सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वातावरण संरक्षण हामी कत्तिको सफल भएका छौं?

वातावरण संरक्षण हामी कत्तिको सफल भएका छौं?

वातावरण संरक्षण हामी कत्तिको सफल भएका छौं?

चर्नोबिल, भोपाल, भालडेज, थ्री माइल आइल्याण्ड। यी नाउँहरू सुन्‍नेबित्तिकै संसारका विभिन्‍न भागमा घटेका वातावरणीय विनाशका करुण चित्रहरू हाम्रो आँखा अगाडि नाच्न थाल्छन्‌। ती प्रत्येक विनाशले हामीलाई पृथ्वीको वातावरणमा घातक आक्रमण भइरहेको सम्झना दिलाएको छ।

विभिन्‍न अधिकारी र व्यक्‍तिविशेषले खतराको घण्टी बजाएका छन्‌। कतिपयले सार्वजनिक रूपमै आफ्ना विचारहरू पोखेका छन्‌। एक जना अंग्रेज लाइब्रेरियनले नाजुक पर्यावरणीय क्षेत्रमा बनिरहेको बाटोको विरोध गर्न आफैलाई बुलडोजरमा साङ्‌लाले टनटन कसिन्‌। अष्ट्रेलियामा दुई जना आदिवासी स्त्रीले राष्ट्रिय निकुञ्जभित्र युरेनियमको खानी खन्‍ने कामको विरोधमा एउटा अभियान नै चलाए। खन्‍ने काम बन्द गरियो। राम्रै मनसायले यस्ता कार्यहरू गरिने भए तापनि यस्ता प्रयासहरू सधैं स्वागतयोग्य हुँदैनन्‌। उदाहरणका लागि, रुसी शासनको दौडान डुबेको आणविक पनडुब्बीको रियाक्टरबाट भइरहेको विकिरण चुहावटप्रति जहाजका एक जना क्याप्टेन अत्यन्तै चिन्तित थिए। जब उनले त्यस पनडुब्बी डुबेको स्थान सार्वजनिक गरे, उनी पक्राउ परे।

वातावरणीय खतराबारे विभिन्‍न संघसंस्थाहरूले पनि खतराको घण्टी बजाइरहेका छन्‌। तीमध्ये केही, संयुक्‍त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन; संयुक्‍त राष्ट्रसंघीय वातावरण कार्यक्रम; र ग्रीनपिस हुन्‌। कतिपय संघसंस्थाले आफ्नो कामलाई असर गरेको बेला मात्र वातावरणीय समस्याबारे रिपोर्ट गर्छन्‌। अन्य कतिपय संघसंस्थाहरू वातावरणीय समस्याहरूमा ध्यानाकर्षण गर्न मरिमेटेका छन्‌। वातावरणीय विवाद चर्केको ठाउँमा कार्यकर्ताहरू पठाएर विश्‍वव्यापी उष्णता, लोप हुन लागेका प्रजातिहरू र आनुवंशिक रूपमा छाँटकाँट गरिएका जनावर तथा वनस्पतिहरू जस्ता विषयहरूमा सर्वसाधारणको ध्यानाकर्षण गर्ने कार्यमा ग्रीनपिस नामक संस्था निकै अगाडि छ।

कुनै-कुनै कार्यकर्ताहरूको भनाइअनुसार “विश्‍वव्यापी वातावरणीय समस्याहरूलाई जनसमक्ष ल्याउन तिनीहरू सृजनात्मक संघर्षहरू गर्छन्‌।” यसैकारण, तिनीहरू शताब्दीयौंदेखि अस्तित्वमा रहेको जंगल फँडानीको विरोधमा काठ चिर्ने कारखानाको मूलद्वारमा आफूलाई साङ्‌लाले बाँध्ने जस्ता उपायहरू अपनाउँछन्‌। एउटा देशले ह्वेललाई नमार्न तथा त्यसबाट कुनै पनि व्यापारिक उत्पादन नगर्न गरिएको आधिकारिक सम्झौता तोडेकोमा उक्‍त देशका कार्यहरू कसैको नजरबाट लुकेका छैनन्‌ भनी देखाउन कार्यकर्ताहरूको एउटा समूहले ठूल-ठूला कृत्रिम आँखाका नानीहरू लगाएर त्यस देशका राजदूतावासहरू बाहिर विरोध प्रदर्शन गरे।

