म कसरी मेरा दाइ/दिदीको छायाबाट निस्कन सक्छु?
युवा जनहरू सोध्छन् . .
म कसरी मेरा दाइ/दिदीको छायाबाट निस्कन सक्छु?
“म छुट्टै पहिचान बनाउन चाहन्थें तर सधैं मेरा दिदीहरूजस्तो हुनुपर्ने महसुस गर्थें। मेरा दिदीहरूले गरेका जस्ता कुनै पनि काम मैले कहिल्यै गर्न सक्दिनँ जस्तो लाग्थ्यो।”—क्लेर।
के तपाईंको दाइ वा दिदी हरेक कुरामा सफल भएजस्तो देखिन्छन्? के तपाईंका आमाबाबुले तपाईंलाई सधैं आफ्नो दाइ वा दिदीजस्तो हुन भनिरहनुहुन्छ? यदि त्यसो हो भने, तपाईंलाई सधैं उहाँहरूको छायामुनि बस्नुपर्ने अनि तपाईं कत्तिको आफ्नो दाइ वा दिदीजस्तो हुन सक्नुहुन्छ, त्यसअनुसार तपाईंको सफलता नापिनेछ भन्ने डर लाग्न सक्छ।
ब्यारीका a दुवै दाइहरू अति सम्मानित मिनिस्टेरियल ट्रेनिङ स्कूलका b स्नातकहरू हुन् अनि तिनीहरूले मसीहीको रूपमा असाध्यै राम्रो नाउँ कमाएका छन्। ब्यारी यसरी मानिलिन्छन्: “मेरो आत्म-विश्वासमा धक्का पुग्यो किनभने प्रचारकार्यमा उहाँहरूको स्तरसम्म पुग्न वा जनवक्ताको रूपमा उहाँहरूजस्तो राम्रो कहिल्यै हुन सक्दिनँ जस्तो लाग्थ्यो। मलाई आफ्ना साथीहरू बनाउन गाह्रो भयो किनभने म सधैं दाइहरूको निम्तोमा उहाँहरूको पुच्छर भएर जान्थें। मेरा दाइहरूको कारण मात्र मानिसहरू मसित मित्रैलो भएका हुन् जस्तो लाग्थ्यो।”
प्रायजसो प्रशंसाको पात्र हुने आफ्नो दाइ वा दिदी हुँदा डाह महसुस गर्नु स्वाभाविक हो। बाइबल समयमा जवान यूसुफ आफ्ना दाजुहरूभन्दा बेग्लै थिए। यसले तिनका दाजुहरूमा कस्तो प्रभाव पाऱ्यो? “तिनका दाज्यूहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैन थिए।” (उत्पत्ति ३७:१-४) यूसुफ भने विनम्र थिए। तर तपाईंको दाइ वा दिदीले भने आफ्ना उपलब्धिहरूबारे तपाईंलाई बारम्बार सम्झाइरहेर दुस्मनी र खटपट सुरु गराउन सक्छन्।
कोही-कोही युवाहरू यस्तो हुँदा जानाजानी पढाइमा नम्बर कम ल्याएर, मसीही गतिविधिमा कम सहभागी भएर वा अपमानजनक आचरण देखाएर आफ्नो विद्रोह प्रकट गर्छन्। तिनीहरूलाई आफ्नो दाइ वा दिदीले जस्तो केही पनि काम
गर्न सक्दिनँ, त्यसकारण कोसिस गर्नु नै बेकार हो जस्तो लाग्न सक्छ। तर पछि गएर यस्तो विद्रोहले तपाईंलाई नै हानि पुऱ्याउँछ। तपाईं आफ्नो आत्म-सम्मान कायम राख्दै कसरी आफ्नो दाइ वा दिदीको छायाबाट निस्कन सक्नुहुन्छ?तिनीहरूलाई उच्च ओहदामा नराख्नुहोस्
तपाईंको दाइ वा दिदी सबैको ध्यानको केन्द्र भएको देख्दा तिनी सिद्ध छन् र त्यो स्तरमा तपाईं कहिल्यै पुग्न सक्नुहुन्न भन्ने विश्वास गर्न थाल्न सक्नुहुन्छ। तर के त्यो वास्तवमा साँचो हो? बाइबलले ठाडै यसो भन्छ: “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्।”—रोमी ३:२३.
