सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी खराब इच्छाहरूको प्रतिरोध गर्न सक्नुहुन्छ?

तपाईं कसरी खराब इच्छाहरूको प्रतिरोध गर्न सक्नुहुन्छ?

बाइबलको दृष्टिकोण

तपाईं कसरी खराब इच्छाहरूको प्रतिरोध गर्न सक्नुहुन्छ?

“असल गर्न इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ भन्‍ने नियम म पत्ता लाउँछु।”—रोमी ७:२१.

अरू मानिसहरूलाई मसीहीधर्मका उच्च सिद्धान्तहरू पछ्याउन मदत गर्ने सन्दर्भमा अरू प्रेरितहरूले भन्दा पावलले निकै मेहनत गरे होलान्‌। (१ कोरिन्थी १५:९, १०) तरैपनि, तिनले उपरोक्‍त कुरा स्वीकारे। तिनले आफ्नो मन र खराब इच्छाहरूबीच निरन्तर द्वन्द्व मच्चेको अनुभव गरे। के तपाईंले कहिल्यै प्रेरित पावलले जस्तै महसुस गर्नुभएको छ? साँच्चै, असिद्ध प्राणीहरू भएको कारण, हामीमध्ये कसले पो आन्तरिक द्वन्द्व अनुभव गरेका छैनौं होला र?

थुप्रैका लागि, खराब इच्छाहरूमाथि विजयी हुनु भनेको अत्यन्तै गाह्रो कुरा हो। कसै-कसैले अनैतिक यौन सन्तुष्टिको तृष्णा विरुद्ध संघर्ष गर्छन्‌। अन्य कतिपयचाहिं जूवा, सुर्ती, अवैध लागूपदार्थ वा रक्सीको कुलतको दास भएका छन्‌। हानिकारक तथा अशुद्ध इच्छाहरूले पिरोल्दा हामी कसरी त्यसको प्रतिरोध गर्न सक्छौं? कस्तो मदत उपलब्ध छ? के खराब इच्छाहरू विरुद्धको लडन्त कहिल्यै अन्त हुनेछ?

प्रेम—खराब इच्छाहरूको प्रतिरोध गर्ने प्रमुख हतियार

मोशालाई दिइएको व्यवस्थाका सबैभन्दा ठूला दुईवटा आज्ञालाई येशूले औंल्याउनुभयो। पहिलो आज्ञा यस्तो थियो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) येशूले भन्‍नुभएझैं हामीले परमेश्‍वरलाई प्रेम गऱ्‍यौं भने, उहाँलाई प्रसन्‍न तुल्याउनु नै हाम्रो सबैभन्दा ठूलो इच्छा हुनुपर्छ नि, होइन र? त्यसो हो भने, त्यस धार्मिक इच्छाले मनमा गाडिएर बसेका खराब इच्छाहरू विरुद्धसमेत लड्‌न हामीलाई मदत गर्न सक्छ। यो कुनै आदर्शवादी सिद्धान्त मात्र होइन। लाखौं मसीहीहरूले दिनहुँ सफलतासाथ खराब इच्छाहरूको प्रतिरोध गर्छन्‌। तपाईं कसरी परमेश्‍वरप्रति यस्तो बलियो प्रेम खेती गर्न सक्नुहुन्छ? उहाँको सृष्टि, बाइबल र हामीसितको व्यक्‍तिगत व्यवहारमा झल्किने उहाँको भलाइबारे कृतज्ञ भई मनन गरेर।—भजन ११६:१२, १४; ११९:७, ९; रोमी १:२०.

येशूले उद्धरण गर्नुभएका दोस्रो सबैभन्दा ठूलो आज्ञा यस्तो थियो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) प्रेम “बेकायदासाथ चल्दैन” र “आफ्नै भलाइ खोज्दैन” भनी प्रेरित पावलले बताए। यस्तो निःस्वार्थ प्रेमले अरूलाई चोट पुऱ्‍याउने कुनै पनि किसिमको आचरण त्याग्न हामीलाई मदत गर्छ। (१ कोरिन्थी १३:४-८) यसलाई कसरी खेती गर्न सकिन्छ? आफूलाई अरूको ठाउँमा राखेर अनि तिनीहरूको भावना र अनन्त हितबारे निष्कपट भई चासो राखेर।—फिलिप्पी २:४.

कस्तो मदत उपलब्ध छ?

