सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पिग्मीज्‌बाट हामीले सिकेको कुरा

पिग्मीज्‌बाट हामीले सिकेको कुरा

पिग्मीज्‌बाट हामीले सिकेको कुरा

मध्य अफ्रिकी गणतन्त्रका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“जुत्ता फुकाल्नुहोस्‌ है। अब हामी पानीमा हिंड्‌नेछौं र त्यसपछि हात्तीहरू हिड्‌ने बाटो काट्‌ने छौं। मैले दिने निर्देशनहरू ध्यान दिएर सुन्‍नुहोस्‌। यदि गोरिल्लासित जम्काभेट भएको खण्डमा, निहुरिनुहोस्‌ र आँखा जुधाएर त्यसलाई नहेर्नुहोला। हात्ती भेटेको खण्डमा नचलीकन बस्नुहोस्‌।”

रेष्टुराँको बरन्डामा आराम गर्दै हामी भर्खरै देखेका सबै कुरा सम्झन्छौं। साङ्‌गा नदी हाम्रै आँखाको अगाडि बगिरहेको छ; र नदीपारि मनै लोभ्याउने सुन्दर घना जंगल देख्न सक्छौं। हामी मध्य अफ्रिकी गणतन्त्रको दक्षिणी छेउ क्यामरून र गणतन्त्र कंगोबीच अवस्थित बायाङ्‌गामा छौं।—पृष्ठ १७ मा दिइएको मानचित्र हेर्नुहोस्‌।

जाङ्‌गा-डोकी राष्ट्रिय निकुञ्ज स्वागत केन्द्रमा आइपुग्नासाथ यहाँसम्म यात्रा गर्दा कत्ति लखतरान भएका थियौं भन्‍ने कुरा हामीले चटक्कै बिर्सियौं। यो निकुञ्ज मध्य अफ्रिकी गणतन्त्रको राजधानी, बाङ्‌गुईदेखि ४८० किलोमिटर टाढा अवस्थित छ र यहाँसम्म आइपुग्न हामीले साँघुरो बाटो हुँदै गाडीमा ११ घण्टा लामो यात्रा गऱ्‍यौं। कुनै-कुनै ठाउँमा त सडककै छेउमा बाँसका झाङहरू छन्‌। एङगोटोमा नदी तर्न हामीले डुंगा लिनुपरेको थियो। यो डुंगा एकदमै अनौठो किसिमको छ किनभने यसमा मोटर नै छैन; पानीको धारको भरमा मात्रै यसले हामीलाई नदीपारि पुऱ्‍याउँछ। डुंगालाई गतिलो डोरी भएको घिर्नीले बाँधेर यताउता सारिन्छ र यसलाई ठाउँमा राख्न थोरै केटाहरू भए पुग्छ।

यसबाहेक, बेम्बियो नदीमा भएको तैरिने पुल एकदमै व्यावहारिक छ किनभने सुक्खा र बर्खा दुवै मौसममा नदी सुक्दा अनि बढ्‌दा यस पुललाई त्यसै अनुरूप मिलाउन सकिन्छ। ठाउँ अति नै मनमोहक छ र जनावरहरूलाई तिनीहरूको प्राकृतिक बासस्थानमै हेर्न सक्छौं र त्यसपछि हामी अझै पनि परम्परागत जीवन बिताउने आका पिग्मीज्‌लाई a भेट्‌छौं।

तपाईंको कल्पनामा मात्र भए पनि, के तपाईं हामीसँगै यस रमणीय भ्रमणमा आउन चाहनुहुन्छ? हाम्रो गाइड बन्वा नाउँको पिग्मी हुन्‌। हामी तिनको गाउँमा पछि हामीसँगै जाने दुई जना जडीबुटी विशेषज्ञ पिग्मी, जर्मेन र भालरीलाई भेट्‌न जाँदैछौं। जंगलमा जति तिनीहरूले हामीलाई औषधी बनाउनका लागि प्रयोग गरिने विभिन्‍न बोटबिरुवाहरू देखाउँदै लैजान्छन्‌, उति नै हामी आश्‍चर्यचकित हुँदै जान्छौं।

