सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रस्तरकला—ढुंगामा चित्रहरू

प्रस्तरकला—ढुंगामा चित्रहरू

प्रस्तरकला—ढुंगामा चित्रहरू

इटालीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

प्रस्तरकलालाई “अनौठो कला शैली,” “प्रभावकारी” शृङ्‌गार प्रविधि र “पुरातन कालदेखि अहिलेसम्म अस्तित्वमा रहिरहेको सज्जात्मक कलामध्येको” एक हो भनिएको छ। पन्ध्रौं शताब्दीका इटालेली कलाकार डोमिनिको घिर्लान्डोले यसलाई “अनन्त कालसम्म चित्र कोर्ने साँचो तरिका” भने। प्रस्तरकलाबारे तपाईंको सोचाइ जस्तोसुकै भए तापनि यसको साँच्चै रोमाञ्चकारी इतिहास छ।

प्रस्तरकलालाई भुइँ, भित्ता वा गुम्बजदार छानाको सतहलाई सजाउने कला भनी वर्णन गर्न सकिन्छ र यसका आकृतिहरू ढुंगा, सिसा वा टाइलका साना, एकदमै मसिना टुक्राहरू मिलाएर बनाइएका हुन्छन्‌। पुरातन कालदेखि भुइँ तथा भित्ताहरू सिंगार्न प्रस्तरको प्रयोग गरिंदै आएको छ। प्रस्तरले स्नानगृह, पोखरी, फोहराहरू पनि सिंगारेका छन्‌ जुन ठाउँहरूमा आद्रताले अन्य प्रकारका कोमल कलाहरूलाई हानि पुऱ्‍याउँछ।

प्रस्तरहरूको बाह्‍य रूप एकदमै फरक-फरक हुन सक्छ र यी सरल एउटै रंगका देखि लिएर श्‍यामश्‍वेत डिजाइन र विभिन्‍न रंग मिसाएर बनाइएका जटिल फूल बुट्टाहरूदेखि लिएर महत्त्वाकांक्षी चित्र संयोजनहरूसम्म हुन्छन्‌।

आविष्कार र विकास

प्रस्तरकला कसले आविष्कार गऱ्‍यो भन्‍ने कुरा स्पष्ट छैन। पुरातन मिश्री तथा सुमेरुवासीहरूका भवनहरू रंगीन बुट्टाले सजिएका हुन्थे। तथापि, खासै विकास नभई यो कला अस्तित्वबाट हराएको जस्तो देखिन्छ। एसिया माइनर, कार्थेज, क्रेट, ग्रीस, सिरिया, सिसिली र स्पेनलाई प्रस्तरकलाको जन्मथलो मानिन्छ जसले गर्दा एक जना लेखकले यो प्रविधि “भूमध्यसागर घाँटीको विभिन्‍न ठाउँमा आविष्कार भयो, बिर्सियो र फेरि आविष्कार भयो” भनी वर्णन गरेका छन्‌।

पहिले पहिलेका प्रस्तरकलाहरू, जसमध्ये कुनै-कुनै सा.यु.पू. नवौं शताब्दीसम्मका छन्‌, ती सरल बुट्टामा चिल्लो ढुंगाले बनाइएका थिए। स्थानीय तवरमा पाइने ढुंगाहरूअनुसार रंग फरक-फरक हुन्थ्यो। यी ढुंगाहरूको व्यास सामान्यतया १० देखि २० मिलिमिटर हुन्थ्यो तर कुनै-कुनै बुट्टा बनाउनको लागि भने पाँच मिलिमिटर मात्र व्यास भएको ढुंगा पनि प्रयोग गरिन्थ्यो। सा.यु.पू. चौथो शताब्दीसम्ममा कालिगडहरूले ठ्याक्क मिलाएर ढुंगालाई स-साना टुक्रामा काट्‌न थाले। बिस्तारै ढुंगाको बदलामा चार कुने ढुंगा वा टेसेरा प्रयोग गर्न थालियो। टेसेरामा विभिन्‍न रंगहरूको आभास हुन्थ्यो अनि चाहिएको डिजाइनमा सजिलै ढाल्न सकिन्थ्यो। त्यसको सतह समतल हुनेहुँदा रंगको चमक बढाउनको लागि पालिस लगाउन र मैन घोट्‌न सजिलो हुन्थ्यो। सा.यु. दोस्रो शताब्दीसम्म रंगीन सिसाका ससाना टुक्राहरूको पनि व्यापक प्रयोग हुन थालिसकेको थियो र यसले प्रस्तरविद्‌को सानो पाटीलाई अझ सुसज्जित बनायो।

