सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मैले रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणलाई स्वीकारें

मैले रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणलाई स्वीकारें

मैले रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणलाई स्वीकारें

एक चिकित्सक आफ्नो कथा सुनाउँछन्‌

म अस्पतालको लेक्चर रूममा डाक्टरहरूको एउटा समूहलाई पोस्टमार्टमको रिपोर्टबारे संक्षेपमा बताउँदै थिएँ। प्राणघातक ट्युमरको कारण उक्‍त बिरामीको मृत्युभएको थियो र मैले भनें, “बिरामीको मृत्युको मुख्य कारण अत्यधिक मात्रामा रक्‍तक्षेपण गरिएकोले हेमोलाइसिस [राता रक्‍तकोषहरू नष्ट] हुनुका साथै मृगौलाले पटक्कै काम नगर्नु नै थियो भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं।”

एक जना प्राध्यापक जुरुक्क उठे र रिसले मुर्मुरिंदै यसो भन्‍न थाले, “हामीले बिरामीलाई गलत प्रकारको रगत दियौं भनेर तपाईंले भन्‍न खोज्नुभएको हो?” मैले जवाफ दिएँ, “मैले त्यसो भन्‍न खोजेको होइन।” बिरामीको मृगौलाको सानो अंशका केही स्लाइडहरू देखाउँदै मैले भनें, “मृगौलामा धेरै राता रक्‍तकोषहरू लाइसिस [क्षतविक्षत अवस्थामा] भएको देख्न सक्छौं र त्यसैले बिरामीको मर्नुको कारण मृगौलाले पटक्कै काम नगर्नु हो भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं।” a वातावरण तानवग्रस्त बन्यो, मेरो मुख सुक्न थाल्यो। म भर्खरैको ठिटो डाक्टर र तिनी एक जना प्राध्यापक भए तापनि मलाई लाग्यो, म आफ्नो अडानबाट पछि हट्‌न सक्दिनँ।

यो घटना घट्‌दा म यहोवाको साक्षी थिइनँ। मेरो जन्म १९४३ मा जापानको उत्तरी भागमा अवस्थित सेन्डाइ सहरमा भयो। मेरो बुबा एक जना प्याथोलोजिस्ट र मनोचिकित्सक हुनुभएकोले मैले पनि चिकित्साशास्त्र नै पढ्‌ने निर्णय गरें। मेडिकल स्कूलमा दोस्रो वर्षमा पढ्‌दै गर्दा १९७० मा मासुको नाउँकी एउटी युवतीसित मैले विवाह गरें।

प्याथोलोजीको दुनियाँमा प्रवेश गर्दै

मेरो पढाइ नसकेसम्म मासुकोले जागिर खाएर सघाइन्‌। चिकित्साजगत्‌ले मलाई मन्त्रमुग्ध पाऱ्‍यो। मानव शरीरको उत्कृष्ट रचना देखेर म विस्मित हुन्थें! तैपनि, मैले सृष्टिकर्ताको अस्तित्वबारे कहिल्यै सोचिनँ। मलाई लाग्थ्यो, चिकित्सासम्बन्धी अनुसन्धानले मेरो जीवनलाई अर्थ दिन सक्छ। त्यसैले चिकित्सक बनिसकेपछि रोगका लक्षण, कारण र असरबारे अध्ययन गरिने प्याथोलोजीको दुनियाँमा प्रवेश गरेर आफ्नो अध्ययनलाई चिकित्सा क्षेत्रमै निरन्तरता दिने मैले निर्णय गरें।

क्यान्सरले मृत्यु हुने बिरामीहरूको पोस्टमर्टम गर्दा मेरो मनमा रक्‍तक्षेपणको प्रभावकारीताबारे शङ्‌का उपशङ्‌काहरू उब्जन थालिसकेको थियो। क्यान्सरको अन्तिम अवस्थामा पुगिसकेका बिरामीहरूमा रक्‍तश्रावले गर्दा रक्‍तअल्पता हुन सक्छ। केमोथेरापीले रक्‍तअल्पता झनै चर्काउने भएकोले डाक्टरहरू अक्सर रक्‍तक्षेपण नै गर्ने सल्लाह दिन्छन्‌। तथापि, रक्‍तक्षेपणले झन्‌ क्यान्सर पो फैलाउँछ कि भन्‍ने शंका मलाई लाग्न थाल्यो। जे होस्‌, आज रक्‍तक्षेपणले इम्युनोसप्रेशन अर्थात्‌ रोगप्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ भन्‍ने कुरा थाह भइसकेको छ र यसरी रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँदा ट्युमर पुनः देखापर्न सक्छ र क्यान्सरका बिरामीहरूको बाँच्ने सम्भाव्यतालाई कम गर्न सक्छ। b

