सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राग—हाम्रो ऐतिहासिक रत्न हेर्न आउनुहोस्‌

प्राग—हाम्रो ऐतिहासिक रत्न हेर्न आउनुहोस्‌

प्राग—हाम्रो ऐतिहासिक रत्न हेर्न आउनुहोस्‌

चेक गणतन्त्रका ब्यूँझनुहोस्‌! लेखकद्वारा

के तपाईं हजार वर्षभन्दा बढी लामो इतिहास बोकेको शहरको भ्रमण गर्न चाहनुहुन्छ—एउटा यस्तो शहर जहाँका वास्तुकलामा १० औं शताब्दीका रोमानेस्क, गोथिक, रेनासाँ, बरोक्‌, रोकोको, क्लासिकल, नियोक्लासिक र २० औं शताब्दीका आर्ट नोभ्यु पर्दछन्‌? चाहनुहुन्छ भने हामीसँग मध्य युरोपको रत्न, प्राग हेर्न आउनुहोस्‌। चेक भाषा सजिलो त पक्कै छैन; तथापि, भाषाको ध्वनिअनुसार उच्चारण भएको पदावली पुस्तक ल्याउनुभएको खण्डमा, यसले तपाईंलाई ठूलो मदत पुऱ्‍याउनेछ। तर सबैभन्दा पहिला, प्राग कहाँ छ?

युरोपको मानचित्रमा हेर्नुहोस्‌। पूर्वतिर अवस्थित जर्मनीको राजधानी, बर्लिन खोज्नुहोस्‌। त्यसको सीधा लगभग ३०० किलोमिटर दक्षिणतिर आँखा लैजानुहोस्‌ र चेक गणतन्त्रमा तपाईंले देख्नुहुने पहिलो ठूलो शहर नै राजधानी, प्राग हुनेछ। त्यसको अलि दक्षिण र पूर्वमा तपाईंले भियना, अष्ट्रिया र बुडापेस्ट, हंगेरी देख्नुहुनेछ। गाडीमा जाने हो भने, केही घण्टामै एउटा शहरदेखि अर्को शहर पुग्न सकिन्छ।

भल्टाभा नदी (जर्मनीमा मोलडाउ) प्रागभरि नै फैलिएको छ। हाम्रो भ्रमणको उद्देश्‍यको लागि हामी मध्य प्रागलाई पाँचवटा क्षेत्रमा विभाजन गर्न सक्छौं। (पृष्ठ २३ मा दिइएको मानचित्र हेर्नुहोस्‌।) पहिलो क्षेत्र डाँडाको माथिपट्टि पश्‍चिमी किनारमा छ। यहाँ तपाईंले प्राग कासल अर्थात्‌ प्राग दरबार र दरबारको बाहिरी क्षेत्रमा लगभग १३२० मा स्थापित राड्‌चेन भनिने शहर देख्नुहुनेछ। दरबार क्षेत्रभित्र बडेमानको गोथिक सेन्ट भिटस कथिड्रल छ, जुन १३४४ मा बनाउन सुरु गरिएको थियो तर १९२९ मा मात्र पूरा भयो। यहाँ राजमुकुटसित सम्बन्धित रत्नहरू तथा राजकुमार वेन्सेस्‌लसको चिहान छ। दरबार भएको ठाउँसम्म पुग्न तपाईं सार्वजनिक यातायात प्रयोग गर्न सक्नुहुन्छ नभए हिंडेरै पनि पुग्न सक्नुहुन्छ। यो ठाडो उकालो भएकोले आरामदायी जुत्ता लगाउन नबिर्सनुहोला! दरबार क्षेत्रभित्र पुगेपछि गोल्डन लेन अर्थात्‌ सुनौलो मार्गमा (चेकमा जलाटा उलिच्का) असाधारण स-साना घरहरू तथा उपहार पसलहरूमा छिर्न नभूल्नुहोला। यी १६ औं शताब्दीको अन्ततिर दरबारका सुरक्षाकर्मीहरूका लागि निर्माण गरिएका थिए। पछि, १७ औं शताब्दीमा सुनारहरू ती ठाउँमा बस्न थाले। त्यसैकारण, यस ठाउँको नाउँ पनि गोल्डन लेन हुन पुग्यो।

