सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

केटाकेटी र गायन

गाउनु भनेको “भावनात्मक अभिव्यक्‍ति प्रकट गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो र यसले केटाकेटीको व्यक्‍तित्व विकास गर्छ” भनी लेपजिग विश्‍वविद्यालयका नाक, कान र घाँटी विशेषज्ञ, डा. मिकाइल फुश, जर्मन स्वास्थ्य पत्रिका गेसुन्डाइट-मा लेख्छन्‌। तथापि, फुश के बिलौना गर्छन्‌ भने, “केटाकेटीको स्वरको तीक्ष्णता भने गत २० वर्षमा निकै हराइसक्यो। तिनीहरूको आवाज पनि परिवर्तन भइसक्यो।” फुश दुइटा कारण बताउँछन्‌। पहिलो, “केटाकेटीहरू घरमा त्यति गाउँदैनन्‌। पहिला-पहिला परिवारहरूले आफ्नो फुर्सतको समयमा गाउने र बाजा बजाउने गर्थे भने अहिले टेलिभिजनको अगाडि बस्छन्‌ र केवल स्रोता भएर सङ्‌गीतमा भाग लिन्छन्‌।” दोस्रो, गीत गाएकै खण्डमा पनि केटाकेटीले रक र पप गायकहरूको जस्तो धोत्रो आवाज निकाल्न खोज्छन्‌। “केटाकेटीले ती गायकहरूको नक्कल गर्न खोज्दा तिनीहरूको स्वर अङ्‌गलाई निकै तोड पर्छ” भनी फुश लेख्छन्‌। त्यसो गर्दा तिनीहरूको कण्ठनली र घाँटीको मांसपेशीमा बल पर्न सक्छ। यसरी थप बल पर्दा तिनीहरूको स्वरनली वा भोकल कर्डमा गाँठो देखा पर्न सक्छ र त्यसले स्वरको गुणस्तरलाई अझ बिगार्छ। (g03 11/08)

कमिलाहरू कसरी बाढीबाट बच्छन्‌

पानी पर्दा कमिलाहरूले के गर्छन्‌? सबै जातका कमिलाहरू जमिनमुनि बस्दैनन्‌ तर बस्ने जातिहरूले भने बाढीबाट बच्ने अचम्मको प्रविधि अपनाउँछन्‌ भनी द न्यु योर्क टाइम्स बताउँछ। उष्णप्रदेशीय जंगलमा पाइने कुनै-कुनै जातका कमिलाहरू “गोलोको प्वालमा एक थोपा [पानी] पर्नेबित्तिकै चाल पाएर गोलोभरि सूचना दिंदै दौडन्छन्‌ र अक्सर वैकल्पिक प्रवेशद्वारबाट निस्कन्छन्‌” भनी कमिला विशेषज्ञ डा. एडवर्ड ओ. विल्सन र बर्ट हलडब्लर बताउँछन्‌। “तिनीहरूले गन्ध मार्गद्वारा अरू कमिलाहरूलाई अवरोध नभएको द्वारसम्म र कहिलेकाहीं त गोलोबाहिरैसम्म लैजान्छन्‌।” यसको लागि ३० सेकेण्डभन्दा कम समयमै तिनीहरूले सम्पूर्ण गोलोलाई बचाइसकेका हुन्छन्‌। अनि संयुक्‍त राज्य अमेरिकाको दक्षिणपश्‍चिम भाग र दक्षिण अमेरिकाको उत्तरी भागमा द टाइम्स-ले रिपोर्ट गरेअनुसार कुनै-कुनै किसिमका आगो कमिलाहरू “गोलोबाट जमिनको सतहसम्म सर्छन्‌ अनि वयस्क, रानी र तिनका सन्तान सबै एकै डल्लो भएर उर्लंदो पानीमा तैरन्छन्‌। थुप्रै बच्छन्‌ . . .। यो कमिलाको डल्लो पछि छेवैको घाँस वा झाडीमा अड्‌कन्छ अनि पानी कम भएपछि बचेका कमिलाहरू आफ्नो गोलोमा फर्कन्छन्‌।” (g03 11/08)

