सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जङ्‌गलबाट उपलब्ध सेवाहरू—कत्तिको बहुमुल्य?

जङ्‌गलबाट उपलब्ध सेवाहरू—कत्तिको बहुमुल्य?

जङ्‌गलबाट उपलब्ध सेवाहरू—कत्तिको बहुमुल्य?

अहिले पनि पृथ्वीको कुल भू-भागको झन्डै एक तिहाइ भाग जङ्‌गलले ओगटेको छ तर यो संख्या घट्‌दैछ। संयुक्‍त राष्ट्रसंघ विकास परियोजनाद्वारा १९९८ मा प्रकाशित चोइसेस—द ह्‍युमन डिभेलपमेन्ट-अनुसार (अंग्रेजी) विकासोन्मुख राष्ट्रहरूमा मात्र “वर्षेनी एक करोड एकड अर्थात्‌ स्वीजरल्याण्डको भूभाग जति वन विनाश भइरहेको छ।”

वन विनाश किन विरोधाभासपूर्ण छ

अहिले भइरहेको वन विनाश विरोधाभासपूर्ण छ भनी कुनै-कुनै विशेषज्ञहरू बताउँछन्‌। किनभने वनमा डढेलो लगाउने र फँडानी गर्ने जस्ता काम अझै पनि आर्थिक फाइदाको लागि गरिन्छ। यद्यपि, एउटा रिपोर्टमा भनिएझैं जङ्‌गलहरू “ढालिंदा वा डढेलो लगाइँदाभन्दा सग्लो रहँदा बढी फाइदा हुन्छ।” कसरी?

ब्राजिल, मानाअसको अमेजनमा अवस्थित राष्ट्रिय अनुसन्धान निकायका अनुसन्धाताहरू डा. फिलिप एम. फर्नसाइड र डा. फ्लाभियो जे. लुइजाओ-ले ब्यूँझनुहोस्‌!-लाई सग्लो रेन फरेस्ट अर्थात्‌ उष्ण कटबन्धीय जङ्‌गलहरूले, तिनीहरूकै शब्दमा भन्‍ने हो भने “संसारलाई सेवा उपलब्ध” गर्छ भनी बताए। ती सेवाहरूमा कार्बनडाइअक्साइड (हरितगृह ग्याँस) सोस्ने र सञ्चय गर्ने, भूक्षय र बाढीबाट जोगाउने, पोषणहरूलाई पुनः प्रयोग गर्ने, वर्षालाई नियन्त्रणमा राख्ने र खतरामा परेका पशुहरूलाई आश्रय दिने र जङ्‌गली वनस्पतिलाई ओत दिने समावेश छ। जङ्‌गलले मनोरम दृश्‍य र मनोरञ्जनको लागि ठाउँ पनि उपलब्ध गर्छ। यस्ता सबै वातावरणीय सेवाहरूको आर्थिक महत्त्व छ भनी अनुसन्धाताहरू बताउँछन्‌।

उदाहरणस्वरूप कार्बन सञ्चय गर्ने जङ्‌गलको क्षमतालाई लिनुहोस्‌। जङ्‌गल फँडानी गर्दा ढालिएका रूखहरूले फ्याँक्ने कार्बन वायुमण्डलमा कार्बनडाइअक्साइडको रूपमा बस्छ र यसले विश्‍वको तापक्रम बढाइरहेको हुन्छ। यसकारण, जङ्‌गलबाट उपलब्ध “संसारलाई सेवा” अर्थात्‌ कार्बन सञ्चयको आर्थिक मूल्य, मानव-निर्मित मेसिनहरूले फ्याँक्ने कार्बनको मात्रा घटाउन कत्ति लाग्छ भनी हिसाब निकाल्दा अनुमान लगाउन सकिन्छ।

इन्टर-अमेरिकन डिभेलपमेन्ट बैंकको ब्राजिल स्थित कार्यालयका वातावरणीय सल्लाहकार मार्क जे. डोरोसेहानेका अनुसार त्यस्तो हिसाबले “काठ र खेतीयोग्य जमिनबाट आर्जन हुने पैसाभन्दा कार्बन भण्डारको रूपमा जङ्‌गलको मूल्य एकदमै धेरै छ” भनेर देखाउँछ। तैपनि झन्‌-झन्‌ धेरै जङ्‌गलहरूलाई समथर बनाइँदैछ। किन?

संरक्षण गर्न उत्प्रेरणा

यस तुलनालाई विचार गर्नुहोस्‌: एउटा समूहको स्वामित्वमा एउटा विद्युत्‌गृह छ। त्यस विद्युत्‌गृहले वरपरका सहरहरूको लागि विद्युत्‌ उत्पादन गर्छ तर यसको लागि उपभोक्‍ताले एक पैसा पनि तिर्दैनन्‌। केही समयपछि त्यस विद्युत्‌गृहका मालिकहरूले यस्तो तर्क गर्छन्‌, ‘एक पैसा आम्दानी नहुने विद्युत्‌गृह सञ्चालन गरिरहनुभन्दा विद्युत्‌गृह बन्द गरेर, यसका सबै उपकरणहरू फाङफुङ पारेर सबै सामानहरू बेच्नु नै आर्थिक हिसाबमा धेरै मुनाफादायी हुन्छ।’ जङ्‌गल-धनी देशका केही अधिकारीहरूले पनि यस्तै सोचाइ राखेजस्तो देखिन्छ। जङ्‌गलबाट उपलब्ध सेवाहरूको लागि संसारका उपभोक्‍ताहरूले पैसा नतिर्ने भएकोले चाँडचाँडो धेरै आय आर्जन गर्न वन फँडानी गर्नु (भन्‍ने हो भने, विद्युतगृहलाई फाङफुङ गर्नु) र रूखहरू बेच्नु (सामानहरू बेच्नु) नै बुद्धिमानी देखिन्छ—वा तिनीहरूले यस्तै तर्क गर्ने गर्छन्‌।

