय फेसन थियो। अनि महिलाहरूको स्वेटर, १९२० को दशकको स्थापित स्टाइल बन्यो।

फेसन उद्योगलाई दुइटा आधारभूत इच्छाले जगाउँछ—नवीनता र एकरूपता। प्रायः सबैजसोलाई नयाँ लुगा लगाउन मन पर्छ। त्यसैकारण हामी कहिलेकाहीं पुरानो लुगा झुत्रो भएकोले होइन तर केवल परिवर्तनको लागि लुगा किन्छौं। यसबाहेक, हामी ठाउँअनुसार पटक्कै नमिलेको लुगामा देखिन चाहँदैनौं, त्यसकारण हामी आफ्ना साथीभाइहरूले लगाउने स्टाइलसित केही हदसम्म मिलेको लुगा किन्छौं। शताब्दीयौंको दौडान वस्त्र उद्योगले नवीनता र एकरूपताको इच्छालाई पूरा गरेको छ र कहिलेकाहीं त्यसको नाजायज फाइदा उठाएको छ।

संक्षिप्त इतिहास

एउटा स्टाइल सृजना गर्न डिजाइनरहरूले पाँचवटा आधारभूत तत्त्वहरू प्रयोग गर्छन्‌: रङ, रूपरेखा अर्थात्‌ सिलुट, झोल्याइ अर्थात्‌ ड्रेप, सूत र लाइनको सन्तुलन (वा कपडाको सतहमा हुने बुट्टा)। यी पाँचै क्षेत्रमा डिजाइनर तथा सूचीकारहरूसामु उपलब्ध छनौटहरू वर्षौको दौडान धेरै वृद्धि भएको छ। उदाहरणका लागि, पुरातन मिश्रमा स्थानीय तवरमा उत्पादित छ्याङ्‌ग देखिने कपडा सबैले मन पराए अनि गरम मौसमको लागि यो सबैभन्दा उपयुक्‍त थियो। तर सुती कपडा रंग्याउन त्यति सजिलो नहुने हुँदा यो साधारणतया एउटै रङको हुन्थ्यो अर्थात्‌ सेतो मात्र। तैपनि, मिश्री फेसन डिजाइनरहरूले आफ्ना लुगाको झोल्याइ र रूपरेखा राम्रो होस्‌ भन्‍नाको लागि मुजामुजा बनाउँथे। यसरी संसारको सबैभन्दा चिरकालीन स्टाइलको जन्म भयो।

सा.यु. प्रथम शताब्दीसम्म नयाँ कपडा र रङ उपलब्ध भइसकेको थियो। बुनेको रेसम ढुवानी गर्ने मोल सुन जत्तिकै महँगो भए तापनि धनी रोमीहरूले चीन र भारतबाट ती आयात गरे। अर्को फेसनदार कपडा टायरको रङ्‌गिन ऊन थियो, यसको मूल्य प्रति किलोग्राम २,००० दिनार अर्थात्‌ एक जना साधारण कामदारको छ वर्षको तलब बराबर हुन सक्थ्यो। नयाँ रङ तथा कपडा उपलब्ध भएपछि धनी रोमी महिलाहरूले स्टोला अर्थात्‌ लामो खुकुलो बाहुला भएको बाहिरी पोसाक लगाउन सके र यो भारतबाट ल्याइएको नीलो सुती तथा चीनबाट ल्याइएको सायद पहेंलो रेसमबाट बनाइन्थ्यो।

बेला-बेलामा नयाँ स्टाइलहरू देखा परे तापनि विगतका युगहरूमा महँगो पोसाकको फेसन जिन्दगीभर रहिरहन्थ्यो। परिवर्तनहरू बिस्तारै हुन्थे अनि यसले प्रायजसो धनी-मानीलाई मात्र असर गर्थ्यो। तथापि, औद्योगिक क्रान्तिपछि फेसनले साधारण मानिसहरूलाई पनि असर गर्न थाल्यो।

उन्‍नाइसौं शताब्दीको दौडान धनी र गरिब दुवैको लागि लुगा उत्पादन गर्ने कारखानाहरू खुले। सुती उत्पादन गर्ने मेसिन तथा ऊनका मिलहरू जताततै देखा परे अनि कपडाको भाउ घट्यो। लुगा सिउने मेसिनले गर्दा सस्तो भाउमा कपडा उत्पादन गर्न सकिने भयो अनि नयाँ कृत्रिम रङहरूले गर्दा विभिन्‍न किसिमका रङ उपलब्ध भयो।

सामाजिक तथा प्राविधिक परिवर्तनहरूले पनि आमजनताको लुगाफाटोमा अझ महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्‍यो। पश्‍चिमी युरोप र उत्तर अमेरिकामा मानिसहरूसित खर्च गर्न बढी पैसा थियो। सन्‌ १८५० को दशकमा महिलाहरूको लागि पत्रिकाहरू प्रकाशित हुन थाले अनि त्यसको लगत्तै डिपार्टमेन्ट स्टोरहरूले स्ट्यान्डर्ड साइजमा तयारी लुगाहरू बेच्न थाले। साथै १९ औं शताब्दीमा चार्ल्स फ्रेडरिक वर्थले फेसन शोहरू सुरु गरे अनि तिनले सम्भाव्य ग्राहकहरूको चासो जगाउन साँच्चिकै मानिसहरू मोडेलको रूपमा प्रयोग गरे।