हो, हाम्रा दाइ वा दिदीको क्षमता वा खुबी जस्तोसुकै भए तापनि तिनीहरू हामीजस्तै “दुःख सुख भोग्ने मानिसहरू” हुन्। (प्रेरित १४:१५) तिनीहरूलाई उच्च ओहदामा राख्नुपर्ने वा तिनीहरूको उपासना गर्नुपर्ने कुनै कारण छैन। सिद्ध उदाहरण बसाल्नुहुने एक मात्र व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ।—१ पत्रुस २:२१.
तिनीहरूबाट सिक्नुहोस्!
त्यसपछि, तपाईंको आफ्नो अवस्थालाई कुनै कुरा सिक्ने मौकाको रूपमा हेर्नुहोस्। उदाहरणका लागि, येशू ख्रीष्टका भाइ बहिनीहरूको उदाहरण विचार गर्नुहोस्। (मत्ती १३:५५, ५६) तिनीहरूले आफ्नो सिद्ध दाइबाट के-के सिक्न सक्थे, सोच्नुहोस्! यद्यपि, “उहाँका भाइहरूले पनि उहाँलाई विश्वास गर्दैन थिए।” (यूहन्ना ७:५) सायद घमण्ड र डाहले गर्दा विश्वास गर्न सकेनन्। “मसँग सिक” भन्ने येशूको यो मायालु निमन्त्रणा स्वीकार्नेहरू उहाँका आध्यात्मिक भाइहरू अर्थात् उहाँका चेलाहरू थिए। (मत्ती ११:२९) अनि येशूका साक्खै भाइहरूले उहाँको पुनरुत्थान भइसकेपछि मात्र उहाँको मूल्यांकन गर्न सके। (प्रेरित १:१४) त्यतिन्जेल, तिनीहरूले आफ्नो उल्लेखनीय दाइबाट सिक्न सक्ने थुप्रै सुनौला मौकाहरू गुमाए।
कयिनले पनि त्यस्तै गल्ती गरे। तिनको भाइ, हाबिल परमेश्वरका उल्लेखनीय सेवक थिए। “परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो” भनी बाइबलले बताउँछ। (उत्पत्ति ४:४) तर कुनै कारणले गर्दा परमेश्वरले “कयिन र तिनको भेटी ग्रहण गर्नुभएन।” कयिनले अलि नम्रता देखाएर आफ्नो भाइबाट सिक्न सक्थे। तर “कयिन ज्यादै रिसाए” अनि आखिर हाबिललाई मारे।—उत्पत्ति ४:५-८.