सन्‌ १९७५ मा मैले माथि बताएको घटनाको सामना गरें। प्राध्यापक उक्‍त केसका इन्चार्ज हुनुका साथै हेमाटोलोजीका विशेषज्ञ थिए। त्यसैले रक्‍तक्षेपणले गर्दा बिरामीको मृत्यु भएको हो भनी मैले भन्दा तिनी रिसाउनुमा कुनै अचम्म मान्‍नु पर्दैन! तथापि, मैले आफ्नो प्रस्तुतिलाई जारी राखें र तिनी बिस्तारै शान्त भए।

बिरामी र मृत्यु हुनेछैन

त्यसैबेला एक जना पाको उमेरकी यहोवाको साक्षी स्त्रीसित मेरी पत्नीको भेट भयो। तिनले आफ्नो प्रस्तुतिमा “यहोवा” भन्‍ने शब्द चलाइन्‌ र मेरी पत्नीले त्यो शब्दको अर्थ के हो भनेर सोधिन्‌। साक्षीले यस्तो जवाफ दिइन्‌, “यहोवा साँचो परमेश्‍वरको नाउँ हो।” मासुकोले सानैदेखि बाइबल पढिरहेकी भए तापनि तिनले प्रयोग गर्ने बाइबलमा परमेश्‍वरको नाउँको ठाउँमा “प्रभु” लेखिएको थियो। तिनले परमेश्‍वर नाउँ भएको व्यक्‍ति हुनुहुन्छ भनेर बल्ल थाह पाइन्‌।

मासुकोले पाको उमेरकी ती स्त्रीसित तुरुन्तै बाइबल अध्ययन सुरु गरिन्‌। जब बिहान १ बजे म अस्पतालबाट घर फर्कें, मेरी पत्नीले उत्साहित हुँदै यसो भनिन्‌: “बाइबलले बिमारी र मृत्यु दुवैको नामोनिशान रहनेछैन भनी बताउँछ!” मैले यस्तो जवाफ दिएँ, “साँच्चै, यस्तो भइदिए त कति राम्रो हुने थियो!” तिनले अझै यसो भनिन्‌: “नयाँ संसार नजिकै छ, त्यसैले म चाहन्छु, तपाईं आफ्नो समय खेर नफाल्नुहोस्‌।” मैले डाक्टरी पेसा छोडोस्‌ भनेर तिनले चाहेकी हुन्‌ कि जस्तो मलाई लाग्यो र म रिसाएँ अनि हाम्रो सम्बन्ध तनावग्रस्त बन्‍न पुग्यो।

तथापि, मेरी पत्नीले हार मानिनन्‌। तिनले प्रार्थनापूर्वक मलाई उपयुक्‍त शास्त्रपद देखाउने मौका खोजिरहिन्‌। विशेष गरी उपदेशक २:२२, २३ का शब्दहरूले मेरो मन छोयो: “संसारमा मानिसले गरेका आफ्ना सबै परिश्रम, आफ्ना योजनाहरू र आफ्ना मेहनतको फल के पाउँछ र? . . . राती पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि व्यर्थ हो।” मेरो जीवनमा यो कुरा सत्य साबित भइरहेको थियो किनभने साँचो सन्तुष्टिविना म रातदिन चिकित्सा विज्ञानमा खटिइरहेको थिएँ।

जुलाई १९७५ आइतबारको एक बिहान जब मेरी पत्नी यहोवाका साक्षीहरूको राज्यभवनतिर हिंडिन्‌, अचानक मैले पनि त्यतै जाने निर्णय गरें। मलाई त्यहाँ देख्दा मेरी पत्नी छक्क परिन्‌ र मैले यहोवाका साक्षीहरूबाट न्यानो स्वागत पाएँ। त्यसपछि मैले आइतबारको कुनै पनि सभा छुटाइनँ। एक महिनापछि एक जना साक्षीले मसित बाइबल अध्ययन सुरु गरे। पहिलो पटक यहोवाका साक्षीलाई भेटेको तीन महिनापछि मेरी पत्नीले बप्तिस्मा लिइन्‌।

रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोण स्वीकार्दै

बाइबलले मसीहीहरूलाई ‘रगतबाट अलग रहनु’ भनेर बताउँछ भन्‍ने कुरा मैले छिट्टै थाह पाएँ। (प्रेरित १५:२८, २९; उत्पत्ति ९:४) रक्‍तक्षेपणको प्रभावकारीताबारे मेरो मनमा पहिलेदेखि नै शंका उपशंकाहरू पलाइसकेको हुँदा रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोण स्वीकार्न मलाई गाह्रो भएन। c मैले सोचें, ‘यदि एक जना सृष्टिकर्ता हुनुहुन्छ र उहाँले नै यसो भन्‍नुभएको हो भने यो कुरा सही हुनै पर्छ।’

आदमले गरेको पाप नै बिरामी र मृत्युको मूल कारण हो भनेर पनि मैले सिकें। (रोमी ५:१२) त्यसबेला मैले आर्टेरियोस्क्लेरोसिस अर्थात्‌ धमनीसूजबारे अनुसन्धान गरिरहेको थिएँ। हामीमा बुढेसकाल लाग्दै जाँदा हाम्रा धमनीहरू कडा र साँघुरो हुँदै जान्छ जसले गर्दा मुटु, मस्तिष्क, नसा तथा मृगौलासम्बन्धी रोगहरू लाग्न सक्छ। हाम्रो जन्मजात असिद्धता नै यी सबै रोगका मूल कारण हुन्‌ भन्‍नु तार्किक थियो। यी सबै कुरा थाह पाइसकेपछि चिकित्सा क्षेत्रमा मेरो जोस सेलाउन थाल्यो। यहोवा परमेश्‍वरले मात्र बिमारी र मृत्युलाई नामेट पार्न सक्नुहुन्छ।

बाइबल अध्ययन सुरु गरेको सात महिनापछि मार्च १९७६ मा मैले विश्‍वविद्यालय अस्पतालमा आफ्नो पढाइ छाडें। चिकित्सकको हैसियतमा अब मैले कहिल्यै काम गर्न सक्दिनँ कि भन्‍ने मलाई डर थियो तर मैले अर्को अस्पतालमा काम पाएँ। मे १९७६ मा मैले बप्तिस्मा लिएँ। अन्ततः आफ्नो जीवनको सही सदुपयोग गर्नु भनेको पूर्ण-समय प्रचारक अथवा अग्रगामीको हैसियतमा सेवा गर्नु नै हो भन्‍ने निष्कर्षमा म पुगें र जुलाई १९७७ मा मैले यो काम थालें।

रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणको पक्ष लिंदै

नोभेम्बर १९७९ मा मासुको र म चिबा प्रान्तमा रहेको मण्डलीमा सऱ्‍यौं जहाँ प्रचारकहरूको ठूलो आवश्‍यकता थियो। मैले एउटा अस्पताल पनि फेलापारें जहाँ म पार्ट-टाइम काम गर्न सक्थें। कामको पहिलो दिन शल्यचिकित्सकहरूको एउटा समूहले मलाई घेऱ्‍यो। तिनीहरूले मलाई जिद्दी गर्दै सोधेको सोध्यै गरे, “तपाईं एक जना यहोवाको साक्षी हुनुभएकोले यदि रगत दिनुपर्ने अवस्थाको बिरामीलाई अस्पताल ल्याइएमा तपाईं के गर्नुहुन्छ”

परमेश्‍वरले रगतसम्बन्धी बताउनुभएको कुरा नै म पालन गर्नेछु भनी मैले तिनीहरूलाई आदरपूर्वक बताएँ। रक्‍तक्षेपणका विकल्पहरू छन्‌ र आफ्ना बिरामीहरूलाई मदत गर्न म यथाशक्य गर्नेछु भनेर पनि मैले बताएँ। एक घण्टाको छलफल पछि प्रमुख शल्यचिकित्सकले यस्तो जवाफ दिए, “म बुझ्छु। तर अत्यधिक रक्‍तश्राव भएको बिरामी ल्याइएको खण्डमा हामी हेरिदेऔंला।” सबैले प्रमुख शल्यचिकित्सकलाई व्यवहार गर्न गाह्रो मान्छे भन्थे तर यो छलफलपछि हामीले राम्रो सम्बन्ध विकास गऱ्‍यौं र तिनले सधैं मेरो विश्‍वासलाई आदर देखाए।

