सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विज्ञान नै मेरो धर्म थियो

विज्ञान नै मेरो धर्म थियो

विज्ञान नै मेरो धर्म थियो

केन्‍नेथ तानाकाको वृत्तान्तमा आधारित

“सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीको (क्याल्टेक) एउटा छापमा अंकित यी शब्दहरूले मलाई वैज्ञानिक ज्ञानमा उत्कृष्टता हासिल गर्न प्रेरित गऱ्‍यो। सन्‌ १९७४ मा त्यहाँ भर्ना भएपछि मेरो लागि अनुसन्धान वैज्ञानिक बन्‍ने बाटो खुल्यो। भूगर्भशास्त्रमा स्नातक तथा स्नातकोत्तर पूरा गरेपछि, मैले सान्ता बारबराको युनिभर्सिटी अफ क्यालिफोर्नियामा आफ्नो पढाइ अघि बढाएँ।

वैज्ञानिकको हैसियतमा प्रगति गर्दै जाँदा, मेरो आध्यात्मिक दृष्टिकोण तथा मूल्य-मान्यताहरूमा पनि ठूला परिवर्तनहरू भए। विकासवादसम्बन्धी सिद्धान्तबारे पाएको प्रशिक्षणले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई निसासिदिएको भए तापनि पछि म आफ्ना दृष्टिकोणहरूबारे पुनर्विचार गर्न बाध्य भएँ। एक जना अनुसन्धान भूगर्भशास्त्री भईकन म कसरी परमेश्‍वरको भक्‍त उपासक पनि बन्‍न पुगें? म यसबारे बताउन चाहन्छु।

ब्रह्‍माण्ड देखेर विस्मित एउटा फुच्चे

सानै उमेरदेखि म विज्ञानप्रति आकर्षित भएँ। स.रा.अ.-को वाशिंगटन, सिआटलमा हुर्कंदै गर्दा मेरा आमाबाबुले मलाई शैक्षिक उत्कृष्टता हासिल गर्न बच्चैदेखि एकदमै प्रोत्साहन दिनुहुन्थ्यो। मलाई ब्रह्‍माण्डसम्बन्धी कुराहरू जस्तै—भौतिक पदार्थ तथा जीवन बन्‍ने ससाना एकाइ, आधारभूत शक्‍तिहरू, अन्तरिक्ष, समय, सापेक्षताबारे पढ्‌न रमाइलो लाग्थ्यो। म लगभग आठ वर्षको हुँदा विज्ञानप्रति मेरो आकर्षण प्रस्ट भयो र म पढ्‌ने स्कूलले विज्ञान शिक्षकसित म एक्लैको निम्ति हप्तावारी कक्षाको व्यवस्था मिलायो।

म ब्याप्टिस्ट चर्चको आइतबारे स्कूलमा जान्थें तर अक्सर पैदल यात्रा र क्याम्पिङ्‌मा जान म त्यहाँ जाने गर्थें। मेरा परिवारका अरू सदस्यहरूले भने धर्म वा परमेश्‍वरप्रति कुनै चासो देखाएनन्‌। जसै मलाई इतिहास र धर्मले गरेको अत्याचारबारे थाह भयो, मेरो अन्तस्करणले मलाई चर्चका क्रियाकलापहरूमा सहभागी नहुन प्रेरित गऱ्‍यो। विज्ञानले प्रायः सबैजसो कुराबारे बताउन सक्नेजस्तो देखिएकोले मलाई परमेश्‍वरको अस्तित्वबारे पनि शंका लाग्न थाल्यो।

मार्ग परिवर्तन—अझै ठूलो परिवर्तन बाँकी

भौतिक विज्ञान पढ्‌ने विचारले मैले कलेजमा निवेदन दिएँ, तर उच्च माध्यामिक तहको अन्तिम वर्षमा मैले भूगोल विषय लिएँ। यसमा वाशिंगटन राज्यको नामुद चट्टाने क्षेत्रको अवलोकन भ्रमण पनि समावेश थियो। मैले यस्तो विचार गरें: ‘बाहिर खुला ठाउँप्रतिको मेरो प्रेम र विज्ञानप्रतिको प्रेमलाई सँग-सँगै लैजान पाए कत्ति राम्रो हुन्थ्यो होला!’