तपाईं पक्कै पनि आफ्नो दाइ वा दिदीसित त्यत्तिको रिसाउनु त हुनेछैन। तर तपाईंले पनि घमण्ड र डाहलाई तगारो बन्न दिनुभयो भने अनमोल मौकाहरू गुमाउनुपर्ने हुन सक्छ। तपाईंको दाइ वा दिदी हिसाबमा सिपालु छन्, इतिहासमा पोख्त छन्, तपाईंलाई मन पर्ने खेलमा निपुण छन्, तिनीसित धर्मशास्त्रको उल्लेखनीय ज्ञान छ वा जनवक्ताको हितोपदेश १४:३०; २७:४) आक्रोशित हुनुको साटो आफ्नो दाइ वा दिदीबाट सिक्ने प्रयास गर्नुहोस्। तपाईंसित नभएका केही क्षमता वा खुबी तिनीसित छ भन्ने तथ्य स्वीकार्नुहोस्। तपाईंको दाइ वा दिदीले काम गर्ने तरिका याद गर्नुहोस् अथवा अझ राम्रो त, मदत माग्नु हो।
रूपमा उत्कृष्ट छन् भने, डाहको प्रतिरोध गर्नै पर्छ! आखिर, “क्रोधले . . . हड्डी गलाउँछ” र तपाईंलाई हानि मात्र पुऱ्याउँछ। (माथि उल्लिखित ब्यारीले आफ्ना दाइहरूले बसालेका असल उदाहरणबाट लाभ उठाउन सिके। तिनी भन्छन्: “मेरा दाइहरू मण्डली र प्रचारकार्यमा अरूलाई मदत गर्न अत्यन्तै इच्छुक भएकोले उहाँहरू साह्रै आनन्दित हुनुभएको देखें। त्यसकारण मैले आफ्ना दाइहरूको उदाहरण पछ्याउने निर्णय गरें अनि मैले राज्यभवन तथा बेथेल निर्माणकार्यमा भाग लिन थालें। मैले बटुलेको अनुभवले मलाई आत्म-विश्वास दिनुका साथै यहोवासितको सम्बन्ध अझ बढाउन मदत गरेको छ।”
तपाईंको आफ्नो बल पत्ता लगाउने
तपाईंलाई सायद आफ्ना दाइ वा दिदीका राम्रा गुणहरू अनुकरण गर्दा आफ्नो व्यक्तिगत पहिचान गुमाइएला कि भन्ने डर लाग्न सक्छ। तर त्यसो हुनु पर्दैन। प्रेरित पावलले प्रथम शताब्दीका मसीहीहरूलाई यस्तो प्रोत्साहन दिए: “मेरो देखासिकी गर्नेहरू होओ।” (१ कोरिन्थी ४:१६) के यसको मतलब पावल तिनीहरूको व्यक्तिगत पहिचान नहोस् भन्ने चाहन्थे? पटक्कै होइन। विविधताको लागि प्रशस्त ठाउँ छ। अनि तपाईं हिसाबमा आफ्नो दाइ वा दिदी जत्तिको राम्रो हुनुहुन्न भन्दैमा तपाईंमा केही त्रुटि छ भन्ने होइन। कुरा यति हो, तपाईं तिनीहरूभन्दा फरक हुनुहुन्छ।
पावल यस्तो व्यावहारिक सल्लाह दिन्छन्: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।” (गलाती ६:४) तपाईंको आफ्नै विशेष सीप र क्षमता विकास गर्ने प्रयास गर्नुभए कसो होला? नयाँ भाषा सिक्न, कुनै बाजा बजाउन वा कम्प्युटर चलाउन सिक्नुभयो भने आफ्नो आत्म-सम्मान बढ्नेछ अनि तपाईंले मूल्यवान् सीपहरू पनि हासिल गर्नुहुनेछ। सबै कामकुरा दुरुस्त हुने गरी गर्नुपर्छ भनी चिन्ता नगर्नुहोस्! काम पूरा गर्न, लगनशील हुन अनि राम्ररी गर्न सिक्नुहोस्। (हितोपदेश २२:२९) कुनै कामप्रति तपाईं जन्मजात योग्य नहुनुहोला तर “लगनशील हातले शासन गर्नेछ” भनी हितोपदेश १२:२४ (छड्के अक्षर हाम्रो, नयाँ संशोधित संस्करण) बताउँछ।
तथापि, तपाईंले खास गरी खेती गर्नुपर्ने कुरा तपाईंको आध्यात्मिक विकास हो। अन्य खुबीहरूभन्दा अरूको ध्यानाकर्षण हुने कुरा आध्यात्मिक सीपहरू हुन्। जुम्ल्याहा दाजुभाइ एसाव र याकूबलाई विचार गर्नुहोस्। एसावले आफ्नो बुबाबाट निकै प्रशंसा कमाए किनभने तिनी “शिकारी र वन-वन डुलिहिंड्ने” मानिस थिए। सुरुमा तिनको भाइ याकूबलाई कसैले वास्ता गर्दैनथे होला किनभने तिनी “पालमा बसिरहने शान्त स्वभावका” थिए। (उत्पत्ति २५:२७) एसाव आफ्नो आध्यात्मिकता विकास गर्ने क्षेत्रमा चुके अनि आशिष्हरू गुमाए। याकूबले आध्यात्मिक कुराहरूप्रति प्रेम खेती गरे अनि यहोवाबाट प्रशस्त आशिष् पाए। (उत्पत्ति २७:२८, २९; हिब्रू १२:१६, १७) पाठ के हो? तपाईंको आध्यात्मिकता विकास गर्नुहोस्, तपाईंको “ज्योति . . . चम्कोस्” अनि तपाईंको “प्रगति सबैमा प्रकट [हुनेछ]।”—मत्ती ५:१६; १ तिमोथी ४:१५.
