सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वैकल्पिक जीवन शैली—के परमेश्‍वरले स्वीकार्नुहुन्छ?

वैकल्पिक जीवन शैली—के परमेश्‍वरले स्वीकार्नुहुन्छ?

बाइबलको दृष्टिकोण

वैकल्पिक जीवन शैली—के परमेश्‍वरले स्वीकार्नुहुन्छ?

“मैले यौनसम्बन्धी आफ्नो झुकाव कहिले थाह पाउनेछु?” तेह्र वर्षीया एउटी केटीले किशोर-किशोरी सल्लाह स्तम्भलाई सोधिन्‌। तिनको प्रश्‍नमा आफूले रोजेको यौन जीवन शैली अपनाउने स्वन्तन्त्रता छ भन्‍ने सोचाइ राख्ने थुप्रै मानिसहरूको मनोवृत्ति झल्कन्छ।

कोही मानिसहरू यौनसम्बन्धी आफ्नो अन्योलको भावना विरुद्ध साँच्चै संघर्ष गरिरहेका हुन सक्छन्‌। अरूले भने खुलेआम समलैंगिकताजस्ता वैकल्पिक जीवन शैली अंगाल्छन्‌। अरू कतिपयले भने विपरीत लिंगको व्यक्‍तिले जस्तो व्यवहार गर्ने र लुगा लगाउने गर्छन्‌। कसै-कसैले यौन अंग परिवर्तन गर्ने शल्यक्रियासमेत गर्छन्‌। वयस्कहरूलाई केटाकेटीसित यौन सम्बन्ध राख्न दिनुपर्छ भनी तर्क गर्नेहरूसमेत छन्‌।

के यौन प्रचलन र लिंग, वास्तवमा व्यक्‍तिगत छनौटका विषय हुन्‌? यी विषयहरूमा परमेश्‍वरको वचनले के भन्छ?

“नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो”

बाइबलको उत्पत्तिको पुस्तकअनुसार परमेश्‍वर स्वयम्‌ले पुरुष र स्त्रीबीच भिन्‍नता हुने गरी सृष्टि गर्नुभयो। विवरण यसो भन्छ: “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। . . . नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। औ परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।”—उत्पत्ति १:२७, २८.

परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र इच्छा राखेर सृष्टि गर्नुभयो र तिनीहरूको स्वतन्त्रताको आनन्द उठाउने मौकाहरू प्रदान गर्नुभयो। (भजन ११५:१६) पृथ्वीका अरू सबै जीवजन्तुको हेरचाह गर्ने जिम्मेवारी मानिसलाई सुम्पिनुका साथै तिनीहरूलाई सुहाउने नाउँ दिनुपर्ने थियो। (उत्पत्ति २:१९) तथापि, यौनको सन्दर्भमा भने परमेश्‍वरले सुस्पष्ट निर्देशन दिनुभयो।—उत्पत्ति २:२४.

आदमको अनाज्ञाकारिताले गर्दा हामी सबै जन्मजात असिद्ध छौं। त्यसकारण हामीले शारीरिक कमजोरी र परमेश्‍वरको सुरुको उद्देश्‍य विपरीत प्रबल इच्छाहरू विरुद्ध संघर्ष गर्नुपर्छ। तसर्थ, मोशामार्फत दिइएका नियमहरूमा परमेश्‍वरले उहाँलाई घिनलाग्ने यौन प्रचलनहरूबारे तोकेरै बताउनुभयो—खास गरी, व्यभिचार, हाडनाताकरणी, समलैंगिकता र पशुसित यौन सम्बन्ध। (लेवी १८:६-२३) परमेश्‍वरले अनैतिक उद्देश्‍यको लागि आफूलाई विपरीत लिंगको व्यक्‍तिजस्तो देखाउन पनि स्पष्टसित निषेध गर्नुभयो। (व्यवस्था २२:५) बाइबलले सधैं सिकाउने कुरा के हो भने, वैवाहिक प्रबन्धभित्र मात्र विपरीत लिंगको व्यक्‍तिसितको यौन सम्बन्धलाई परमेश्‍वरले स्वीकृत गर्नुहुन्छ। (उत्पत्ति २०:१-५, १४; ३९:७-९; हितोपदेश ५:१५-१९; हिब्रू १३:४) के त्यस्ता स्तरहरू व्यावहारिक छन्‌?

कसले रोज्ने?

बाइबलले सृष्टिकर्तासामु मानिसको स्थानलाई कुमालेको हातमा माटोसित तुलना गरेको छ। यसले भन्छ: “होइन, तर ‘ए मानिस, तँ चाहिं परमेश्‍वरको विरुद्धमा जवाफ दिने को होस्‌?’ के बनेको चीजले बनाउनेलाई, ‘तैंले मलाई किन यस्तो बनाइस्‌’ भन्छ र?” (रोमी ९:२०) परमेश्‍वरले पुरुष र स्त्रीलाई बनाउनुभएको ढंगमा तिनीहरूको एकअर्काप्रति यौन आकर्षण हुनु स्वाभाविक हो भनेर प्रस्ट हुन्छ। त्यसकारण एउटै लिंगको व्यक्‍ति, जनावर वा बच्चाप्रति यौन आकर्षण हुनु अस्वाभाविक हो।—रोमी १:२६, २७, ३२.