चर्चाका लागि विवादहरूको कुनै कमी छैन। उदाहरणका लागि, पानी प्रदूषणका खतराहरूबारे व्यक्‍तिविशेष र संघसंस्थाहरूले बारम्बार चेतावनी दिंदै आएका छन्‌। यद्यपि, समस्याहरू ज्यूँका त्यूँ छन्‌। एक अरब मानिसहरू स्वच्छ पिउने पानीबाट वञ्चित छन्‌। टाइम पत्रिकाअनुसार “हरेक वर्ष ३४ लाख मानिसहरू पानीले निम्त्याउने रोगबाट मर्छन्‌।” वायु प्रदूषणको समस्या पनि यस्तै छ। द स्टेट अफ वर्ल्ड पोपुलेसन २००१ यस्तो रिपोर्ट दिन्छ, “वायु प्रदूषणले हरेक वर्ष अनुमानित २७ देखि ३० लाख मानिसहरूको ज्यान लिन्छ।” रिपोर्ट थप यसो भन्छ, “खुला हावाको प्रदूषणले १.१ अरब भन्दा धेरै मानिसहरूलाई हानि पुऱ्‍याउँछ।” एउटा ज्वलन्त उदाहरणको रूपमा लिने हो भने, “युरोपेली केटाकेटीमा हुने श्‍वासप्रश्‍वास संक्रमणमध्ये १० प्रतिशतभन्दा बढी संक्रमण हावामा मिसिएका ससाना कणहरूको प्रदूषणबाट हुनेगर्छ।” हो, हालसम्म दिइएका चेतावनी र चालिएका कदमहरूका बावजुद जीवनको लागि अपरिहार्य यी आधारभूत तत्त्वहरूसित गाँसिएका समस्याहरू झन्‌झन्‌ चर्कंदै गइरहेका छन्‌।

धेरैका लागि परिस्थिति बुझ्नै नसकिने भएको छ। वातावरणीय विषयहरूमा यति थुप्रो जानकारीहरू पहिले कहिल्यै उपलब्ध भएका थिएनन्‌। थुप्रै व्यक्‍तिविशेष र संघसस्थाहरू वातावरण सफा राख्न यति विघ्न उत्सुक पहिले कहिल्यै भएका थिएनन्‌। समस्या समाधानमा टेवा पुगोस्‌ भनेर सरकारहरूले विभागहरू स्थापना गरेका छन्‌। समस्याहरूसित लड्‌न यति थुप्रो प्रविधिहरू पहिले कहिल्यै हामीसित थिएनन्‌। तैपनि, परिस्थिति सुध्रिएको जस्तो पटक्कै देखिंदैन। आखिर किन?

एक कदम अगाडि, दुई कदम पछाडि

औद्योगिक उन्‍नतिको उद्देश्‍य हाम्रो जीवनलाई सजिलो बनाउनु थियो। केही क्षेत्रहरूमा यसले हाम्रो जीवन सजिलो नबनाएको पनि होइन। यद्यपि, पृथ्वीको वातावरणीय समस्यालाई चर्काउनमा यही “उन्‍नतिको” प्रमुख हात छ। हो, औद्योगिक विकासले हामीलाई दिएका आविष्कार र प्रगतिहरूको हामी कदर गर्छौं तर यसका उत्पादनहरू र ती उत्पादनहरूको प्रयोगले विश्‍वका केही भागहरूमा अक्सर विध्वंस मच्चाइरहेका छन्‌।