दरबार क्षेत्रको दक्षिणमा माला स्ट्राना भन्‍ने लिटल क्वाटर छ। एउटा गाइडबूक यसो भन्छ: “क्वाटर अर्थात्‌ आवासगृहमा एकदमै सानदार बरोक्‌ दरबार तथा आकर्षक प्रतीक भएका पुराना घरहरू छन्‌।” प्राग, सिटी अफ हन्ड्रेड स्पायर्स भनेर चिनिन्छ तर त्यहाँ त्योभन्दा बढी नै स्पायर्स अर्थात्‌ गिर्जाघरका गजुरहरू छन्‌ र यसले कुनै समय चेकका थुप्रै मानिसहरू धर्मपरायण थिए भन्‍ने कुराको सम्झना दिलाउँछ। यस लिटल्‌ क्वाटरमा हामी त्यस्ता चर्चहरू देख्न सक्छौं, जहाँ साम्यवाद युगपछि अहिले मानिसहरूको त्यति भीड देखिंदैन। नाउँ चलेका चर्चहरूमध्ये एउटा सेन्ट निकोलसको चर्च हो। यसको निर्माणकार्य १७०३ मा सुरु भएर १७६१ मा पूरा भएको थियो। यस चर्चका वास्तुकार बाबुछोरा भए तापनि यो चर्च बनाई सिद्धयाउन निकै लामो समय लागेको कारण उनीहरूले निर्माणकार्य पूरा भएको हेर्न पाएनन्‌।

भल्टाभा पार गर्ने

भल्टाभादेखि प्रागको पूर्वपट्टिसम्म पुग्न कम्तीमा सातवटा पुल पार गर्नुपर्छ। तीमध्ये सबैभन्दा प्रख्यात पुल, पैदल यात्रीहरूका लागि आरक्षित चार्ल्स ब्रिज (कार्लुभ मोस्ट) हो। यदि तपाईं लगभग ५२० मिटर लामो यस पुलको वारपार हिड्‌नुभएको छैन भने, तपाईंले प्रागको वास्तविक आनन्द उठाउनुभएकै छैन। यस पुलमा कि त बिहान सबेरै नभए साँझपख हिड्‌ने कोसिस गर्नुहोस्‌। बत्तीको किसिम-किसिमको प्रकाशले गर्दा तपाईंको प्रयास सार्थक हुनेछ।

पुलले बायाँ किनारमा अवस्थित लिटल्‌ क्वाटरलाई दायाँ किनारको पूर्वतिर अवस्थित ओल्ड टाउनसित जोड्‌छ। चार्ल्स ब्रिजमा प्रायजसो पर्यटक, सडक पेटीमा बसेर अरूलाई मनोरञ्जन गराउने व्यक्‍तिहरू, त्यसै रमाइलोको लागि हिंड्‌ने बटुवाहरू र पसलेहरूको भीड लागेको हुन्छ र सबै जना अत्यन्तै आनन्दित मुद्रामा हुन्छन्‌। सम्भवतः तपाईंले एउटा प्रशंसायोग्य चेक ज्याज समूहले न्यु अरलिन्स्‌का लोकप्रिय गीतहरू बजाइरहेको सुन्‍न सक्नुहुनेछ। तिनिहरूले आफूले बजाएका ती गीतहरूको कम्प्याक्ट डिस्क तथा क्यासेटहरू समेत बेच्छन्‌। अन्य ठाउँहरूमा चाहिं तपाईंले, विद्यार्थीहरूले ओल्ड टाउन स्क्वायरका एकदमै प्रसिद्ध भवनहरूको नक्कल उतारेर चिनियाँ माटोले बनाएका स-साना सुन्दर भवनहरू बेचेर दुई-चार रुपियाँ कमाउने प्रयास गरिरहेको देख्न सक्नुहुनेछ। बहुमूल्य कुराहरू राख्ने आफ्नो दराजमा प्रख्यात खगोल विज्ञानसम्बन्धी घडीलगायत ती पुराना स-साना भवनहरू राखेर तपाईं स्क्वायर बनाउन सक्नुहुन्छ!

तर अब भने पुलको दुवैपट्टि सजिएका क्याथोलिक “सन्तहरू”-का दर्जनौं मूर्तिहरूलाई ध्यान दिनुहोस्‌। यी मूर्तिहरूमा चेकको धार्मिक इतिहासको अधिकांश सार पाउन सकिन्छ। ती मूर्तिहरू स्थापना गरिएको मिति हेर्ने हो भने, जोन नेपोमुकदेखि (१६८३) लिएर सिरेल र मेथोडिससम्मका (१९३८) छन्‌। तथापि, थुप्रै बाइबल विद्यार्थीहरूका लागि सबैभन्दा आकर्षक प्रतिमा भनेको ख्रीष्टको हो, जुन प्रतिमा १६२९ मा स्थापना गरिएको थियो। यसको विशेषता के हो?