त्यसकारण कलेजमा भर्ना हुने बित्तिकै मैले विषय परिवर्तन गरेर मुख्य विषयको रूपमा भूगोल लिएँ। म भर्ना भएको कुनै-कुनै कक्षामा जीवावशेषको आधारमा भौगर्भिक समय तथा पृथ्वीको इतिहासको अध्ययन गर्नुपर्थ्यो। जीवावशेषको सन्दर्भमा प्राणीहरू विकासवादबाट उत्पत्ति भए भनेर मलाई सिकाइएको थियो। मेरो विचारमा चाहिं विकासवादको सिद्धान्त अझ प्रमाणित हुन बाँकी नै थियो। तैपनि, सिद्धान्तको रूपमा हेर्ने हो भने प्राप्त भौगर्भिक प्रमाणहरूको कारण प्रख्यात सृष्टिवादको तुलनामा विकासवाद नै उपयुक्‍त व्याख्या हो जस्तो मलाई लाग्थ्यो। सृष्टिवादमा विश्‍वास गर्ने र विकासवादमा विश्‍वास गर्नेहरूबीच क्याम्पसमा वादविवाद प्रतियोगिता आयोजना हुँदैछ भन्‍ने सुनेपछि, मैले त्यहाँ नजाने निर्णय गरें। सृष्टिवादमा विश्‍वास गर्ने कोही-कोहीले दाबी गरेझैं पृथ्वी एक हप्ताभन्दा कम समयमा बनेको थिएन भन्‍ने कुरा स्पष्ट थियो!

मेरो एकदमै कडा धर्मविरोधी दृष्टिकोणको बावजुद संयुक्‍त राज्य अमेरिकाको दक्षिणपश्‍चिमी भागको भूगोल अध्ययन गर्न मैले गरेको यात्राले परमेश्‍वरको अस्तित्वबारे मेरो सोचाइ पुनरावलोकन गर्न मलाई बाध्य तुल्यायो। त्यहाँ, मरुभूमिमाथिको सफा आकाशमा भव्य आकाशीय दृश्‍य देख्दा, यो ब्रह्‍माण्ड परमेश्‍वरले नै सृष्टि गर्नुभएको हुनुपर्छ भन्‍ने निष्कर्षमा नपुगी मैले धरै पाइनँ। ब्रह्‍माण्डको सुरुवात छ भन्‍ने कुरा खगोलशास्त्रीहरूले पुष्टि गरिसकेका थिए तर यो किन सृष्टि गरियो भनेर विज्ञानले पूर्णतया व्याख्या गर्न सक्दैन भनेर मलाई थाह थियो। एक जना बुद्धिमान्‌, शक्‍तिशाली सृष्टिकर्ताले हामी वरपरको ब्रह्‍माण्ड डिजाइन गर्नुका साथै बनाउनुभएको हो भनेर विश्‍वास गर्नु तार्किक देखिन्थ्यो।

मंगल ग्रहको नक्सा कोर्दै, प्रश्‍नहरू सोध्दै

सन्‌ १९८३ मा, २७ वर्षको उमेरमा मैले भूगर्भ विज्ञानमा विद्यावारिधि प्राप्त गर्ने बेला, म यु. एस. जिओलोजिकल सर्वेको लागि मंगल ग्रहको भौगोलिक नक्सा कोर्दै थिएँ। त्यस बेलादेखि यता वैज्ञानिकहरू र जनसाधारण दुवैको लागि मैले ग्रहहरूको भूगोलसम्बन्धी दर्जनौं लेख तथा नक्साहरू प्रकाशन गरिसकेको छु। नेशनल एरोनाउटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसनको (नासा) सल्लाहकार समितिमा सेवा गर्दा मैले मंगल ग्रहमा पठाइने अन्तरिक्ष टोलीलाई सहयोग गर्ने काम गरें। मेरो अनुसन्धान तथा पेसागत जिम्मेवारीको सिलसिलामा मैले थुप्रै देश, विश्‍वविद्यालय तथा अनुसन्धान संस्थाका वरिष्ठ खगोलविद्‌हरूलाई भेटेको छु।

