उद्देश्यपूर्ण जीवनको लागि मेरो जग
उद्देश्यपूर्ण जीवनको लागि मेरो जग
अर्नेस्टपान्डाचूकको वृत्तान्तमा आधारित
मेरो जन्म क्यानाडाको सास्काचेवानको घाँसे मैदानमा भएको थियो। म २३ वर्षको हुँदा अफ्रिका गएँ र त्यहाँ मैले ३५ वर्ष मिसनरीको हैसियतमा असाध्यै रोमाञ्चकारी जीवन बिताएँ। मेरो जीवनले कसरी यस्तो मोड लियो? संयोगले होइन। म आफ्नो कथा सुनाउँछु।
मेरो पहिलो घर केवल खम्बा, माटो र घाँसले बनेको थियो। यो घर हाम्रो परिवारलाई घाँसे मैदानको कठोर जाडोबाट बचाउन पर्याप्त थिएन। सन् १९२८ मा हामी नौ जना छोराछोरी जन्मनुअघि बुबा र आमाले हाम्रो घरमा आएका आगन्तुकबाट बाइबल साहित्य स्वीकार्नुभएको थियो। त्यसपछिको लामो हिउँदको दौडान उहाँहरूले यी साहित्यहरूको मदत लिएर बाइबल अध्ययन गर्नुभयो। त्यसपछिको वसन्त-ऋतुसम्ममा उहाँहरूलाई आफूले सत्य पाएको कुरामा पूरा विश्वास लागिसकेको थियो। उहाँहरूले यसबारे परिवार, साथी तथा छिमेकीहरू र अझ विशेष गरी आफ्ना छोराछोरीलाई बताउनुभयो।
मेरो जन्म १९३१ मा भयो र त्यसको लगत्तैपछि मेरा पाँच जना भाइबहिनी जन्मिए। बाइबल पढाइ र अध्ययन हाम्रो परिवारको बानी थियो। हामीले सँगै बिताएका बिहानीहरूबारे मलाई अझै मीठो सम्झना छ। घरमा पाहुनाहरू हुँदासमेत बुबा हामीसित बाइबल पद छलफल गर्न अग्रसर हुनुहुन्थ्यो। आमा र बुबा अनि ठूला छोराछोरीले पनि बाइबल आधारित साहित्यहरू पालैपालो ठूलो स्वरले पढ्ने गर्थ्यौं।
हामीलाई लेखपढ गर्न सिकाउनुको साथै बुबाले हामीलाई बाइबल अनुक्रमणिका चलाएर अनुसन्धान गर्न पनि सिकाउनुभयो। चाँडै हामीले आफ्नो विश्वासबारे अरूलाई बताउन बाइबल कसरी चलाउने भनेर सिक्यौं। यी आनन्ददायी छलफलहरूले मलाई बाइबल विषयहरूमा तर्क गर्न मदत गऱ्यो। समयमा मैले झूटा धार्मिक शिक्षाहरूको खण्डन गर्न बाइबल चलाउन सकें। आत्मा मर्छ, नरककुण्ड छैन अनि परमेश्वर र येशू बराबर हुनुहुन्न वा त्रिएकको भाग हुनुहुन्न भनी मैले प्रमाणित गर्न सकें।—उपदेशक ९:५, १०; इजकिएल १८:४; यूहन्ना १४:२८.