यसमा चार हिब्रू अक्षरहरू अर्थात्‌ टेट्राग्रामाटन समावेश भएको सुनको जलप लगाइएको हिब्रू लिपि पाइन्छ। यसले ईश्‍वरीय नाउँ यहोवालाई संकेत गर्छ, जुन हिब्रू धर्मशास्त्रमा झन्डै ७,००० चोटि प्रयोग गरिएको छ।

ओल्ड टाउनले तपाईंलाई साँच्चै चकित पार्नेछ

चार्ल्स ब्रिज र ओल्ड टाउन ब्रिज टावरको मन्तिरदेखि पार गरिसक्नुभएपछि (पूर्वी मोहोडामा वेन्सेसलासको मनपर्ने व्यक्‍तिगत प्रतीक, किङफिसरको मूर्ति हेर्नुहोस्‌) तपाईं ओल्ड टाउन पुग्नुहुनेछ, जहाँ तपाईं फोटो खिच्न यत्ति लालायित हुनुहुनेछ कि तपाईंको क्यामराले एकछिन पनि फुर्सत पाउनेछैन! त्यस क्षेत्रमा तपाईं आँखा अघाउन्जेल वास्तुकलासम्बन्धी आकृतिहरू हेर्न सक्नुहुन्छ। पुल छोडेर सीधा जानुभयो भने तपाईं चार्ल्स स्ट्रिट (कारलोभा) पुग्नुहुनेछ, जुन पुलले स-साना पसल तथा थुप्रै ग्राहकहरूले खचाखच भरिएको साँगुरो घुमाउरा बाटाहरूलाई जोडेको छ। तर रेनासाँस र बोराक्युका विभिन्‍न स्टाइलहरूतिर आँखा घुमाउनुहोस्‌।

जसै तपाईं डुल्दै जानुहुन्छ र आफूले हेरिरहेका कुराहरूदेखि छक्क पर्नुहुन्छ, तपाईं एकाएक ओल्ड टाउन स्क्वायरमा आइपुग्नुहुनेछ र सबैभन्दा पहिला तपाईंले एक हूल मानिसहरूले एउटा घडीलाई एकटक लगाएर हेरिरहेको देख्नुहुनेछ र घण्टा सुईले एक घण्टा भएको संकेत दिनै लागेको छ भनेता त्यहाँ झनै भीड हुन्छ। यो टाउन हल क्लक हो, एउटा आकर्षक खगोलसम्बन्धी रोमाञ्चकारी घडी। तर त्यो खगोलको दृष्टिकोणले सही छ भनेर आशा नगर्नुहोला। पृथ्वी ब्रह्‍माण्डको केन्द्र हो र घाम तथा ताराहरूले यसको परिक्रमा गर्छन्‌ भन्‍ने कुरा मानिसहरूले विश्‍वास गरेको समयमा यो घडी डिजाइन गरिएको थियो। जे होस्‌, यो घडी-निर्माण तथा इन्जिनियरिङजगत्‌को एउटा उत्कृष्ट कृति हो। a—यस पृष्ठमा दिइएको पेटी हेर्नुहोस्‌।

अब हामी ओल्ड टाउन स्क्वायरतर्फ अघि बढ्‌छौं, जहाँ सुन्दर-सुन्दर घरहरू र विविध वास्तुकलाले गर्दा यो ठाउँ सानदार देखिन्छ। स्क्वायर यत्ति ठूलो छ कि यसको तुलनामा भीडहरू समेत साना देखिन्छन्‌। हेर्नुपर्ने कुराहरू थुप्रै छन्‌। हतार नगर्नुहोस्‌ र आफूले हेर्न चाहेको कुरा बुझ्न गाइडबूक पल्टाएर हेर्नुहोस्‌। अलि टाढामा देखिने त्यो जुम्ल्याहा भवन र थुप्रै गजुरहरू भएको भव्य टेन चर्च १३६५ मा निर्माण गरिएको हो। यो अचम्मको स्क्वायरमा रोकोको गोज-किन्स्की दरबारजस्ता भव्य भवनहरूबारे वर्णन गर्दै जाने हो भने ठाउँले पुग्दैन।

