सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बच्चाहरूको आवश्‍यकता प्रबन्ध गर्ने

बच्चाहरूको आवश्‍यकता प्रबन्ध गर्ने

बच्चाहरूको आवश्‍यकता प्रबन्ध गर्ने

स्पष्टतः साना बच्चाहरूलाई प्रशस्त ध्यान चाहिन्छ तर वास्तवमा भन्‍ने हो भने, थुप्रैले आफूलाई चाहिएको कुरा पाइरहेका छैनन्‌। आजका युवाहरूको अवस्थाले त्यही देखाउँछ। “हाम्रा युवाहरू आफ्नो परिवारबाट यत्तिको टाढिएको, व्यावहारिक अनुभव र व्यावहारिक बुद्धिबाट यत्तिको वञ्चित भएको पहिला कहिल्यै थिएन” भनी एक जना अनुसन्धाताले बिलौना गरेको कुरा टोरन्टो, क्यानाडाको द ग्लोब एण्ड मेल-मा उद्धरण गरिएको थियो।

कहाँ गएर कुरा बिग्रियो? के यो समस्याको दोष केही हदसम्म, ससाना बच्चाहरूलाई ध्यान दिनुपर्ने महत्त्व बुझ्न नसकेको अवस्थालाई दिन सकिन्छ? “आमाबाबु कसरी बन्‍ने भनी हामी सबैले सिक्नुपर्छ” भनी एक जना मनोवैज्ञानिक बताउँछिन्‌ जसले कम आयस्रोत भएका महिलाहरूलाई आफ्नो नवजात शिशुको स्याहार कसरी गर्ने भनी सिकाउँछिन्‌। “अनि अहिले आफ्ना छोराछोरीसित जति समय बिताउँछौं, पछि त्यसको धेरै-धेरै इनाम पाउनेछौं भनेर हामीले बुझ्नुपर्छ।”

बच्चाहरूलाई पनि नियमित तवरमा निर्देशन चाहिन्छ। आकलझुकल दुई चार मिनेट होइन तर नियमित तवरमा—हो, दिनभरि नै चाहिन्छ। बाल्यावस्थादेखि नै बच्चाहरूसित समय बिताउनु तिनीहरूको स्वास्थ्यकर विकासको लागि अत्यावश्‍यक छ।

तयारीको आवश्‍यकता

आफ्नो गहन जिम्मेवारी पूरा गर्न आमाबाबुले आफ्नो बच्चाको आगमनको लागि तयारी गर्नुपर्छ। अग्रिम तयारीबारे येशू ख्रीष्टले औंल्याउनुभएको सिद्धान्तबाट तिनीहरूले सिक्न सक्छन्‌। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा . . . खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?” (लूका १४:२८) बालबच्चा हुर्काउनु—यसलाई अक्सर २० वर्षे परियोजना भनिन्छ—यो काम भनेको धरहरा निर्माण गर्नुभन्दा धेरै जटिल कुरा हो। त्यसकारण बच्चालाई हुर्काउन सफल हुनको लागि मानौं एउटा ब्लुप्रिन्ट वा नक्सा चाहिन्छ।

सर्वप्रथम, आमाबाबुको जिम्मेवारी वहन गर्न मानसिक तथा आध्यात्मिक तयारी महत्त्वपूर्ण छ। जर्मनीमा २,००० जना गर्भवती महिलाहरूसित गरिएको अध्ययनले देखाएअनुसार बच्चा नचाहने आमाहरूको तुलनामा उत्सुकतापूर्वक बच्चाको प्रतीक्षा गरिरहेका आमाहरू, भावनात्मक तथा शारीरिक तवरमा बढी स्वस्थ भएको पाइयो। अर्कोतर्फ, एउटा अनुसन्धाताको अनुमानअनुसार सुरक्षित सम्बन्धको आनन्द उठाइरहेकी महिलाको तुलनामा कलहपूर्ण विवाहमा जकडिएकी महिलाले भावनात्मक वा शारीरिक तवरमा विकृत बच्चा जन्माउन सक्ने खतरा २३७ प्रतिशत बढी हुन्छ।

