सीधै सामग्रीमा जाने

मैले पहिरन र कोरीबाटीप्रति आफ्नो दृष्टिकोण सच्याउनुपर्थ्यो

मैले पहिरन र कोरीबाटीप्रति आफ्नो दृष्टिकोण सच्याउनुपर्थ्यो

मैले पहिरन र कोरीबाटीप्रति आफ्नो दृष्टिकोण सच्याउनुपर्थ्यो

आइलिन ब्रम्बको वृत्तान्तमा आधारित

म एकदमै कडा अनि पुरानो जीवनशैली पछ्याउने धर्ममा (ओल्ड अर्डर जर्मन ब्याप्टिस्ट ब्रेद्रेन) हुर्किएँ। यो धर्म १७०८ मा जर्मनीमा सुरु भएको हो। धर्मसम्बन्धी एउटा विश्‍वकोशले a बताएअनुसार सबै मानिसलाई ख्रिष्टको सुसमाचार सुनाउनको लागि यो धर्म सुरु भएको हो। सुसमाचार सुनाउनको लागि थुप्रै मिसनरीलाई विभिन्‍न देशमा खटाइयो।

सन्‌ १७१९ मा एलेक्जेन्डर म्याकको नेतृत्वमा भएको एउटा सानो समूह अमेरिकाको पेन्सिलभेनियामा आयो। पछि यो समूह विभाजन भएर थुप्रै समूह बन्यो। एलेक्जेन्डर म्याकको शिक्षाबारे हरेक समूहको आ-आफ्नै बुझाइ थियो। हाम्रो चर्चमा ५० जना सदस्य थिए। हाम्रो लागि बाइबल पढ्‌नु अनि त्यहाँको अगुवाहरूले दिएको हरेक आज्ञा पालन गर्नु एकदमै महत्त्वपूर्ण थियो।

कम्तीमा तीन पुस्तादेखि मेरो परिवारले यो धर्म र यो जीवनशैली पछ्याउँदै आएको थियो। तेह्र वर्षको उमेरमा बप्तिस्मा गरेर म पनि त्यस चर्चको सदस्य भएँ। मैले सानैदेखि गाडी, ट्रयाक्टर, टेलिफोन अनि रेडियोजस्ता बिजुलीले चल्ने सबै उपकरण प्रयोग गर्नु गलत हो भनेर सिकेकी थिएँ। हामी चर्चका स्त्रीहरूले साधारण पहिरन गर्थ्यौँ, कहिल्यै कपाल काट्‌दैनथ्यौँ अनि सधैँ शिर ढाक्थ्यौँ। हाम्रो चर्चका पुरुषहरू दाह्री पाल्थे। येसुले संसारको नहुनू भन्‍नुभएकोले हामीलाई नयाँ स्टाइलको लुगा लगाउनु, सिँगार गर्नु र गरगहना लगाउनु गलत हो जस्तो लाग्थ्यो।

बाइबल परमेश्‍वरको वचन भएकोले यसको गहिरो आदर गर्न हामीलाई सिकाइएको थियो। हरेक बिहान खाजा खानुअघि हामी सँगै बसेर बुबाले बाइबलको कुनै अध्याय पढ्‌नुभएको र त्यसबारे बताउनुभएको कुरा सुन्थ्यौँ। त्यसपछि बुबाले प्रार्थना गर्नुहुँदा हामी घुँडा टेकेर बस्थ्यौँ। पछि आमाले पनि प्रभुको प्रार्थना दोहोऱ्‍याउनुहुन्थ्यो। मलाई बिहान गरिने उपासना एकदमै रमाइलो लाग्थ्यो किनभने त्यतिबेला हामी परिवारै मिलेर आध्यात्मिक कुरामा ध्यान दिन्थ्यौँ।

हामी इन्डियानाको डेल्फी नजिकै बस्थ्यौँ र त्यहाँ हामी खेतीपाती गर्थ्यौँ। हामी खेतको उब्जनी बग्गीमा लादेर बजार र घरघरमा बेच्न लान्थ्यौँ। हामीले गर्ने कडा मेहनत परमेश्‍वरलाई चढाइने सेवाको एउटा भाग हो जस्तो लाग्थ्यो। आइतबारको दिनलाई हामी “विश्रामदिन”-को रूपमा हेर्थ्यौँ। त्यसैले आइतबारबाहेक हप्ताको अरू छ दिन हामी काम गर्थ्यौँ। कहिलेकाहीँ खेतीपातीको काममा एकदमै खटिएकोले आध्यात्मिक कुराहरूमा ध्यान दिन अलि गाह्रो लाग्थ्यो।