यसैकारण, त्यस्तो अस्वाभाविक यौन झुकावहरूको पछि लाग्ने व्यक्‍तिले परमेश्‍वर विरुद्ध संघर्ष गरिरहेको हुन्छ। बाइबलमा यस्तो चेतावनी दिइएको छ: “धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगड़ा गर्छ! त्यो ता माटोको खपटाहरूमध्ये एउटा खपटा मात्र हो! के माटोले कुमालेलाई ‘तैंले यो के बनाएको’ भनी खोज्छ? के तेरो कामले ‘तेरो हातै छैन?’ भनी भन्छ?” (यशैया ४५:९) मानिसहरूको निर्माताले यौन विषयहरूमा निर्देशन दिनु पक्कै व्यावहारिक छ। के मानिसहरूले पनि त्यस्तो निर्देशन पालन गर्नु व्यावहारिक होइन र?

आफ्ना-आफ्ना पात्रलाई ग्रहण गर्नु

बाइबल लेखक पावलले मसीहीहरूलाई यौन आचरणसम्बन्धी निर्देशन दिंदा यस्तै उदाहरण चलाए। तिनले यसो भने: “तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान। . . . कुइच्छाको कामनामा होइन।” (१ थिस्सलोनिकी ४:४, ५) पावलले मानिसको शरीरलाई पात्र अर्थात्‌ भाँडासित तुलना गरेका छन्‌। त्यो भाँडा ग्रहण गर्नुको मतलब आफ्नो सोचाइ तथा इच्छाहरूलाई परमेश्‍वरको नैतिक नियमहरू अनुरूप ढाल्नु हो।

हुन त हो, यसो गर्न सजिलो नहोला। बाल्यावस्थामा यौन दुर्व्यवहार भोगेका, पुरुषत्व र स्त्रीत्वबारे विकृत उदाहरण बसालेका आमाबाबु वा संरक्षकहरू भएको वा सानै उमेरमा अश्‍लील कुराहरू हेर्न थालिसकेकाहरूलाई समस्याहरू हुनु स्वाभाविकै हो। आनुवंशिक, हर्मोन र मनोवैज्ञानिक कारणहरूले पनि यौन भावनाहरू विकृत बनाइरहेको हुन्छ। तथापि, हाम्रो सृष्टिकर्ताले चाहिएकाहरूलाई मदत र समर्थन दिन सक्नुहुन्छ भनी थाह पाउनु सान्त्वनादायी कुरा हो।—भजन ३३:२०; हिब्रू ४:१६.

महान्‌ कुमालेबाट तपाईंलाई ढाल्न दिनुहोस्‌

माटाको डल्लालाई आकारमा ढाल्नुअघि त्यसलाई कुमालेको चक्काको बीचमा हाल्नुपर्छ। अनि यो घुम्न थालेपछि कुमालेले आफ्नो औंलाले बिस्तारै मिलाउँदै निपुणतापूर्वक आफूले चाहेको आकारमा माटोलाई ढाल्छ। परमेश्‍वरको नजरमा मनपर्ने व्यक्‍तिको रूपमा ढालिनुअघि हामी परमेश्‍वरको अपरिवर्तनशील सिद्धान्त तथा व्यवस्थामा केन्द्रित हुनुपर्छ। हामीले प्रयास गर्न थालेपछि परमेश्‍वरले बाइबल, उहाँको पवित्र आत्मा र मसीही भ्रातृत्वद्वारा कोमल ढंगमा ढाल्न थाल्नुहुन्छ। तब मानिसले आफ्नो जीवनमा परमेश्‍वरको व्यक्‍तिगत चासो महसुस गर्नुका साथै अनुभव गर्न थाल्छ।

निस्सन्देह, हामीले सृष्टिकर्ताको बुद्धिमा विश्‍वस्तता बढाउनुपर्छ, हाम्रो लागि सर्वोत्तम के हो उहाँलाई थाह छ भनेर भरोसा राख्नुपर्छ। यो भरोसा प्रार्थना अनि बाइबलको गम्भीर अध्ययनद्वारा विकास हुन्छ। यहोवामा त्यस्तो भरोसा राख्दै अनुचित यौन भावनाको सामना गरिरहेको व्यक्‍तिले आफूलाई सृष्टिकर्ताको हातबाट ढाल्न सकिने व्यक्‍ति बनाइरहेको हुन्छ। पहिलो पत्रुस ५:६, ७ यसो भन्छ: “परमेश्‍वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”

नियमित तवरमा बाइबल पढ्‌दा हामी परमेश्‍वरका थुप्रै विश्‍वासी दासहरूबारे पढ्‌छौं जसले शारीरिक इच्छाहरू सामना गरे तर कहिल्यै हार खाएनन्‌। यी उदाहरणहरू कति प्रोत्साहनदायी छन्‌! प्रेरित पावलले आफूसित हरेस खाएका क्षणहरू हामी यो उद्‌गारबाट बुझ्न सक्छौं: “हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?” यद्यपि, उहाँले आफ्नै प्रश्‍नको जवाफ दिनुहुँदा मदतको मूल स्रोततर्फ हामीलाई डोऱ्‍याउनुभयो: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌।”—रोमी ७:२४, २५.