बुबा र आमाले आफ्नो उदाहरणबाट पनि सिकाउनुभयो र अरूले खिसी गरे तापनि सही कुराको लागि दृढ अडान लिन प्रोत्साहन दिनुभयो। उदाहरणका लागि, उहाँहरूले कहिल्यै सुर्ती सेवन गर्नुभएन र यसको हानिकारक असर अनि हामीले स्कूलमा यो सेवन गर्न सामना गर्न सक्ने
दबाबबारे चेतावनी दिनुभयो। मलाई बुबाका शब्दहरू अझै याद छ: “चुरोट तान्न नमान्दा तिमीलाई नामर्द भन्लान्। तर त्यो मानिसलाई यति मात्र सोध, ‘मर्द को हो? सुर्तीको नियन्त्रणमा बस्ने वा सुर्तीलाई नियन्त्रणमा राख्ने?’ ”बाइबल आधारित बाल्यकालको प्रशिक्षण पालन गर्ने कि नगर्ने भन्ने विषयमा ११ वर्षको उमेरमा मैले एउटा परीक्षाको सामना गर्नुपऱ्यो। त्यतिबेलासम्म दोस्रो विश्वयुद्ध सुरु भइसकेको थियो र स्कूलमा केटाकेटीले झण्डा सलामीमा भाग लिनुपर्थ्यो। मैले त्यसो गर्नु उपासना गर्नुसरह हुनेछ भनी बाइबल अध्ययनबाट बुझेकोले भाग लिन इन्कार गरें। यसले गर्दा म छ महिनाको लागि स्कूलबाट निकालिएँ।
यद्यपि, केही समयपछि मैले स्कूलको पढाइ सिध्याएँ र मार्च १९४७ मा पानीको बप्तिस्माद्वारा यहोवा परमेश्वरप्रति आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएँ। छ महिनापछि म अग्रगागी अर्थात् सुसमाचारको पूर्ण-समय उद्घोषक भएँ। सुरुमा, मैले दक्षिणी सास्काचेवानको विशाल भूभागमा किसान तथा पशु फार्मका मालिकहरूलाई साक्षी दिएँ। गर्मीमा म घोडामा यात्रा गर्थें भने हिउँदमा घोडाले तान्ने र छत भएको गाडा चलाउँथें जसलाई हामी कबुज भन्थ्यौं। यसलाई कोइलाको हिटरले तताइने हुँदा गाडा नपल्टिओस् भनेर बडो होसियार हुनुपर्थ्यो।
ग्रामीण इलाकाका मानिसहरू मित्रैला र अतिथिसत्कार गर्ने खालका थिए। तिनीहरूकहाँ साँझपख जाँदा तिनीहरूले अक्सर राती त्यहीं बस्न आग्रह गर्थे। त्यसपछि हुने जीवन्त बाइबल छलफलहरूको म साँच्चै कदर गर्छु! रातभरिको छलफलपछि सकारात्मक प्रतिक्रिया देखाउने पिटरसनहरूको एउटा परिवार थियो। अर्ल र तिनकी आमा यहोवाका जोसिलो साक्षी भए।
क्युवेकमा सेवा गर्दै
सन् १९४९ मा क्युवेक प्रान्तमा प्रचारकार्यमा मदत गर्न अग्रगामीहरूलाई गरिएको आग्रहलाई मैले स्वीकारें। पश्चिमी क्यानाडाका झन्डै २०० अग्रगामीहरूले यो आग्रह स्वीकारे। क्युवेकभरि जहाँसुकै खटाइन सक्ने कार्यभार स्वीकार्न तयार हुँदै तिनीहरू सेप्टेम्बर महिनामा मोन्ट्रियल शहरमा आइपुगे। यो कार्य साक्षीहरूलाई त्यस प्रान्तबाट पूरै हटाउने कसम खाएका क्याथोलिक प्रधानमन्त्री मरिस ड्युप्लेसिसको पालामा भएको थियो।