यसको ज्वलन्त उदाहरण मोटर गाडी हो। यसले यात्रालाई छिटो र सुगम बनाइदिएको छ। थोरै मानिसहरू मात्र घोडा र बग्गीको युगमा फर्कन चाहन्छन्‌ होला। यद्यपि, आधुनिक यातायातले तीन थुप्रो समस्याहरू जन्माएको छ। त्यसमध्ये एउटा विश्‍वव्यापी उष्णता हो। मानिसजातिले करोडौं टन ग्याँस छोड्‌ने आविष्कारहरूको प्रयोगद्वारा वायुमण्डलको रासायनिक बनौटमै परिवर्तन ल्याइरहेका छन्‌। यी ग्याँसहरूलाई नै हरितगृह प्रभावको कारक तत्त्व मानिएको छ जसले वायुमण्डलको तापक्रम बढाउँछ। गत शताब्दीमा तापक्रममा वृद्धि आयो। दी यु. एस. इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी यस्तो रिपोर्ट दिन्छ, “२० औं शताब्दीको सबैभन्दा गर्मी १० वर्षहरू यस शताब्दीका अन्तिम १५ वर्षहरू थिए।” केही वैज्ञानिकहरू २१ औं शताब्दीमा विश्‍वव्यापी रूपमै १.४ देखि ५.८ डिग्री सेल्सियससम्म तापक्रम बढ्‌न सक्ने विश्‍वास गर्छन्‌।

यत्तिकैमा समस्याको अन्त्य हुँदैन। चर्को तापक्रमले अन्य समस्याहरू उब्जाउन सक्छ। उत्तरी गोलार्धमा हिउँको आवरण घट्‌दै छ। एन्टार्टिकास्थित ३,२५० वर्ग किलोमिटर बरफिलो चट्टान २००२ को सुरुमा पग्लिएर विलीन भयो। यस शताब्दीमा समुद्री सतह निकै बढ्‌न सक्छ। विश्‍वका एक तिहाइ जनसंख्या समुद्र नजिकै बस्ने भएकाले यसले अन्ततः घर र खेतीयोग्य जमिनलाई क्षति पुऱ्‍याउन सक्छ। यसले गर्दा समुद्रीतटमा रहेका शहरहरूमा धेरै कठिनाइ आइपर्न सक्छ।

बढ्‌दो तापक्रमले गर्दा घरीघरी अस्वाभाविक रूपमा मौसम बिग्रनुका साथै अत्यधिक वर्षा हुनेछ भनी वैज्ञानिकहरू विश्‍वास गर्छन्‌। कसै-कसैको विचारमा फ्रान्समा १९९९ मा ९० जनाको ज्यान लिनुका साथै २७ करोड रूखहरू विनाश गर्ने गरी आएको आँधी भविष्यमा आउन लागेका कुराहरूको एउटा सानो झल्को मात्र हो। अन्य अनुसन्धाताहरूलाई लाग्छ, मौसममा आउने परिवर्तनले गर्दा औलो, डेंग, हैजा जस्ता रोगका किटाणुहरू सर्वत्र फैलिनेछन्‌।

प्रविधिले निम्त्याउने परिणामहरू कति बुझि नसक्नु छ भनी मोटर गाडीको उदाहरणले देखाउँछ—आविष्कारहरू मानिसहरूको लागि उपयोगी त छन्‌ तर धेरै समस्याहरूको कारक तत्त्व र जीवनका बृहत्‌ क्षेत्रहरूलाई असर गर्न सक्ने पनि यिनै हुन्‌। ह्‍युमन डिभेलोपमेन्ट रिपोर्ट २००१ को यो भनाइ सत्य छ: “प्रत्येक प्राविधिक उन्‍नतिहरूले सम्भाव्य फाइदासँगसँगै खतराहरू पनि बोकेर आउँछन्‌, कुनै-कुनै खतराहरूबारे त भविष्यवाणी गर्नै गाह्रो छ।”

वातावरणीय समस्याहरूको समाधानको लागि समेत मानिसहरू अक्सर प्रविधिकै मुख ताक्छन्‌। उदाहरणका लागि, वातावरणविद्‌हरूले धेरै पहिले देखि नै किटनाशक औषधीहरूको प्रयोगको विरोध गर्दै आएका छन्‌। जब किटनाशक औषधीहरूको आवश्‍यकतालाई कम गर्ने वा किटनाशक औषधी प्रयोग गर्नै नपर्ने गरी आनुवंशिक रूपमा काँटछाँट गरिएका वनस्पतिहरू उत्पादन गरियो, सबैले प्रविधिले ठूलो फड्‌को माऱ्‍यो भन्ठाने। तथापि डाँठमा लाग्ने गवारो कीरालाई किटनाशकविना नियन्त्रण गर्न तयार पारिएको विटि कर्न नामक कृत्रिम बिरुवाको सन्दर्भमा भन्‍ने हो भने, यस बिरुवाले मोनार्क पुतलीलाई पनि मार्न सक्ने कुरा परिक्षणबाट पत्ता लाग्यो। त्यसैले, कहिलेकाहीं “समाधानहरू”-ले उल्टो रूप लिन्छ र थप समस्याहरू निम्त्याउन सक्छ।

के सरकारले मदत गर्न सक्छ?

