म आफ्नो आमाबाबुको छायाबाट कसरी निस्कन सक्छु?
युवा जनहरू सोध्छन् . . .
म आफ्नो आमाबाबुको छायाबाट कसरी निस्कन सक्छु?
“मेरो बुबा यहोवाका साक्षीहरूको मण्डलीमा नाउँ चलेको प्राचीन हुनुहुन्छ। म उहाँको आदर गर्छु तर जता गए पनि बिलको छोरा भनेर चिनिएकोमा कहिलेकाहीं रिस उठ्छ।”—ल्यारी। a
“मेरो बुबा प्रख्यात प्राचीन हुनुभएकोले सबैले मबाट धेरै आशा गरिरहेको जस्तो लाग्यो र मलाई आफ्नै सुरमा हिंड्न असाध्यै गाह्रो भयो।”—एलेकज्याण्डर।
तपाईं ठूलो हुँदै जाँदा केही स्वतन्त्रताको आशा गर्नु अथवा आफ्नो छुट्टै पहिचान बनाउन चाहनु स्वाभाविक हो। तपाईं जन्मँदा तपाईंका आमाबाबुले आफूलाई मन परेको नाउँ तपाईंलाई राखिदिए। अब किशोरावस्थामा पाइला टेक्नुभएपछि तपाईं आफ्नो छुट्टै “नाउँ” बनाउने अथवा आफ्नो नाउँ कमाउने इच्छा गर्न थाल्नुहुन्छ।
राजा सुलेमानले यस्तो लेखे: “धेरै धन-सम्पत्ति भन्दा असल नाउँको इच्छा गर्नु धेरै उत्तम हो, सुन अथवा चाँदीभन्दा मान-इज्जत अझ असल हो।” (हितोपदेश २२:१) तपाईं कलिलै छँदा नै तपाईं आफ्नो नाउँ बनाउने तर्फ लाग्न चाहनुहुन्छ होला।
तिनीहरूको छायामा बस्दै
ल्यारी र एलेक्ज्याण्डरजस्तै कतिपय युवाहरूलाई आमाबाबुको नाउँ वा उपलब्धिको छायामा आफू बस्नुपरेको जस्तो लाग्न सक्छ। सायद तिनीहरूका आमाबाबु तिनीहरूको काम वा शिक्षाले गर्दा समाजमा प्रख्यात होलान्। वा तिनीहरू मसीही मण्डलीमा प्रख्यात हुन सक्छन्। तपाईंका आमाबाबुको सन्दर्भमा यीमध्ये कुनै साँचो हो भने तपाईंलाई हर समय अरूले हेरिरहेको र तपाईंले गर्ने जुनसुकै कुरा सूक्ष्म निगरानीमा रहेको जस्तो लाग्न सक्छ। केवल तपाईंका आमाबाबुको नाउँको कारण तपाईंले कुनै खास तरिकामा व्यवहार गर्नुपर्ने दबाबको कारणले गर्दा रिस उठ्न सक्छ।
उदाहरणका लागि, इभानका बुबा यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्छन्। इभान भन्छन्: “मेरो बुबाको नाउँ चलेको र सबैले आदर गर्ने भएकाले मलाई सधैं आफू स्कूल तथा घरमा उदाहरणीय हुनुपर्छ जस्तो लाग्थ्यो। छोराछोरीहरू कस्तो हुनुपर्छ भनेर अरू आमाबाबुले मलाई नमुनाको रूपमा चलाउँछन् जस्तो लाग्थ्यो। यो राम्रै कुरा भए तापनि अरूको अगाडि सधैं उदाहरणीय व्यवहार गर्न म निकै दबाब महसुस गर्थें। फलस्वरूप, ममा कहिलेकाहीं विनम्रताको अभाव हुन्थ्यो र आफूमा भएका व्यक्तिगत कमजोरीहरू देख्न