बीसौं शताब्दीमा रेयन, नाइलन र पोलिस्टरजस्ता नयाँ कृत्रिम रेसाहरूले गर्दा उत्पादकहरूले थरीथरीका कपडाहरूबाट छान्‍न पाए। कम्प्युटरमा तयार पारिएका डिजाइनहरू प्रयोग गरेर नयाँ-नयाँ स्टाइल बनाउन सजिलो भयो अनि विश्‍वव्यापीकरणले गर्दा टोकियो, न्यु योर्क, पेरिस र साऊ पावलोमा एकै चोटि नयाँ फेसनहरू देखा पर्न सके। त्यतिन्जेल, डिजाइनर तथा उत्पादकहरूले आफ्ना उत्पादनहरू प्रवर्धन गर्न नयाँ तरिकाहरू पत्ता लगाएका छन्‌।

आज, फेसनका सबैभन्दा जोसिला समर्थकहरू धनीहरू नभई जवान मानिसहरू भएका छन्‌। करोडौं युवाहरूले हरेक महिना नयाँ लुगाहरू किन्छन्‌ अनि फेसन उद्योगले हरेक वर्ष खरबौं डलर बराबरको लुगा उत्पादन गर्छ। a तर के यसका अदृश्‍य पासोहरू छन्‌? (g03 9/08)

[फुटनोट]

a हालैको एउटा वर्ष, उत्पादन गरिएको कपडाको मूल्य ३,३५,००,००,००,००० अमेरिकी डलर भएको अनुमान गरियो।

[पृष्ठ ४, ५-मा भएको पेटी/चित्र]

फेसन सुरु गर्नेहरू

शताब्दीयौंसम्म राजा तथा कुलीनहरूले लुगाको स्तर बसाल्थे। सत्रौं शताब्दीमा फ्रान्सका राजा लुइस तेह्रौंले आफ्नो तालु-खुइले टाउको छोप्न नक्कली कपाल लगाउने निर्णय गरे। केही समय बित्न नपाउँदै अन्य युरोपेली कुलीनहरूले आफ्नो टाउको मुडुल्लै पारेर नक्कली कपाल लगाउन थाले अनि यो स्टाइल एक शताब्दीभन्दा लामो समयसम्म रह्‍यो।

उन्‍नाइसौं शताब्दीमा महिलाहरूको पत्रिकाले फेसनलाई अझ प्रख्यात बनायो अनि महिलाहरूले आफै लुगा सिउन सकून्‌ भनेर सस्तो ड्राफ्टसमेत उपलब्ध गरायो। बीसौं शताब्दीमा चलचित्र तथा टेलिभिजनले लोकप्रियता कमाएपछि कलाकारहरू अन्तरराष्ट्रिय आदर्शहरू भए अनि फेसनमा नयाँ लहड बसाले। लोकप्रिय संगीतकारहरूले उग्र स्टाइलहरू गर्न थाले अनि थुप्रै युवाहरूले यसको चाँडै नक्कल गरे। आज, खासै केही परिवर्तन भएको छैन किनभने विज्ञापनदाताहरूले फेसन शो, चिल्ला पत्रिका, बिलबोर्ड, पसलका झ्यालहरू र टेलिभिजन विज्ञापनहरूमार्फत नयाँ लुगाहरूको माग जगाउन छोडेका छैनन्‌।

[चित्र]

राजा लुइस तेह्रौं

[स्रोत]

From the book The Historian’s History of the World

[पृष्ठ ४-मा भएको चित्र]

यो पुरातन मिश्री सुती कपडा संसारको सबैभन्दा चिरकालीन फेसन थियो

[स्रोत]

Photograph taken by courtesy of the British Museum

[पृष्ठ ४-मा भएको चित्र]

पुरातन रोममा महिलाहरूले स्टोला लगाउँथे

[स्रोत]

From the book Historia del Traje, 1917

[पृष्ठ ४-मा भएको चित्र]

किमोनो लगभग सा.यु. ६५० देखि अहिलेसम्म अस्तित्वमा छ

[स्रोत]

From the newspaper La Ilustración Artística, Volume X, 1891

[पृष्ठ ५-मा भएको चित्र]

विगतका युगहरूमा महँगा पोसाकहरू जिन्दगीभरि नै फेसनमा रहिरहन्थे

[स्रोत]

EclectiCollections

[पृष्ठ ५-मा भएको चित्र]

औद्योगिक क्रान्तिले साधारण मानिसलाई फेसनबारे अझ सजग बनायो

[स्रोत]

EclectiCollections