माथि उल्लिखित क्लेर यसो भन्छिन्: “म मेरा दिदीहरूको छायामा बस्न सन्तुष्ट थिएँ। तर मैले ‘ठूला मनका होओ’ भन्ने धर्मशास्त्रीय सल्लाह पालन गर्ने निर्णय गरें। मैले मण्डलीका बेग्लाबेग्लै सदस्यहरूसित क्षेत्र सेवकाईमा काम गरें अनि मण्डलीमा खाँचोमा परेकाहरूलाई मदत गर्ने व्यावहारिक तरिकाहरू खोजें। मैले विभिन्न उमेर समूहका भाइबहिनीहरूलाई हाम्रो घरमा बोलाएँ अनि उनीहरूको निम्ति खाना पकाएँ। अहिले मेरा थुप्रै साथीहरू छन् अनि आफ्नो आत्म-विश्वास बढेको छ।”—२ कोरिन्थी ६:१३.
समय समयमा तपाईंका आमाबाबुले बिर्सेर तपाईंको दाइ वा दिदी जस्तो होऊ भन्न सक्छन्। तर तपाईंका आमाबाबुले तपाईंको भलो चाहन्छन् भनेर बुझ्दा मनको पीडा अलि कम हुन सक्छ। (हितोपदेश १९:११) तथापि, त्यसरी तुलना गर्दा तपाईंलाई कस्तो महसुस हुन्छ भनी आदरपूर्वक आमाबाबुलाई बताउनु बेस हुन सक्छ। सायद तिनीहरूले आफ्नो चासो व्यक्त गर्ने अरू तरिकाहरू खोज्नेछन्।
तपाईंले यहोवा परमेश्वरको सेवा गर्नुभयो भने उहाँले याद गर्नुहुनेछ भनेर कहिल्यै नबिर्सनुहोस्। (१ कोरिन्थी ८:३) ब्यारीले कुराको निचोड निकाल्दै यसो भन्छन्: “मैले जति लामो समय यहोवाको सेवा गर्छु, उति नै म आनन्दित हुन्छु। मेरा दाइहरूलाई जस्तै अहिले मानिसहरूले म जे हुँ, त्यसको लागि मूल्यांकन गर्छन्।”
[फुटनोटहरू]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
b यहोवाका साक्षीहरूद्वारा प्रबन्ध गरिएको।
[पृष्ठ २७-मा भएको चित्र]
के तपाईंको दाइ वा दिदी अक्सर सबैको ध्यानको केन्द्र हुन्छन्?
[पृष्ठ २८-मा भएको चित्र]
तपाईंको आफ्नो सीप तथा चासो के हो थाह पाउनुहोस्
[पृष्ठ २८-मा भएको चित्र]
तपाईंको आध्यात्मिक क्षमता चम्काएर “तपाईंको ज्योति चम्काउनुहोस्”