रगतलाई आदर गर्दा परीक्षा सामना गर्नुपऱ्‍यो

हामीले चिबामा सेवा गरिरहेको बेला एबिनामा यहोवाका साक्षीहरूको नयाँ शाखा कार्यालय निर्माण हुँदै थियो। बेथेल भनिने यो भवन निर्माण कार्यमा सघाइरहेका स्वयम्‌सेवक साक्षीहरूको स्वास्थ्यको हेरचाह गर्न म र मेरी पत्नी हरेक हप्ता कारमा त्यहाँ जान्थ्यौं। केही महिनापछि हामीले एबिना बेथेलमा पूर्ण-समय सेवा गर्ने निमन्त्रणा पायौं। त्यसैले, मार्च १९८१ मा ५०० स्वयम्‌-सेवक कर्मचारीहरूको अस्थायी बसोबासको लागि प्रबन्ध गरिएको भवनमा हामी पनि बस्न थाल्यौं। बिहान म निर्माणस्थलको स्नानगृह र शौचालय सफा गर्न सघाउँथें र दिउँसो स्वास्थ्य परीक्षण गर्थें।

मैले उपचार गरेको एक जना बिरामी इल्मा इज्लाब हुनुहुन्थ्यो र उहाँ १९४९ मा अष्ट्रेलियाबाट जापानमा मिसनरी भएर आउनुभएको थियो। उहाँलाई ल्युकेमिया भएको थियो र अब उहाँ केही महिना मात्र बाँच्नुहुनेछ भनेर डाक्टरहरूले उहाँलाई बताएका थिए। आफ्नो जीवनलाई लम्ब्याउन इल्माले रक्‍तक्षेपण गर्न इन्कार गर्नुभयो र आफ्ना बाँकी दिनहरू बेथेलमै बिताउने छनौट गर्नुभयो। त्यसबेलासम्म राता रक्‍तकोषहरूको उत्पादन बढाउने इरिथ्रोपोइटनजस्ता औषधीहरू उपलब्ध थिएन। त्यसैले उहाँको हेमोग्लोबिन ३ अथवा ४ ग्राम सम्म पुगेको थियो! (सामान्य हेमोग्लोबिन १२ देखि १५ हो।) तर मैले उहाँको उपचार गर्न यथाशक्य गरें। जनवरी १९८८ अर्थात्‌ सात वर्षपछि आफ्नो मृत्यु नहोउन्जेल बहिनी इल्माले परमेश्‍वरको वचनमा आफ्नो अटल विश्‍वास प्रदर्शन गरिरहनुभयो!

वर्षौको दौडान यहोवाका साक्षीहरूको जापान शाखाका धेरै स्वयम्‌सेवकहरूको शल्यक्रिया गर्नुपर्ने भयो। रगतविना शल्यक्रिया गरेर नजिकैका अस्पतालहरूले देखाएको सहयोग प्रशंसनीय छ। शल्यक्रिया कसरी गरिन्छ भनेर अवलोकन गर्नको लागि मलाई अक्सर शल्यक्रिया गर्ने कोठामा बोलाइएको छ अनि कहिलेकाहीं मैले शल्यक्रियाहरूमा सघाएको पनि छु। रगतसम्बन्धी यहोवाका साक्षीहरूको अडानप्रति आदर देखाउने ती डाक्टरहरूप्रति म कृतज्ञ छु। तिनीहरूसित काम गर्दा मैले तिनीहरूलाई आफ्नो विश्‍वासबारे बताउने धेरै अवसरहरू पाएको छु। एक जना डाक्टर भर्खरै बप्तिस्मा प्राप्त साक्षी बनेका छन्‌।

चाखलाग्दो कुरा त के छ भने, रगतविना यहोवाका साक्षीहरूको उपचार गर्ने डाक्टरहरूको प्रयासले चिकित्सा क्षेत्रमा धेरै महत्त्वपूर्ण योगदानहरू पुऱ्‍याएका छन्‌। रगतविना गरिएका शल्यक्रियाहरूले रक्‍तक्षेपण इन्कार गर्दा हुने फाइदाहरूलाई प्रमाणित गरिदिएको छ। शल्यक्रियापछि बिरामीहरू छिट्टै निको हुने तथा पछि कम समस्याहरू देखापर्ने कुरा अध्ययनहरूले देखाउँछ।

