सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो ग्रह कत्तिको थला परेको छ?

हाम्रो ग्रह कत्तिको थला परेको छ?

हाम्रो ग्रह कत्तिको थला परेको छ?

फिलिपिन्सका ब्यूँझनुहोस्‌! लेखकद्वारा

बिरामी सिकिस्त छ। अनगिन्ती रोगका लक्षणहरू देखापरेका छन्‌। बिरामीको सास ह्वास्स गनाउँछ। हनहनी ज्वरो आएको छ र ज्वरो पहिला कहिल्यै यत्तिको रन्किएको थिएन। अनेक प्रयास गर्दा पनि ज्वरो ओर्लने कुनै संकेत देखिंदैन। शरीरका नसा-नसामा विष फैलिरहेछ। एउटा रोगको उपचार गर्न नभ्याउँदै थप दसवटा रोग बल्झन्छन्‌। यदि बिरामी चानचुने व्यक्‍ति भइदिएको भए डाक्टरहरूले ती अनगिन्ती रोगहरूलाई दीर्घ रोग भन्दै अब बिरामी मर्छ भनेर एकातिर पन्छाइदिन्थे होलान्‌। केही उपाय नलागेपछि डाक्टरहरू बिरामीको अन्तिम घडी नआएसम्म उसलाई सकेजति सुबिस्तासित राख्ने कोसिस गर्छन्‌।

यद्यपि, यो कुनै मानव बिरामी होइन। यो हाम्रो आफ्नै घर—पृथ्वी हो। माथिका यी जीवन्त वर्णनहरूले हाम्रो ग्रहको वास्तविकतालाई चित्रण गर्छ। प्रदूषित हावा, विश्‍वव्यापी उष्णता, प्रदूषित पानी, विषाक्‍त फोहोर त हाम्रो सिकिस्त पृथ्वीले भोग्नुपरेका केही व्यथाहरू मात्र हुन्‌। माथि बताइएका डाक्टरहरूझैं विशेषज्ञहरू के गर्ने, कसो गर्ने, अलमल्लमा छन्‌।

छापाहरूले नियमित रूपमा पृथ्वीको बिग्रँदो स्वास्थ्यप्रति ध्यानाकर्षण गर्दै यस्ता शीर्षसमाचारहरू छाप्ने गर्छन्‌: “विस्फोटन गरी माछा मार्ने कामले समुद्री धरातललाई मृतकबस्तीमा परिणत गर्छ।” “अबको २४ वर्षमा एक अरब एसियालीहरू शुद्ध पानीको लागि तड्‌पिन सक्छन्‌।” “हरेक वर्ष, चार करोड टन विषाक्‍त फोहोर गरिब मुलुकहरूमा लगेर फ्याँकिन्छ।” “जापानमा रहेका १,८०० इनारहरूमध्ये दुई तिहाइ इनार विषाक्‍त छन्‌।” “एन्टार्टिक क्षेत्रमा ओजोन तहमा परेको प्वाल फेरि एक चोटि चिन्ताको विषय बनेको छ र त्यो प्वाल ठूलो हुँदैछ।”

वातावरणीय खतरासम्बन्धी समाचार सुन्दा-सुन्दा कतिपय मानिसहरूलाई यो सामान्य लाग्न थालिसक्यो। सायद तिनीहरू सोच्लान्‌, ‘मलाई प्रत्यक्ष असर नगरेसम्म त्यो मेरो लागि खासै चिन्ताको विषय होइन।’ हामीले व्यक्‍तिगत रूपमा आफूलाई असर गरेको महसुस गरौं या नगरौं तर बृहत्‌ रूपमा पृथ्वीको वातावरणमा भइरहेको विनाशले बहुसंख्यक मानिसहरूलाई असर त गर्छ नै। आज हाम्रो ग्रहमा भइरहेको व्यापक प्रदूषणलाई हेर्ने हो भने, यसले हाम्रो जीवनको एकभन्दा बढी पक्षलाई असर गरिसकेको हुन सक्छ। त्यसैले, हामी सबै आफ्नो घरको स्वास्थ्य र संरक्षणप्रति चिन्तित हुनु आवश्‍यक छ। आखिर, हामी पृथ्वी छोडेर अन्त कहाँ जाने?