स्क्वायरको बीचमा चेक धार्मिक सुधारवादी जोन हसको (१३७२-१४१५) विशाल स्मारक छ। एक जना क्याथोलिक पादरी भए तापनि तिनले पादरीको भ्रष्ट नैतिकता उदांग पार्ने हिम्मत गर्नुका साथै पापमोचनपत्र बेचेको भर्त्सना गरेकोमा तिनले चर्चका तल्लो श्रेणीदेखि माथिल्लो श्रेणीसम्मका पादरीहरूको दुस्मनी सहनुपऱ्‍यो। आफ्नो सफाइ पेस गर्न काउन्सिल अफ कन्स्‌ट्यान्ससामु उपस्थित भएको खण्डमा सुरक्षा प्रदान गर्ने वचन दिइए तापनि हसलाई धर्म विरोधीको रूपमा निन्दा गरियो खम्बामा बाँधेर जिउँदै जलाइयो।

प्रागको यहूदी इतिहास

छुटाउन नहुने चौथो क्षेत्र हो, चेकमा योसफोभ भनिने जुविश क्वाटर। यहूदीहरू विरुद्धको भेदभाव अलि कम भएपछि १७८४ मा यसलाई जोसेफ द्वितीयको नाउँमा नामाकरण गरिएको थियो। यो क्वाटर अर्थात्‌ आवास गृहको एउटा विशेषता भनेको ओल्ड-न्यु सिनगग्‌ हो। लगभग १२७० तिर यसको निर्माण गरिएको थियो र यो युरोपकै सबैभन्दा पुरानो सभाघर हो, जुन अझै पनि प्रयोगमा छ। यो प्रागमा भएका प्रारम्भिक गोथिक भवनहरूमध्ये एक हो।” तपाईं त्यो सिनगग्‌ अर्थात्‌ सभाघरभित्र पस्न सक्नुहुन्छ र राम्रोसित हेर्नुभयो भने, हिब्रूमा ईश्‍वरीय नाउँको एउटा नमुना पाउनुहुनेछ— तर फोटो खिच्ने कोसिसचाहिं ठ्याम्मै नगर्नुहोला। फोटो खिच्न मनाही छ भन्‍ने कुरा पालन गर्नुभएन भने सुरक्षाकर्मीले तपाईंलाई त्यस इलाकाबाट बाहिर पठाइदिन सक्छन्‌।

त्यहीं छिमेकमा, गेटबाट नियालेर हेर्नुभयो भने एउटा पुरानो यहूदी चिहान र हिब्रू अभिलेखहरू सहितको हजारौं समाधि देख्न सक्नुहुन्छ। नजिकै दुईवटा घडी भएको जुविश टाउन हल छ —एउटा रोमन संख्या भएको र अर्कोचाहिं हिब्रू अक्षरहरू भएको।

नजिकै भएको पिनकास सिनगग्‌ले “नाजी ग्याँस च्याम्बरमा आफ्नो ज्यान गुमाएका ७७,२९७ बोहोमियन र मोराभियान यहूदीहरूको स्मरण गराउँछ।” प्रागका ३६,००० यहूदीहरू लगायत तिनीहरूको नाउँ भित्री पर्खालमा कुँदेर लेखिएका छन्‌।— प्राग आर्ट एण्ड हिस्ट्री।

पुरातन “न्यु टाउन”

हामीले भ्रमण गर्ने अन्तिम क्षेत्र न्यु टाउन (नोभे मेस्टो) हो। यसलाई न्यु अर्थात्‌ नयाँ भनिए तापनि वास्तवमा चार्ल्स चौथोले १३४८ मा घोडा बजारको रूपमा यसको स्थापना गरेका थिए। यसको सबैभन्दा प्रख्यात ऐतिहासिक संरचना भनेको वेन्सेसलास स्क्वायर हो, जसलाई “समकालीन प्रागको उपभोक्‍ता केन्द्र” भन्‍ने गरिन्छ। त्यहाँ होटेल युरोपाजस्तो सुन्दर आर्ट नोभ्यु फसाड्‌ कमै मात्रामा देख्न पाइन्छ तर चासोको मुख्य कुरा भनेको १९१२ मा खडा गरिएको घोडसवार वेन्सेसलासको मूर्ति हो।