स्पष्टतः बच्चाको सुसंगठित विकासको लागि बुबाहरूको महत्त्वपूर्ण भूमिका छ। डा. थमस भर्नीले यस्तो टिप्पणी गरे: “आफ्नी गर्भवती पत्नीलाई दुर्व्यवहार वा बेवास्ता गर्ने बुबाले बच्चाको भावनात्मक तथा शारीरिक अवस्थामा पार्ने असर जत्तिको खतरनाक अरू कुराहरू कमै होलान्‌।” निस्सन्देह, अक्सर भन्‍ने गरिन्छ, बच्चाले पाउन सक्ने सबैभन्दा उत्तम उपहार भनेको आफ्नी आमालाई माया गर्ने बुबा हो।

आमाको रक्‍तनलीभित्र सोसिने चिन्ता र तनावका हर्मोनहरूले भ्रूणलाई असर गर्न सक्छ। तथापि, प्रमाणले देखाएअनुसार खतरनाक कुरा भनेको कहिलेकाहीं देखापर्ने नकारात्मक भावना वा तनावपूर्ण घटना नभई अति तीव्र वा दीर्घकालीन मातृ चिन्ता हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको गर्भवती महिलाले आफ्नो गर्भमा भएको शिशुप्रति कस्तो दृष्टिकोण राख्छिन्‌, त्यो हो। a

तपाईं गर्भवती हुनुहुन्छ र तपाईंको पति सहयोगी हुनुहुन्‍न वा आमा बन्‍ने कुरा तपाईं आफैलाई त्यति मन परेको छैन भने नि? विभिन्‍न परिस्थितिको कारण कुनै महिला आफ्नो गर्भावस्थाबारे निराश हुनु असामान्य कुरा होइन। यद्यपि, तपाईंको बच्चाको कुनै दोष छैन भनेर कहिल्यै नबिर्सनुहोस्‌। त्यसोभए, प्रतिकूल अवस्थाको बावजुद तपाईं कसरी शान्त मनोवृत्ति राख्न सक्नुहुन्छ?

परमेश्‍वरको वचन बाइबलमा दिइएको बुद्धिमान्‌ निर्देशनले लाखौंलाई मदत गरेको छ। त्यहाँ यसो भन्छ: “सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” यी शब्दअनुसार जीवन बितायौं भने “केही कुरामा चिन्तित नहोओ” भन्‍ने सल्लाह पालन गर्न कत्ति सजिलो हुँदो रहेछ भनी थाह पाउँदा तपाईं छक्कै पर्नुहुनेछ। (फिलिप्पी ४:६, ७) तपाईंले आफ्नो ख्याल गर्नुहुने सृष्टिकर्ताको साथ र हेरचाह महसुस गर्नुहुनेछ।—१ पत्रुस ५:७.

असामान्य अनुभव होइन

बच्चा जन्मिएको सुरुका केही हप्ताहरूमा कोही-कोही जवान आमाहरूले कुनै कारणै विना खिन्‍नता र थकान महसुस गर्न सक्छन्‌। बच्चा जन्माउनको लागि खुसी भएका आमाहरूसमेत एकाएक निराश हुन सक्छन्‌। त्यस्तो मुड परिवर्तन कुनै असामान्य कुरा होइन। बच्चा जन्मिएपछि आमाको शरीरमा हर्मोनको मात्रामा हुने आमूल परिवर्तनले गर्दा यसो हुनेगर्छ। मातृत्वसँगसँगै आइपर्ने तनावहरूले गर्दा पनि नयाँ आमाले यस्तो महसुस गर्नु सामान्य हो—जस्तै, खुवाउने, थाङ्‌ना फेर्ने अनि बच्चालाई स्याहार्ने जसलाई समयको कुनै पत्तो छैन।

एउटी आमालाई बच्चाले तिनलाई सास्ती दिन मात्र रोइरहेको हो जस्तो महसुस भयो। बच्चा हुर्काउनेबारे जापानका एक विशेषज्ञले यसो भनेकोमा छक्क पर्नुपर्ने कुनै कारण छैन: “बच्चा हुर्काउँदा आइपर्ने तनावबाट कोही पनि मुक्‍त छैनन्‌।” यी विशेषज्ञअनुसार “आमाको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, आफूलाई कहिल्यै अरूबाट नअलग्याउनु हो।”

