सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जापानका हट स्प्रिङहरूमा जाँदा

जापानका हट स्प्रिङहरूमा जाँदा

जापानका हट स्प्रिङहरूमा जाँदा

जापानका ब्यूँझनुहोस्‌! लेखकद्वारा

जापान भन्‍ने बित्तिकै तपाईंको दिमागमा कुन कुरा आउँछ? सानदार माउन्ट फुजी? तेज गतिमा हुइँकिने बुलेट ट्रेन? घना बस्ती भएको टोकियो सहर? यो, सबैभन्दा पहिला सूर्योदय हुने देश भनेर चिनिनुको अलावा यहाँ पर्यटकीय आकर्षणका थुप्रै ठाउँहरू छन्‌। चिकित्सा दृष्टिकोणले होस्‌ वा आनन्दको लागि, वर्षेनी लाखौं मानिसहरू ओन्सेन अर्थात्‌ जापानका हट स्प्रिङ वा तातो पानीका मुहानहरू भएको ठाउँमा जाने गर्छन्‌। हालैको वर्ष, जापानका हट स्प्रिङ पौवा वा होटेलमा १४ करोड मानिसहरू आएको अनुमान गरिएको छ। तर यी स्पा वा खनिजजन्य झरनाहरू यत्तिको लोकप्रिय हुनुको कारण के हो?

ओन्सेन इतिहास

जापानीहरूले भौगर्भिक पानीमा स्नानको आनन्द उठाएको धेरै शताब्दी भइसक्यो। सा.यु. आठौं शताब्दीतिरका पुराना लेखोटहरूले हट स्प्रिङको प्रयोगबारे बताउँछ। स्पष्टतः १६ औं शताब्दीका सामन्ती शासक ताकेदा शिङगेनले खनिजजन्य झरनाहरूको चिकित्सा महत्त्वलाई बढवा दिए। युद्धपछि तिनी र तिनका सामुराई योद्धाहरू तरवारको घाउ, भाँचिएको हड्डी र चोटपटक निको पार्नको लागि हट स्प्रिङमा नुहाउँथे। यहाँको पानी तनाव कम गर्न अनि अर्को युद्धको लागि मानिसहरूलाई तयार गर्न पनि उपयोगी थियो।

निस्सन्देह, नुहाइरहेको बेला सामुराईहरू खतरामा हुन्थे किनभने त्यतिबेला अकस्मात्‌ आक्रमण भएको खण्डमा तिनीहरूले कुनै हात-हतियार भिरेका हुँदैनथे। यो समस्या पार लगाउन ताकेदा शिङगेनले एकदमै टाढा अनि कोही मानिस नजाने एकलास ठाउँमा मुहानहरू चलाउन थाले जुन पछि गएर शिङगेनका गोप्य स्नानहरू भनेर चिनिन थाल्यो। चाखलाग्दो कुरा के हो भने, यहाँकै मुहान अहिले सुमो रेस्लर र बेसबल खेलाडीजस्ता पेसेवर खेलाडीहरूले प्रयोग गर्छन्‌ र यहाँको पानीले भावी खेलको लागि आफ्नो शरीरलाई चुस्त बनाउन सक्छ भन्‍ने विश्‍वास गर्छन्‌।

अनौठो भौगोलिक बनोट

जापानको भौगोलिक बनोट विशेष गरी तातो मुहानहरूका लागि उपयुक्‍त छ। यस द्वीपपुञ्जमा २४५ वटा जति ज्वालामुखी छन्‌ र यीमध्ये ८६ वटा सक्रिय छन्‌। यी ज्वालामुखीहरूले पृथ्वीको सतहमुनि कस्ता प्रतिक्रियाहरू भइरहेका होलान्‌ भनेर सोच्न लगाउँछ। हामी त्यहाँ के पाउँछौं?