विवाह र परिवार

मैले सन्‌ १९६३ मा १७ वर्षको हुँदा हाम्रै धर्म मान्‍ने जेम्ससित विवाह गरेँ। उहाँको परिवारले चार पुस्तादेखि यो धर्म मान्दै आएको थियो। हामी दुवैमा परमेश्‍वरको सेवा गर्ने गहिरो इच्छा थियो। हाम्रो चर्चले मात्र सत्य कुरा सिकाउँछ भनेर हामी विश्‍वास गर्थ्यौँ।

सन्‌ १९७५ सम्ममा हाम्रो छ जना छोराछोरी भइसकेका थिए अनि १९८३ मा हाम्रो कान्छो छोरा जन्मियो। जेठो छोरापछि जन्मिएकी रिबेका हाम्री एउटै छोरी हुन्‌। हामी कडा मेहनत गर्थ्यौँ, थोरै खर्च गर्थ्यौँ र सरल जीवन बिताउँथ्यौँ। हामीले आफ्नो आमाबुबा र हाम्रो धर्म मान्‍नेहरूबाट सिकेको बाइबलका सिद्धान्तहरू छोराछोरीलाई पनि सिकायौँ।

हाम्रो धर्ममा बाहिरी रूपरङ्‌ग कस्तो छ भनेर एकदमै ध्यान दिनुपर्थ्यो। हामी मानिसको हृदय पढ्‌न सक्दैनौँ। त्यसले उसको बाहिरी रूपबाट उसको भित्री मन कस्तो छ भनेर थाह हुन्छ जस्तो हामीलाई लाग्थ्यो। यदि कुनै स्त्रीले आफ्नो कपाल बढी नै सिँगार्छिन्‌ भने उनी घमन्डी हुँदै छिन्‌ भन्ठानिन्थ्यो। उनी बुट्टेदार लुगा लगाउँछिन्‌ भने पनि उनी घमन्डी हुँदै छिन्‌ भन्ठानिन्थ्यो। कहिलेकाहीँ बाइबलले भन्दा पनि ती नियमहरूले बढी महत्त्व पाएको जस्तो देखिन्थ्यो।

झ्यालखानाको अनुभव

मेरो श्रीमान्‌को भाइ जेसि पनि यही धर्ममा हुर्केका थिए। तिनले सैन्य सेवामा भाग लिन इन्कार गरेकोले सन्‌ १९६० दशकको अन्ततिर तिनलाई झ्यालखानामा हालिएको थियो। त्यहाँ तिनले यहोवाका साक्षीहरूलाई भेटे। तिनीहरू पनि युद्धमा भाग लिनु बाइबल सिद्धान्तविपरीत हो भनेर विश्‍वास गर्थे। (यसैया २:४; मत्ति २६:५२) जेसिलाई साक्षीहरूसित बाइबलबारे छलफल गर्न रमाइलो लाग्थ्यो। तिनलाई साक्षीहरूको व्यवहार पनि धेरै मन पर्थ्यो। राम्ररी बाइबल अध्ययन गरेपछि तिनले बप्तिस्मा गरे अनि एक जना यहोवाको साक्षी भए। तर यो कुरा हामीलाई चित्त बुझेन।

आफूले सिकेका कुराहरू जेसिले मेरो श्रीमान्‌लाई पनि बताए। साथै जेम्सले नियमित रूपमा प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिका पाइरहने प्रबन्ध पनि तिनले मिलाए। यी पत्रिकाहरू पढ्‌दै जाँदा बाइबलप्रति जेम्सको चासो पनि बढ्‌दै गयो। जेम्समा पहिल्यैदेखि परमेश्‍वरको सेवा गर्ने गहिरो इच्छा थियो। तर उहाँ अक्सर परमेश्‍वर आफूदेखि टाढा हुनुहुन्छ भनेर महसुस गर्नुहुन्थ्यो। त्यसैले परमेश्‍वरसित नजिक बनाउने कुनै पनि कुराप्रति उहाँ तुरुन्तै आकर्षित हुनुहुन्थ्यो।