परिवर्तन गर्ने बल

हामीले परमेश्‍वरको पवित्र आत्माको पनि मदत लिन सक्छौं। यो परिवर्तनको लागि जोडदार शक्‍ति हो। पवित्र आत्माले हामीलाई “पुरानो मानिस” अर्थात्‌ व्यक्‍तित्व त्यागेर “नयाँ मानिसलाई धारण” गर्न मदत गर्छ, जुन “परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२२-२४) यो परिवर्तन गर्न हामीले साँचो मनसायले पवित्र आत्मा माग्दा स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले सधैं सुन्‍नुहुन्छ। पिताले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ” भनेर येशू आश्‍वासन दिनुहुन्छ। (लूका ११:१३) तर प्रार्थनामा लगनशीलता चाहिन्छ भनेर यी शब्दहरूले संकेत गर्छ: “माग, तिमीहरूलाई दिइनेछ।” (मत्ती ७:७) यो विशेषगरी प्रबल यौन इच्छाहरूलाई नियन्त्रणमा राख्ने सन्दर्भमा लागू हुन्छ।

परमेश्‍वरले हामीलाई विभिन्‍न पृष्ठभूमिका मानिसहरूद्वारा बनिएको साँचो मसीही भ्रातृत्वद्वारा पनि मदत गर्नुहुन्छ। प्रथम शताब्दीमा कोरिन्थ मण्डलीका केही मसीहीहरू पहिले “लुच्चाहरू” र “पुरुषगामीहरू” थिए। तर तिनीहरू परिवर्तन भए। ख्रीष्टको रगतले तिनीहरूलाई पखाल्यो अनि तिनीहरू परमेश्‍वरको नजरमा स्वीकार्य भए। (१ कोरिन्थी ६:९-११) आज कसै-कसैले त्यस्तै परिवर्तनहरू गर्नुपर्छ। अनि त्यस्ताहरूले गलत इच्छाहरू विरुद्ध लड्‌न मसीही मण्डलीबाट सहयोग पाउन सक्छन्‌।

के यसको मतलब मसीही हुने बित्तिकै आफ्नो लिंगबारे विकृत इच्छा वा गोलमाल तुरुन्तै हट्‌नेछ? नहट्‌न पनि सक्छ। बाइबल सिद्धान्तहरू निरन्तर लागू गरिरहँदा कसै-कसैले सामान्य जीवन बिताउन सकेका छन्‌। तैपनि, यी मसीहीहरूले गलत इच्छाहरू विरुद्ध दिनहुँ संघर्ष गर्नुपर्छ। त्यस्ता व्यक्‍तिहरूले “शरीरमा एक किसिमको छेस्को” हुनुको बावजुद परमेश्‍वरको सेवा गर्छन्‌। (२ कोरिन्थी १२:७) तिनीहरूले गलत झुकाव विरुद्ध लडेर धर्मी आचरण कायम राख्ने प्रयास गरुन्जेल परमेश्‍वरले तिनीहरूलाई उहाँको नजरमा विश्‍वासी सेवक र स्वच्छ ठान्‍नुहुन्छ। तिनीहरू मानिसजातिले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा . . . विनाशको बन्धनबाट छुटकारा” पाउने भावी समयको प्रतिक्षा गर्न सक्छन्‌।—रोमी ८:२१.

त्यतिन्जेल, परमेश्‍वरलाई खुसी तुल्याउन चाहनेहरूले उहाँको धार्मिक स्तर पालन गर्नुपर्छ। साँचो मसीहीहरू परमेश्‍वरको सेवा गर्न चाहन्छन्‌—आफ्नो स्वार्थी झुकावको पछि लाग्न होइन। जीवनको सबै पक्षमा नम्र भई परमेश्‍वरको इच्छा अनुरूप गर्नेहरूले अनन्त आनन्द र सुखको आशिष्‌ पाउनेछन्‌।—भजन १२८:१; यूहन्‍ना १७:३. (g03 10/08)

[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]

यौनको सन्दर्भमा परमेश्‍वरले सुस्पष्ट निर्देशन दिनुभयो

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

प्रथम शताब्दीमा कोरिन्थ मण्डलीका केही मसीहीहरू पहिले “लुच्चाहरू” र “पुरुषगामीहरू” थिए। तर तिनीहरू परिवर्तन भए

[पृष्ठ १५-मा भएको चित्र]

बाइबल अध्ययन गर्दा उच्च नैतिक स्तर खेती गर्ने मदत पाउँछन्‌