वातावरणीय विनाश एउटा विकराल समस्या भएकोले सफल समाधानको लागि सारा विश्‍वका सरकारहरूको हातेमालोको आवश्‍यकता पर्नेछ। कतिपय अवस्थाहरूमा, वातावरणमा योगदान पुऱ्‍याउन सरकारी प्रतिनिधिहरूले सकारात्मक परिवर्तनहरू गर्ने प्रस्ताव अगाडि सार्न आवश्‍यक साहस देखाएका छन्‌। तथापि, साँचो सफलता निकै थोरै र नगण्य मात्र हात परेको छ।

सन्‌ १९९७ मा जापानमा आयोजित एउटा अन्तरराष्ट्रिय शिखर सम्मेलन यसको एउटा उदाहरण हो। विश्‍वव्यापी उष्णताको मुख्य कारक तत्त्व मानिएको उत्सर्जनहरूमा कमी ल्याउन राष्ट्रहरूले एउटा सम्झौताका बुँदाहरूमा लामो समय जमेर बहस गरे। अन्ततः धेरैलाई चकित पार्दै सम्झौता भयो। जसलाई क्योटो प्रोटोकल भनियो। सम्झौता अनुरूप युरोपेली संघ, जापान, र संयुक्‍त राज्य अमेरिका जस्ता विकसित क्षेत्रहरूले २०१२ भित्र ५.२ प्रतिशतका दरले उत्सर्जनमा कमी ल्याउनुपर्ने थियो। सुन्दा राम्रो थियो। तथापि, २००१ को सुरुमै अमेरिकी सरकारले क्योटो प्रोटोकल उल्लंघन गरेको संकेत दियो। यसले गर्दा धेरैले आश्‍चर्य भावले आँखीभौंहरू तन्काए। किनकि विश्‍व जनसंख्याको पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको संयुक्‍त राज्य अमेरिकाले विश्‍वको एक चौथाइ उत्सर्जन निकाल्छ। अन्य सरकारहरूले भने सम्झौतालाई आधिकारिक अनुमोदन दिन सुस्तता देखाएका छन्‌।

अर्थपूर्ण समाधान निकाल्न सरकारलाई कत्तिको गाह्रो छ भन्‍ने कुरा माथिको उदाहरणले देखाउँछ। विभिन्‍न सरकारहरूलाई एक ठाउँमा भेला गराउनै गाह्रो छ र भेला गराउन सफलै भए पनि वातावरणीय समस्याहरूको समाधानको लागि एउटा ठोस निष्कर्षमा पुग्न गाह्रो हुन्छ। सम्झौतामा हस्ताक्षरहरू गरिए तापनि पछि कतिपय पक्षहरू आफ्नो दायित्वबाट पन्छिन्छन्‌। अन्य कतिपयलाई सम्झौता व्यवहारमा लागू गर्नै गाह्रो लाग्छ। कतिपय परिस्थितिहरूमा, सरकार अथवा निगमहरूलाई वातावरणीय सफाइमा लाग्ने खर्चहरू बेहोर्न असक्षम भएको महसुस हुन्छ। कतिपय ठाउँहरूमा लोभले प्रमुख भूमिका खेल्छ, जब शक्‍तिशाली व्यापारिक संस्थाहरूले सरकारहरूलाई आफ्नो व्यापारिक नाफामा प्रत्यक्ष असर पर्ने गरी कुनै पनि सम्झौता नगर्न कडा दबाब दिन्छन्‌। व्यापारजगत्‌ तथा निगमहरू भविष्यमा हुने परिणामप्रति कुनै मतलबै नराखी जति सकिन्छ त्यति, पृथ्वीको शोषण गर्न रुचाउँछन्‌ भन्‍ने कुरा विगतका अनुभवहरूबाट स्पष्ट भइसकेका छन्‌।