ती समयहरू चुनौतीपूर्ण तर व्यस्त तथा रोमाञ्चकारी थिए। यसमा फ्रान्सेली भाषा सिक्ने, पक्राउ पर्ने, हुलदंगाको आक्रमण र कट्टरपन्थी समर्थकहरूले मसीही सम्मेलनहरूमा बाधा पुऱ्याउने जस्ता कार्यहरू भोग्नु समावेश थियो। तथापि, त्यस्तो असहनशीलताका कारण म तर्सिनँ वा परमेश्वरको सेवकको रूपमा मेरो पेसालाई मैले त्यागिनँ। मेरा आमाबाबुले मलाई सही कुराप्रति प्रेम बसाल्न सिकाउनुभएको थियो र येशूले भविष्यवाणी गर्नुभएको विश्वव्यापी प्रचारकार्य सतावटको बावजुद पूरा हुनेछ भनी विश्वस्त गराउनुभएको थियो।—म क्युवेकमा रहँदा सास्काचेवानको एक जना विश्वासी अग्रगामी एमिली हाउरिशसित मेरो भेट भयो। जनवरी २७, १९५१ मा हाम्रो बिहे भएदेखि एमिली मेरो वफादार सहकर्मी र प्रोत्साहनदायी सँगी भएकी छिन्। सेवकाईमा पूर्णतया भाग लिने हाम्रो लक्ष्य भएको हुँदा हामीले वाचटावर बाइबल स्कूल अफ गिलियडको लागि आवेदन दियौं र निमन्त्रणा पनि पायौं। झन्डै छ महिना लामो यस स्कूलको कोर्सले सेवकहरूलाई मिसनरी सेवाको लागि तयार पार्छ। हामी फेब्रुअरी १९५३ मा गिलियडको २० औं कक्षाबाट स्तानक भयौं।
अफ्रिका जान आवश्यक कागजातहरू पर्खंदै गर्दा हामीलाई क्यानाडाको अल्बर्टा र ओन्टारियोस्थित यहोवाका साक्षीहरूको मण्डलीमा मदत गर्ने निमन्त्रणा दिइयो। ती दिनहरूमा मण्डलीहरूको भ्रमण गर्न हामी सार्वजनिक यातायात प्रयोग गर्थ्यौं। त्यसैले हामीले आफ्नो जीवनलाई सरल बनाउन र आफ्ना सबै सरसामान सुटकेसमा बोक्न सिक्यौं। केही महिनापछि हाम्रो यात्रा र प्रवेशाज्ञाका सबै कागजातहरू मिलेपछि हामी अहिले जिम्बावे भनिने दक्षिणी रोडेसियातर्फ लाग्यौं।
अफ्रिकी जीवन शैलीमा घुलमिल हुँदै
हामी पुगेको पाँच महिनामै हामीलाई जिम्बावे, बोत्स्वाना र उत्तरी रोडेसियाका (हाल जाम्बिया) दक्षिणी भागमा रहेका यहोवाका साक्षीहरूको समूहको भ्रमण गर्न खटाइयो। गिलियड स्कूलमा हामीलाई आफ्नो कर्मभूमिलाई आफू जन्मेको देशसित तुलना नगर्न र जस्तोसुकै परिस्थितिमा भए तापनि आफ्नो अनुभवबाट केही सिक्न सक्छौं भनी प्रोत्साहन दिइएको थियो। त्यस्तो बुद्धिमानी सल्लाहले हामीलाई आफ्नो सोचाइमा छाँटकाँट गर्न मदत गऱ्यो। आजसम्म पनि एमिली र म यो भनाइमा सहमत छौं, “यथासम्भव हरेक परिस्थितिको सदुपयोग गर्नुहोस्; त्यस्तो परिस्थिति फेरि कहिल्यै नदोहोरिन सक्छ।”
