सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

जुत्ता “के तपाईंको जुत्ता साँच्चै आरामदायी छ?” भन्‍ने लेखको लागि धन्यवाद। (अप्रिल ८, २००३) मैले वर्षौंदेखि खुट्टा दुख्ने समस्या झेल्दै आएकी थिएँ र औंलाको त थुप्रै चोटि साना-तिना शल्यक्रिया पनि गराएकी छु। एउटा खुट्टा अर्कोभन्दा अलिकति ठूलो रहेछ भन्‍ने कुरा मैले बल्ल चाल पाएँ। धेरै वर्षसम्म मैले गलत साइजको जुत्ता लगाएको कारण अहिले मैले अर्थोपेडिक सुज अर्थात्‌ बिरामीको हड्डी वा जोर्नीको अवस्थाअनुसार तयार पारिएको जुत्ता लगाउनु परिरहेको छ।

आर. जी., संयुक्‍त राज्य अमेरिका (g03 11/08)

यो एकदमै राम्रो लेख थियो। तथापि, जुत्ता किन्‍ने उपयुक्‍त समय साधारणतया साँझपख हो भनेर तपाईंहरूले उल्लेख गर्नुभएन, जतिखेर खुट्टाहरू अझ बढी फुलिन सक्ने सम्भावना हुन्छ।

ए. डब्ल्यु., क्यानाडा (g03 11/08)

“ब्यूँझनुहोस्‌!”-को जवाफ: तपाईंको अवलोकनको लागि धन्यवाद। कृपया सेप्टेम्बर ८, १९९९ को “विश्‍वदर्शन”-मा छापिएको “जुत्ताले गर्दा हुने स्वास्थ्य समस्याहरू” भन्‍ने विषय हेर्नुहोस्‌।

चोर्नु “युवा जनहरू सोध्छन्‌ . . . चोर्नुमा के खराबी छ?” भन्‍ने लेखको लागि म आफ्नो कृतज्ञता व्यक्‍त गर्न चाहन्छु। (फेब्रुअरी ८, २००३) म विश्‍वविद्यालयमा अध्ययनरत विद्यार्थी हुँ र पाँच कक्षामा छँदादेखि नै मलाई जाँचमा चोर्ने बानी लाग्यो। यसरी जाँचमा चोर्नु ठीक हो कि होइन होला भनेर म सोच्ने गर्थें तर जवाफ भने पाएकी थिइनँ। त्यसैकारण यो लेख मेरो लागि साँच्चै मूल्यवान्‌ छ। आउँदो जाँचदेखि म आफ्ना तौरतरिकाहरू परिवर्तन गर्दैछु, जसको लागि म अहिल्यैदेखि पढ्‌दैछु।

एस. वाई., युक्रेन (g03 11/08)

बाल-वेश्‍यावृत्ति “बाल वेश्‍यावृत्ति—एउटा दुःखद वास्तविकता” भन्‍ने शृङ्‌खलाबद्ध लेखको लागि तपाईंहरूलाई धन्यवाद। (मार्च ८, २००३) विषय एकदमै दुःखलाग्दो हुँदा-हुँदै पनि यसको सिकार भएका व्यक्‍तिहरूलाई आशा प्रदान गरिएको हुँदा यसले मेरो मनै छोयो। तपाईंहरूले उद्धृत गर्नुभएका पीडितहरूको अनुभव मेरो आफ्नो अनुभवसित मिल्दोजुल्दो थियो। यस पुरानो रीतिरिवाजमा समेत डरलाग्दो मानसिक चोटलाई यहोवाको मदतद्वारा धेरै हदसम्म निको पार्न सकिन्छ भन्‍ने कुरा यसले देखाउँछ।

पी. आर., जर्मनी (g03 11/08)

नरिवल “पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल” भन्‍ने लेखको लागि म आफ्नो कृतज्ञता व्यक्‍त गर्न चाहन्छु। (अप्रिल ८, २००३) हालै म मेक्सिको गएकी थिएँ र नरिवल कत्ति बहुउपयोगी हुँदो हरेछ भन्‍ने कुरा मैले आफ्नै आँखाले देख्न सकें। मैले लेखमा सूचीबद्ध प्रायः सबै उपयोगिता देखें। एउटा थप उपयोग हो, हाँगाहरू काट्‌नु, पातहरू छिंवल्नु र १० देखि १५ वटासम्म सुकेका तथा लचिला डाँठ जम्मा गरेर बिटा बनाउनु। झिंगा, कीरा आदि मार्न यो गजबको हुँदो रहेछ!

डी.एस., संयुक्‍त राज्य अमेरिका (g03 11/22)

यो लेख पढेर त १९३० दशकमा मेरी हजुरआमाले नरिवलको बोक्राबाट कपहरू बनाउनुभएको कुरा पो झलझली याद आयो। उहाँको छिमेकका थुप्रै मानिसहरूले नरिवलको रूखको काठ प्रयोग गरेर आ-आफ्नो छाप्रो बनाउँथे र नरिवलको सुकेका पातले चाहिं छाउँथे। यस्ता रोचक लेखहरूको लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु।

एम. बी., संयुक्‍त राज्य अमेरिका (g03 11/22)

स्तनपान “विश्‍वदर्शन”-अन्तर्गत छापिएको “स्तनपानका लाभहरू” (अप्रिल ८, २००३) भन्‍ने लेख पढेर म अलमल्लमा परें। स्तनपान नगराएका मानिसहरूको रोग प्रतिरोध प्रणाली कमजोर हुन्छ भन्‍ने कुरामा मेरो दुई मत छैन। मलाई स्तनपान गराइएन र पटक-पटक रुघाखोकी लाग्यो। तर स्तनपान नगराइएका व्यक्‍तिहरूको बौद्धिक क्षमता कम हुन्छ भन्‍ने अध्ययन उद्धरण गर्नुले संवेदनशीलताको कमी देखाउँछ।

सी. बी., इटाली (g03 11/22)

“ब्यूँझनुहोस्‌!”-को जवाफ: अरूलाई चित्त दुखाउने हाम्रो उद्देश्‍य थिएन। स्तनपानको सम्बन्धमा डेनिस अध्ययनले पत्ता लगाएका कुराहरू मात्र हामीले रिपोर्ट गरेका थियौं। यस्तो जानकारी प्रकाशित गर्दा आजका आमाबाबुहरूले छोराछोरीको लालनपालन गर्ने सम्बन्धमा सबै कुरा जानीबुझी निर्णय गर्न सक्छन्‌।