युनानीहरूको युगमा (सा.यु.पू. ३०० देखि सा.यु.पू. ३० तिर) खासगरी सुन्दर चित्रहरूको प्रस्तर बनाइयो। “उपलब्ध भएजति विभिन्‍न रंगहरू प्रयोग गर्नुका साथै टेसेराको आकार घटाएर एक घन मिलिमिटर बनाए . . . अनि युनानी प्रस्तरविद्‌हरूको कार्यले भित्ते चित्रहरूसित प्रतिस्पर्धा गर्न थाल्यो” भनी ग्लोसारियो टेक्निको-स्टोरिको डेल मोजेको (प्रस्तरकलाको प्राविधिक-ऐतिहासिक सूची) भन्‍ने पुस्तक बताउँछ। प्रकाश, छाया, छाप, घनत्व र प्रविधिको अतिसूक्ष्म असरहरूको आभास दिन कौशलतापूर्वक रंगको प्रयोग गरियो।

युनानी प्रस्तरको एउटा चिनारी विस्तृत इन्सेट वा एम्ब्लेमा हो र यो प्रायजसो कुनै प्रख्यात चित्रको हुबहु उच्च स्तरीय नक्कल हुन्थ्यो अनि यसको वरिपरि किनाराले सिंगारिन्थ्यो। कुनै-कुनै इन्सेटका टेसेरा अत्यन्तै सानो र ठ्याक्क मिलेको हुनेहुँदा ढुंगाका टुक्राले नभई बुरुसले चित्र बनाएर तयार पारिएको जस्तो देखिन्थ्यो।

रोमी प्रस्तरहरू

प्रस्तरकलालाई अक्सर रोमी कला भन्‍ने गरिन्छ किनभने इटाली र रोमी साम्राज्यका प्रान्तहरूमा प्रचुर मात्रामा प्रस्तरकलाहरू पाइन्छन्‌। “रोमी युगमा उत्तरी ब्रिटेनदेखि लिबिया, आन्द्र महासागरीय तटदेखि सिरियाको मरुभूमिसम्म यस्ता पटरीहरू हजारौंको संख्यामा भेटिएका छन्‌” भनी एउटा प्रकाशन बताउँछ। “त्यसलाई कहिलेकाहीं कुनै एउटा इलाकामा रोमी उपस्थितिको चिनारीको रूपमा लिइन्छ र यो रोमी संस्कृतिको विस्तारसित अत्यन्तै निकट सम्बन्ध भएको अनौठो प्रविधि मानिन्छ।”

तथापि, रंगीचंगी चित्रका प्रस्तरहरू रोमी साम्राज्यको आवश्‍यकता अनुरूप थिएन। सा.यु. प्रथम शताब्दीमा भएको ठूलो शहरी वृद्धिले सजिलै प्राप्त हुने तथा सस्तो प्रस्तरको माग बढ्‌न थाल्यो। यसले गर्दा कालो र सेतो टेसेरा मात्र प्रयोग गरिएको प्रस्तरको सुरुआत भयो। उत्पादनमा उल्लेखनीय वृद्धि भयो अनि इन्साइक्लोपीडिया डेलार्टे आन्टिका-अनुसार (पुरातन कलाको विश्‍वकोश) “साम्राज्यभरि सबै शहरहरूमा प्र[स्तर] राखेर नसिंगारिएको सम्भ्रान्त घर एउटै पनि थिएन।”

एकदमै टाढ-टाढाका ठाउँहरूमा पनि एकै डिजाइनका प्रतिहरू पाइन्छन्‌। यसले के संकेत गर्छ भने, कालिगडहरूको टोली वा प्रस्तर बुट्टाहरू भएका किताबहरू एउटा निर्माण थलोबाट अर्कोसम्म यात्रा गर्थ्यो। चाहिएको खण्डमा, कालिगडको कारखानामा पहिल्यै अर्डर दिएर बनाउन अनि मार्बल वा टेरा-कोटाको किस्तीमा राखेर निर्माण थलोमा सार्न अनि त्यहाँ जडान गर्न सकिन्थ्यो। अरू सबै प्रस्तर कार्य भने निर्माण थलोमै बनाइन्थ्यो।