प्रदूषणले पृथ्वीलाई कुन हदसम्म असर गर्न सक्छ भन्‍ने कुरामा सबै वैज्ञानिकहरूको एकमत नभएकाले समस्या अझ जटिल भएको छ। तसर्थ, समस्याको रूपमा खडा हुन सक्ने वा नसक्ने पक्का नभएका कुराहरूका लागि कुन हदसम्म आर्थिक उन्‍नतिलाई रोक्ने भन्‍ने सन्दर्भमा सरकारी नीति निर्माताहरू अन्योलमा छन्‌।

मानिसजाति साँच्चै अन्योलमा छन्‌। समस्या छ र यसलाई समाधान गर्न केही गर्नुपर्छ भनेर सबैलाई थाह छ। कुनै-कुनै राष्ट्रहरूले विवेकशील प्रयासहरू गर्दैछन्‌। तर धेरैजसो स्थानहरूमा वातावरणीय समस्या झन्‌झन्‌ चर्कंदै गइरहेको छ। के यसको मतलब एक दिन पृथ्वी मानव बस्तीको लागि अयोग्य भएरै छाड्‌ने छ त? अब हामी यस प्रश्‍नको जवाफलाई केलाऔं। (g03 11/22)

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

ध्वनि प्रदूषण

एक प्रकारको प्रदूषण देख्न सकिंदैन तर सुन्‍न मात्र सकिन्छ—त्यो हो ध्वनि प्रदूषण। विशेषज्ञहरू भन्छन्‌, यो पनि एउटा चिन्ताको विषय हो किनकि यसले श्रवण क्षमता नष्ट गर्न सक्छ; तनाव, उच्च रक्‍तचाप, अनिद्रा र उत्पादनशीलतामा कमी ल्याउन सक्छ। होहल्लापूर्ण वातावरणमा अवस्थित विद्यालयका बच्चाहरूमा पढाइसम्बन्धी असक्षमता विकास हुन सक्छ।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

वन फँडानीको परिणाम मुसाको बिगबिगी

जब फिलिपिन्स, सामारस्थित १५ वटा गाउँ अचाक्ली मुसाको बिगबिगीबाट पीडित भए, एउटा सरकारी स्रोतले त्यस क्षेत्रमा भएको वन फडाँनी नै यसको मुख्य कारण भएको दाबी गऱ्‍यो। जंगलको विनाशले मुसालाई सिकार बनाउने जंगली जनावरहरू तथा मुसाको खानाको स्रोतमा कमी आयो। खानाको खोजीमा मुसाहरू धेरै प्रदूषित ठाउँहरूमा बसाइँ सरे।

[स्रोत]

© Michael Harvey/Panos Pictures

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

विषाक्‍त फोहोरका सिकारहरू?

साढेतीन वर्षको उमेरमा माइकललाई निउरोब्लास्टोमा नामक क्यान्सर भएको पत्ता लाग्यो। यदि ऊ बसेको इलाकाभरि उसलाई मात्र क्यान्सर लागेको भए यो त्यति अनौठो हुने थिएन। तथापि, पछि त्यसै इलाकामा अरू १०० जनालाई पनि क्यान्सर भएको पत्ता लाग्यो। यसले गर्दा धेरै आमाबाबुहरू सजग भए। कसै-कसैले यसरी अचानक धेरैलाई क्यान्सर लाग्नुको कारण त्यस क्षेत्रमा भएका रासायनिक कम्पनीहरू हुन्‌ भन्‍ने अनुमान लगाए। अनुसन्धानबाट पत्ता लागेअनुसार केही समय अगाडि फोहोर उठाउने एउटा सानोतिनो संस्थाले एउटा कम्पनीबाट धेरै मात्रामा विषाक्‍त तरल पदार्थहरू उठाएर एउटा कुखुरा पाल्ने फार्ममा थुपारेको रहेछ, कहिलेकाहीं तिनीहरूले फोहोरहरू त्यतिकै बाहिर थुपार्ने गर्दा रहेछन्‌। अनुसन्धाताहरूले स्थानीय इनारहरूमा संक्रमित फोहोरहरू भेट्टाए। आफ्ना बच्चाहरूलाई क्यान्सर हुनुको कारण थाह पाउँदा छक्क पर्नुबाहेक आमाबाबुहरूले अरू केही गर्न सकेनन्‌।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