निको पार्ने तथा स्वास्थ्यलाभ गर्ने बोटबिरुवाहरू

जंगलको बाटो भएर गाडीमा यात्रा गरेको केही मिनेटपछि, हाम्रा नयाँ साथीहरूले हामीलाई गाडीबाट उत्रेर जंगलमा उनीहरूलाई पछ्याउने निर्देशन दिन्छन्‌। उनीहरू लाग्ने हतियारले बाटो बनाउँदै अघि बढ्‌छन्‌ र हामीचाहिं उनीहरूको पछि-पछि हिंड्‌ने प्रयास गर्छौं। सबैभन्दा पहिला हामी पानी आउने लहरे बोट, मो नजाम्बु नजाम्बु देखेर छक्कै पर्छौं। हाम्रा गाइडहरूले तुरुन्तै ५० सेन्टिमिटर जति लामो लहरा काट्‌छन्‌ र हामी त्यसबाट निस्कने पानी पिउँछौं। यो एकदमै शुद्ध, स्वच्छ र तिर्खा मेट्‌ने किसिमको छ।

केही पर हामीलाई अम्बाको पात देखाइन्छ। यसका पातहरू उमालेर बनाइएको चिया पिग्मीज्‌हरूले खोकीको औषधीको रूपमा पिउँछन्‌। अर्को रूख, ओफुरुमा-बाट चाहिं सेतो चोप निस्किन्छ, जुन चोप आँखा पाक्ने रोगको उपचार गर्न आँखामा लगाउने एकदमै राम्रो मलम हो। “साँपले डसेको ठाउँमा लगाउने औषधी पनि छ कि?” भनेर हामी सोध्छौं। “छ नि, किन नहुनु। हामी बोलो-का पातहरूलाई [लाइना अर्थात्‌ डालबर्जिएला वेल्टविशी भनिने उष्ण कटिबन्धीय लहराको आका नाउँ] कुटेर धूलो पार्छौं र साँपले डसेको ठाउँमा लेप लगाउँछौं” भनी हाम्रा गाइडहरूले जवाफ दिन्छन्‌। पाइलैपिच्छे हामी गाइडहरूले भनेअनुसार निवारक तत्त्वहरू भएका अन्य बोटबिरुवाहरू फेला पार्छौं। यहाँ घाउहरूलगायत पेटमा पर्ने परजीवी, कानको संक्रमण, कीराले खाएको दाँत र सन्तान उत्पादन गर्न नसक्ने समस्यासमेत निको पार्न सक्ने औषधीहरू पनि पाइन्छन्‌।

कहिलेकाहीं पछौटे जनजातिको रूपमा हेरिने यी मानिसहरूबाट हामीले सिक्न सक्ने थुप्रै कुराहरू छन्‌। जसै हामी जंगलमा अघि बढ्‌दै जान्छौं, हाम्रा दुई जना जडीबुटी विशेषज्ञहरू आफ्नो भोजनको लागि “बजार जान्छन्‌” अर्थात्‌ च्याउ, जंगली जिरीको साग र लसुनको सट्टा प्रयोग गरिने जराहरू बटुल्न थाल्छन्‌। कुनै-कुनै पातहरू असाध्यै स्वादिलो हुनुपर्छ किनभने ती पाउनासाथ गाइडहरूले कप्लाककुप्लुक खाइहाले! परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा निरन्तर सिकिरहन पाउनु कत्ति अद्‌भुत कुरा हुनेछ!—यशैया ६५:१७; २ पत्रुस ३:१३; प्रकाश २१:१-४.

तिनीहरू सबै सल्ट लिकमा भेला हुन्छन्‌

दिउँसो हामी जंगली हात्तीहरू हेर्न सल्ट लिक जान्छौं। त्यहाँ जाने बाटोमा नै हाम्रो गाइडले हामीलाई यस लेखको सुरुमा उल्लिखित निर्देशनहरू दिएका थिए। तर सल्ट लिक भनेको के हो? खनिज नुन प्रशस्त मात्रामा पाइने यो एउटा विशाल खुला ठाउँ हो, जुन कुनै-कुनै जनावरहरूको लागि ठूलो भोज नै हो। यसैकारण यो जंगली हात्ती, भैंसी, हरिण, बडेमानका जंगली बनेलहरू अनि अन्य जंगली जनावरहरू भेला हुने ठाउँ हो।

घना जंगल भएकोले यहाँ जनावरहरू हेर्न निकै कठिन हुने भएको कारण निकुञ्जले सल्ट लिकको छेउमा मचान वा अवलोकन स्थल बनाएको छ। तथापि, अवलोकन स्थलसम्म पुग्न हामीले तिघ्रासम्म आइपुग्ने दलदल तर्नुपर्छ। गाइडहरूले वरपरको आवाजलाई ध्यान दिएर सुन्‍नुका साथै हामी ऊसँगसँगै हिंडिरहेका छौं कि छैनौं भनेर घरी-घरी हेर्छन्‌। किन? किनभने कहिलेकाहीं हात्तीहरू पनि त्यही बाटो भएर हिंड्‌छन्‌!