हामी ठाउँ-ठाउँमा जे भेटियो त्यही, अर्थात् रेल, बस, ट्रक वा साइकलमा यात्रा गर्थ्यौं। यो कष्टदायी थियो तर अन्य परिस्थितिले गर्दा “हरेक परिस्थितिको सदुपयोग” गर्ने हाम्रो अठोटको परीक्षा भयो। सुरुका दुई वर्ष कानुनी बन्देजहरूको कारण एमिली मसँगै गाउँ-गाउँको इलाकामा जान पाइनन्। त्यसैले मेरी नयाँ दुलही रेलमार्ग नजिकैको गाउँमा बस्नुपर्थ्यो, जहाँ अक्सर अरू साक्षीहरू थिएनन्। एमिलीको विश्वास, साहस र दृढताले मेरो मन उनीप्रतिको प्रेमले ओतप्रोत हुनुको अलावा ती ठाउँहरूमा राज्यफल पनि फलायो।
एक जना स्थानीय बासिन्दाकहाँ आवासको प्रबन्ध मिल्ने बित्तिकै एमिलीले म गाउँबाट नफर्कुन्जेल पूरै छरछिमेकमा प्रचार गर्थिन्। कहिलेकाहीं महिनाभरि उनी एक्लै प्रचार गर्थिन्। उनले यहोवाको बलवान बाहुलीमा भर परेर बल र सुरक्षा पाइन् र उनको सेवकाईले फल फलायो। एक चोटिको कुरा हो, रिता हानकोकले बाइबल सत्य स्वीकारिन् र पछि तिनका पतिले पनि साथ दिए। तिनी विश्वासी भाइ भए र आफ्नो मृत्यु नहोउन्जेल मसीही प्राचीनको हैसियतमा सेवा गरे। एमिलीले बाइबल सत्यको बीउ छरेका कतिपय शहरहरूमा आज फस्टाउँदा मण्डलीहरू छन्।
अफ्रिकी आतिथ्य र चातुर्य
साथै, ग्रामीण इलाकाका अफ्रिकी साक्षीहरूले यहोवाको संगठन तथा यसका परिभ्रमण प्रतिनिधिहरूप्रति देखाएको गहिरो मूल्यांकनले मेरो हृदय छोयो। यी मायालु मसीही भाइहरूले मेरो राम्रो हेरविचार गरे। हरेक सोमबार म एउटा सम्मेलन केन्द्रबाट अर्को ठाउँसम्म यात्रा गर्थें। मेरो बस्ने ठाउँचाहि भर्खरै बनाइएको घाँसको छाप्रो हुन्थ्यो जसले मलाई सास्काचेवानमा मेरो परिवारको घरको सम्झना गराउँथ्यो। मेरो पलङ ३० सेन्टिमिटर बाक्लो परालको ओछ्यान थियो र त्यसमा एउटा तन्ना बिछ्याइएको हुन्थ्यो।
यी ग्रामीण इलाकामा अक्सर जंगलमा सम्मेलनहरू आयोजना गरिन्थ्यो। उपस्थित व्यक्तिहरूले झारहरू उखेल्थे र लामा-लामा हाँगा भएका रूखहरू छहारीको लागि छोड्थे। घाँसचाहिं सफा मुठा पारेर बस्नको लागि लहरै राखिन्थ्यो। अनि पस्ने ठाउँमा घाँसको बार लगाइएको हुन्थ्यो। यस्तो प्राकृतिक परिवेशमा अफ्रिकी भाइबहिनीहरूले असाध्यै मिलेको सुरिलो स्वरमा यहोवाको प्रशंसा गाएको सुन्दा मेरो हृदय सधैं द्रवित हुन्थ्यो।
एउटा अविस्मरणीय अनुभव
सेवकाईको दौडान मैले एङ्गलिकन चर्चद्वारा सञ्चालित मिसन स्कूलको प्रमुख निरीक्षक गिडियोन जेन्डालाई भेटें। गिडियोनले आफ्नो विश्वविद्यालको शिक्षालगायत सम्पूर्ण शिक्षा चर्चमार्फत प्राप्त गरेका थिए। तथापि, तिनले थुप्रै बाइबल प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाएका थिएनन्। त्यसकारण तिनले ती प्रश्नहरूको छलफल गर्न तिनी र तिनका केही सहकर्मीहरूलाई भेट्न आग्रह गरे। स्कूलका निरीक्षक, प्रधानाध्यापक र शिक्षकहरूलगायत झन्डै ५० जना मानिस यस छलफल कार्यक्रमको लागि उपस्थित भए। गिडियोनले त्यस कार्यक्रमको सभापतित्व गरे। सिलसिलेवार ढंगमा हामी एकपछि अर्को विषयमा गयौं। प्रत्येक विषयमा मैले १५ मिनेट बोलें अनि प्रश्नहरूको जवाफ दिएँ। त्यो कार्यक्रम निकै घण्टासम्म चल्यो।