विषाक्‍त रसायनहरू

दोस्रो विश्‍वयुद्धपश्‍चात्‌ १,२०,००० टन विषाक्‍त पदार्थहरू प्रायः फोजेन अनि मस्टर्ड ग्याँस जहाजमा सिलबन्द गरेर समुद्रमा डुबाइयो त्यसमध्ये कुन-कुनै उत्तरी आयरल्याण्डको उत्तर-पश्‍चिमतिर डुबाइएको थियो। यी पदार्थहरू हाल चुहिने खतरा भएको रुसी वैज्ञानिकहरू चेतावनी दिन्छन्‌।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

वायु प्रदुषणले ज्यान लिन्छ

विश्‍व स्वास्थ्यसंघले बताएअनुसार, हरेक वर्ष विश्‍वभर हुने ५ देखि ६ प्रतिशत मृत्युको मुख्य कारण वायु प्रदूषण हो। क्यानाडाको ओन्टारियो प्रान्तका बासिन्दाहरूले मात्र वायु प्रदूषणले गर्दा हुने स्वास्थ्य समस्या र कार्यालय तथा स्कूलमा गैरहाजिरीको कारण नोक्सान स्वरूप वार्षिक १ अरब भन्दा बढी अमेरिकी डलर खर्च गर्छन्‌।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

मुगाढिस्को मर्दैछ

दक्षिण एसियाका केही माझीहरू माछा समात्न सजिलो होस्‌ भनी माछालाई बेहोस पार्न साइनाइड प्रयोग गर्छन्‌। त्यो विष माछाको शरीरबाट निस्कने भएकोले माछा खान योग्य त हुन्छ। तथापि, यसरी माछाको शरीरबाट निस्केका विषहरू समुद्रमा बाँकी रहन्छन्‌ र त्यसले मुगाढिस्कोलाई मार्छ।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

शल्यचिकित्सकहरूले लगाउने खालको मास्क लगाउनुपर्छ?

एसियाविक पत्रिकाले रिपोर्ट गरेअनुसार एसियाली शहरहरूमा बहने धेरै जसो प्रदूषित वायु, सवारीसाधनहरूबाट निस्कन्छन्‌। प्रायः डिजेल तथा टु स्ट्रोक इन्जिन नै प्रदूषणको मुख्य स्रोत हो जसले हावामा सजिलै मिसिने एकदमै ससाना कणहरू छोड्‌छन्‌। यस्ता धुँवा धेरै स्वास्थ्य समस्याहरूका कारक तत्त्व हुन्‌। सोही पत्रिका यस्तो रिपोर्ट दिन्छ: “डिजेलबाट निस्कने धुँवा नै क्यान्सरको मुख्य कारक तत्त्व हो भनी प्रदूषण असरबारे ताइवानका एक मुख्य विशेषज्ञ डा. चान चाङ्‌ग-च्वान भन्छन्‌।” एसियाली शहरमा केही मानिसहरू आफ्नो सुरक्षाको लागि शल्यचिकित्सकहरूले लगाउने खालको मास्क लगाउँछन्‌। के यस्ता मास्कहरूले सुरक्षा दिन्छ? डा. चान यसो भन्छन्‌: “यस्ता मास्कहरू प्रभावहीन हुन्छन्‌। प्रदुषकका रूपमा रहेका ग्याँस र हावामा मिसिएका कणहरू यति सुक्ष्म हुन्छन्‌ कि सामान्य मास्कले यस्ता ससाना कणहरूलाई छान्‍नै सक्दैन। यसको अतिरिक्‍त,. . . यस्ता मास्कहरूमा हावा पूरै रोक्न सक्ने क्षमता हुँदैन। त्यसैले यस्ता मास्कहरूले सुरक्षाको झूटो अनुभूति दिन्छ।”

[पृष्ठ ७-मा भएको चित्र]

वातावरण संरक्षणमा योगदान पुऱ्‍याउन वृक्षारोपण गर्दै

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

AFP/Getty Images; top left: Published with the permission of The Trustees of the Imperial War Museum, London (IWM H 42208); top right: Howard Hall/howardhall.com