जापानी टापुहरू, लिथोस्फेरिक प्लेट वा पृथ्वीको बाह्‍य पत्रको टुप्पामा रहेका छन्‌। भनिन्छ, यी विशाल पत्रहरूको मिलन बिन्दुमा म्याग्मा वा पग्लेको लाभा उत्पन्‍न हुन्छ। यसको ठ्याक्कमाथि अनि देखिने ठाउँमा ज्वालामुखीहरू छन्‌। यो भौगर्भिक क्षेत्र, भूमिगत मुहानहरूबाट तातो निस्कने स्रोत पनि हो। म्याग्मा वा तातो लाभासित अन्तरक्रिया गर्दै जमिनमुनिको पानी तात्छ र यसले खनिजहरू सोस्छ जसको फलस्वरूप ओन्सेन बन्‍नको लागि उपयुक्‍त अवस्था सृजना हुन्छ। यसैकारण द हट स्प्रिङ्‌स अफ जापान (अंग्रेजी) भन्‍ने पुस्तकले यस्तो सही टिप्पणी गर्छ: “जापान जस्तो प्राकृतिक हट स्प्रिङको उपहार पाएको देश अरू कुनै पनि छैन।” निस्सन्देह, १९९८ को अध्ययनले त्यस मुलुकमा २,८३९ वटा हट स्प्रिङ सूचीबद्ध गरेको छ।

जापानका हट स्प्रिङहरू विभिन्‍न स्टाइल, साइज, आकार र रङका छन्‌। यी स्प्रिङहरूको उपचारात्मक महत्त्वलाई वर्गीकरण गर्ने प्रयासमा जापानी वातावारण निकायले ती सबैलाई नौवटा रासायनिक वर्गमा छुट्टयाएको छ। यी हट स्प्रिङहरूलाई दिइएका नाउँले अक्सर तिनीहरूको विशेषतालाई संकेत गर्छ। उदाहरणका लागि, आइरन प्रचुर मात्रामा भएका स्प्रिङहरूले तपाईंको रुमाललाई रातो-सुन्तला रङको बनाउन सक्छ। यसर्थ, तिनीहरूको नाउँमा “रातो” भन्‍ने शब्द राखिएको छ। नुनको मात्रा अत्यधिक भएका स्प्रिङहरूलाई नुन स्नान भन्‍ने नामाकरण गरिएको छ। अनि बाम माछाको स्नानमा डुबुल्की मार्दा कस्तो होला? हुन त हो, यो सुन्दा त्यसो गरूँ गरूँ जस्तो लाग्दैन। तर चिन्ता नगर्नुहोस्‌। यी स्प्रिङहरूमा वास्तवमा बाम माछाहरू पाइँदैनन्‌। यो नाउँ छानिनुको कारण के हो भने, मानिसहरू यी स्प्रिङहरूबाट निस्कँदा तिनीहरूको छाला बाम माछाको जस्तै लेसिलो भएको महसुस गर्छन्‌ अनि यो क्षारयुक्‍त पानीले गर्दा यस्तो भएको हो।

सुन्दर वातावरणको बीचमा

पहाड, उपत्यका, नदी, समुद्री किनार र समतल भूमिको वातावरणबीच भौगर्भिक पानीमा स्नान गर्दा एउटा अपूर्व आनन्द अनुभव हुन्छ अनि यसले पार्ने छाप सजिलै बिर्सिनेछैन। जापानका धेरैजसो हट स्प्रिङहरू खुला ठाउँमा हुनेहुँदा स्नान गर्नेहरूले प्राकृतिक सौन्दर्य छर्लङ्‌गै देख्न सक्छन्‌। माथिको छानो गाढा-नीलो रङको आकाश हो भने भित्ताहरू चाहिं वरपरका पहाडहरू। यो “बाह्‍य कोठा”-बाट निस्कने आवाज भनेको बिहानीपख चराहरूको चिरबिर वा बिस्तारै बगिरहेको खोलाको कलकल आवाज हुन सक्छ। वास्तवमा, मोहित पार्ने हट स्प्रिङका यी विभिन्‍न पक्षहरूको कुनै अन्त देखिंदैन।

के तपाईंलाई झरनामुनि स्नान गर्न मन लाग्छ? तपाईंले यस्तो अनुभव गर्न सक्नुहुन्छ। झरनाजस्तो पानीको फोहराले तपाईंको शरीरलाई मसाज गरिदिन्छ अनि यो जापानी शैलीको स्नानको अर्को पक्ष हो। गुफामा पनि स्नान गर्न सकिन्छ जहाँ चट्टानका गहिरा प्वालहरूबाट खनिजजन्य पानी निस्किरहेको हुन्छ। केही स्प्रिङहरू समुद्री किनारमा छन्‌ र त्यहाँबाट सूर्यास्तको मनोरम दृश्‍य देखिन्छ र अरू कतिपय नदीको छेउछाउमा छन्‌।