आमाले कहिलेकाहीं निराश महसुस गरे तापनि तिनले आफ्नो मुड परिवर्तनबाट प्रभावित हुनदेखि बच्चालाई जोगाउन सक्छिन्‌। टाइम पत्रिकाले यस्तो रिपोर्ट गऱ्‍यो: “निराश भए तापनि आफ्नो निराशामाथि विजय हासिल गर्न सक्ने, बच्चालाई असाध्यै ध्यान दिएर बच्चासित खेल्ने आमाका बच्चाहरूको मस्तिष्क हँसमुख स्वभावप्रति बढी तत्पर भएको पाइयो।” b

बुबाले कसरी मदत गर्न सक्छन्‌

यस्तो अवस्थामा आवश्‍यक मदत र सहयोग दिन सक्ने सबैभन्दा उचित व्यक्‍ति बच्चाको बुबा हुन्‌। मध्यरातमा बच्चा रुन थाल्दा, धेरै जसो अवस्थामा आफ्नी पत्नी सुत्न सकून्‌ भनेर तिनले बच्चालाई हेरिदिन सक्छन्‌। बाइबल यसो भन्छ: “आफ्नी पत्नीसँग विचारशील भएर बस।”—१ पत्रुस ३:७, नयाँ संशोधित संस्करण।

पतिहरूले पछ्याउन सक्ने सिद्ध उदाहरण येशू ख्रीष्टले प्रदान गर्नुभयो। उहाँले आफ्ना अनुयायीहरूका लागि आफ्नो जीवनसमेत अर्पण गर्नुभयो। (एफिसी ५:२८-३०; १ पत्रुस २:२१-२४) तसर्थ, बच्चा हुर्काउन आफ्ना सुख-सुविधा त्याग्ने पतिहरूले ख्रीष्टको अनुकरण गरिरहेका हुन्छन्‌। निस्सन्देह, बच्चा हुर्काउनु भनेको संयुक्‍त लगानी, सहकारी प्रयास हो जसमा आमा र बुबा दुवैले भाग लिनुपर्छ।

संयुक्‍त, सहकारी प्रयास

“पति र पत्नीको हैसियतमा हामीले आफ्नी छोरीलाई कसरी हुर्काउने भनेर विस्तृत छलफल गरिसक्यौं,” भनी दुई वर्षीया छोरीका बाबु योइचिरो बताउँछन्‌। “हरेक पटक कुनै विवाद खडा हुँदा हामी के गर्ने भनेर छलफल गर्छौं।” आफ्नी पत्नीलाई आराम चाहिन्छ भनेर योइचिरोले बुझेका छन्‌ अनि अक्सर तिनी, उदाहरणका लागि किनमेल गर्न जाँदा छोरीलाई सँगै लैजान्छन्‌।

पहिला-पहिला, परिवारहरू ठूलो अनि घनिष्ठ हुँदा शिशु स्याहार्न आमाबाबुलाई हुर्किसकेका बच्चाहरू र नातेदारहरूले सघाउँथे। त्यसकारण जापानको कावासाकीस्थित शिशु स्याहार सहयोग केन्द्रका एक जना कार्यकर्ताले यस्तो टिप्पणी गर्नु कुनै अचम्मको कुरा होइन: “प्रायजसो, आमाहरूले आफ्नो अवस्थाबारे अरूसित कुरा गर्दा निकै सञ्चो महसुस गर्नेछन्‌। अलिकता मात्र मदत पाएपछि थुप्रै आमाहरूले अवरोधहरू सामना गर्न सकेका छन्‌।”

पेरेन्ट्‌स (अंग्रेजी) भन्‍ने पत्रिकाले बताएअनुसार आमाबाबुलाई “आफ्ना चिन्ताहरूबारे कुरा गर्न सक्ने मानिसहरूको नेटवर्क चाहिन्छ।” त्यस्तो नेटवर्क वा समूह कहाँ पाउन सकिन्छ? खुला मनको भएर अनि आफ्नै आमाबाबु वा सासु-ससुराको कुरा सुनेर नयाँ आमा र बुबाले निकै लाभ उठाउन सक्छन्‌। निस्सन्देह, हजुरबुबा-हजुरआमाहरूले अन्तिम निर्णय त जवान दम्पतीको नै हो भनेर बुझ्नुपर्छ। c

जवान दम्पतीहरूले अक्सर भर पर्न सक्ने अर्को स्रोत, सँगी धार्मिक विश्‍वासीहरू हुन्‌। यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा बच्चा हुर्काउने सन्दर्भमा वर्षौंको अनुभव बटुलेका र तपाईंका समस्याहरू सुन्‍न इच्छुक व्यक्‍तिहरू पाउन सक्नुहुन्छ। तिनीहरूले तपाईंलाई केही मदतकारी सुझाव दिन सक्छन्‌। प्रायजसो, तपाईंले मसीही जीवनमा धेरै अनुभव बटुलिसकेका, बाइबलको शब्दमा भन्‍ने हो भने “वृद्धाहरू[को]” मदत लिन सक्नुहुन्छ जो तरुणीहरूलाई मदत गर्न इच्छुक छन्‌।—तीतस २:३-५.