यस असामान्य सभाको फलस्वरूप गिडियोन, तिनको परिवार र तिनका थुप्रै सहकर्मीहरू यहोवाका बप्तिस्मा प्राप्त समर्पित सेवक भए। स्थानीय विशपले एङ्गलिकन शैक्षिक प्रणालीबाट तिनीहरूको नाउँ हटाइदिए। तथापि, तिनीहरूले हरेस खाएनन् र यहोवाको सेवामा दृढ रहे र कसै-कसैले अग्रगामी सेवकाई पनि थाले।
नाटकीय चलचित्रप्रति प्रतिक्रिया
सन् १९५४ मा यहोवाका साक्षीहरूले न्यु वर्ल्ड सोसाइटी इन एक्सन भन्ने चलचित्र विमोचन गरे। त्यसपछिको वर्ष श्रीमतीहरू आफ्ना श्रीमान्सँग गाम्रीण इलाकाहरूमा जान नपाउने नियम रद्द गरियो। यसले गर्दा एमिली गाउँहरूमा मसँगै जान सकिन्। त्यतिबेला हामीलाई एउटा सवारीसाधन, इलेक्ट्रिकल जेनरेटर र पूरै ग्रामीण इलाकाहरूमा चलचित्र देखाउन एउटा प्रोजेक्टर दिइयो। थुप्रैले यसअघि त्यस्तो चलचित्र कहिल्यै नदेखेको हुनाले धेरै मानिसहरू हेर्न आए। चलचित्रमा हाम्रो न्यु योर्क, ब्रूक्लिनस्थित ठूलो छापाखानामा बाइबल तथा बाइबल साहित्यहरू छापिने प्रक्रिया क्रमबद्ध ढंगमा देखाइएको थियो।
त्यस चलचित्रमा १९५३ मा न्यु योर्कको यांकी स्टेडियममा यहोवाका साक्षीहरू अन्तरराष्ट्रिय भ्रातृत्व उपासनामा भाग लिइरहेका दृश्यहरू पनि समावेश गरिएको थियो। यस्तो अन्तरजातीय एकता र प्रेम प्रदर्शन गरेको यी अफ्रिकीहरूले पहिला कहिल्यै देखेका थिएनन्। यस चलचित्रले थुप्रै जिम्बावेली परिवारहरूलाई बाइबल अध्ययन गर्न र साक्षीहरूसँग संगत गर्न उत्प्रेरित गऱ्यो। देशभरिका प्राध्यापकहरूले आफ्ना विद्यार्थीहरूलाई यो चलचित्र देखाउन आग्रह गरे किनभने सिकाउनको लागि त्यस्तो दृश्य माध्यम कत्तिको प्रभावकारी हुन सक्छ भनी तिनीहरूलाई थाह थियो।
एक दिन बेलुकातिर साक्षीहरूले मलाई चलचित्र देखाउन आग्रह गर्दै उठाए। झन्डै ५०० मान्छेहरू चलचित्र हेर्न घण्टौं हिंडेर आएको देख्दा म तीन छक परें। तिनीहरूले म त्यस इलाकामा छु र मैले देखाइरहेको चलचित्रको कुरा सुनेका रहेछन्। त्यो हूल फर्कुन्जेल झन्डै ३०० जनाको अर्कौ समूह आइपुगिसकेको थियो। त्यसैले मैले फेरि चलचित्र देखाएँ। सबैलाई चलचित्र देखाइसक्दा बिहान झन्डै तीन बजेको थियो! सत्र वर्षको अवधिमा जाम्बियामा मात्र एक लाख भन्दा धेरै मानिसहरूले उक्त प्रभावकारी चलचित्र हेरे!