वजन बढी हुँदाका खतराहरू

“चालीस वर्षको उमेरमा वजन बढी हुनेहरू अक्सर दुब्ला पातलाहरूभन्दा तीन वर्ष चाँडो मर्ने सम्भावना हुन्छ र त्यसको मतलब, अधबैंसे उमेरमा मोटो हुनु भनेको धूम्रपान गर्दा आयु कम हुने जत्तिकै घातक हुन्छ” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। “तपाईं ३४/३५ देखि ४४/४५ बीचको उमेरमा बढी मोटाउनुभयो भने पछि गएर अलि वजन घटाउनुभए तापनि मर्ने खतरा भने अझै बढी हुन्छ” भनी एउटा अस्पतालको वजन घटाउने क्लिनिकका निर्देशक, डा. सर्जे जाबुरले भने। “कुरा के हो भने, कम उमेरमै तपाईंले वजन घटाउन थाल्नुपर्छ। लामो समयसम्म पर्खनुभयो भने हानि भइसकेको हुन सक्छ।” वजन घटाउँदा क्यान्सरबाट हुने मृत्यु पनि रोक्न सकिन्छ। जम्मा ९,००,००० मानिसहरूसित गरिएको १६ वर्षे लामो अध्ययनपछि अमेरिकन क्यान्सर सोसाइटी कुन निष्कर्षमा पुग्यो भने, “बढी वजनको कारण पुरुषमा १४ प्रतिशत र स्त्रीहरूमा २० प्रतिशत मृत्यु क्यान्सरले गर्दा हुन्छ” भनी टाइम्स-ले बतायो। अध्ययनहरूले अत्यधिक वजन र विभिन्‍न किसिमका क्यान्सरबीच सम्बन्ध भएको देखाएका छन्‌। (g03 11/22)

चर्चमा कुनै भरोसा छैन

“जर्मनहरूले प्रहरी र सेनामा निकै भरोसा राख्छन्‌ तर चर्चमा होइन,” भनी लिप्जिगर भोक्सजाइटुङ नामक अखबार रिपोर्ट गर्छ। “भरोसाको सर्वेक्षण” गर्दा १७ वटा प्रमुख सार्वजनिक संघसंस्थामध्ये चर्च, सूचीमा सबैभन्दा अन्तमा पऱ्‍यो भनी वर्ल्ड इकोनोमिक फोरमले पत्ता लगायो। समाजशास्त्री आर्मिन नासेहीले बताएअनुसार यस्तो बढ्‌दो असुरक्षाको समयमा जर्मनहरूले प्रहरी र सशस्त्र बलजस्ता “असल र खराबबीच” भिन्‍नता छुट्याउने संगठनहरूमा बढी भरोसा राख्छन्‌। चर्चमा किन यस्तो भरोसाको कमी? नासेही यसो भन्छन्‌: “धर्मपरायणताको पुनर्जागरणको बावजुद मानिसहरू चर्चले तिनीहरूका खास आधारभूत समस्याहरू समाधान गर्न सक्छ भन्‍ने विश्‍वास गर्दैनन्‌।” जर्मनीका चर्चहरूमा “अलिकता मात्र धर्मकर्म बाँकी छ” भन्‍ने टिप्पणी तिनी गर्छन्‌। (g03 12/08)

एकदमै लामो दूरीको फोन सुविधा

संयुक्‍त राज्य अमेरिकाको फिलाडेल्फियास्थित एक जना कलरले एउटा स्थानीय ग्राहक सेवा नम्बर डायल गर्छिन्‌। यो फोनको जवाफ दिने युवतीले आफ्नो परिचय मिशेल भनेर दिए तापनि उनको वास्तविक नाउँ मेघना हो र उनी भारतमा बस्छिन्‌ जहाँ मध्य रात भइरहेको छ। भारतीय कल सेन्टरहरूले समुद्रपारका थुप्रै कम्पनीहरूको लागि “ब्याक-अफिस”-को रूपमा १,००,००० भन्दा बढी मानिसहरूलाई काममा लगाइरहेका छन्‌ जस्तै अमेरिकन एक्सप्रेस, ए टि एण्ड टि, ब्रिटिश एयरवेज, सिटि बैंक, जेनरल इलेक्ट्रिक इत्यादि। सस्तो अन्तरराष्ट्रिय टेलिफोन दरको साथसाथै “पश्‍चिमी मुलुकका कामदारहरूभन्दा ८० प्रतिशत कम तलबमा काम गर्ने” भारतका शिक्षित, अंग्रेजी बोल्ने कामदारहरू प्रशस्त भएको हुँदा यो काम भारतमा सार्न सम्भव भएको हो भनी इन्डिया टुडे रिपोर्ट गर्छ। यथासम्भव अमेरिकी लवजमा बोल्नको लागि मेघनाजस्ता अपरेटरहरूले महिनौं प्रशिक्षण लिन्छन्‌ अनि “अमेरिकी बोल्ने ढङ्‌ग नक्कल गर्नको लागि हलिवुडका ठूलठूला ख्यातिप्राप्त चलचित्रहरू पनि हेर्ने गर्छन्‌।” मेघनाको कम्प्युटरले फिलाडेल्फियाको मौसमसमेत देखाउँछ जुन कुरा तिनले आफ्नो वार्तामा समावेश गर्न सक्छिन्‌। अनि कुराको अन्तमा तिनी भन्छिन्‌: “तपाईंको दिन शुभ रहोस्‌।” (g03 12/22)