समस्या कत्तिको व्यापक छ? पृथ्वी कत्तिको थला परेको छ? यसले मानिसहरूको जीवनलाई कत्तिको असर गरेको छ? हाम्रो ग्रह सानोतिनो रोगले मात्र होइन तर साह्रै नराम्ररी थला परिसकेको छ भनेर बुझ्न मदत गर्ने केही तथ्यहरू विचार गरौं।

महासागर: महासागरका धेरैजसो भागहरूमा अत्यधिक मात्रामा माछा मारिन्छ। संयुक्‍त राष्ट्र वातावरणीय कार्यक्रमले प्रस्तुत गरेको रिपोर्टले यसो भन्छ, “७० प्रतिशत समुद्री मत्स्य क्षेत्रहरूको यति नराम्ररी शोषण गरिएको छ कि माछाको थप उत्पादन त परै जाओस्‌ जति माछाहरू माझीहरूले मार्छन्‌ त्यति पनि उत्पादन हुन सक्ने अवस्थामा छैनन्‌।” उदाहरणको लागि १९८९ देखि १९९४ को दौडान उत्तर एट्‌लान्टिकमा कोड, हेक, हेडोक र फ्लाउन्डर जस्ता समुद्री माछाहरूको संख्यामा ९५ प्रतिशतले कमी आयो। यदि यो क्रम नरोकिने हो भने खानाको मुख्य स्रोतको लागि समुद्रमा भर पर्ने करोडौं मानिसहरूको हालत के होला?

यसको अतिरिक्‍त, हरेक वर्ष अनुमानित दुई देखि चार करोड टन समुद्री जीवहरू समातिन्छन्‌ र प्रायः घाइते र मृतक अवस्थामा समुद्रमै फ्याँकिन्छन्‌। तर ती जीवहरू किन समुद्रमा फ्याँकिन्छन्‌? समात्न खोजिएका माछाहरूसँगै त्यस्ता जीवहरू पनि समातिन्छन्‌ तर नचाहिएका हुनाले फेरि समुद्रमै फ्याँकिन्छन्‌।

जंगल: जंगल फँडानीका धेरै नकारात्मक पक्षहरू छन्‌। रूखहरू कम भएपछि कार्बनडाइअक्साइड सोस्ने पृथ्वीको क्षमतामा ह्रास आउँछ र यसैलाई विश्‍वव्यापी उष्णताको प्रमुख कारण मानिएको छ। जीवन-रक्षक औषधीको सम्भाव्य स्रोतको रूपमा रहेका वनस्पतिहरूका केही खास प्रजातिहरू लोप हुनेछन्‌। यी सबका बावजुद जंगलको विनाशमा रत्तीभर कमी आएको छैन। वास्तवमा, हालैका वर्षहरूमा झनै तीव्र गतिमा विनाश भइरहेको छ। कोही-कोही विशेषज्ञहरूलाई लाग्छ, यदि यो क्रम नरोकिने हो भने अबको २० वर्ष भित्रमा उष्णप्रदेशीय जंगलहरू सखाप हुनेछन्‌।

विषाक्‍त फोहोर: जल अनि थल दुवैतिर हानिकारक फोहोर-मैलाहरू थुप्रनु एउटा गम्भीर समस्या हो जसले करोडौं मानिसहरूलाई ठूलो हानि पुऱ्‍याउन सक्छ। रेडियो विकिरण फोहोर, घनत्व बढी भएका धातु र प्लास्टिक उत्पादन गर्दा पैदा हुने अनावश्‍यक उप-उत्पादनहरू मानिस तथा जनावरहरूलाई अशक्‍त, बिरामी बनाउने र मृत्युको मुखमा धकेल्ने केही तत्त्वहरू हुन्‌।

रासायनिक पदार्थ: गत १०० वर्षको दौडान लगभग १,००,००० नयाँ रासायनिक पदार्थहरू प्रयोगमा आए। अन्ततः यस्ता रासायनिक पदार्थहरूले हावा, माटो, पानी र खानामा आफ्नो डेरा जमाउँछन्‌। मानव स्वास्थ्यमा तिनीहरूले पार्ने असरबारे तुलनात्मक रूपमा थोरैको मात्र परीक्षण गरिएका छन्‌। तथापि, जतिको परीक्षण गरिएका छन्‌, तिनीहरूमध्ये अधिकांश क्यान्सर तथा अन्य रोगहरूको कारक तत्त्व भएको पत्ता लागेका छन्‌।

हाम्रो वातावरणलाई घात पुऱ्‍याउने अन्य धेरै कुराहरू छन्‌: वायु प्रदूषण, अप्रशोधित ढल-निकास, अम्ल वर्षा, शुद्ध पानीको अभाव इत्यादि। माथि बताइएका कुरा थोरै नै भए तापनि हाम्रो पृथ्वी साँच्चै थला परेको छ भन्‍ने कुरालाई पुष्टि गर्न यथेष्ट छ। के बिरामीलाई बचाउन सकिएला कि आशा मारे हुन्छ? (g03 11/22)