सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के कूटनीतिले विश्‍व शान्ति ल्याउनेछ?

के कूटनीतिले विश्‍व शान्ति ल्याउनेछ?

बाइबलको दृष्टिकोण

के कूटनीतिले विश्‍व शान्ति ल्याउनेछ?

के तपाईं सारा युद्धहरूको अन्त्य भएको हेर्न चाहनुहुन्छ? निस्सन्देह, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलहहरूको कुनै कूटनीतिक समाधान हुनै पर्छ। संसारका नेताहरू एकजुट भइदिएको खण्डमा मात्र पनि युद्धको नामोनिसानै मेटिन सक्छ भन्‍ने धेरैको विचार छ। यद्यपि, कूटनीतिको परिणामबाट तपाईं निराश हुनुभएको हुन सक्छ। कूटनीतिज्ञहरूले सम्झौताहरूमा हस्ताक्षर गरेको, प्रतिबद्धताहरू तर्जुमा गरेको अनि शिखर सम्मेलनहरू आयोजना गर्दै आएको शताब्दीयौं भइसक्यो तर स्थायी रूपमा समाधान भएका विषयहरू कमै मात्र छन्‌।

बाइबलले कूटनीति र शान्तिबारे धेरै कुराहरू बताएको छ। यसले निम्न प्रश्‍नहरूको जवाफ दिन्छ: आज कूटनीतिलाई शान्ति स्थापना गर्नदेखि रोक्ने तत्त्व के हो? के मसीहीहरूले आफूलाई कूटनीतिमा संलग्न गराउनु उचित हो? अन्ततः साँचो शान्ति कसरी हासिल हुनेछ?

कुन कुराले शान्तिलाई रोक्दैछ?

धेरै बाइबल विवरणहरूले व्यक्‍ति-व्यक्‍ति आपसमा भेटेर कुरा गर्दा कसरी शान्ति प्राप्त हुन सक्छ भनेर स्पष्ट पार्छ। उदाहरणको लागि, आफ्नो घरानासित बदला नलिन दाऊद र उनका सेनाहरूलाई कौशलतापूर्वक मनाउन अबिगेल सफल भइन्‌। (१ शमूएल २५:१८-३५) येशूले एक जना राजाको उदाहरण दिनुभयो जोसित मिलापको याचना गर्दै आफ्नो दूत पठाउनुबाहेक अरू उपाय नै थिएन। (लूका १४:३१, ३२) हो, कूटनीतिका केही पक्षहरूले कलहको समाधान गर्न सक्छ भनेर बाइबलले मानिलिन्छ। त्यसोभए, शान्तिवार्ताहरूले किन अक्सर सीमित सफलताहरू मात्र हासिल गर्छन्‌?

बाइबलले हाम्रो समय संकष्टमय हुनेछ भनेर सही भविष्यवाणी गरेको थियो। शैतान अर्थात्‌ दियाबलको दुष्ट प्रभावले गर्दा मानिसहरू “खुशी नहुने, . . . निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” हुनेछन्‌। (२ तिमोथी ३:३, ४; प्रकाश १२:१२) साथै, यस रीतिरिवाजका अन्तिम दिनहरू “लड़ाइँ र लड़ाइँहरूको हल्ला[ले]” चिनिनेछन्‌ भनेर येशूले भविष्यवाणी गर्नुभयो। (मर्कूस १३:७, ८) यी कुराहरू दिन प्रतिदिन व्याप्त हुँदै गइरहेको तथ्यलाई कसले पो नकार्न सक्छ र? यी कुराहरू सत्य भएको हुँदा राष्ट्रहरूबीचको शान्ति प्रयास अक्सर निरर्थक साबित हुँदा के कुनै अचम्म मान्‍नु पर्छ र?