ती सबै प्रशिक्षण तथा अनुसन्धानसम्बन्धी अनुभवले सानोमा मैले विज्ञानप्रति राख्ने गरेको काल्पनिक दृष्टिकोण बिस्तारै-बिस्तारै सच्यायो। विज्ञानसित सबै प्रश्‍नहरूको जवाफ छैन र हुने पनि छैन भन्‍ने कुरा मैले बुझें। विशेष गरी विज्ञानले जीवनमा चिरस्थायी उद्देश्‍य वा अर्थ दिन सक्दैन भन्‍ने कुरा मैले बुझें। वर्तमान वैज्ञानिक धारणाले पूर्वानुमान गरेअनुसार ब्रह्‍माण्ड अचानक खुम्चिएर अस्तित्वहीन हुनेछ वा आकारविहीन पिण्डमा परिणत भएर विलीन हुनेछ। यदि अन्तमा गएर अस्तित्वविहीन नै हुने हो भने यो अस्तित्वमा हुनुको के नै उद्देश्‍य हुन्छ र?

नयाँ मार्गको लागि योजना बनाउँदै

सेप्टेम्बर १९८१ मा, म फ्ल्यागस्टाफ, एरिजोनामा छँदा यहोवाका साक्षीहरूसित मेरो सम्पर्क भयो। तिनीहरूलाई र बाइबललाई गलत साबित गर्ने उद्देश्‍यले मैले बाइबल अध्ययन स्वीकारें। साथै, यसले मलाई वास्तवमा बाइबलमा के छ भनेर थाह पाउन पनि मदत गर्ने थियो।

धर्मशास्त्रीय शिक्षाहरू होसियारीसाथ खोज-तलास गर्न मैले हरेक हप्ता थुप्रै घण्टा बिताउन थालें। मलाई छक्क पारेको कुरा, मैले बाइबलका पृष्ठहरूमा ठोस ज्ञान र गहिरो अन्तरदृष्टि पाएँ। बाइबलको वैज्ञानिक यथार्थता जाँच गर्दा र मानव इतिहासको हजारौं वर्षहरूका दौडान हुने घटनाहरूको सन्दर्भमा गरिएका सयौं भविष्यवाणीहरू पूरा भएको देख्दा म मन्त्र-मुग्ध भएँ। विशेष गरी, बाइबलका—दानियल र प्रकाशको पुस्तकका—थुप्रै भविष्यवाणीहरूको समायोजनले हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भनेर ठम्याउन सक्ने ठोस आधार कसरी दिन्छ भन्‍ने कुराद्वारा म प्रभावित भएँ।—२ तिमोथी ३:१.