मचानमा आइपुगेपछि हामी जनावरहरू हेर्न मस्त हुन्छौं—८० वटा भन्दा धेरै हात्ती, थुप्रै भैंसी र केही हरिण। हात्तीहरूको अध्ययन गर्न ११ वर्ष बिताइसकेकी एक जना वैज्ञानिक पनि यहाँ छिन्‌। तिनी हामीलाई यसो भन्छिन्‌: “प्रत्येक हात्तीको आ-आफ्नै व्यक्‍तित्व छ। मैले ३,००० वटाको सूची बनाएकी छु र त्यसमध्ये ७०० वटालाई त नाउँले नै चिन्छु।” दुःखको कुरा, जंगली हात्तीको दाँत व्यक्‍तिगत सिल बनाउन अत्यन्तै राम्रो हुन्छ, जुन कुनै-कुनै पूर्वीय देशहरूमा कागजात तथा चित्रहरूको स्रष्टा चिनाउन यसको प्रयोग गर्ने चलन छ। b

जाल थापेर कसरी सिकार पक्रने

दोस्रो दिन बिहान सबेरै, हामी जाल थापेर कसरी सिकार पक्रने भन्‍ने कुरा आफ्नै आँखाले हेर्नको लागि दस जना सिकारीको पछि-पछि जान्छौं। पुरुष तथा स्त्रीहरू लायाना भनिने लहराबाट बनाइएका आ-आफ्नो जाल लिएर आउँछन्‌। प्रत्येक जालको चौडाइ २० मिटर र लम्बाइ १२० सेन्टिमिटर हुन्छ। जति हामी भित्र जंगलमा पस्छौं त्यति नै सिकारीहरू छरिन्छन्‌ र थुप्रै जालहरू बाँधेर लगभग २०० मिटर जति ढाक्ने गरी फैलाएर तन्काउँछन्‌। त्यसपछि हाम्रा सिकारीहरूले जाल समातेर ठूलो घेरा हाल्छन्‌ र जनावरहरू छन्‌ भने जालमा पार्नको लागि रूखका हाँगाहरू हल्लाउँदै र चिच्याउँदै अघि बढ्‌छन्‌। तर यसपालि भने एउटै पनि थिएनन्‌। सिकारीहरूले जाल फुकाल्छन्‌, अझ भित्री जंगलमा जान्छन्‌ र फेरि जाल थाप्छन्‌। एक चोटि, दुई चोटि होइन दस चोटि।

बिहानको घाम छिप्पिउन्जेलसम्ममा हामी लखतरान भइसकेका छौं। पिग्मीज्‌हरूले तीनवटा निलो डुइकर, सानो खाले हरिण देखेका छन्‌ तर यिनीहरू कसो-कसो जालमा पर्दै परेनन्‌ र भागिहाले। हाम्रो चासोको कुरा जालमा जनावर पऱ्‍यो कि परेन भनेर हेर्नु होइन। बरु, हामी यी मानिसहरूसित औजारहरूको कमी र औद्योगिक संसारमा प्रयोग गरिनेजस्ता औजार नभए तापनि आफ्नो जीविका चलाउने उनीहरूको अचम्मका तरिकाहरूबारे सिक्न चाहन्छौं। यसकारण, हामी अलिकति पनि निराश भएका छैनौं किनभने हामीले भर्खरै देखेको कुरा नै असाधारण थियो।

साङ्‌गा नदीमा डुंगा यात्रा

पानीमा सल्ल बग्न कसलाई पो मन पर्दैन र? तपाईंको डुंगा र पानीको सतह एउटै हुने भएकोले झनै मजा आउँछ। दिउँसोको यात्राको बेला हामी खैरो रङको सारस तथा अन्य थुप्रै रंगीबिरंगी चराहरू देख्छौं, प्रत्येक चरा एकभन्दा अर्को सुन्दर देखिन्छ। कुनै-कुनै चराहरू नदीको किनारमा भएका रूखको एउटा हाँगादेखि अर्को हाँगामा उड्‌छन्‌ र पानीमाथि तैरिंदै अघि बढ्‌दा हामीलाई नै पछ्याएझैं लाग्छ।