हो, अरूको विचार सुन्दा आमाबाबुले कसको कुरा सुन्‍ने भनेर सही छनौट गर्नुपर्छ। “अकस्मात्‌, हाम्रो वरपर भएका मानिसहरू बाल-शिक्षा विशेषज्ञ भए” भनी योइचिरो बताउँछन्‌। तिनकी पत्नी ताकाको सहमति जनाउँदै यसो भन्छिन्‌: “सुरुमा, अरूले दिएको सुझावले गर्दा म विचलित भएँ किनभने म आमाको भूमिका निर्वाह गर्न कम अनुभवी भएकीले मेरो आलोचना गरिरहेको जस्तो लाग्यो।” यद्यपि, अरूबाट सिकेर थुप्रै पति तथा पत्नीहरूले आफ्ना छोराछोरीको आवश्‍यकता प्रबन्ध गर्ने सन्दर्भमा सन्तुलित दृष्टिकोण राख्न सिकेका छन्‌।

सर्वोत्तम मदत उपलब्ध

तपाईंलाई मदत दिन कोही उपलब्ध छैनन्‌ जस्तो देखिए तापनि बल प्रदान गर्ने एउटा भरपर्दो स्रोत छ। उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ जसले हामीलाई सृष्टि गर्नुभयो र जसको आँखाले यस पृथ्वीमा जन्मने सबै थोक “रचना नभई” अर्थात्‌ भ्रूण छँदै देख्न सक्नुहुन्छ। (भजन १३९:१६) यहोवाले पुरातन समयका आफ्ना मानिसहरूलाई एक चोटि भन्‍नुभएको कुरा उहाँको वचन, बाइबलमा यसरी रेकर्ड गरिएको छ: “के कुनै स्त्रीले आफ्नो दूधे–बालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठाउँदैन र? यिनीहरूले बिर्सन पनि सक्छन्‌, तर म ता तँलाई बिर्सनसक्‍तिनँ।”—यशैया ४९:१५; भजन २७:१०.

निस्सन्देह, यहोवाले आमाबाबुलाई बिर्सनुहुन्‍न। उहाँले छोराछोरी हुर्काउने सन्दर्भमा तिनीहरूको लागि बाइबलमा उत्कृष्ट निर्देशन दिनुभएको छ। उदाहरणका लागि, लगभग ३,५०० वर्षअघि परमेश्‍वरको अगमवक्‍ता मोशाले यस्तो लेखे: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर।” त्यसपछि मोशाले यसो भने: “मैले तिमीहरूलाई सुनाएको आज्ञा [अनि यहोवालाई प्रेम तथा सेवा गर भन्‍ने आग्रह] आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:५-७.

तपाईंको विचारमा परमेश्‍वरको वचनले यहाँ दिन खोजेको निर्देशन के हो? के यसले छोराछोरीलाई निर्देशन दिने काम भनेको नियमित तवरमागर्नुपर्ने अर्थात्‌ हरेक दिन गर्नुपर्ने हो भनेर बुझिंदैन र? वास्तवमा, तपाईंको बच्चासित आकलझुकल मात्र तथाकथित गुणस्तरीय समय बिताउनु पर्याप्त छैन। कुराकानीका महत्त्वपूर्ण क्षणहरू अक्सर आफसेआफ निस्कने हुँदा तपाईंले आफ्ना छोराछोरीको लागि नियमित तवरमा समय निकाल्नुपर्छ। यसो गर्नुभयो भने तपाईंले बाइबलको यो आज्ञा पालन गर्न सक्नुहुनेछ: “बालकलाई ठीक बाटोमा लगाऊ।”—हितोपदेश २२:६.