हुनत हामी अरू धर्महरूलाई संसारकै भाग ठान्थ्यौँ तर हाम्रा अगुवाहरूले हाम्रो जस्तै विश्‍वास भएका अरू धर्महरूको प्रकाशन पढ्‌न हामीलाई प्रोत्साहन दिने गर्थे। तर मेरो बुबा साक्षीहरूप्रति पूर्वाग्रही हुनुहुन्थ्यो। हामीले प्रहरीधरहराब्यूँझनुहोस्‌! पढ्‌नै हुँदैन जस्तो उहाँलाई लाग्थ्यो। त्यसैले मलाई पनि जेम्सले ती प्रकाशनहरू पढ्‌नुभएको मनै परेन। तिनीहरूले सिकाउने झूटो शिक्षा उहाँले अँगाल्नुहोला कि भनेर मलाई चिन्ता लाग्थ्यो।

जेम्सलाई पहिल्यैदेखि हाम्रो धर्मको केही शिक्षा बाइबलसित मेल खाँदैन जस्तो लाग्थ्यो। विशेषगरि विश्रामदिनमा काम गर्नु पाप हो भन्‍ने शिक्षा। उदाहरणको लागि, विश्रामदिनमा आफ्नो जनावरलाई पानी दिन मिल्थ्यो तर घाँस काट्‌न चाहिँ मिल्दैनथ्यो। तर यस नियमपछाडिको धर्मशास्त्रीय आधार भने हाम्रा अगुवाहरूले उहाँलाई दिन सकेनन्‌। बिस्तारै मलाई पनि यी शिक्षाहरूमा शङ्‌का लाग्न थाल्यो।

लामो समयदेखि हाम्रो धर्म नै साँचो धर्म हो भनेर हामी विश्‍वास गर्थ्यौँ। यो धर्म छोडेपछि हामीलाई असाध्यै गाह्रो हुनेछ भनेर पनि थाह थियो। त्यसैले यो धर्म छोड्‌ने निर्णय गर्न सजिलो थिएन। तर बाइबलको शिक्षा ठीकसित नसिकाउने धर्मको सदस्य भइरहन हाम्रो अन्तस्करणले मानेन। त्यसैले सन्‌ १९८३ मा हामीले चर्च छोड्‌नुको कारण उल्लेख गर्दै एउटा पत्र लेख्यौँ र त्यो पत्र चर्चमा पढेर सुनाउन आग्रह गऱ्‍यौँ। त्यसपछि हामीलाई बहिष्कार गरियो।

साँचो धर्मको खोजी

हामीले साँचो धर्मको खोजी गर्न थाल्यौँ। हामीले खोजिरहेको धर्मका अनुयायीहरूले आफूले सिकाउने कुरा जीवनमा लागू गरेको हुनुपर्थ्यो। सुरुमा हामीले युद्धमा भाग नलिने धर्महरू खोज्ने निर्णय गऱ्‍यौँ। हामीलाई अझै पनि सरल जीवन बिताउने अनि साधारण किसिमको पहिरन गर्न सिकाउने धर्महरू नै संसारको भाग होइनन्‌ जस्तो लाग्थ्यो। त्यसैले त्यस्ता धर्महरूमा हामीले सत्य खोज्न थाल्यौँ। सन्‌ १९८३ देखि १९८५ सम्म हामी अमेरिकाको विभिन्‍न ठाउँमा गयौँ र एकएक गरी विभिन्‍न धर्मलाई जाँचेर हेऱ्‍यौँ।

हामी इन्डियानाको क्याम्डेनमा बस्थ्यौँ। त्यतिबेला यहोवाका साक्षीहरू हामीलाई भेट्‌न आए। हामीले उनीहरूको कुरा सुन्यौँ तर उनीहरूलाई किङ जेम्स भर्सन बाइबलमा भएको कुरा मात्र बताउन भन्यौँ। युद्धमा भाग नलिने साक्षीहरूको अडानको म कदर गर्थेँ। तर मलाई अझै पनि उनीहरूको कुरामा विश्‍वास गर्न गाह्रो लागिरहेको थियो। किनभने यदि उनीहरू संसारबाट अलग रहन साधारण पहिरन गर्न सक्दैनन्‌ भने उनीहरूको धर्म पनि साँचो हुन सक्दैन जस्तो मलाई लाग्थ्यो। म के सोच्थेँ भने घमन्डको कारण मानिसहरू हामीभन्दा फरक किसिमको पहिरन गर्छन्‌। नयाँ स्टाइलको लुगा लगाउने अनि नयाँ-नयाँ किसिमको सामान राख्ने मानिसहरू घमन्डी हुन्छन्‌ भनेर म विश्‍वास गर्थेँ।

