सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

फोहोरमैलाबाट चल्ने गाडी

फिनल्याण्डको एक जना जग्गाधनीले फोहरमैला प्रशोधनबाट निस्कने ग्याँसबाट गाडी चलाउँछन्‌। “गाडी मालिककै जमिनमा राखिएको प्रशोधक भाँडामा फोहोरमैलालाई सफा गरेर चाप बढाएपछि उत्पादन हुने बायोग्याँसबाट उक्‍त गाडी चल्छ” भनी फिनिश पत्रिका स्वोमेन लुअन्टो रिपोर्ट गर्छ। आजकल प्रयोग गरिने सबैभन्दा सफा प्रज्वलनशील इन्धन बायोग्याँस हो र यो, फोहोरलाई प्रशोधन गरेर उत्पादन गर्न सकिने हुँदा वातावरणलाई कुनै नराम्रो असर पार्दैन। वास्तवमा, बायोग्याँस उत्पादनको एउटा सहउत्पादन मूल्यवान्‌ कृषि मल हो। प्राकृतिक ग्याँसबाट चल्न सक्ने गाडीहरू संसारभरि २० लाखवटा जति छन्‌ अनि यी बायोग्याँसबाट पनि चल्न सक्छन्‌। स्वीडेनका थुप्रै नगर बसहरू बायोग्याँसबाट चल्छन्‌ अनि कुनै-कुनै पेट्रोल पम्पहरूले अरू इन्धनका साथै बायोग्याँस पनि राख्न थालिसकेका छन्‌। यसको अर्को ठूलो सुविधाबारे उक्‍त लेख यस्तो टिप्पणी गर्छ: “पेट्रोल वा डिजेलभन्दा बायोग्याँस निकै सस्तो छ।” (g03 11/08)

टुथपेस्ट बनाउने पुरातन मिश्री सूत्र

“टुथपेस्ट बनाउने संसारको सबैभन्दा पुरानो सूत्र जुन कोल्गेटले १८७३ मा आफ्नो उत्पादन बेच-बिखन गर्न थाल्नुभन्दा १,५०० वर्षअघिको हो, यो भियनाको संग्रहालयको भुइँतलामा धूलोमूलो भएको पपाइरसमा भेटियो” भनी इलेक्ट्रोनिक टेलिग्राफ रिपोर्ट गर्छ। “ध्वाँसो र घुलनशील गमलाई पानीमा मिसाएर बनाइएको फिक्का कालो मसी प्रयोग गरेर पुरातन मिश्री शास्त्रीले यसलाई बडो होसियारीपूर्वक ‘सेतो तथा तन्दुरुस्त दाँतको’ लागि भनी वर्णन गरेका छन्‌। मुखमा थुकसित मिसाउँदा यसले ‘सफा टुथपेस्ट’ बनाउँछ।” यो सा.यु. चौथो शताब्दीको कागजातअनुसार ती तत्त्वहरू नुन, बाबरी, सुकेको पदमपुष्कर र पिप्ला सबै सँगै मिसाएर धूलोपीठो बनाइन्छ। यो आविष्कारले भियनाको दन्त सम्मेलनमा हलचल मच्चायो। “दन्त पेसाका कसैलाई यो अचम्मको चीजको स्तरीय टुथपेस्ट सूत्र उपलब्ध छ भनेर थाह थिएन” भनी डा. हाइन्ज न्युमनले बताए, जसले यो चलाएर हेरे अनि आफ्नो “मुख सफा र स्वच्छ” महसुस गरे। उक्‍त लेख यसो भन्छ: “हालै दन्तचिकित्सकहरूले पदमपुष्करको उपयोगिता पत्ता लगाएका छन्‌ र यो गिजासम्बन्धी रोगको लागि प्रभावकारी भएको पाइयो अनि यो अहिले पुनः बजारमा उपलब्ध छ।” (g03 11/22)

भिडिओ गेमका स्वास्थ्य खतराहरू

छोराछोरीको स्वास्थ्यको लागि भिडिओ गेमहरू कति खतरनाक हुन सक्छन्‌ भनी आमाबाबुलाई थाह नहुन सक्छ भनी मेक्सिको सिटीको अखबार एल युनिभर्सल रिपोर्ट गर्छ। मुटुसम्बन्धी रोगको अध्ययनको लागि स्थापित मेक्सिकन सोसाइटी अफ कार्डियोलोजीका अध्यक्ष, एन्टोनियो गोन्जालेज हर्मोसिलोअनुसार निरन्तर भिडिओ गेम खेल्न्‌ ४० प्रतिशत केटाकेटीमा उच्च रक्‍तचाप देखा पर्छ। किन? व्यायामको कमीको अलावा केटाकेटीहरू अत्यन्तै तनावग्रस्त हुन्छन्‌ किनभने तिनीहरू आक्रमण, अवास्तविक झगडा र अन्य विवादहरूजस्ता खतरनाक परिस्थितिहरूमा पर्छन्‌। “त्यस विशेषज्ञले बताएअनुसार यसले गर्दा मेक्सिकोमा मृत्युको प्रमुख कारण, मुटुसम्बन्धी रोगहरू हुनेछन्‌ र यसले गर्दा देशको मृत्युदर अकासिनेछ” भनी उक्‍त अखबारले बतायो। (g03 11/22)

पृथ्वीको आधाजसो भाग उजाड छ

“एक शताब्दीसम्म बढ्‌दो वातावरणीय खतराको बावजुद पृथ्वीको ४६ प्रतिशत भूभाग प्रायजसो उजाड छ” भनी वर्ल्ड वच भन्‍ने प्रकाशन रिपोर्ट गर्छ। संसारभरिका २०० जना वैज्ञानिकहरूसित गरिएको अध्ययनले [६ करोड ८० लाख वर्ग किलोमिटर] जमिनलाई ‘उजाड’ भन्‍न मिल्छ अर्थात्‌ त्यहाँ ७० प्रतिशतभन्दा कम वनस्पति छन्‌, शहरी इलाकाबाहिर प्रति [वर्ग किलोमिटरमा] [१३] जनाभन्दा कम मानिस छन्‌ अनि प्रत्येक उजाडस्थान कम्तीमा [१०,००० वर्ग किलोमिटर छ]।” यी ३७ वटा उजाडस्थानमा पृथ्वीको कूल जनसंख्याको २.४ प्रतिशत मात्र पर्छ—शहरी केन्द्रबाहेक १४ करोड ४० लाख मानिस पर्छन्‌—तर तिनीहरूको कूल जमिन भने छवटा ठूल्ठूला राष्ट्रहरूको क्षेत्रफल बराबर हुन्छ: अस्ट्रेलिया, क्यानाडा, चीन, ब्राजिल, रूस र संयुक्‍त राज्य अमेरिका। तथापि, वर्ल्ड वच-ले बताएअनुसार “उजाडस्थानको एक तिहाइभन्दा बढी भाग आन्टार्टिकको बरफ वा आर्क्टिक टुन्ड्रा पर्छ अनि यी ३७ वटा इलाकामध्ये पाँचवटा मात्र संरक्षण-प्राथमिकता इलाकाहरू हुन्‌—यसको मतलब हो, यी प्रत्येकमा १,५०० भन्दा बढी किसिमका स्थानीय जातिहरू छन्‌ अनि प्रशस्त जैविक विविधता छ।” (g03 11/22)