जडानको लागि ठ्याक्क मिल्ने गरी किनारा मिलाउन होसियारीपूर्वक योजना बनाउनुपर्थ्यो। जग अनि यसको सतह सम्म मिले नमिलेको हेर्न विशेष ध्यान दिइन्थ्यो। त्यसपछि वज्रको पातलो पत्र एक वर्ग मिटरभन्दा सानो ठाउँमा लगाइन्थ्यो र त्यो ठाउँ सुक्नअघि नै काम गर्नुपर्थ्यो। चिनोको रूपमा सतहमै चित्र कोरिन्थ्यो। टेसेरालाई चाहिने साइजमा काटिन्थ्यो अनि कालिगडहरूले ठाउँ-ठाउँमा मिलाएर राख्थे।

एक-एक गरी टेसेरा राखेर चेप-चेपमा वज्रले कसिन्थ्यो। एक ठाउँमा पूरा भएपछि अर्को ठाउँमा जडान तयार पारिन्थ्यो अनि त्यसरी नै काम अगाडि बढाइन्थ्यो। कुशल कालिगडहरूले गाह्रो ठाउँहरूमा काम गरेर सहयोगीहरूलाई भने सजिलो ठाउँमा काम लगाउँथे।

मसीहीजगत्‌का प्रस्तरहरू

सा.यु. चौथो शताब्दीमा मसीहीजगत्‌का चर्चहरूमा प्रस्तरकलाको प्रयोग हुन थाल्यो। प्रायजसो बाइबलका कथाहरूले चित्रण गर्ने त्यस्ता प्रस्तरकला उपासकहरूको निम्ति शिक्षाप्रद हुन्थ्यो। टिलपिल गर्ने बत्तीहरूले सुनको जलपको चमक बढाउँथ्यो अनि रंगीन सिसाका टेसेराले अलौकिक आभास दिन्थ्यो। स्टोरिया डेलार्टे इटालियाना (इटालेली कलाको इतिहास) यसो भन्छ: “प्रस्तरकला त्यतिबेलाको विचारधारासित एकदमै मेल खान्थ्यो जुन . . . नवप्लोटोवादबाट अत्यन्तै प्रभावित थियो। प्रस्तरकलामा एउटा यस्तो प्रक्रिया भयो जसअन्तर्गत भौतिक पदार्थले आफ्नो मलिनपन गुमाउँछ र शुद्ध आध्यात्मिकता, शुद्ध प्रकाश र शुद्ध आकार लिन्छ।” a मसीहीधर्मको संस्थापक, येशू ख्रीष्टले सिकाउनुभएको सरल उपासनाभन्दा कत्ति फरक।—यूहन्‍ना ४:२१-२४.

बाइजान्टिन चर्चहरूमा प्रस्तरकलाका केही उल्लेखनीय उदाहरणहरू पाइन्छन्‌। कुनै-कुनै उपासना घरहरूमा भित्री भित्ता र गुम्बजदार छतको प्रायः सबै ठाउँमा एक सेन्टिमिटर पनि नछोडी टेसेरा बिछ्याइएको छ। “मसीही प्रस्तरको उत्कृष्ट कला” भनी वर्णन गरिएका कृतिहरू इटालीको रभिनामा देख्न सकिन्छ जहाँ सुनौलो रंग प्रस्टै देखिन्छ र त्यसले ईश्‍वरीय ज्योति र बुझ्नै नसकिने अलौकिकवादको चित्रण गर्छ।

मध्य-युगभरि पश्‍चिम युरोपेली चर्चहरूमा प्रस्तरकलाको निकै प्रयोग भयो अनि यो इस्लामजगत्‌मा पनि कौशलतापूर्वक चलाइयो। रेनासाँ इटालीमा महान्‌ चर्च अर्थात्‌ कथिड्रलहरू, जस्तै भेनिसमा सेन्ट मार्क र रोममा सेन्ट पिटरसित सम्बन्धित कार्यशालाहरू पछि गएर प्रस्तरकलाका उत्पादन केन्द्रहरू भए। लगभग १७७५ तिर रोमका कालिगडहरूले विभिन्‍न रंगका गालेका सिसाहरू काटेर ससाना टेसेरा बनाउन सिके जसले गर्दा चित्रहरूको एकदमै सानो प्रस्तर बनाउन सम्भव भयो।