बाइबल अध्ययन गरेर म अन्जानमै उत्कृष्ट सरसंगतिमा मुछिन पुगें। अहिलेसम्मका सबैभन्दा ठूला वैज्ञानिक व्यक्‍तित्वहरूमध्ये एक भनेर चिनिएका सर आइज्याक न्युटन बाइबलको श्रद्धा गर्थे र तिनले उत्सुकतापूर्वक यसको अनुसन्धान गरे भनी मैले पछि थाह पाएँ। न्युटनले जस्तै मैले पनि मुख्य-मुख्य ऐतिहासिक घटना तथा विकासक्रमहरूबारे अगमवाणी गरिएको, दानियल तथा प्रकाशका भविष्यवाणीहरूमा ध्यान केन्द्रित गरें, जुन साँच्चै पूरा भएका छन्‌। a तथापि, मैले न्युटनको समयभन्दा पछि पूरा भएका थुप्रै भविष्यवाणीहरूको पूर्तिको दौडान बाँच्ने विशेष सुअवसर पाएँ। यी भविष्यवाणीहरू एकदमै विविध तथा विस्तृत हुनुका साथै अचूक र अकाट्य छन्‌ भन्‍ने कुरा थाह पाएँ। चालीसभन्दा बढी पुरुषहरूले १,६०० वर्षभन्दा बढीको समयावधिमा लेखेको सम्पूर्ण बाइबलमा मानवजातिले भोगिरहेका मुख्य समस्याहरू तथा तिनीहरूको भविष्यबारे आन्तरिक सामञ्जस्यता, सम्बद्धता र जोडदार सन्देश पाइन्छ भन्‍ने कुरा बुझ्न यसले मेरो आँखा खोलिदियो।

तथापि, विकासवादमाथि आफ्नो विश्‍वास त्याग्न सजिलो भएन। यो सिद्धान्तलाई समर्थन गर्ने जोडदार वैज्ञानिक प्रमाणहरूलाई म आदर गर्थें। तैपनि, भौतिक संसारबारे बाइबलका सबै भनाइहरू थाह भएका तथ्यहरूसित पूर्णतया सामञ्जस्यपूर्ण र गलत साबित गर्न नसकिने भएको कुरा मैले फेला पारें।

बाइबलको विस्तृत तथा एकअर्कासित सम्बन्धित विषयवस्तुको पूर्ण, सम्बद्ध समझ हासिल गर्ने हो भने कसैले पनि उत्पत्तिको पुस्तकको सृष्टिको विवरण लगायत एउटा पनि शिक्षा बेवास्ता गर्न सक्दैन भनेर मैले बुझें। त्यसकारण सम्पूर्ण बाइबल सत्य हो भनेर स्वीकार्नु नै एक मात्र तार्किक निष्कर्ष हो भनेर मैले स्पष्टसित बुझें।

सत्यको लागि चिरस्थायी खोज

औपचारिक वैज्ञानिक अनुसन्धानमा सामेल हुँदा, केही समयको लागि सबैले स्वीकारेका सिद्धान्तहरू पछि गएर गलत साबित भएको कुरा मैले धेरै चोटि देखें। वैज्ञानिकहरूका लागि चुनौतीपूर्ण कुरा के हो भने, एकातिर हामीले अध्ययन गर्ने विषय जटिल छ भने अर्कोतिर आँकडा तथा अनुसन्धान सामग्रीहरू सीमित छन्‌। कुनै सिद्धान्तहरू जतिसुकै होसियारीसाथ तयार पारिएका भए तापनि प्रमाणित नभएका सिद्धान्तहरूलाई तथ्यको रूपमा स्वीकार्नदेखि होसियार रहन मैले सिकेको छु।

वास्तवमा भन्‍ने हो भने, विज्ञानले हाम्रो भौतिक संसारका थुप्रै आधारभूत पक्षहरूको वर्णन गर्न सक्दैन। उदाहरणको लागि, जीवनका साना एकाइ र त्यसलाई सञ्चालन गर्ने भौतिक नियमहरू, जटिल जीवन प्रकिया तथा जीव परिवृत्ति पद्धति चालु राख्नको लागि किन एकदमै उपयुक्‍त छन्‌? परमेश्‍वरसम्बन्धी कुराहरू प्रकट गर्न विज्ञान सक्षम छैन तर उहाँको प्रेरित वचनले सृष्टिकर्ताको हैसियतमा उहाँको अस्तित्व तथा क्रियाकलापहरूको ठोस प्रमाण दिन्छ। (२ तिमोथी ३:१६) यो आध्यात्मिक ज्ञानद्वारा हाम्रो भौतिक संसारमा प्रस्टै देखिने शक्‍ति, बुद्धि र सुन्दरताको लागि जिम्मेवार व्यक्‍तिको हामी मूल्यांकन गर्न सक्छौं।

