सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

समुद्रमा विपत्ति—धर्तीमा आपत्ति

समुद्रमा विपत्ति—धर्तीमा आपत्ति

समुद्रमा विपत्ति—धर्तीमा आपत्ति

स्पेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

विशाल समुन्द्रमा प्रेस्टिज नाउँ गरेको तेलको ट्याङ्‌कर चुहिन थालेपछि नोभेम्बर १३, २००२ मा पर्यावरणीय र आर्थिक विपत्ति सुरु भयो। क्षतिग्रस्त जहाजलाई बचाउने प्रयास असफल भयो अनि छ दिनसम्म झन्डै २०,००० टन तेल चुहिएपछि अन्ततः स्पेनको समुद्री किनारभन्दा झन्डै २०० किलोमिटर पर ट्याङ्‌कर दुई भागमा टुक्रिएर डुब्यो।

ट्याङ्‌कर मात्र होइन यसले ५०,००० टन भन्दा धेरै तेल साथमा लिएर डुब्यो अनि एक दिनमा झन्डै १२५ टन तेल चुहिने क्रम जारी रह्‍यो। तेल बाक्लो चिप्लो हिलोमा परिणत भयो अनि कुनै रोकटोकविना समुद्री किनारतर्फ बग्यो। अप्रशोधित इन्धन तेल च्यापच्याप अनि विषाक्‍त हुने हुनाले यसले वातावरणमा अत्यन्तै भयावह असर पाऱ्‍यो।

समुद्री किनार सफा गर्न प्रयासरत असंख्य स्वयम्‌सेवकहरूलाई वाफले असक्‍त बनायो। यसको अतिरिक्‍त, तेलबाट निस्किएको बाक्लो अलकत्रा चट्टानहरूमा कालो चुइङ्‌गम जस्तै टाँसियो। सेन्टर अफ डकुमेन्टेसन, रिसर्च एण्ड एक्सपेरिमेन्टेसन अन एक्सीडेन्टल वाटर पोलुसन अर्थात्‌ दुर्घटनाबाट हुने पानीको प्रदूषणको अनुसन्धान तथा परीक्षण गर्ने प्रलेखन केन्द्रका निर्देशक मीशेल गिरिनले यसो भन्दै विलौना गरे, “यो, इतिहासमा घटेका तेल चुहावटका भयावह दुर्घटनाहरू मध्ये एक हो।”

बहादूरीपूर्ण प्रयास

आफ्नो जीविकोपार्जनलाई संकटमा पार्ने तेलको बाक्लो हिलो हटाउन सयौं माझीहरू हप्तौंसम्म जुटे। समुद्री किनार कालो हुनुअघि अनि संसारकै सबैभन्दा उत्पादनशील मत्स्य क्षेत्रको विनाश हुनुअघि माझीहरूले ती अप्रशोधित तेल संकलन गर्न बहादूरी देखाए। कसै-कसैले चिल्ला बाक्ला चोइटाहरूलाई पानीबाट हातैले निकाले। एन्टोनियो नाउँ गरेका एक जना स्थानीय माझीले यसो भने, “यो ढाड भाँचिने काम थियो तर हामी जस्ता सानो डुंगा चलाउनेहरूका लागि यसो गर्नुबाहेक अरू विकल्प थिएन।”

एकातिर माझीहरू समुद्रबाट तेल संकलन गर्न संघर्ष गर्दै थिए भने अर्कोतिर स्पेनका चारै कुनाबाट आएका हजारौं स्वयम्‌सेवकहरू समुद्री किनार सफा गर्न जुट्‌दै थिए। पुनः प्रयोगमा नल्याइने घाँटीदेखि खुट्टासम्म छोप्ने सेता लुगा अनि माक्स लगाएका ती व्यक्‍तिहरू कुनै जैविक युद्ध लडिरहेका लडाकूहरूजस्ता देखिन्थे। तिनीहरूको काम परिश्रमपूर्वक तेललाई सावेलले उठाएर बाल्टिनमा राख्नु थियो र यसरी ती अप्रशोधित तेललाई अन्तै लगेर फ्याँक्न सकिन्थ्यो। माझीहरू जस्तै केही स्वयम्‌सेवकहरूले समुद्री किनारलाई मैल्याउने ती अप्रशोधित तेल हातैले हटाए।

विपत्तिजनक असरहरू

तटरेखा तहसनहस भएको उत्तरी गालिसियास्थित कोरकुबियनका मेयर रफाइल मुजोले यसो भने, “मुकिआमा पहिलो पटक बडेमाको कालो तेलको छाल समुद्री घाटमा बज्रिएको देख्दा मेरो त वेदनाले सासै जाला जस्तो भयो। तेलको चुवाहटले हाम्रो शहरका धेरै मनिसहरूको जीविकोपार्जनलाई असर गरेको छ।”