यस तथ्यलाई पनि विचार गर्नुहोस्‌: कूटनीतिज्ञहरूले मतभेदहरू सुल्झाउन कडा प्रयत्न गर्न सक्ने भए तापनि तिनीहरू प्रत्येकको मुख्य उद्देश्‍य आफ्नै राष्ट्रका स्वार्थहरूलाई बढवा दिनु हो। राजनैतिक कूटनीतिको मुख्य ध्येय यही हो। के मसीहीहरू यस्ता कामकुराहरूमा संलग्न हुनु उपयुक्‍त छ?

मसीहीहरू र कूटनीति

बाइबल यस्तो सल्लाह दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” (भजन १४६:३) यसको अर्थ, तिनीहरूको मनसाय जस्तोसुकै भए तापनि संसारका कूटनीतिज्ञहरूसित स्थायी समाधान निकाल्ने न क्षमता छ, न त शक्‍ति नै छ।

परीक्षाको घडीमा जब येशू पन्तियस पिलातसको सामु खडा हुनुहुन्थ्यो, उहाँले यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लड़ाइँ गर्ने थिए, तर अब मेरो राज्य यहाँको होइन।” (यूहन्‍ना १८:३६) शान्ति रणनीतिहरूमा अक्सर राष्ट्रवादी घृणा र राजनैतिक स्वार्थहरू घुसेका हुन्छन्‌। त्यसैले, साँचो मसीहीहरू यस संसारको कलह तथा यसलाई सुल्झाउने कूटनैतिक प्रयासहरूमा संलग्न हुँदैनन्‌।

यसको मतलब के मसीहीहरू विश्‍वका घटनाहरूप्रति भावशून्य हुनुका साथै त्यसप्रति पटक्कै चासो लिंदैनन्‌? के तिनीहरू मानव पीडाहरूप्रति असंवेदनशील छन्‌? त्यसो होइन। यसको ठीक विपरीत परमेश्‍वरका प्रत्येक साँचो उपासकहरू आफू वरपर भइरहेका खराब कुराहरूप्रति “शोक र विलाप” गर्छन्‌ भनी बाइबलले बताउँछ। (इजकिएल ९:४) परमेश्‍वरले प्रतिज्ञा गर्नुभए अनुरूप शान्तिको लागि मसीहीहरू केवल परमेश्‍वरमै भरोसा राख्छन्‌। के तपाईंको विचारमा शान्ति भनेको युद्धको अन्त्य हुनु हो? परमेश्‍वरले राज्यले अवश्‍य युद्धको अन्त्य गर्नेछ। (भजन ४६:८, ९) तर यसको अतिरिक्‍त, यसले पृथ्वीका सारा बासिन्दाहरूको पूर्ण सुरक्षा तथा सुस्वास्थ्यको ग्यारेन्टी दिनेछ। (मीका ४:३, ४; प्रकाश २१:३, ४) यस्तो प्रकारको उत्कृष्ट शान्ति, कूटनीति अथवा “शान्ति स्थापना गर्ने” मानव संगठनहरूको प्रयासबाट कहिल्यै हासिल हुन सक्दैन।

शान्ति ल्याउनको लागि मानव कूटनीतिमा भर पर्दा निराशा सिवाय अरू केही पाइँदैन भन्‍ने कुरा बाइबल भविष्यवाणी तथा विगतका अनुभवहरूले स्पष्टसित देखाउँछ। शान्तिको लागि येशू ख्रीष्टमा भर पर्ने तथा परमेश्‍वरको राज्यलाई समर्थन गर्नेहरूको साँचो शान्ति अनुभव गर्ने इच्छा पूरा हुनेछ। त्यति मात्रै कहाँ हो र, तिनीहरूले सदा-सर्वदाको लागि त्यो शान्ति अनुभव गर्नेछन्‌।—भजन ३७:११, २९. (g04 01/08)

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

तिनीहरूको मनसाय जस्तोसुकै भए तापनि संसारका कूटनीतिज्ञहरूसित स्थायी समाधान निकाल्ने न क्षमता छ, न त शक्‍ति नै छ

[पृष्ठ २४-मा भएको चित्रको स्रोत]

Bottom: Photo by Stephen Chernin/Getty Images