लाइफ—हाऊ डिड्‌ इट गेट हेयर? बाइ इभोलुसन अर बाइ क्रिएशन? तथा इज देअर अ क्रिएटर हु केअर्स अवाउट यु? भन्‍ने पुस्तकहरूलगायत यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्‍न पुस्तकहरूको सूक्ष्म परीक्षणद्वारा बाइबलको वैज्ञानिक यथार्थताबारे मेरो विश्‍वास अझ बलियो भयो। यी प्रकाशनहरूले गहिरा वैज्ञानिक विषयहरू विश्‍लेषण गर्छन्‌ अनि वर्तमान अनुसन्धान तथा प्रमुख विशेषज्ञहरूको निष्कर्षबारे गहिरो अन्तरदृष्टि दिन्छन्‌। साथै, यिनीहरूले थाह भएका वैज्ञानिक तथ्यहरू तथा बाइबलको सही समझबीचको सामञ्जस्यताबारे छलफल गर्छन्‌।

उदाहरणका लागि, जीवावशेषहरूको रेकर्ड र उत्पत्तिको पुस्तकमा वर्णन गरिएको जीवित प्राणीहरू देखिने क्रम मेल खान्छ। साथै, पृथ्वीको इतिहास वर्णन गर्दा विज्ञानले “काल” तथा “युग” भन्‍ने पदावली चलाएझैं, प्राचीन समयका मानिसहरूले पनि सृष्टिको दिनलाई लामो समयावधिको रूपमा बुझेका हुन सक्छन्‌। त्यसैले, बाइबल विज्ञानले पत्ता लगाएका कुराहरूसँग बाझिंदैन। यसले सृष्टिका दिनहरू युगौंसम्म चलिरह्‍यो भनेर संकेत गर्छ। यसले ती हरेक दिन २४ घण्टा लामो थियो भनी विश्‍वास गर्ने सृष्टिवादमाथि भरोसा गर्नेहरूको निष्कर्षलाई समर्थन गर्दैन।

विश्‍वास विरुद्ध सहज पत्यार

एक जना वैज्ञानिक भएको कारण मलाई सहज पत्यार मनपर्दैन। तर ठोस आधार भएको विश्‍वासप्रति म गहिरो आदर गर्छु। यस्तो भरपर्दो विश्‍वासबारे हिब्रू ११:१ मा यसरी वर्णन गरिएको छ: “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।” परमेश्‍वरका प्रतिज्ञाहरूमाथिको विश्‍वास बाइबल परमेश्‍वरद्वारा प्रेरित हो भन्‍ने स्थापित प्रमाणमा आधारित छ। मैले धर्मशास्त्रसित मेल नखाने, सामान्य तर आधारहीन धार्मिक सिद्धान्तहरू त्याग्नुपर्ने आवश्‍यकता महसुस गरें। यसमा अमर आत्मा, नरककुण्ड, त्रिएक तथा अरू शिक्षाहरू समावेश छन्‌। यस्ता त्रुटिपूर्ण सिद्धान्तहरू प्राचीन दर्शन तथा पौराणिक कथाबाट वा राम्रोसित बाइबल नबुझेको कारण उत्पन्‍न भए। झूटा शिक्षाहरू पछ्याउँदा यसले आज थुप्रै धर्मका अनुयायीहरूलाई ‘निराधार विश्‍वासतर्फ’ डोऱ्‍याएको छ, जसको कारण थुप्रै वैज्ञानिकहरूले धर्मप्रति त्यति चासो लिंदैनन्‌।