सांस्कृतिक सम्पदा, त्यसमा पनि विशेष गरी संगीतको क्षेत्रलाई भुल्नुभयो भने प्रागको भ्रमण अधुरो रहनेछ। त्यसैकारण नेसनल थिएटर र स्टेट ओपेराको भ्रमण गर्न नछुटाउनुहोला। शास्त्रीय-संगीतका लाखौं पारखीहरूले एन्टोनिन भोरजाकको “न्यु वर्ल्ड सिम्फोनी” सुनेका छन्‌। तपाईंले रातो र पहेंलो-फुस्रो रङको बरोक्‌ भिलाभित्र भोरजाक म्युजियम देख्नुहुनेछ। “चेक संगीतको पिता” भनेर चिनिने बेडरिच स्मेताना, “निष्कपट चेक भावना भएका एक जना रचनाकार हुन्‌” भनेर फ्रान्ज लिस्टले लेखे। तिनी विशेष गरी “मा भ्लास्ट” (माई होमल्याण्ड) भन्‍ने सिम्फोनिक कविताहरूको सँगालो र प्रागभरि बग्ने नदीको विषयमा एउटा सांगीतिक रचना, भल्टाभा भन्‍ने भागको लागि परिचित छन्‌। स्मेटाना म्युजियम ओल्ड टाउनको नदीअगाडि अवस्थित छ।

प्रागमा हेरेर आनन्द उठाउने कुराहरू थुप्रै छन्‌! यो तपाईं आफैले हेर्नुपर्छ। आउनुहोस्‌ र हजार वर्ष लामो इतिहास र संस्कृतिको आनन्द उठाउनुहोस्‌! (g03 11/08)

[फुटनोट]

a मे २२, २००० को अवेक!, पृष्ठ १६-१८ हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको पेटी/चित्र]

खगोलसम्बन्धी घडी

यस घडीको तीनवटा भाग छन्‌। एक-एक घण्टामा सीधा माथिपट्टि भएका दुईवटा झ्याल खुल्छन्‌, जहाँ तपाईंले १२ जना प्रेरित लहरै हिंडिरहेको देख्न सक्नुहुन्छ। चाखलाग्दो कुरा, यहूदा इस्करयोती र अल्फयसको छोरो याकूबको ठाउँमा पावल र बर्नाबासलाई राखिएको छ, जसलाई बाइबलमा १२ जना प्रेरितहरूमध्ये गनिंदैन। ती प्रेरितहरूको ठ्याक्क तल्तिर मृत्युको प्रतीक, एउटा कङ्‌काल छ। यो प्रेरितहरूको पंक्‍तिको सुरुमा आउँछ। यसको बायाँ हातले बालुवा-घडी उठाउँछ अनि त्यसलाई उल्टो पार्छ। चलहल गर्ने अन्य कुराहरूमा भाले बासिरहेको, टर्कले आफ्नो टाउको हल्लाइरहेको, भ्यानिटी अर्थात्‌ व्यर्थताले ऐनामा हेरिरहेको र लोभी साहूको रूपमा ग्रिड अर्थात्‌ लोभ पर्छन्‌।

साथै, खगोलसम्बन्धी घडीले तीन किसिमको समयलाई संकेत गर्छ अर्थात्‌ अरबी संख्यामा पुरानो बोहिमियन समय, रोमन संख्यामा हाम्रो आधुनिक समय र बेबिलोनी प्रणालीअनुसार १२ भागमा बाँडिएको दिवा समय। अब त तपाईंले यो सिंगारिएको घडीको महत्त्वबारे अध्ययन गर्न समय लाग्नुको कारण बुझ्नुभयो होला!

[पृष्ठ २१-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मध्य प्राग

प्राग कासल र राड्‌कानी

लिटल्‌ क्वाटर

भल्टाभा रिभर

जुविश क्वाटर

ओल्ड टाउन

न्यु टाउन

[पृष्ठ २०-मा भएको चित्र]

हिब्रू लिपिमा टेट्रागामाटन समावेश छ

[पृष्ठ २२-मा भएको चित्र]

बरोक्‌ शैलीका विभिन्‍न पक्ष झल्कने आर्ट नोभ्यु दरबार

[पृष्ठ २२-मा भएको चित्र]

चार्ल्स ब्रिज

[पृष्ठ २३-मा भएको चित्र]

ओल्ड टाउन हल घण्टाघर र सेन्ट निकोलस चर्च

[पृष्ठ २३-मा भएको चित्र]

सेन्ट भिटस कथिड्रलको भित्री दृश्‍य

[पृष्ठ २३-मा भएको चित्र]

वेन्सेस्‌लस स्क्वायर