बच्चाहरूलाई सही प्रशिक्षण दिनुमा तिनीहरूलाई ठूलो स्वरले पढेर सुनाउनु पनि समावेश छ। प्रथम शताब्दीका चेला तिमोथीले “बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका” थिए भनी बाइबलले बताउँछ। त्यसकारण स्पष्टतः तिनकी आमा युनिस र बज्यै लोइसले तिनी बच्चै छँदा पनि ठूलो स्वरले पढेर सुनाउँथे। (२ तिमोथी १:५; ३:१४, १५) तपाईंले बच्चासित कुरा गर्न थाल्ने बित्तिकै यसो गर्नु बेस हो। तर तपाईं के पढेर सुनाउन सक्नुहुन्छ अनि सानो शिशुलाई समेत सिकाउन सकिने सर्वोत्तम तरिका के हो?

तपाईंले बाइबल पढेको तपाईंको बच्चाले सुनोस्‌। प्राप्त विवरणअनुसार तिमोथीलाई बाइबल नै पढेर सुनाइएको थियो। बच्चाहरूलाई रङ्‌गीचङ्‌गी चित्रहरूद्वारा बाइबलबारे बताउने किताबहरू पनि उपलब्ध छन्‌। यसले बच्चालाई बाइबलले सिकाउने कुराहरूको सचित्र कल्पना गर्न मदत गर्छ। उदाहरणका लागि, बाइबलका कथाहरू भएको मेरो पुस्तकआजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान्‌ पुरुष भन्‍ने पुस्तकहरू छन्‌। त्यस्ता पुस्तकहरूद्वारा लाखौं बच्चाहरूको मन अनि हृदयमा बाइबलका शिक्षाहरूले अमेट छाप पारेको छ।

बाइबलले भनेझैं, “छोराहरू [र छोरीहरू] ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो।” (भजन १२७:३) तपाईंको सृष्टिकर्ताले तपाईंले एउटा “हक,” मायालु बच्चा सुम्पनुभएको छ, जो गर्व र आनन्दको स्रोत हुन सक्छ। विशेष गरी, छोराछोरीलाई सृष्टिकर्ताका प्रशंसकहरू बन्‍न हुर्काउनु साँच्चै एउटा इनामदायी पेसा हो! (g03 12/22)

[फुटनोटहरू]

a तनावका हर्मोनहरूले मात्र नभई निकोटिन, मद्य र अन्य लागूपदार्थहरूले पनि भ्रूणमा प्रतिकूल असर पार्न सक्छ। गर्भवती महिलाहरू यस्ता खतरनाक पदार्थबाट टाढै बस्नु बेस हो। साथै, औषधीहरूले भ्रूणमा पार्न सक्ने असरबारे डाक्टरलाई सोध्नु बेस हो।

b आमाले अत्यन्तै खिन्‍नता र निराशा अनि आफ्नो बच्चा र संसारबाटै टाढिएको महसुस गर्छिन्‌ भने तिनलाई प्रसव-उदासीनताले पिरोलिरहेको हुन सक्छ। त्यसो हो भने, तिनले स्त्री रोग विशेषज्ञको सल्लाह लिनुपर्छ। कृपया ब्यूँझनुहोस्‌! सेप्टेम्बर ८, २००२, पृष्ठ १९-२३अवेक! जून ८, २००३, पृष्ठ २१-३ हेर्नुहोस्‌।

c अवेक!-को मार्च २२, १९९९ को अंकमा “हजुरबुबा-हजुरआमा—तिनीहरूको आनन्द तथा चुनौती” भन्‍ने लेख पढ्‌नुहोस्‌।

[पृष्ठ ८-मा भएको चित्र]

गर्भमा भएको बच्चाप्रति आमाका भावनाहरू एकदमै महत्त्वपूर्ण छन्‌

[पृष्ठ ९-मा भएको चित्र]

बच्चा जन्मिएपछि नयाँ आमाको मुड परिवर्तन हुन सक्ने भए तापनि आफ्नो बच्चाले माया पाएको र सुरक्षित महसुस गर्नको निम्ति गर्न सक्ने कुराहरू थुप्रै छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

शिशुको स्याहारमा बुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारी छ

[पृष्ठ १०-मा भएको चित्र]

बाल्यकालदेखि नै बच्चाहरूलाई पढेर सुनाउनुपर्छ