महान्‌ चिकित्सकबाट निरन्तर सिकिरहने

चिकित्सा क्षेत्रमा भएका नयाँ-नयाँ उपलब्धिहरूबारे म आफूलाई जानकार राख्ने कोसिस गर्छु। तर मैले महान्‌ चिकित्सक यहोवाबारे पनि निरन्तर सिकिरहेको छु। उहाँले कुनै व्यक्‍तिलाई बाहिरबाट मात्र हेर्नुहुन्‍न तर सम्पूर्ण व्यक्‍तिलाई नै हेर्नुहुन्छ। (१ शमूएल १६:७) एक जना डाक्टरको हैसियतमा म हरेक बिरामीको रोगमा मात्र ध्यान केन्द्रित गर्दिनँ तर सम्पूर्ण व्यक्‍तिको रूपमा उसको उपचार गर्ने कोसिस गर्छु। यसो गर्दा बिरामीको उपचार म अझ राम्ररी गर्न सक्छु।

म आज पनि बेथेलमै सेवा गरिरहेको छु अनि अरूलाई यहोवाबारे सिक्न पनि मदत गरिरहेको छु जसमा रगतबारे उहाँको दृष्टिकोणबारे अरूलाई सिकाउनु पनि समावेश छ—अहिले पनि मेरो जिन्दगीको सबैभन्दा ठूलो खुसी भनेका यिनै हुन्‌। महान्‌ चिकित्सक यहोवा परमेश्‍वरले छिट्टै सबै बिमारी र मृत्यु नामेट गरून्‌, मेरो यही नै प्रार्थना छ।— यासुशी आइजावाको वृत्तान्तमा आधारित। (g03 12/08)

[फुटनोटहरू]

a डा. डेनिज एम. हारमिनिङद्वारा लिखित मोर्डन ब्लड ब्याङ्‌किग एण्ड ट्रान्सफ्युजन प्राक्टिसेज्‌ नामक पाठ्य-पुस्तकअनुसार “पहिले रक्‍तक्षेपण, गर्भावस्था वा प्रत्यारोपणको कारण बेहोस बनाइएका बिरामीहरूमा रक्‍तक्षेपणद्वारा राता रक्‍तकोषहरू नष्ट हुने अर्थात्‌ हेमोलिटिक असर ढिला” देखापर्न सक्छ। यस्ता अवस्थाहरूमा रक्‍तक्षेपण विरुद्ध नकारात्मक असर गर्ने बिरामीका शरीरका रोगप्रतिरोधात्मक तत्त्वहरू “रक्‍तक्षेपणपूर्व गरिने परीक्षणहरूमा पत्ता लाग्दैन।” डेलीज्‌ नोट्‌स अन ब्लड-अनुसार “रक्‍तक्षेपण गर्दा नमिल्ने रगतको . . . सानो अंश मात्र पर्दा पनि [हेमोलाइसिस] हुन सक्छ। मृगौलाले काम गर्न छाडेपछि विष बिस्तारै बिरामीको शरीरमा फैलन थाल्छ किनकि मृगौलाले रगतबाट अशुद्धीहरू हटाउन सक्दैन।”

b अगस्त १९८८ को जर्नल अफ क्लिनिकल ओनकोलोजी-ले यस्तो रिपोर्ट दियो: “शल्यक्रियाको दौडान रगत नलिनेकोभन्दा रगत लिने बिरामीको क्यान्सर निको हुने सम्भावना निकै कम हुन्छ।”

c रगतसम्बन्धी बाइबलको शिक्षाबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित हाउ क्यान ब्लड सेभ योर लाइफ? भन्‍ने पुस्तिका हेर्नुहोस्‌।

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“रक्‍तक्षेपणका विकल्पहरू छन्‌ र आफ्ना बिरामीहरूलाई मदत गर्न म यथाशक्य गर्नेछु भनेर पनि मैले बताएँ”

[पृष्ठ १५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“रगतविना गरिएका शल्यक्रियाहरूले रक्‍तक्षेपण इन्कार गर्दा हुने फाइदाहरूलाई प्रमाणित गरिदिएको छ”

[पृष्ठ १५-मा भएको चित्र]

माथि: बाइबल लेक्चर दिंदै

दायाँ: हाल मेरी पत्नी मासुकोसित