सक्दैनथें।” एलेकज्याण्डर भन्छन्: “मलाई हर बखत अरू कसैले हेरिरहेको जस्तो लाग्थ्यो र मैले यदि गल्ती गरें भने मलाई तुरुन्तै औंला ठड्याइहाल्छन् जस्तो लाग्थ्यो।”सुरुमा उल्लिखित ल्यारीले अरूको ध्यान आफूतिर नखिचियोस् भनेर आफ्नो थर लुकाउन खोजे। तिनी भन्छन्: “सामाजिक जमघटमा नयाँ व्यक्तिहरू भेट्दा म केवल ‘नमस्ते, मेरो नाउँ ल्यारी हो’ भन्थें र आफ्नो थर उल्लेख गर्दिनथें। मिल्ने ठाउँमा त म फाराम भर्दा पनि आफ्नो नाउँ मात्र लेख्थें। मानिसहरूले म कसको छोरा हुँ भनी थाह पाएपछि अर्कै व्यवहार गर्नेछन् भन्ने मलाई डर थियो। मेरा साथीहरूले मलाई सामान्य व्यवहार गरून् भन्ने म चाहन्थें।”
निस्सन्देह, तपाईंको बुबा मसीही प्राचीन वा सेवकाई सेवक हुनुहुन्छ भने अरूले तपाईंबाट धेरै आशा राख्नु व्यावहारिक हो। आखिर, त्यस्तो स्थानमा नियुक्त भएका व्यक्तिहरू “आफ्ना छोराछोरीहरू र आफ्ना घरको प्रबन्ध राम्रो मिलाउनसक्ने” हुनुपर्छ। (१ तिमोथी ३:५, १२) त्यसैकारण त, मानिसहरू तपाईं उदाहरणीय भएको आशा गर्छन्! तर के त्यो पूर्णतया नराम्रै कुरा हो र? मसीही युवा तिमोथीलाई गरिएको आग्रहलाई विचार गर्दा भने त्यसो होइन किनभने सायद किशोर छँदै पावलले आफूसित यात्रा गर्न र अत्यावश्यक सेवकाई कार्यमा सँगै काम गर्न तिनलाई रोजे। (१ थिस्सलोनिकी ३:१-३) अतः तपाईंको बुबा नियुक्त प्राचीन होस् वा नहोस्, तपाईंले उदाहरणीय हुन प्रयास गर्नै पर्छ।
विद्रोह गर्नु भनेको मूर्ख छनौट गर्नु हो
तैपनि, कोही-कोही युवाहरूले विद्रोह गरेर आफ्नो आमाबाबुको छायाबाट निस्कन खोज्छन्। इभान भन्छन्: “अरूको सामु उदाहरणीय हुनुपरेकोले वाक्क-दिक्क भएका क्षणहरू पनि थिए। केश कति लामो पारुन्जेल अरूले केही भन्दैनन् भनी हेर्न मात्र मैले केश लामो पारें।”
राजा दाऊदका एक जना छोरा, अब्शालोमले विद्रोही मार्ग अपनाए। उनको बुबा, यहोवाप्रति देखाएको भक्तिको लागि प्रख्यात थिए र इस्राएल राष्ट्रका थुप्रैले तिनलाई माया गर्थे। दाऊदको छोरा भएको नाताले अब्शालोमबाट धेरै आशा गरिएको थियो। तर व्यावहारिक आशाहरू अनुरूप जीवन बिताउनुको सट्टा उनले आफ्नो बुबाको विद्रोह गरेर आफ्नो छुट्टै पहिचान बनाउने छनौट गरे। दाऊद, यहोवाको अभिषिक्त प्रतिनिधि भएको कारण अब्शालोमले वास्तवमा यहोवाकै विद्रोह गरिरहेका थिए। तिनको कार्यले परिवारको बेइज्जत भयो र आफूमाथि पनि विपत्ति आइपऱ्यो।—२ शमूएल १५:१-१५; १६:२०-२२; १८:९-१५.