ठाउँ-ठाउँमा, चिम्पान्जीहरू केवल मनोरञ्जनको लागि हो अथवा हामीलाई मनोरञ्जन गराउन, एउटा लहरादेखि अर्को लहरामा उफ्रिरहेको देख्छौं! हामीलाई अझ केही सय मिटरजति टाढा लैजान डुंगा चालक, एलेन प्याट्रिकले निकै मेहनत गरेर डुंगा खियाउँदैछन्‌ किनभने तिनले हिजो त्यहाँ केही जलगैंडाहरू देखेका रहेछन्‌। के आज हामी तिनीहरूलाई देख्न सक्नेछौं? दुःखको कुरा, देख्न सकेनौं। तिनीहरू त्यहाँबाट अन्तै सरिसकेका छन्‌। अर्कोतर्फ, यो थप दूरी यात्रा गर्दा हामी नदीको किनारमा भएका थुप्रै गाउँहरू देख्न पाउनुका साथै अचम्मलाग्दो किसिमले आफ्ना स-साना डुंगाहरू खियाउने थुप्रै केटाकेटीहरू देखेर दंग पर्छौं। साँच्चै, डुंगा चढेर साङ्‌गा नदीमा यात्रा गरेको हामी कहिल्यै बिर्सनेछैनौं।

घर फर्किंदा हामीलाई परेको छाप

बाङ्‌गुई फर्कने क्रममा, सयौं दृश्‍य तथा रमाइला क्षणहरू हाम्रो मनमा झलझली आइरहन्छ। थुप्रै कुराहरूले हामीलाई गहिरो छाप पारेका छन्‌ भने, अन्य कतिपयले चाहिं हामीलाई चकित पारेका छन्‌। विशेष गरी, पिग्मीज्‌हरू र जंगल वा आफ्ना प्राकृतिक बासस्थानमा पाइने सम्पूर्ण कुराहरूबाट लाभ उठाउन मदत गर्ने बुद्धिबीचको समन्वयन हामी कहिल्यै बिर्सनेछैनौं।

साथै, सबै कुरा हेर्न हामीसित पर्याप्त समय नभए तापनि हामीले संसारको एउटा अद्वितीय भागको भ्रमण गर्ने विशेष सुअवसर पायौं, जहाँ जंगली हात्ती, गोरिल्ला, चिम्पान्जी, जलगैंडा, हरिण, चितुवा र रंगीबिरंगी चराचुरुंगी तथा पुतलीहरू पाउन सकिन्छ। जाङ्‌गा-साङ्‌गा वन्यजन्तु आरक्षका घना जंगल र जाङ्‌गा-डोकी राष्ट्रिय निकुञ्जमा बोटबिरुवाहरूको लगभग ७,००० प्रजातिहरू र ५५ जातका स्तनपायी जनावरहरू पाइन्छन्‌ भनेर हामीलाई बताइएको थियो।

यी सम्पूर्ण अतुलनीय जैविक विविधताले हामीलाई बाइबलको यो पद सम्झना दिलाउँछ: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” (भजन १०४:२४) यो अविस्मरणीय शिक्षाप्रद अनुभवले यही भजनमा पाइने निम्न शब्दहरू लागू गर्ने हाम्रो कटिबद्धतालाई सुदृढ बनाएको छ: “जहिलेसम्म म बाँच्नेछु, म परमप्रभुको भजन गाउँदैरहनेछु। मेरो जीवन रहुञ्जेल मेरा परमेश्‍वरको स्तुति म गाउँदैरहनेछु। मेरो ध्यान उहाँलाई मन परोस्‌। म परमप्रभुमा आनन्दित हुनेछु।”—भजन १०४:३३, ३४. (g03 11/08)

[फुटनोटहरू]

a भूमध्यरेखीय अफ्रिकाका पिग्मीज्‌हरू अर्थात्‌ बामपुड्‌केहरू तिनीहरूको कदको लागि चिनिन्छन्‌। तिनीहरूको सरदर उचाइ पाँच फिटभन्दा कम हुन्छ।

b चप्स भनिने यी सिलहरू अन्य धातुहरूबाट पनि बनाइन्छ। थप जानकारीको लागि मे २२, १९९४ को अवेक!, पृष्ठ २२-४ हेर्नुहोस्‌।

[पृष्ठ १७-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

क्यामरून

कंगो, गणतन्त्र

मध्य अफ्रिकी गणतन्त्र

बाङगुई

बायाङ्‌गा

जाङ्‌गा-डोकी राष्ट्रिय निकुञ्ज

[पृष्ठ १६-मा भएको चित्रको स्रोत]

© Jerry Callow/Panos Pictures