जे कुरा सही छ, सो गर्न हामीलाई कत्ति गाह्रो छ भन्‍ने कुरा परमेश्‍वरले बुझ्नुहुने भएको कारण उहाँले थुप्रै तरिकाहरूमा मदत उपलब्ध गराउनुभएको छ। आफ्नो लिखित वचन बाइबलमार्फत उहाँ हामीलाई जे कुरा खराब छ त्यसलाई घृणा गर्न र उहाँप्रति स्वास्थ्यकर आदर विकास गर्न सिकाउनुहुन्छ। (भजन ८६:११; ९७:१०) खराब इच्छाहरूको वशमा पर्दा कस्ता विपत्तिजनक नतिजाहरू हुन सक्छन्‌ भन्‍ने कुरा प्रदर्शित गर्ने सत्य घटनामा आधारित विवरणहरू बाइबलमा पाइन्छन्‌। साथै, हामीले बिन्ती गरेको खण्डमा परमेश्‍वरले हामीलाई ब्रह्‍माण्डकै सबैभन्दा शक्‍तिशाली शक्‍ति अर्थात्‌ उहाँको पवित्र आत्मा दिनुहुनेछ भनेर येशूले बताउनुभयो। (लूका ११:१३) यसले जे कुरा सही छ त्यही गर्ने हाम्रो संकल्पलाई बलियो बनाउन सक्छ। अर्को मदत भनेको हामीले जस्तै खराब इच्छाहरूको प्रतिरोध गरिरहेका अन्य मसीहीहरूबाट प्राप्त गर्न सकिने पारस्परिक सहयोग र प्रोत्साहन हो। (हिब्रू १०:२४, २५) जसै यस्ता सकारात्मक प्रभावहरूले नकारात्मक प्रभावको ठाउँ लिन्छ, सही कुराका लागि संघर्ष गर्ने सन्दर्भमा हामी बल पाउँछौं। (फिलिप्पी ४:८) के यो तरिका साँच्चै प्रभावकारी छ?

आफ्नो समुदायमा जँड्याहा भनेर चिनिने फिडेललाई विचार गर्नुहोस्‌। तिनी सुर्ती सेवन गर्थे, जूवा खेल्थे र रक्सीको नशा चढेपछि अरूसित झगडा गर्थे। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुका साथै सरसंगत गर्न थालेपछि तिनले यी बानीहरू त्याग्न मदत पाए। अहिले आफ्नी पत्नी र दुई जना छोराछोरीसित तिनले सुखमय जीवन बिताइरहेका छन्‌।

कसै-कसैले यसो भन्लान्‌, ‘तर म पहिलेकै अवस्थामा फर्किएँ भने नि?’ प्रेरित यूहन्‍नाले त्यस्तो सम्भाव्यताबारे बताए। तिनले यस्तो लेखे: “हे मेरा साना केटा-केटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तछु। औ कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यहून्‍ना २:१, २) हो, पश्‍चात्ताप गर्ने र परमेश्‍वरलाई खुसी तुल्याउन परिवर्तनहरू गर्न निष्कपटसाथ प्रयास गर्ने व्यक्‍तिका गल्तीहरूलाई येशूको बलिदानले ढाक्छ। त्यस प्रबन्धलाई मनमा राख्ने हो भने, सही कुराको लागि संघर्ष गर्न हार खानुपर्ने त्यस्तो के नै पो ठोस कारण हुन सक्ला र?

खराब इच्छाहरूमाथि विजय हासिल गरिनेछ

परमेश्‍वर र छिमेकीप्रतिको प्रेम खेती गर्नुका साथै परमेश्‍वरले प्रदान गर्नुहुने मदतको फाइदा उठायौं भने, अहिल्यै पनि हामी खराब इच्छाहरू विरुद्धको लड्‌न्तमा सफल हुन सक्छौं। यसबाहेक, परमेश्‍वरको वचनले हामीलाई यो संघर्ष सधैंभरिको लागि चलिरहनेछैन भनी आश्‍वासन दिन्छ। निकट भविष्यमा, परमेश्‍वरले गर्नुभएका आध्यात्मिक प्रबन्धहरूबाट लाभ उठाउने व्यक्‍तिहरू शारीरिक तथा आध्यात्मिक दुवै तवरमा पूर्णतया निको पारिनेछन्‌। (प्रकाश २१:३-५; २२:१, २) तिनीहरूले पाप र यसले गर्दा हुने मृत्युको दलदलबाट छुटकारा पाउनेछन्‌। (रोमी ६:२३) अर्कोतर्फ, अशुद्ध तथा हानिकारक इच्छाहरू पूरा गर्न उत्सुक व्यक्‍तिहरूले भने ती आशिष्‌हरू पाउनेछैनन्‌।—प्रकाश २२:१५.

खराब इच्छाहरू विरुद्ध सधैंभरि संघर्ष गरिरहनुपर्नेछैन भन्‍ने कुरा जान्‍न पाउनु साह्रै सान्त्वनादायी कुरा हो। ती नामोनिशान नरहने गरी अनि सदा-सदाका लागि हटाइनेछन्‌। त्यतिबेला हामीलाई कत्ति सन्चो हुनेछ! (g03 12/08)