तपाईंले छान्‍नुभएको हट स्प्रिङ जुनसुकै ठाउँमा वा जस्तोसुकै किसिमको भए तापनि एउटा कुरा भने पक्का छ: ज्वालामुखीले गर्दा तातेका स्प्रिङहरूमा स्नान गर्नुहुँदा तपाईंले एक छिनको लागि मात्रै भए पनि दैनिक जीवनको दौडधूपबाट छुटकारा पाएको महसुस गर्नुहुनेछ। तपाईंले साँच्चै स्फूर्ति पाउनुहुनेछ अनि जापानी जीवन शैलीसित अझ अलि नजिक हुन सक्नुहुनेछ। त्यसकारण तपाईंले संसारको यो ठाउँको भ्रमण गर्ने मौका पाउनुभयो भने कृपया ओन्सेन अर्थात्‌ जापानको हट स्प्रिङको पक्कै पनि आनन्द उठाउनुहोस्‌! (g04 01/08)

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

हट स्प्रिङ र शोगुन

एदो युगमा (१६०३-१८६७) खनिजजन्य पानीलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्थ्यो। शोगुन भनिने सैनिक तानाशाहहरूले खाँबोले अड्याइएका काठका ड्रमहरूमा पानी भरेर आतामीदेखि एदोसम्म (टोकियो) मानिसहरूको काँधमा बोकाएर ढुवानी गर्थे र यो दूरी ११० किलोमिटर थियो। बाटोमा पर्ने थुप्रै ठाउँहरूमा यो बहुमूल्य पानी बोक्नेहरूको विभिन्‍न टोली हुन्थ्यो अनि तिनीहरूले पालैपालो गरी यात्रा पूरा गर्थे। यसरी एकदमै चाँडचाँडो खनिजजन्य पानी ढुवानी गरिन्थ्यो। मुहानमा सङ्‌कलन गरिएको भौगर्भिक पानी लगभग पानी उम्लने तापक्रममा हुन्थ्यो। यी मुहानहरूदेखि लगभग १५ घण्टा लामो कठिन यात्रामा यो पानी ठिक्कको तापक्रमसम्म सेलाउँथ्यो र शोगनहरूले एदोमा भएको महलमा स्फूर्तिदायी स्नान गर्नको लागि ठिक्क मिल्ने तापक्रम हुन्थ्यो!

[स्रोत]

A Chronological Table of the History of Atami

[पृष्ठ १८-मा भएको पेटी/चित्र]

ओन्सेन आचारसंहिता

चलनअनुसार, हट स्प्रिङमा प्रवेश गर्नुअघि साबुन लगाएर नुहाइन्छ अनि त्यसपछि शरीरलाई राम्ररी पखालिन्छ। अब भने सफा खनिजजन्य पानीमा डुब्न सकिन्छ। a बिस्तारै-बिस्तारै गरेर पानीभित्र जानु बेस हो किनभने कुनै-कुनै स्प्रिङको तापक्रम पोल्ने गरी तातो हुन सक्छ। पानी बाहिर निस्केपछि खनिजले भरपूर पानीलाई तुरुन्तै पखाली नहाल्नुहोस्‌। रुमालले सुक्खा हुनेगरी मात्र पुछ्‌नु होस्‌। भनिन्छ, यसरी सोसिने खनिजले तपाईंको छाला नरम बनाउन मदत गर्न सक्छ।

[फुटनोट]

a पुरुष र महिलाको निम्ति छुट्टयाइएका स्नान-गृहहरूमा सर्वसाधारणको स्नानको प्रबन्ध, ओन्सेन-को अर्को विशेष पक्ष हो।

[स्रोत]

सबै ऋतुहरूमा भौगर्भिक पानीको आनन्द उठाइन्छ

[[पृष्ठ १७-मा भएको चित्र]]

Fall: Yubara, Okayama Prefecture; winter: The Mainichi Newspapers

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

Hakkoda Onsen Yusen