दुःखको कुरा, स्पेनको एक सुन्दर नयाँ राष्ट्रिय निकुञ्ज ला इसलास एट्‌लान्टिकाज्‌लाई (एट्‌लान्टिक टापुहरू) तेलको बाक्लो हिलोले असर गऱ्‍यो। विनाश हुनुअघि गालिसियाको सामुद्रिक किनारमा अवस्थित यी पाँच टापुहरूमा सामुद्रिक पंक्षीहरूको बाक्लो बस्ती थियो। विशेष गरेर वरपरको समुद्री चट्टानहरू सामुद्रिक प्रजातिहरूको लागि धनी मानिन्थ्यो।

डिसेम्बरको सुरुसम्ममा निकुञ्जका ९५ प्रतिशत तटरेखाहरू तेलले प्रदूषित भइसकेका थिए। पंक्षीविद्‌हरूले करिब १,००,००० चराहरू प्रभावित हुन सक्ने अनुमान गरे। गोताखोरहरूले जमेर ढिक्का भइसकेका ठूल्ठूला तेलका ढिस्काहरू समुद्री धरातलमा बगिरहेको समेत देखे अनि त्यसले नाजुक सामुद्रिक इकोसिस्टमको विनाश गर्दै थियो।

पंक्षी उद्धार केन्द्र सञ्चालन गर्ने जे होलकमले यस्तो रिपोर्ट दिए: “अधिकांश चराहरू डुबेर या हाइपोथर्मिया अर्थात्‌ शरीरको तापक्रम अत्यन्तै कम भएर मर्छन्‌। तेल तिनीहरूको पखेटामा सोसिएर फैंलिदै जाँदा शरीरलाई न्यानो पार्ने अनि पानी पस्न नदिने पखेटाको क्षमता नष्ट भएर जान्छ। साथै, निथ्रुक्क भिजेका लुगाले पौडीबाजलाई डुबाउन सकेझैं गह्रौ तेलले निथ्रुक्कै भिजेको पखेटाले तिनीहरूलाई तल तान्छ। . . . चराहरूको ज्यान बचाउन पाउँदा ठूलो सन्तुष्टिको अनुभूति हुन्छ चाहे त्यो संख्या थोरै किन नहोस्‌।”

‘पर्खिरहेको दुर्घटना’

सारा विश्‍व, उर्जाको लागि तेलमा निर्भर छ तर मूल्य कम गर्नको लागि तेल अक्सर जोखिमपूर्ण, अनि राम्रो अवस्थामा नरहेका जहाजहरूमा ढुवानी गर्ने गरिन्छ। त्यसैकारण, द न्यु योर्क टाइम्स-ले त्यसलाई “दुर्घटना हुनलाई नै पर्खिरहेको” भन्‍ने संज्ञा दियो।

गत २६ वर्षहरूमा गालिसियाको समुद्री किनारमा डुब्ने ट्याङ्‌करहरूमध्ये प्रेस्टिज तेस्रो हो। करिब दस वर्षअघि उत्तरी गालिसियामा ला कोरुन्या नजिकै एजियन सी नामक ट्याङ्‌कर डुब्यो, त्यसबाट ४०,००० टन अप्रशोधित तेल चुहियो, अनि यसको असरबाट अहिलेसम्म पनि समुद्री किनार नजिकैका केही भागहरू मुक्‍त हुन सकेका छैनन्‌। अनि १९७६ मा १,००,००० टनभन्दा धेरै विनाशकारी अप्रशोधित तेल लिएर सोही नदीमुखमा उर्किउला नामक जहाज डुब्यो।

हालैको विपत्तिलाई ध्यानमा राख्दै युरोपेली संघले दोहोरो आवरण नभएका सबै तेल बोक्ने ट्याङ्‌करहरूलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ। यद्यपि, पटक-पटक क्षतिग्रस्त भएको युरोपको सामुद्रिक तटरेखा जोगाउन यतिले पुग्ला कि नपुग्ला, त्यो हेर्न भने बाँकी नै छ।

स्पष्टतः मानव सरकार प्रदूषणमुक्‍त संसारको ग्यारेन्टी दिन असक्षम भएका छन्‌, चाहे त्यो तेलको चुहावट, कलकारखानाको विषाक्‍त फोहोर अथवा वातावरण प्रदूषण नै किन नहोस्‌। यद्यपि, मसीहीहरू त्यो समयको प्रतीक्षा गर्छन्‌ जब परमेश्‍वरको राज्यले हाम्रो ग्रहलाई प्रमोदवनमा परिवर्तन गर्ने जिम्मा लिनेछ अनि त्यो प्रमोदवन कहिल्यै प्रदूषित हुनेछैन।—यशैया ११:१, ९; प्रकाश ११:१८. (g03 8/22)

[पृष्ठ १९-मा भएको चित्र]

प्रेस्टिज जहाज डुब्दा त्यो सँगसँगै ५०,००० टन तेल पनि गयो

[स्रोत]

AFP PHOTO/DOUANE FRANCAISE