त्यसरी नै, विद्रोह गर्दा तपाईंले पनि विपत्तिजनक परिणाम भोग्नुपर्ने हुन सक्छ। बाइबलले नहेम्याहबारे के भन्छ, विचार गर्नुहोस्। तिनका केही शत्रुहरूले झुक्याएर तिनलाई नहेम्याह ६:१३) विद्रोह गर्दा तपाईंको नाउँमा कलंक लाग्न सक्छ र यो मानिसहरूलाई बिर्सन गाह्रो हुन सक्छ।
पापपूर्ण कार्यहरू गराउन खोजे। किन? “मेरो बदनाम गरेर अपमान गर्न” खोजे भनी नहेम्याहले लेखे। (विद्रोही व्यवहारले अरूमा पार्ने असरलाई पनि बेवास्ता गर्न सकिंदैन। अरू केही नभए पनि, तपाईंले आफ्ना आमाबाबुलाई अनावश्यक दुःख दिइरहनुभएको हुनेछ। (हितोपदेश १०:१) तपाईंको कार्यले अरू युवाहरूमा पनि प्रतिकुल असर पर्न सक्छ। इभान यस्तो स्वीकार्छन्: “मेरो आचरणले मेरो भाइलाई असाध्यै नराम्रो असर पाऱ्यो। केही समय तिनले मसीही मण्डलीसितै संगत गर्न छोडे र बाइबल स्तरअनुसार गर्न नहुने भनी आफूलाई थाह भएको सबै कुरा गर्न थाले। खुसीको कुरा, तिनको होस खुल्यो र अहिले फेरि यहोवाको सेवा गर्दैछन् र खुसी छन्।”
उत्तम तरिका
अब्शोलमको सौतेनी भाइ सुलेमानले अर्कै मार्ग अपनाए। तिनी नम्र भई आफ्नो बुबा, दाऊदबाट सिक्न इच्छुक थिए। (१ राजा २:१-४) मानिसहरूमाझ सम्मान खोज्नुको सट्टा सुलेमानले परमेश्वरसामु असल नाउँ कमाउने प्रयास गरे। त्यसो गरुन्जेल तिनले आफ्नो परिवारको प्रतिष्ठा बढाए र इस्राएलको एक जना महान् राजाको रूपमा नाउँ कमाए।—१ राजा ३:४-१४.
सुलेमानको असल उदाहरणले दुइटा महत्त्वपूर्ण तथ्य प्रकाश पार्छ: पहिलो, तपाईंले आफ्नो परिवारबाट अलग्गिएर होइन तर आफ्नो परिवारको सकारात्मक गुणहरू बुझेर आफ्नो पहिचान बनाउनुपर्छ। अडोलेसेन्स भन्ने पत्रिका यसो भन्छ: “किशोरावस्था भनेको आफ्नो एउटा बेग्लै पहिचान बनाउन आमाबाबुबाट अलग हुने समय चाहिं कदापि होइन।” आफ्नो छुट्टै नाउँ कमाउने तपाईंको योग्यतालाई “आमाबाबुको समर्थनले कुनै बाधा पुऱ्याउँदैन बरु यसले टेवा पुऱ्याउँछ” भनी उक्त पत्रिकाले अझ बताउँछ।
चाखलाग्दो कुरा, सुलेमान आफैले यसो भने: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” (हितोपदेश २३:२२) सुलेमानले स्पष्टतया ससाना केटाकेटीलाई लेखिरहेका थिएनन् किनभने आमाबाबु “वृद्ध” होउन्जेलसम्म बच्चा वयस्क भइसकेको हुन्छ। यहाँ भन्न खोजिएको कुरा के हो? तपाईं ठूलो भएर आफ्नै घरपरिवार बसाल्नुभएपछि पनि आफ्ना आमाबाबुको बुद्धिबाट लाभ उठाउन सक्नुहुन्छ। इभानले पनि पछि आफै यो कुरा बुझे। तिनी भन्छन्: “म ठूलो हुँदै जाँदा आफ्ना आमाबाबुले गरेका गल्तीहरू नदोहोऱ्याएर तिनीहरूको बलको नकल गर्न खोज्छु।”