आधुनिक तरिका तथा प्रयोग

आधुनिक प्रस्तरविद्‌हरूले अप्रत्यक्ष भनिने तरिका अपनाउँछन्‌। यो कार्यशालामा पूरै पानाभरि फैलिएको कागजमा तलतिर फर्काएर टाँसिन्छ अनि त्यसको उल्टो भाग बाहिर देखिन्छ। यो प्रस्तर खण्ड-खण्ड गरेर जडान थलोसम्म ओसारिन्छ जहाँ टेसेराको उल्टो भाग जडानमा राखिन्छ। वज्र सुकेपछि कागज र गम पखालिन्छ अनि सबैभन्दा माथिल्लो भाग देखिन्छ। यो तरिका अपनाउँदा समय र परिश्रमको बचत हुन्छ तर मलिन सतहमा मध्यकालीन उत्पादनको चमक पाइँदैन।

तैपनि, १९ औं शताब्दीका अनगिन्ती सभाभवन, ओपेरा हाउस, चर्च र अरू ठाउँहरू यही तरिका अपनाएर सिंगारिन्थ्यो। साथै, यो तरिका मेक्सिको सिटीदेखि मस्को र इजरायलदेखि जापानसम्म संग्रहालय, सबवे स्टेसन, सपिङ सेन्टर, पार्क र खेल मैदानहरूमा व्यापक प्रयोग भएको छ। विभिन्‍न मुख भएका यी चिल्ला प्रस्तर सतहहरू आधुनिक भवनका सम्पूर्ण आवरणहरू सिंगार्न पनि उपयुक्‍त ठानिएका छन्‌।

सोह्रौं शताब्दीका इटालेली कलाकार तथा कला इतिहासकार जर्जियो भासारीले यस्तो लेखे: “प्रस्तर भनेको सबैभन्दा टिकाउ चित्र हो। अरू चित्रहरू समयको दौडान खुइलिन्छन्‌ तर प्रस्तर भने समयको दौडान झन्‌झन्‌ चम्किलो हुँदै जान्छ।” हो, प्रस्तर तयार गर्नको लागि खर्च गरिएको सीप हामीले ध्यान दिन लायकको छ। प्रस्तरहरू साँच्चै ढुंगामा बनाइएका रोमाञ्चकारी चित्रहरू हुन्‌! (g03 10/08)

[फुटनोट]

a अन्य कुराहरूमध्ये गैरधर्मशास्त्रीय नवप्लाटोवाद दर्शनहरूले प्राणको अमरतामा विश्‍वास प्रतिपादन गऱ्‍यो।

[पृष्ठ १६-मा भएको चित्र]

यरूशलेमको नक्सा (सा.यु. छैटौं शताब्दी)

[स्रोत]

Garo Nalbandian

[पृष्ठ १६-मा भएको चित्र]

महान्‌ सिकन्दर (सा.यु.पू. दोस्रो शताब्दी)

[स्रोत]

Erich Lessing/Art Resource, NY

[पृष्ठ १७-मा भएको चित्र]

डोम अफ द रक, यरूशलेम (सा.यु. ६८५-६९१ मा निर्मित)

[पृष्ठ १७-मा भएको चित्र]

“डायोनिसस,” एन्टिओक (सा.यु. ३२५ तिर)

[स्रोत]

Museum of Art, Rhode Island School of Design, by exchange with the Worcester Art Museum, photography by Del Bogart

[पृष्ठ १८-मा भएको चित्र]

आधुनिक प्रस्तरकलामा टेसेरा, ढुंगा र रंगीन सिसाहरू अझै प्रयोग हुन्छन्‌

[पृष्ठ १८-मा भएको चित्र]

म्यासाच्युसेट्‌सको लिन हेरिटेज स्टेट पार्कमा प्रदर्शन गरिएको प्रस्तर

[स्रोत]

Kindra Clineff/Index Stock Photography

[पृष्ठ १८-मा भएको चित्र]

बार्सिलोनामा एन्टोनी गडीले बनाएका प्रस्तरहरू (१८५२-१९२६)

[स्रोत]

Foto: Por cortesía de la Fundació Caixa Catalunya