अफ्रिकामा नयाँ असाइनमेन्ट
जिम्बावेमा साढेपाँच वर्षजति सेवा गरिसकेपछि हामीलाई दक्षिण अफ्रिका पठाइयो। यसको अर्थ हामीले अफ्रिकान्स भाषा भाषा सिक्नुपर्ने भयो। पछि हामीले सेसोथो र जुलु भाषा बोल्न पनि सिक्यौं। अरू भाषाहरूमा परमेश्वरको वचन सिकाउन सक्षम हुँदा सेवकाईमा हाम्रो प्रभावकारिता बढ्यो र केही उपलब्धिको अनुभूति भयो।
सन् १९६० तिर हामीलाई दक्षिण अफ्रिकामा परिभ्रमण कार्य गर्न खटाइयो। त्यसपछिको २७ वर्षसम्म हामीले लेसोथो, नामिबिया, दक्षिण अफ्रिका, स्वाजिल्याण्डका साथै दक्षिण आन्ध्र महासागरको असेन्सन र सेन्ट हेलेनाका टापुहरूमा व्यापक प्रचार गऱ्यौं। हाम्रा मसीही भाइबहिनीहरूको सेवा गर्दै हामीले हजारौं किलोमिटर यात्रा गऱ्यौं। जस्तोसुकै कठिन परिस्थितिमा पनि तिनीहरूको विश्वासी कार्य र वफादारीले हामीलाई कहिल्यै हरेस नखान प्रोत्साहित गरेको छ।
उदाहरणका लागि, राजा शोबुजा द्वितीयको मृत्यु हुँदा आफ्नो विश्वासमा सम्झौता नगरेका स्वाजिल्याण्डका भाइहरूलाई मैले व्यक्तिगत तवरमा चिन्ने मौका पाएँ। तिनीहरूले त्यस्ता सम्माननीय व्यक्तिहरूको मृत्युमा गरिने गैरधर्मशास्त्रीय रीतिहरूमा भाग लिन इन्कार गरेकाले तिनीहरू जागिरबाट निकालिए र नागरिक अधिकारबाट पनि वञ्चित गरिए। वर्षौंको अभाव र कष्टको बावजुद तिनीहरूले आफ्नो विश्वास
कहिल्यै त्यागेनन्। यी प्रशंसनीय मसीही भाइबहिनीहरूलाई प्रत्यक्ष भेटेर कुरा गर्न पाउनु एउटा ठूलो सुअवसर हो जसको लागि म सधैं यहोवाप्रति आभारी हुनेछु।अनि, अर्को अनुभव फिलेमोन माफारेका नाउँ गरेका एक जना अग्रगामीको छ, तिनी ३००० मिटर उचाइमा अवस्थित लेसोथोको मोखकोटलंग भन्ने ठाउँका थिए। त्यहाँ बाटोघाटोको कुनै सुविधा नभएकोले तिनी, तिनकी प्रिय पत्नी र दुई जना बच्चा अनि चार जना बप्तिस्मा लिने उम्मेदवारहरू १,००० मिटर उचाइमा रहेको ठाउँमा सम्मेलन धाउन १०० किलोमिटर हिंडे। धेरै ठाउँमा तिनीहरूले ठाडो ओरालो झर्नुपर्थ्यो। तिनीहरूले असंख्य नदी तथा खोलाहरू पार गर्दै हात खुट्टा टेक्दै तल झर्नुपर्थ्यो।
सम्मेलनपछि घरतिर लाग्दा तिनीहरूले द ट्रुथ द्याट लिड्स टु इटर्नल लाइफ नामक पुस्तकको एक सय प्रति लगे। यो पुस्तक मोखकोटलंगका मानिसहरूको निम्ति थियो। तर बाटोमा मानिसहरूले बाइबल साहित्यप्रति देखाइएको त्यति धेरै चासोको कारण घर पुग्नुअघि बाटोमै सबै पुस्तक सिद्धियो। फिलेमोन र तिनकी पत्नी जस्ता समर्पित मसीही भाइबहिनीहरूको जोस र भक्ति आफ्नै आँखाले देख्न पाउनु एमिली र मेरो निम्ति सुअवसरको कुरा भएको छ जसको हामी आजसम्म कदर गर्छौं।