जेम्स हाम्रा केही छोरालाई लिएर यहोवाका साक्षीहरूको सभाभवन जान थाल्नुभयो। मलाई यो कुरा चित्तै बुझेन। उहाँले मलाई पनि आफूसँगै आउन भन्‍नुभयो तर मैले मानिनँ। उहाँले मलाई एकदिन भन्‍नुभयो, “तिमीलाई तिनीहरूको सबै शिक्षा चित्त बुझ्दैन भने पनि तिनीहरूले एकअर्कासित कस्तो व्यवहार गर्छन्‌ भनी गएर हेर न।” उहाँलाई तिनीहरूको यही कुरा मन परेको थियो।

अन्तमा मैले पनि उहाँसँगै जाने निर्णय गरेँ। तर उनीहरूजस्तो हुन चाहँदिनथेँ। म आफ्नो साधारण लुगा अनि टोपी लगाएर सभाभवनमा गएँ। हाम्रा केही छोरा पनि साधारण लुगा लगाएर खाली खुट्टै त्यहाँ गएका थिए। तैपनि साक्षीहरू हामीकहाँ आए अनि हामीसित मायालु व्यवहार गरे। मैले मनमनै सोचेँ, ‘हामी फरक देखिन्छौँ तैपनि उनीहरू हामीलाई खुलेर स्वागत गर्दै छन्‌।’

हुनत उनीहरूको मायालु चासोले मेरो मन छोएको थियो तर उनीहरू जे गर्छन्‌, त्यसो नगर्ने सोच बनाएकी थिएँ। त्यसैले उनीहरू गीत गाउन उठ्‌दा म उठिनँ अनि सबैले गीत गाइरहेको बेला म चुप लागेर बसिरहेँ। सभा सिद्धिएपछि मैले उनीहरूलाई थुप्रै प्रश्‍न सोधेँ, विशेषगरि कुनै खास शास्त्रपदको अर्थबारे वा मलाई चित्त नबुझेको उनीहरूको कुनै गतिविधिबारे। मैले विचारै नपुऱ्‍याई प्रश्‍नहरू सोधेँ पनि उनीहरूले मप्रति साँचो चासो देखाए। मैले एउटै प्रश्‍न फरक-फरक व्यक्‍तिलाई सोधेकी थिएँ तर उनीहरूले उस्तै जवाफ दिए। यसले पनि मलाई प्रभावित पाऱ्‍यो। उनीहरूले मेरा कुनै-कुनै प्रश्‍नको जवाफ लेखेरै दिए। यो मेरो लागि एकदमै मदतकारी साबित भयो किनभने पछि म आफैले ती अध्ययन गर्न सकेँ।

सन्‌ १९८५ को गर्मी याममा हामी परिवारै टेनिसीको मेम्फिसमा भइरहेको यहोवाका साक्षीहरूको अधिवेशन गयौँ। तर त्यो कस्तो हुँदो रहेछ भनेर हेर्न मात्र। जेम्सले अझै पनि दाह्री पाल्नुभएको थियो र हामीले साधारण लुगा लगाएका थियौँ। मध्यान्तरको बेला धेरै जना हामीसित कुरा गर्न आए। उनीहरूले हामीलाई प्रेम र चासो देखाएकोले हाम्रो मनै छोयो। उनीहरूबीचको एकता देखेर पनि हामी एकदमै प्रभावित भयौँ किनभने जुन सभामा गए पनि एउटै कुरा सिकाइन्थ्यो।