सिक्न कहिल्यै बूढो हुँदैन

नेपाल, जहाँ असाक्षरता व्याप्त छ, त्यहाँ १२ जनाभन्दा बढी नातिनातिनी भइसकेका एक जना वृद्ध व्यक्‍तिले शिक्षा हासिल गर्ने प्रयास गरेर नाउँ कमाएका छन्‌। बल बहादुर कार्की, जो राइटर बाजे भनेर चिनिन्छन्‌ तिनी १९१७ मा जन्मिए र दोस्रो विश्‍वयुद्धमा लडे। तिनले ८४ वर्षको उमेरमा चार चोटिको प्रयासपश्‍चात्‌ एस. एल. सी. उत्तीर्ण गरे। अहिले ८६ वर्षको उमेरमा तिनले कलेजको पढाइ गरिरहेका छन्‌। तिनको मुख्य विषय अंग्रेजी हो र तिनले यस विषय अरूलाई सिकाउने पनि गर्छन्‌। जवान मानिसहरूसित सँगै एउटै टेबलमा बस्दा तिनले आफ्नो उमेर बिर्सन्छन्‌ र फेरि जवान महसुस गर्छन्‌ भनी बताउँछन्‌। तिनी पछिल्लो पटक राजधानी काठमाडौं जाँदा आफ्ना उपलब्धिहरूका लागि थुप्रै पुरस्कार अनि कर्तल ध्वनिका साथ प्रशंसा पाए। तिनले बुढो हुँदैमा हार नखान अरूहरूलाई प्रोत्साहन दिए। तथापि, राइटर बाजेले एउटा गुनासो पोखे। तिनले बस चढ्‌नुअघि तीन दिन हिंड्‌नुपरेको थियो किनभने तिनलाई सहुलियत दिइएन र हवाईजहाजको नियमित शुल्क तिर्ने पैसा तिनीसित थिएन। तिनले काठमान्डु पोस्ट-लाई यसो भने: “विमान कम्पनीहरूले मलाई विद्यार्थी सहुलियत दिनुपर्छ किनभने म पनि एक जना विद्यार्थी हुँ।” (g03 12/22)

कुकुरको भाषा बुझ्ने?

खेलौना बनाउने एउटा जापानी कम्पनीले कुकुरको भुकाइलाई मानव शब्दहरूमा अनुवाद गर्ने उपकरण बनाएको छ भनी जापान सूचना नेटवर्क रिपोर्ट गर्छ। यो उपकरण ताररहित माइक्रोफोनबाट बनाइएको छ र यसलाई कुकुरको घाँटीमा जडान गरेर आवाज भने एउटा सानो रिसिभरमा प्रसारण गरिन्छ। भनिन्छ, त्यस रिसिभरले कुकुरको आवाज केलाउँछ अनि त्यसलाई छवटा भावनात्मक अवस्थामा वर्गीकरण गर्छ: निराशा, रिस, खुसी, दुःख, इच्छा र निश्‍चयता। यसको परिणाम रिसिभरको लिक्विड क्रिस्टल डिस्प्लेमा देखाइन्छ र यस्ता अभिव्यक्‍तिहरू देखा पर्छन्‌ “मलाई मजा लागिरहेको छ!” “कस्तो रिसउठ्‌दो!” र “मसित खेल्न आउनुस्‌ न!” उत्पादकले बताएअनुसार १०० डलर पर्ने यी उपकरणहरू जापानमा ३,००,००० वटा बिक्री भइसक्यो र यो दक्षिण कोरिया र संयुक्‍त राज्य अमेरिकाको बजारमा प्रवर्धन गरेपछि यसको बिक्री दस लाख पुग्ने आशा गरिएको छ। (g03 12/08)

मानिस र बाँदरहरूबीचको भिन्‍नता

चिम्पान्जी, ओराङउटानका साथै अन्य केही किसिमका बाँदरहरू र भुत्ले बाँदरहरूका डि एन ए-को सर्वेक्षणले कुनै समय वैज्ञानिकहरूले सोचेझैं तिनीहरूको आनुवंशिक संरचना मानिसको जस्तो नभएको कुरा पत्ता लागेको छ। “डि एन ए-मा देखिएका सानो होइन तर ठूलठूला भिन्‍नताले वनमान्छे र बाँदरहरूलाई मानिसबाट अलग्गै छुट्याउँछ र तिनीहरूबीचको भिन्‍नता पनि प्रस्ट छ” भनी बेलाइतको न्यु साइन्टिस्ट पत्रिका बताउँछ। “तुलना गरेर हेर्दा क्रोमोजममा थपिएका र हटाइएका कुराहरू थुप्रै छन्‌” भनी उक्‍त सर्वेक्षण गरेको कम्पनी सं.रा.अ., क्यालिफोर्नियाको पर्लिगन सायन्सेजका केली फ्रेजर बताउँछन्‌। न्यु साइन्टिस्ट-ले ती भिन्‍नताहरूलाई “बाँदर र हामीबीचको विशाल अन्तर” भन्यो। (g03 12/22)