कहिलेकाहीं हामीले गोमनजस्ता विषालु सर्प र एकैछिनमा उर्लने बाढी र अन्य खतराहरूको सामना गर्नुपऱ्यो। यस्ता अनुभवहरू त्यतिबेला एकदमै डरलाग्दो भए तापनि यहोवाको सेवामा पाएको इनाम तथा आनन्दहरू सम्झँदा ती ओझेलमा पर्छन्। उहाँले आफ्ना वफादार जनहरूलाई कहिल्यै त्याग्नुहुन्न भनेर हामीले सिक्यौं।
एमिलीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्दा यहोवाले हामीलाई सन्तुलित ढंगमा सामना गर्ने बुद्धि दिनुभयो। खानामा परिवर्तन र सरसफाइलाई अलि बढी ध्यान दिंदा निको हुन मदत गऱ्यो। हामीले यात्रा गर्दा एमिलीलाई सुबिस्ता होस् भनेर एउटा सानो ट्रकमा बास बस्ने ठाउँ बनायौं र समयमा तिनको स्वास्थ्य राम्रो भयो।
क्यानाडामा फिर्ता
सन् १९८८ मा मनमोहक अफ्रिकी महादेशमा ३५ वर्ष बिताएपछि हामीलाई फेरि क्यानाडामा खटाइयो। अनि १९९१ देखि मैले फेरि परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्न थालें। त्यसको आठ वर्षपछि मलाई मस्तिष्कघात भयो। त्यतिबेलादेखि मेरो गतिविधि अत्यन्तै सीमित भए तापनि म अझै ओन्टारियोको लण्डन भन्ने ठाउँको मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्दैछु।
आज म ५६ वर्षअघि सास्काचेवानमा घोडामा चढ्दै अग्रगामीको रूपमा सेवा गरेदेखि अहिलेसम्मको आफ्नो अतीतलाई सम्झँदा सन्तुष्टि महसुस गर्छु। बुबाले सत्य र धार्मिकताको लागि अडान लिन नडराउन, आध्यात्मिक व्यक्तिको रूपमा सोच्न सिकाउनुभएकोमा म कत्ति कृतज्ञ छु! उहाँले मलाई परमेश्वरको वचन सिकाउनुभयो जसले गर्दा मैले उद्देश्यपूर्ण जीवन बिताउन सकें। त्यो सम्पदा मैले कहिल्यै बिर्सेको छैन। यस संसारले दिने कुनै पनि कुराको लागि म यहोवाको सेवामा बिताएको आफ्नो जीवन साट्ने छैन। (g03 10/22)
[पृष्ठ २१-मा भएको चित्र]
सन् १९४९ मा हामी नौ जना छोराछोरी भएको परिवार, आमासँग सबैभन्दा कान्छो। म उहाँको पछाडि उभिरहेको छु
[पृष्ठ २२-मा भएको चित्र]
मैले सेवकाईमा प्रयोग गर्न यो “कबुज” बनाएँ
[पृष्ठ २२-मा भएको चित्र]
क्युवेकमा प्रचार गर्दा पक्राउ परेका स्त्रीहरू
[पृष्ठ २४-मा भएको चित्र]
जिम्बावेमा यी परिभ्रमण निरीक्षकहरूलाई सिकाउने कार्यमा भाग लिएँ
[पृष्ठ २५-मा भएको चित्र]
एमिलीको स्वास्थ्यलाभको लागि यो ठाउँ बनायौं
[पृष्ठ २५-मा भएको चित्र]
एमिलीसँग हालै खिचेको फोटो