साक्षीहरूले व्यक्‍तिगत चासो देखाएकोले जेम्सले बाइबल अध्ययनको प्रस्ताव स्विकार्नुभयो। आफूले सिकिरहेको कुरा सत्य हो कि होइन भनेर पक्का गर्न उहाँले सबै कुरा राम्ररी जाँच्नुभयो। (प्रेषित १७:११; १ थिस्सलोनिकी ५:२१) अध्ययन गर्दै गएपछि जेम्स सत्य भेट्टाएको कुरामा विश्‍वस्त हुनुभयो। तर म अझै पनि दोधारमा थिएँ। म जे सही छ, त्यही गर्न चाहन्थेँ तर आधुनिक तौरतरिका अपनाएर संसारको भाग हुन चाहन्‍नथेँ। पछि म पनि बाइबल अध्ययनमा गर्न राजी भएँ। पहिलो चोटि अध्ययनमा गर्दा मैले किङ जेम्स भर्सन अनि नयाँ संसार अनुवाद दुवै बाइबल खोलेर राखेकी थिएँ। आफूले सिकिरहेको कुरा सत्य हो कि होइन भनेर पक्का गर्न मैले हरेक शास्त्रपद दुवै बाइबलमा दाँजेर हेरेँ।

म विश्‍वस्त भएँ

हामीले साक्षीहरूसित अध्ययन गर्दै जाँदा स्वर्गमा बस्नुहुने हाम्रो बुबा त्रिएकको भाग नभई एक मात्र परमेश्‍वर हुनुहुन्छ अनि हामीभित्र अमर आत्मा छैन भनेर सिक्यौँ। (व्यवस्था ६:४; १ कोरिन्थी ८:५, ६) साथै मानिस मरेपछि उसलाई सास्ती दिइने नरक छैन भनेर पनि सिक्यौँ। (अय्युब १४:१३; भजन १६:१०; उपदेशक ९:५, १०; प्रेषित २:३१) उनीहरूले बाइबलबाट नरकबारे सिकाएको कुरा सत्य हो भनेर हामी विश्‍वस्त हुन सक्यौँ किनभने हाम्रो पुरानो धर्मका सदस्यहरू यस विषयमा फरक-फरक धारणा राख्थे।

मलाई अझै पनि साक्षीहरू संसारकै भाग भएकोले उनीहरूको धर्म कसरी साँचो धर्म हुन सक्छ र जस्तो लागिरहेको थियो। उनीहरू हामीजस्तो सरल जीवन बिताउँदैनथे तर हामीलाई भने सरल जीवन बिताउनु एकदमै महत्त्वपूर्ण लाग्थ्यो। अर्कोतर्फ उनीहरू राज्यको सुसमाचार सुनाउनू भन्‍ने येसु ख्रिष्टको आज्ञा पालन गरिरहेका थिए। म अलमलमा परेँ।—मत्ति २४:१४; २८:१९, २०.

तैपनि साक्षीहरूले देखाएको प्रेमले गर्दा मैले अध्ययन गर्न छोडिनँ। पूरै मण्डलीले हाम्रो परिवारलाई चासो देखायो। मण्डलीका सदस्यहरू हामीलाई भेट्‌न आइरहन्थे। कहिलेकाहीँ उनीहरू दूध वा अण्डा किन्‍ने बहानाले हामीकहाँ आउँथे। हामीसित अध्ययन गर्ने साक्षीहरू मात्र नभई मण्डलीका जो-कोही पनि हाम्रो घरको बाटो भएर जाँदा हामीलाई भेट्‌न आउँथे। यसरी हामीले साक्षीहरूलाई राम्ररी चिन्‍न सक्यौँ अनि उनीहरू असल मानिसहरू रहेछन्‌ भनेर थाह पायौँ। उनीहरूले हामीलाई देखाएको साँचो प्रेम अनि चासोले हाम्रो मनै छोयो।

अरू मण्डलीका साक्षीहरूले पनि हामीलाई चासो देखाए। मलाई साक्षीहरूको पहिरन अझै पनि चित्त बुझेको थिएन। त्यतिकैमा नजिकैको मण्डलीबाट एक जना साक्षी मलाई भेट्‌न आउनुभयो। उहाँको नाम के ब्रिग्स थियो। उहाँ पनि मजस्तै साधारण किसिमको पहिरन गर्न मन पराउनुहुन्थ्यो अनि सिँगार गर्नुहुन्‍नथ्यो। मलाई उहाँसित अप्ठेरो लागेन। त्यसैले उहाँसित खुलस्त कुराकानी गर्न सकेँ। एकदिन लुइस फ्लोरा नाम गरेको साक्षी भाइ मलाई भेट्‌न आउनुभयो। उहाँ पनि सरल जीवन बिताउनुपर्छ अनि साधारण पहिरन गर्नुपर्छ भनेर सिकाउने धर्ममा हुर्कनुभएको थियो। पहिरनको कुरालाई लिएर म निकै दोधारमा परेको कुरा उहाँले बुझिहाल्नुभयो। त्यसैले मलाई प्रोत्साहन दिन उहाँले दस पाना लामो चिठी लेख्नुभयो। उहाँको दयालु व्यवहार देखेर मैले आँसु थाम्नै सकिनँ। उहाँले पठाउनुभएको चिठी मैले बारम्बार पढेँ।