वैज्ञानिकको हैसियतमा मेरा प्रमुख जिम्मेवारीहरूमध्ये एउटा मैले अनुसन्धान गरेर थाह लगाएका कुराहरूलाई व्यख्या गर्नु, त्यसबारे बहस गर्नु र त्यसलाई फैलाउनु हो। त्यसरी नै, अरूलाई बाइबल सत्य सिकाउन पनि मैले बाध्य महसुस गरें किनभने योभन्दा महत्त्वपूर्ण ज्ञान अरू हुनै सक्दैन। मैले यो इनामदायी क्रियाकलाप स्वीकारें अनि लगभग २० वर्षअघि एक जना यहोवाको साक्षीको हैसियतमा बप्तिस्मा लिएँ। त्यसपछि, सेप्टेम्बर २००० मा, प्रचार क्रियाकलापमा मैले बिताउने समयलाई बढाएर हरेक महिना औसत ७० घण्टा पुऱ्‍याउन सकें। त्यस बेलादेखि यता मैले हरेक महिना दस जना जति जिज्ञासु व्यक्‍तिहरूसित बाइबल अध्ययन सञ्चालन गर्ने र थुप्रै विद्यार्थीहरू उत्सुक बाइबल शिक्षकहरू बनेको हेर्ने सुअवसर पाएको छु।

मलाई अझै पनि हाम्रो ब्रह्‍माण्ड आसपासमा पठाइएका जटिल अन्तरिक्षयानहरूको “आँखाद्वारा” मंगल ग्रह तथा ब्रह्‍माण्डका अरू भागहरूको अनुसन्धान गर्न रमाइलो लाग्छ। विज्ञानलाई चुनौती दिने थुप्रै रहस्यहरू बाँकी नै छन्‌। म यस्तो भविष्यको बाटो हेर्छु, जहाँ आध्यात्मिक तथा वैज्ञानिक दुवै प्रकारका ज्ञानको लागि मानिसले गरेको खोजीले हाम्रो जिज्ञासा मेटाउनेछ र हाम्रा गहिरा प्रश्‍नहरूको जवाफ दिनेछ। परमेश्‍वर तथा मानिसजातिको भविष्यको लागि उहाँको उद्देश्‍यबारे सही ज्ञानले जीवनमा साँचो अर्थ दिन्छ भन्‍ने कुरा मैले बुझेको छु अनि क्याल्टेकको एउटा छापमा कुँदिएका येशूका निम्न शब्दहरूको वास्तविक अर्थ पनि यही नै हो: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्‍ना ८:३२. (g03 9/22)

[फुटनोट]

a सन्‌ १७३३ मा प्रकाशित, अब्जर्भेसन अपन द प्रोफेसीज्‌ अफ डानियल, एण्ड दि एपोक्यालिप्स्‌ अफ सेन्ट जोन भन्‍ने आफ्नो पुस्तकमा सर आइज्याक न्युटनले बाइबलका पुस्तकहरू दानियल तथा प्रकाशका भविष्यवाणीहरूको समीक्षा गरे।

[पृष्ठ १५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“विज्ञानले प्रायः सबैजसो कुराबारे बताउन सक्नेजस्तो देखिन्थ्यो”

[पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“विज्ञानसित सबै प्रश्‍नहरूको जवाफ छैन र हुने पनि छैन”

[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मैले बाइबलका पृष्ठहरूमा ठोस ज्ञान र गहिरो अन्तरदृष्टि पाएँ”

[पृष्ठ १४-मा भएको नक्सा]

मंगल ग्रहको नक्सा

[पृष्ठ १६-मा भएको चित्र]

न्युटनजस्तै, म पनि बाइबलका पुस्तकहरू दानियल तथा प्रकाशद्वारा प्रभावित भएँ

[स्रोत]

University of Florida

[पृष्ठ १७-मा भएको चित्र]

मैले बाइबलबाट सिकेका कुराहरू अरूलाई बताउँछु

[पृष्ठ १४-मा भएको चित्रको स्रोत]

Top left: Courtesy USGS Astrogeology Research Program, http://astrogeology.usgs.gov; Mars map: National Geographic Society, MOLA Science Team, MSS, JPL, NASA; Mars surface: NASA/JPL/Caltech

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

Space photo: J. Hester and P. Scowen (AZ State Univ.), NASA