विचार गर्नुपर्ने दोस्रो बुँदा हो, सुलेमानको प्राथमिकता आफ्नो “चिनारी” स्थापना गर्नु होइन तर यहोवालाई आनन्दित तुल्याउने थियो। हो, दाऊदको छोराको नाताले तिनीबाट धेरै आशा गरिएको थियो। तर सुलेमानले यहोवामा भरोसा राखेर आफ्नो काँधमा आइपरेको जिम्मेवारी पूरा गर्न बल पाए। एलेकज्याण्डरले पनि त्यस्तै दृष्टिकोण राखेका छन्। तिनी भन्छन्: “प्राचीनहरूका छोराछोरीबाट सामान्यतया धेरै आशा गरिन्छ भनेर मैले अब मानिलिएको छु। मैले यो सकारात्मक ढंगमा चलाउने निर्णय गरें र यो मेरो लागि सुरक्षा साबित भएको छ। यहोवाले मप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण हो भनी मैले अब बुझेको छु। उहाँले मलाई फलानाको छोराको रूपमा मात्र होइन तर व्यक्तिगत रूपमा चिन्नुहुन्छ।”
ड्यारेन, जसको बुबा मिसनरी हुनलाई प्रशिक्षण दिने वाचटावर बाइबल स्कूल अफ गिलियडको स्नातक हुन्, b तिनले पनि नाउँ चलेको आमाबाबुका छोराछोरी हुदाँ आइपर्ने दबाबहरू सामना गर्न सिकेका छन्। तिनी भन्छन्: “मैले बप्तिस्मा लिंदा आफ्नो जीवन अरू कसैलाई नभई यहोवालाई समर्पण गरेको थिएँ। आफ्नो समर्पण अनुरूप जतिसक्दो राम्रो जीवन बिताउँदा मेरो आमाबाबुले गर्नुभएको जस्तो सबै कुरा गर्न असमर्थ भए तापनि यहोवा मसित प्रसन्न हुनुहुन्छ भनी थाह पाउँदा आन्तरिक शान्ति महसुस गर्न सकेको छु।”
राजा सुलेमानले यस्तो अवलोकन गरे: “निर्दोष वा दोषी मानिस उसको कामबाट थाह गर्नसकिन्छ।” (हितोपदेश २०:११) आखिर जे होस्, तपाईंले भन्नुहुने र गर्नुहुने कुराको आधारमै मानिसहरूले तपाईंलाई सम्झनेछन्। “बोलीवचन, आचारण र प्रेममा, विश्वासमा र शुद्धतामा” उदाहरण बन्नुहोस्। यसो गर्नुभयो भने मानिसहरूले तपाईंको आचरणको लागि प्रेम र आदर गर्नेछन्!—१ तिमोथी ४:१२, नयाँ संशोधित संस्करण।
तथापि, अरू युवाहरूका लागि चाहिं आफ्ना असाध्यै सफल दिदी-भाइ, दाजु-बहिनीको छायाबाट निस्कनु चुनौतीपूर्ण हुन सक्छ। यस चुनौतीलाई कसरी सामना गर्न सक्नुहुन्छ भनी अर्को लेखले छलफल गर्नेछ। (g03 10/22)
[फुटनोटहरू]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
b गिलियड स्कूल, यहोवाका साक्षीहरूद्वारा प्रबन्ध गरिएको र निर्देशित हो।
[पृष्ठ २८-मा भएको ठूलो अक्षरको क्याप्सन]
विद्रोह गर्दा तपाईंको आमाबाबुलाई दुःख मात्र हुन्छ र तपाईंको नाउँमा कलंक लाग्छ
[पृष्ठ २८-मा भएको चित्र]
तपाईंको असल उदाहरणले अरूलाई फाइदा पुऱ्याउन सक्छ