मैले परिभ्रमण निरीक्षक भाइ ओ डेललाई यसैया ३:१८-२३ अनि १ पत्रुस ३:३, ४ बारे प्रश्‍न गरेँ। मैले यसो भने: “परमेश्‍वरलाई खुसी बनाउन साधारण पहिरन गर्नुपर्छ भनेर यहाँ स्पष्ट बताइएको छ नि, होइन र?” उहाँले यसो भन्‍नुभयो: “के टोपी लाउनुमा कुनै खराबी छ र? के कपाल बाँट्‌नु गलत हो?” पहिला चर्चमा हुँदा हामी साना केटीहरूको कपाल बाँटिदिन्थ्यौँ अनि स्त्रीहरूचाहिँ टोपी लाउँथ्यौँ। मलाई चर्चको यो शिक्षा आपसमा बाझिएको जस्तो लाग्यो। परिभ्रमण निरीक्षकको धीरज र दयालु व्यवहारले भने ममा राम्रो प्रभाव पाऱ्‍यो।

सत्य भेट्टाएको कुरामा म विश्‍वस्त हुँदै गएँ। तर स्त्रीहरूले कपाल काट्‌ने कुराचाहिँ मलाई पटक्कै चित्त बुझेको थिएन। ख्रिष्टियन एल्डरहरूले मलाई सही निष्कर्षमा पुग्न मदत गर्नुभयो। कुनै स्त्रीको कपाल बढेर निकै लामो हुन्छ भने कसैको खासै बढ्‌दैन। त्यसैले छोटो कपाल हुने स्त्रीभन्दा लामो कपाल हुने स्त्री असल हुन्छिन्‌ भन्‍न मिल्छ र भनेर उहाँले तर्क गर्नुभयो। साथै उहाँहरूले मलाई पहिरन र कोरीबाटीको छनौट गर्ने सन्दर्भमा अन्तस्करण चलाउनुपर्छ भनेर बुझ्न मदत गर्नुभयो। उहाँहरूले मलाई घर लगेर पढ्‌नको लागि केही प्रकाशन पनि दिनुभयो।

हामीले सिकेको कुरा लागू गऱ्‍यौँ

हामी बाइबलमा बताइएझैँ असल फल फलाउने व्यक्‍तिहरूको खोजीमा थियौँ। हामीले तिनीहरूलाई भेट्टायौँ। येसुले भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (युहन्‍ना १३:३५) यहोवाका साक्षीहरू साँचो प्रेम देखाउने मानिसहरू हुन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त भयौँ। तर हाम्रो जेठो छोरा नेथन अनि छोरी रिबेकाचाहिँ अन्योलमा परे किनभने तिनीहरूले हाम्रो पहिलेको धर्मका शिक्षा स्विकारेर चर्चमा बप्तिस्मा गरेका थिए। तर हामीले सिकाएको बाइबल सत्य अनि साक्षीहरूले देखाएको प्रेमले बिस्तारै तिनीहरूको पनि मन छोयो।