यस लहरलाई उल्टाउने एउटै मात्र तरिका जङ्‌गलको संरक्षणलाई आर्थिक दृष्टिकोणले मुनाफादायी बनाउनु हो भनी डोरोसेहाने भन्छन्‌। प्राध्यापक डा. होसे गोल्डेमबर्ग, ब्राजिली आणविक भौतिकशास्त्री र साउ पाउलो युनिभर्सिटीका भूतपूर्व कुलपतिले प्रस्ताव राखेको एउटा तरिका चाहिं सामान्यतया जीवाशेष इन्धन भनिने कुराका उपभोक्‍ताहरूलाई “विश्‍वभरि कार्बन कर” लगाउने।

यस प्रस्तावका अग्रजहरूको विचारमा कति कर लगाउने भन्‍ने कुरा कुनै देश वा राज्यले प्रयोग गर्ने मात्राका साथै तिनीहरूले निष्कासन गर्ने हरित-गृह ग्याँसहरूको परिमाणमा भर पर्छ। उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिका जसको जनसंख्या संसारको कूल जनसंख्याको पाँच प्रतिशत छ, उक्‍त देशले संसारको हरित-गृह ग्याँसको झन्डै २४ प्रतिशत निष्कासन गर्छ। त्यस्ता देशहरूले तिरेको करको पैसा, वन संरक्षणको लागि फँडानी कार्य नगर्दा आर्थिक क्षति भोग्नुपरेका देशहरूलाई क्षतिपूर्ति स्वरूप दिइनेछ भनी केही नीति निर्माताहरू तर्क गर्छन्‌। यसरी, उपभोक्‍ताहरूले वास्तवमा ‘बिजुलीको पैसा’ तिर्नेछन्‌ र तथाकथित मालिकले आफ्नो ‘विद्युत्‌गृह’-को संरक्षण गर्न आर्थिक उत्प्रेरणा पाउनेछ भन्‍ने अनुमान गरिएको छ।

तर वातावरणीय सेवाहरूको मूल्य कसले निर्धारण गर्नेछ? अनि यसको संकलन र वितरण कसले गर्नेछ?

बानीमा परिवर्तन गर्नु आवश्‍यक

“यी विषयहरूबारे कुरा उठाउने सबैभन्दा उपयुक्‍त समय जङ्‌गलसम्बन्धी विश्‍वव्यापी अधिवेशनहरूमा हो” भनी डोरोसेहाने बताउँछन्‌। त्यस्ता अधिवेशनहरूले जङ्‌गलले उपलब्ध गर्ने वातावरणीय सेवाको लागि मूल्य तोक्न सक्छ। त्यसपछि, “यस अन्तरराष्ट्रिय प्रयासको व्यवस्थापनको लागि विश्‍व जङ्‌गल संगठन स्थापना गर्न सकिन्छ।”

अन्तरराष्ट्रिय समस्यालाई नियन्त्रण गर्न अन्तरराष्ट्रिय संस्था प्रयोग गर्नु तार्किक जस्तो देखिए तापनि डोरोसेहाने यसरी मानिलिन्छन्‌: “जङ्‌गलसम्बन्धी समस्याहरूको सामना गर्न संस्था तथा आयोजनाहरू छ्यासछ्यासती देखापरे तापनि खासै मदत मिलेको छैन।” साँच्चै आवश्‍यक कुरा भनेको “सामाजिक र आर्थिक बानीमा आमूल परिवर्तन” हो भनी तिनी अझै भन्छन्‌। निस्सन्देह, वन संरक्षणको लागि नियममा मात्र नभई हृदयमै परिवर्तन ल्याउनु आवश्‍यक छ।

के त्यस्ता समस्याहरू कहिल्यै समाधान हुनेछन्‌? हुनेछन्‌ भनी पृथ्वीका सृष्टिकर्ता यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुहुन्छ। उहाँले एउटा राज्य स्थापना गर्नुभएको छ जसले चाँडै संसारमाथि शासन गर्नेछ र पृथ्वीको समस्या समाधान गर्नेछ भनी बाइबलले देखाउँछ। त्यो राज्य “कहिल्यै नाश हुनेछैन।” (दानियल २:४४) यसबाहेक, पृथ्वीका बासिन्दाहरूले आफ्नो सृष्टिकर्ता जसलाई बाइबलमा यहोवा भनी चिनाइएको छ, उहाँबारे सिक्दै गर्दा यसले पृथ्वीको इकोसिस्टम अर्थात्‌ पारिस्थितिक पद्धतिको निरीक्षण गर्नेछ। (यशैया ५४:१३) त्यतिबेला बाँच्ने सबै मानवहरूले जङ्‌गललगायत पृथ्वीको पूर्णतया मूल्याङ्‌कन गर्नेछन्‌। (g03 12/22)

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Ricardo Beliel / SocialPhotos

© Michael Harvey/Panos Pictures