रिबेका पहिल्यैदेखि परमेश्‍वरसित घनिष्ठ हुन चाहन्थी। परमेश्‍वरले हाम्रो भविष्य पहिल्यै लेख्नुभएको छैन भनेर थाह पाएपछि उहाँलाई प्रार्थना गर्न उसलाई अझै सजिलो भयो। परमेश्‍वर कुनै रहस्यमय त्रिएकको भाग नभई एक जना वास्तविक व्यक्‍ति हुनुहुन्छ अनि हामी उहाँको देखासिकी गर्न सक्छौँ भन्‍ने कुरा बुझेपछि ऊ परमेश्‍वरसित अझ घनिष्ठ हुन सकी। (एफिसी ५:१) परमेश्‍वरसित कुराकानी गर्न किङ जेम्स भर्सन बाइबलको पुरानो भाषाशैली प्रयोग गर्नुपर्दैन भनेर थाह पाएपछि पनि उसलाई खुसी लाग्यो। परमेश्‍वरको इच्छाअनुसार प्रार्थना गर्ने कुरा अनि पृथ्वीलाई प्रमोदवनमा परिणत गरेर मानिसहरूलाई अनन्त जीवन दिने उहाँको प्रतिज्ञाबारे थाह पाए पछि ऊ परमेश्‍वरसित अझ घनिष्ठ भई।—भजन ३७:२९; प्रकाश २१:३, ४.

हामीले पाएको सुअवसर

जेम्स, म र हाम्रा पाँच छोराछोरी—नेथन, रिबेका, जोर्ज, ड्यानियल अनि जोनले सन्‌ १९८७ को गर्मी याममा बप्तिस्मा गरेर यहोवाको साक्षी भयौँ। हाम्रो पाँचौँ छोरा हार्लेको बप्तिस्मा १९८९ मा भयो अनि कान्छो छोरा सिमोनको चाहिँ १९९४ मा। येसु ख्रिष्टले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनू भनेर दिनुभएको आज्ञा हामी पूरै परिवार मिलेर पालन गर्दै छौँ।

हाम्रा पाँच छोराहरू—नेथन, जोर्ज, ड्यानियल, जोन अनि हार्ले र छोरी रिबेकाले अमेरिकामा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने मौका पाए। जर्जले त्यहाँ सेवा गरेको अहिले १४ वर्ष भइसक्यो। सिमोनले सन्‌ २००१ मा आफ्नो स्कुल सिद्ध्यायो अनि हालसालै उसले पनि शाखा कार्यालयमा सेवा गर्न थालेको छ। हाम्रा सबै छोराहरू यहोवाका साक्षीहरूको मण्डलीमा एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्दै छन्‌। मेरो पति मिसोउरीको थेयर मण्डलीमा एल्डरको रूपमा सेवा गर्नुहुन्छ। मचाहिँ जोडतोडले अरूलाई सुसमाचार सुनाउने काममा लागिरहेकी छु।

अहिले हाम्रा तीन नातिनातिना छन्‌—जोसिका, लतिसा र केलब। उनीहरूका आमाबुबाले उनीहरूलाई यहोवाप्रतिको प्रेम विकास गर्न मदत गर्दै छन्‌। यहोवाले हाम्रो परिवारलाई आफूतर्फ खिच्नुभएकोमा अनि साँचो प्रेम देखाउने आफ्ना मानिसहरू चिन्‍न मदत गर्नुभएकोमा हामी एकदमै खुसी छौँ।

परमेश्‍वरलाई खुसी तुल्याउने तीव्र इच्छा भएका तर आफू हुर्केको वातावरणले गर्दा धर्मशास्त्रले सिकाउनेभन्दा फरक विचार राख्ने मानिसहरू देखेर हामीलाई माया लाग्छ। पहिला हामी घरघर गएर खेतको उब्जनी बेच्ने गर्थ्यौँ। तर अहिले भने हामी राज्यको सुसमाचार सुनाउँछौँ। त्यसैले हामी आनन्दित हुन सकेका छौँ। हाम्रो सन्देश सुन्‍नेहरू पनि आनन्दित भएको हामी चाहन्छौँ। यहोवाको नाम वहन गर्ने मानिसहरूले हामीप्रति देखाएको धीरज अनि प्रेमबारे सोच्दा मेरो आँखा रसाउँछ।

[फुटनोट]

a The Encyclopedia of Religion

[चित्र]

म लगभग सात वर्षकी हुँदा अनि जवान छँदा

[चित्र]

साधारण लुगा लगाएका जेम्स, जोर्ज, हार्ले अनि सिमोन

[चित्र]

खेतको उब्जनी बजारमा बेच्न ल्याएको मेरो यो तस्बिर स्थानीय पत्रिकामा छापिएको थियो

[स्रोत]

Journal and Courier, Lafayette, Indiana

[चित्र]

अहिले हाम्रो परिवार